पाल्पामा होमस्टे प्रवद्र्धनका लागि तालिम

पाल्पा, ९ असार । नेपाल पर्यटन बोर्डको सहयोगमा करियर गु्रप नेपालको आयोजनामा तानसेन र बौघागुम्हा ४ पाल्पामा होमस्टे क्षमता अभिवृद्धि तालिम कार्यक्रम सञ्चालन गरिएको छ । सदरमुकाम तानसेनमा संचालित तालिम कार्यक्रममा कृषि सामुदायिक मदनपोखरा, मगर सांस्कृतिक वर्तुङ, र तानसेन भगवतीटोल पाल्पामा संचालित होमस्टे संचालकहरुको सहभागिता रहेको होराइजन होमस्टेकी संचालिका जानकी बस्यालले बताइन् । तालिम कार्यक्रममा भिटोफ नेपालका पूर्व अध्यक्ष शिव लामिछाने तथा गेटअप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले सहजीकरण गरेका थिए । तालिम कार्यक्रममा २५ जना सहभागी रहेको नेपाल पर्यटन बोर्डका प्रतिनिधि अमिर धोलाले बताए । कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैरेले पाल्पालाई होमस्टेको राजधानी बनाउन सकिने धारणा राखेका थिए । त्यसैगरी ७ र ८ गते मगर संस्कृतिको बाहुल्यता रहेको रानीमहल मगर होमस्टे बौघागुम्हा ४ पाल्पामा पनि होमस्टे क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ । सो क्षेत्रमा विगत ४ वर्षदेखी ११ वटा घरमा होमस्टे संचालनमा रहेको लेखबहादुर थापाले बताए । पाल्पा सदरमुकाम तानसेनबाट १४ किलोमिटर पश्चिम तर्फ रहेको होमस्टेमा १ घण्टामा पुग्न सकिन्छ । भारतको ताजमहलसँग तुलना गरीने रानीमहलको दरवारबाट सो मगर होमस्टे एक घण्टाको पैदल दुरीमा पुग्न सकिन्छ । तालिम कार्यक्रममा २५ जना सहभागि रहेको करियर ग्रुप नेपालका अध्यक्ष धनबहादुर रुचालले बताए । तालिम कार्यक्रममा होमस्टे एसोसियसन नेपालका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल र पर्यटन पत्रकार भुमराज तिवारीले सहजीकरण गरेका थिए ।

चितवन निकुञ्जमा ८२ हजार पर्यटक, १२ करोड राजस्व सङ्कलन

चितवन, ६ असार । चितवन राष्ट्रिय निकुञ्जमा चालु आवको ११ महिनामा ८२ हजार पर्यटक आएका छन् । उनीहरुबाट झन्डै रु १२ करोड राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । सबैभन्दा बढी प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिए । उनका अनुसार गएको साउन महिनादेखि जेठसम्मको तथ्याङ्कअनुसार निकुञ्जमा ८१ हजार ८१३ जना पर्यटक प्रवेश गरेका छन् । पर्यटकबाट रु ११ करोड ९३ लाख ६७ हजार २७३ राजस्व सङ्कलन भएको छ । निकुञ्ज घुम्नेमा ४२ हजार १५१ जना पुरुष र ३९ हजार ६६२ जना महिला पर्यटक रहेका छन् । सबैभन्दा बढी सौराहा क्षेत्रबाट पर्यटक निकुञ्ज प्रवेश गरेको पाइएको ढकालले जानकारी दिए । रु आठ करोडभन्दा बढी राजस्व प्रवेश शुल्कबाट मात्रै उठेको छ । चैत महिनामा सबैभन्दा बढी रु एक करोड ८६ लाख ४४ हजार बढी राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्ष भूकम्पपछिको समयमा निकुञ्जमा पर्यटक शून्य जस्तै भए पनि यो आवमा भने बढेको पाइएको निकुञ्जले जनाएको छ । रासस

‘‘मिस टुरिजम–२०१६’’का लागि आज देखि आवेदन खुल्ला, अन्तिम म्याद साउन ५ गतेसम्म

काठमाडौं, ५ असार । प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी भदौ २५ (सेप्टेम्बर १० ) मा आयोजना गर्न गईरहेको “मिस टुरिजम–२०१६” का लागी आज असार ५ गतेदेखि देशभर आवेदन खुल्ला गरेको छ । “मिस टुरिजम–२०१६” लाई सभ्य र विवादरहित बनाउन सिंगो पर्यटन क्षेत्रसंग सहकार्य गरेर यसको आयोजना गरिने प्वाईन्ट मिडिया प्रा.लिका प्रबन्ध निर्देशक नविन काफ्लेले बताए । आगामी भाद्र २५ (सेप्टेम्वर १०) का दिन आयोजना हुने “मिस टुरिजम–२०१६” का लागी १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली महिलाहरुले आगामी साउन ५ गते सम्म आवेदन दिन पाउनेछन । आवेदन दिने मिति सकिएपश्चात काठमाडौंका साथै पर्यटकिय स्थलहरु पोखरा र चितवनमा अडिसन लिईने छ । मिस टुरिजम–२०१६ लाई एक स्कुटर, मिस टुरिजम फस्ट रनर अप–२०१६ लाई ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१६ लाई नगद २० हजार नगद रुपैयाँ प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसर हरु प्रदान गरिने प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक काफ्लेले बताए । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज) का अध्यक्ष शिव अधिकारीले मिस टुरिजम पर्यटन क्षेत्रकै नयाँ विषयवस्तु भएकोले यसलाई सफल पार्न नाटोजको सम्पूर्ण समर्थन रहने बताए । मिस टुरिजम लाई पर्यटकिय गन्तव्यहरुको प्रवद्र्धनमा नयाँ ढंगले प्रयोग गर्नुपर्ने र तामझाम गर्नुपर्नेमा जोड दिए । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले राज्यले गनुपर्ने धेरै कामहरु निजि क्षेत्रले गरेको बताउँदै मिस टुरिजमलाई सफल पार्न सवैको सहयोग रहनुपर्ने बताए । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले मिस टुरिजमलाई सफल पार्न नेपाल पर्वतारोहण संघको सहकार्य रहने बताए । नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य पूर्ण कुँवरले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्न मिस टुरिजम निकै सान्दर्भिक रहेको बताए । सरकारले घोषणा गरेको घुमफिर वर्षलाई सहयोग गर्न प्वाईन्ट मिडिया प्रा.लि.ले एउटा पाटो सम्हालेकोमा बधाई दिँदै मिस टुरिजमलाई सफल पार्न नेपाल पर्यटन वोर्डले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । प्वाईन्ट मिडियाले राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने र सरकारले घोषणा गरेको घुमफिर वर्ष २०७३ लाई सहयोग पुर्याउने उद्देश्यले “मिस टुरिजम–२०१६” को आयोजना गर्न लागेको जनाएको छ ।