रारामा पर्यटकलाई पूर्वाधारको अभाव

तस्विर- डोमी शेर्पा काठमाडौं। कर्णाली प्रदेश मुगुको छाँयानाथ रारा नगरपालिकामा अवस्थित छ रारा ताल । रारा तालको सौन्दर्य बेहिसाबको छ । ताल वरपर चारैतिर हरियाली छ । रारा राष्ट्रिय निकुञ्जबीचको घना जङ्गलको काखमा बसेको रारा ताल नेपालको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित छ। समुद्री सतहबाट दुई हजार ९९० मिटरको उचाइमा रहेको रारा तालको लम्बाइ करीब पाँच दशमलव १ किमी तथा चौडाइ करीब २ दशमलव ७ किमी रहेको छ । रारा क्षेत्र प्राकृतिक रुपमा आफैँमा सौन्दर्यको खानी भए पनि यहाँ पूर्वाधारको निकै कमी रहेको छ । रारा पुग्ने आन्तिरक तथा बाह्य पर्यटकले पूर्वाधारको कमी रहेको गुनासो गर्ने गरेका छन् । ताल घुम्न आउने पर्यटकलाई खान, बस्न, विद्युत्, टेलिफोन, इन्टरनेटलगायतको समस्या छ । घुम्न आउने याममा पर्यटकले बास बस्नसमेत नपाउँदा रातभर खुला आकाशमुनि आगो तापेर बस्नुपरेको बुटवलबाट रारा घुम्न आएका दीपेश श्रेष्ठ बताउँछन्। कर्णाली प्रदेश सरकारले २०७५ साललाई ‘कर्णाली–रारा पर्यटन वर्ष’ घोषणा गरेको छ । यहाँ त्यस अनुसारको पूर्वाधार निर्माण भने गर्न सकिएको छैन । कर्णाली प्रदेश सरकारले एक वर्षभित्र रारा र आसपासको क्षेत्रमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पर्याप्त पूर्वाधार तयार नगरी कर्णाली रारा पर्यटन वर्ष घोषणा गरिएको यहाँ पनि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले गुनासो गरेका छन् । रारा तालको परिधिभित्र डाँफे र भिलेज गरी दुई होटल सञ्चालनमा छन् । दुई होटलमा जम्मा २८ कोठा रहेको छ । दिनहुँ आउने हजाराँै पर्यटकलाई भने बस्न असहज हुने गरेको छ । सिन्धुपाल्चोकबाट रारा घुम्न आउनुभएका पर्यटक राजु बुढामगर राराको वर्णन गरी साध्य छैन भन्छन् । “पूर्वाधार अभावले राराको सौन्दर्य ओझेलमा परेको छ,” उनले भने। रारा राष्ट्रिय निकुञ्जभित्र तथा तालको वरपर होटल सञ्चालन गर्न नपाउनुपर्ने भए पनि राष्ट्रिय निकुञ्जको क्यान्टिनको रूपमा रहेको डाँफे र भिलेज होटल एकलौटी रूपमा सञ्चालनमा छ । उद्योग वाणिज्य सङ्घ मुगुका सदस्य गङ्गाबहादुर शाही भन्छन्, “पर्यटकलाई मध्यनजगर राख्दै खान बस्नको सुविधाको लागि होटल सञ्चालनको पहल गर्दा सञ्चालन गर्न दिँदैनन् ।” केहीले एकलौटी रुपमा व्यवसाय गर्ने गरे पनि अन्यलाई होटल व्यवसाय गर्न नदिएको उनको आरोप छ । रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले अन्य होटल सञ्चालनका लागि स्वीकृति दिइएको छैन । यहाँ दुई होटल निर्वाध रूपमा सञ्चालन भइरहेको शाही बताउनुहुन्छ । यस विषयमा रारा राष्ट्रिय निकुञ्ज मौन रहँदै आएको छ । राराताल घुम्न आउने पर्यटकलाई टेलिफोन र इन्टरनेटको असुविधा छ । नेपाल टेलिकम र एनसेलले काम नगर्ने झापाबाट आएका पर्यटक प्रवीण काफ्ले बताउँछन्। काफ्ले यहाँको पर्यटनलाई व्यवस्थित बनाउन पहिला खाने, बस्ने, नेटवर्क तथा इन्टरनेटजस्ता अतिआवश्यक कुराको सुविधा दिनुपर्ने बताउँछन्। कठिन अनि लामो बाटोको प्रवाह नगरी सडक मार्ग भएर रारा घुम्न निस्कने पर्यटकले रारालाई पूर्ण बनाउन यहाँको पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । रारालाई नेपालको स्वर्ग मानिए पनि कठिन यात्राबाट पुग्ने पर्यटक यहाँ पूर्वाधारको कमीले यात्रा खल्लो हुने गरेको गुनासो गर्दै आएका छन् । वैशाखमा ‘कर्णाली रारा पर्यटन वर्ष’ घोषणा कार्यक्रममा पुग्नुभएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ भित्रै कर्णालीमा आवश्यक पूर्वाधार बनिसक्ने बताएका थिए। सात महीना बित्नैलाग्दा समेत पर्यटकले अतिआवश्यक सुविधा पाउन सकेका छैनन् । रारा घुम्न आउने पर्यटक कोही टेन्टमा त कोही नजिकका गाउँमा बास माग्न बाध्य छन्  । टेन्टमा बस्ने पर्यटक चिसोले रातभर कठ्याङ्ग्रीन बाध्य छन् । कतिपयले त बस्नको लागि टेन्ट पनि पाउँदैनन् । रारामा बास नपाउने तथा भोकभोकै बस्नु पर्ने बाध्यता छ । नेपाल पत्रकार महासङ्घ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल पर्यटन विकास, पर्यटनसँगै भित्रिने प्रदूषण, व्यापारीकरण रोक्नुपर्ने बताउनुहुन्छ । यसका साथसाथै निकुञ्जभित्र पहिलेको तुलनामा वन्यजन्तु लोप हुँदै गएको, तालमा माछाको सङ्ख्या घट्टै भएको र वन्यजन्तुको चरनक्षेत्र मासिदै गएकाले निकुञ्जको अस्तित्व मेटिन सक्ने मल्ल बताउँछन्। यसतर्फ निकुञ्ज र सरकारले ध्यान जानुपर्ने उनको भनाइ छ । छायाँनाथ रारा नगरपालिकाले गत वर्षको नगरसभाबाट ताल क्षेत्रभित्र सञ्चालित होटल बाहिर ल्याउने निर्णय गरेको भएता पनि अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन । ताल क्षेत्रभित्रको होटलले राराको सफा तथा कञ्चन सुन्दरतामा ह्रास पुग्ने भएकाले तालभन्दा बाहिर होटल बनाउनुपर्ने तथा ताल क्षेत्रभित्र रहेको सेनाको गुल्मलाई बाहिर सारेर राराको सौन्दर्य जोगाइराख्नुपर्ने नगरवासीको माग छ । अहिलेको बदलिँदो समयसँगै पर्यटकको रूचिलाई ध्यानमा राखी परम्परागत सुविधा, वन्यजन्तु शिकार तथा प्राकृतिक स्थानमा बसेर इन्टरनेटमार्फत स्वतन्त्र रूपमा सेवा दिन सके राराको सौन्दर्यमा सुनमा सुगन्ध पुग्ने देखिन्छ । कालीकोट, जुम्ला, मुगु हुँदै रारासम्म जाने पर्यटकलाई सुविधाको हिसाबमा होमस्टे सञ्चालन गर्ने हो भने यहाँको व्यवसाय फस्टाउने तथा पर्यटकलाई समेत सुविधा पुग्नेछ । विसं २०६९ पुसमा नाग्मा (कालीकोट र जुम्लाको सिमाना)हुँदै मुगु सदरमुकाम गमगढीसम्मको बाटो सञ्चालन भएसँगै रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । काठमाडौँ, बुटवल, नेपालगञ्ज तथा देशका विभिन्न स्थानबाट रारा घुम्न जिप, बस तथा मोटरसाइकल लिएर आउने प्रशस्त छन् । यस क्षेत्रको पहिलो पर्यटकीय गन्तव्य रहेको रारा पुग्न काठमाडौँबाट जिप, बस तथा मोटरसाइकलमा तीन दिन लाग्छ । रारा पुग्न हवाईमार्गको पनि सुविधा छ । नेपालगञ्जबाट जहाजमा मुगुको ताल्चा विमानस्थल झरेपछि करीब दुई घण्टा हिँडेर रारा पुग्न सकिन्छ । रासस

गेट कलेजका ९७ जना विद्यार्थीहरू दीक्षित, २० लाख पर्यटकलाई सेवा गर्न दक्ष जनशक्ति आवश्यक

काठमाडौं । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले सञ्चालन गर्न लागेको नेपाल पर्यटन वर्ष सफल पार्न दक्ष र सीपयुक्त शिक्षित होटल व्यवस्थापनका जनशक्ति चाहिने यस क्षेत्रका विज्ञहरूले औंल्याएका छन् । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) को शनिबार राजधानीमा आयोजित आठौं दीक्षान्त समारोहमा बोल्ने पर्यटन क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले पर्यटन क्षेत्रमा व्यापक रोजगारीका अवसरहरू सिर्जना हुँदै गएको भए पनि अझै दक्ष जनशक्तिको अभाव रहेको बताएका हुन् । “नेपाल सरकारले सन् २०२० भित्र २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ, भर्खरै मात्र लोन्लीप्लानेटले काठमाडौंलाई विश्वकै घुम्नै पर्ने सहरभित्र समेटेको छ,” अन्तर्राष्ट्रिय पर्यटन शिक्षाविद् डा। बर्न भान वाल्विकले भने  “हिल्टन ग्रुपले विश्वभरि नै आफ्ना नयाँ होटलहरू खोल्दैछ, हिल्टनजस्ता अरु थुप्रै पाँचतारे होटलहरू नेपालमा पनि खुल्नेछन्, त्यतिखेर यहाँ नै पर्याप्त दक्ष जनशक्तिको माग हुनेछ ।” डा. वाल्विकले आउँदो १० वर्षभित्र विश्वभरि लाखौं रोजगारीका अवसर सिर्जना हुने सम्भावना औंल्याउँदै त्यो अवसर नेपालभित्रै पनि सिर्जना हुने दाबी गरे । यसैगरि, स्वीजरल्यान्डको स्वीस होटल एसोसियसन होटलरीस्वीसका सञ्चार तथा बजारीकरण प्रमुख प्याट्रिक स्कोनबर्गले विश्वभरि नै पर्यटनसँग सम्बन्धित दक्ष जनशक्तिको माग बढ्दै गएको परिप्रेक्षमा यहाँ उत्पादित दक्ष जनशक्तिले स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै अवसर पाउने बताए । नेपालका लागि स्वीजरल्यान्डकी राजदूत एजिलावेथ भान कप्लरले नेपालको पर्यटन र समग्र विकासका लागि स्वीजरल्यान्डले ६०को दशकदेखि नै सहयोग गर्दै आएको चर्चा गर्दै गेट कलेजले नेपालमै स्वीस सम्बन्धनमा अन्तर्राष्ट्रिय स्तरको पर्यटन शिक्षा प्रदान गर्दै आएकोमा सह्राहना गरे । राजदूत कप्लरले सबै होटल व्यस्थापनका विद्यार्थीहरूले पाँचतारे वा पर्यटन स्तरको होटलमात्र होइन, होमस्टेजस्ता पर्यटन सेवा विस्तार गरेर स्वःरोजगार पाउने बताए । कार्यक्रममा गेट कलेजका संस्थापक/प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले गेट कलेजले विगत ११ वर्षदेखि विश्व पर्यटन बजारमा प्रतिष्पर्धात्मक रूपमा आफूलाई उभ्याउन सक्ने जनशक्ति उत्पादनमा जोड दिँदै आएको प्रष्ट पारे । सो अवसरमा एकेडेमिक काउन्सिल प्रमुख डा। दलजीत राव र गेट सञ्चालक समितिका अध्यक्ष चिजकुमार श्रेष्ठले नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापन शिक्षा प्रदान गर्नका लागि कलेजले विशिष्ट, अभ्यासात्मक शैक्षिक प्रणाली अबलम्बन गर्दै आएको जानकारी दिए ।  सन् २०१८ को दीक्षान्त समारोहबाट १५ औं र १६ औं ब्याचका कुल ९७ जना विद्यार्थीहरू दीक्षित भएका गेट कलेजले जानकारी दिएको छ । उक्त कार्यक्रममा १६ औं ब्याचबाट सर्वोत्कृष्ट नतिजा हासिल गर्ने राजमिलन पौडेलसहित उत्कृष्ट अनुसन्धानका पौडेलसहित १५ औं ब्याच स्वीटी श्रेष्ठलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । गेट कलेजमा हालसम्म नेपालभित्रका सबै जिल्लाबाहेक १९ मुलुकबाट करिब ४ सय विद्यार्थीहरू होटल व्यवस्थापन शिक्षाको स्नातक तहमा दीक्षित भइसकेका छन् ।

वुद्ध एयरले सेयर बिक्री गर्ने, अन्तर्राष्ट्रिय उडानको तयारी

काठमाडौं । निजी क्षेत्रको ठुलो वायुसेवा कम्पनी वुद्ध एयरले सेयर बिक्री गर्ने भएको छ । बुद्धलाई पब्लिक कम्पनी बनाएर सेयर बिक्री गर्न लागेको हो । कम्पनीले अन्तर्राष्ट्रिय उडानको ३० प्रतिशत मात्र सेयर राखेर पब्लिक कम्पनीमा लैजाने तर आन्तरिक उडानका लागि पब्लिकमा नलगिने निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । अन्तर्राष्ट्रिय उडानको ३० प्रतिशत रणनीतिक साझेदार र बाँकी हवाई क्षेत्रमा आउन चाहनेलाई दिइने उनले स्पष्टपारे । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धले पब्लिक कम्पनीका रूपमा पहिलो चरणमा भारत र चीन उडान भर्ने जनाएको छ । बुद्ध एयरले स्थापनाको २१ वर्षे सफल यात्रामा आफूलाई अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ । पहिलो पटक १९९७ मा १९०० ‘डी’ विमानबाट उडान शुरु गरेको बुद्धले एटिआरको सफल यात्रा तय गरिसकेको छ । कम्पनीसँग हाल छ एटिआर ७२–५००, तीन एटिआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० ‘डी’ विमान छन् । आन्तरिक र क्षेत्रीय उडानमा देशकै अब्बल कम्पनी बुद्धले अबको यात्रा अन्तर्राष्ट्रिय गन्तव्यतर्फ केन्द्रित गर्ने भएको छ । अबको तीन वर्षपछि अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको बुद्धले त्यसको तयारी पनि थालेको छ । अन्तर्राष्ट्रिय उडानमा १४ विमान अन्तर्राष्ट्रिय उडानको योजना बनाएको बुद्धले तीन वर्षपछि १४ वटा विमानबाट विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । हाल कम्पनीले बोइङ, एयरबस, इम्ब्रेररलगायत विमान उत्पादक कम्पनीसँग वार्ता गरिरहेको जनाएको छ ।“पोखराबाट १४ विमानले सेवा दिन्छौँ, पहिलो चरणमा भारत र चीनका गन्तव्यमा नै केन्द्रित हुन्छौँ, हामी यो वर्षको अन्त्यमा एयरबस वा बोइङ भित्र्याउने आर्थिक स्रोत व्यवस्थापनसहितको कार्ययोजना नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउँछौँ”, प्रबन्ध निर्देशक बस्नेतले भने। भारतको नयाँदिल्ली, मुम्बइ, बैङ्लोर, चेन्नाइ, हैदरावाद र चीनको बेइजिङ, साङ्घाइलगायत गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने बुद्धको योजना छ । अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स पाइसकेको बुद्धले काठमाडौँबाट भारतका केही शहरमा उडान गरिरहेको छ । हवाई मार्ग इजाजत तथा प्रक्रियाका हिसाबले भारतमा पहिला उडान हुने भए पनि पोखराबाट चीनमा पनि उडान गरिने जनाइएको छ । “इपिसिएफ मोडलबाट निर्माण भइरहेको विमानस्थल तोकिएभन्दा छिट्टै निर्माण होला भन्ने विश्वास छ । यो बीचमा तयारीका लागि हामीसँग प्रशस्त समय पनि छ । उक्त अवधिसम्म व्यावसायिक योजना र जनशक्ति तयारी पूरा गर्छौँ”, उनी भन्छन् ।पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि केही सीमा हुने भए पनि पर्यटकीय सम्भावनालाई मध्यनजर गरी सेवा विस्तारको योजना अघि सारिएको कम्पनीले जनाएको छ । बुधबारदेखि २२ औँ वर्षमा प्रवेश गरेको बुद्धले एटिआर जहाज उडान थालेको १० वर्ष पुगेको छ । नेपालको भूबनोटअनुसार एटिचार सुरक्षित र भरपर्दो विमानको रूपमा स्थापित भएकाले आन्तरिक उडानमा एटिआरमै सीमित हुने बस्नेतले उल्लेख गरे। भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, भरतपुर र पोखरामा उडान गरिरहेको एयरलाइन्सले काठमाडौँबाट भारतको वनारसमा नियमित उडान शुरु गरेको छ । निकट भविष्यमै नेपालगञ्जबाट नयाँदिल्ली उडान शुरु गर्ने योजना छ । दक्षिण एशियाकै उत्कृष्ट ह्याङ्गर बुद्ध एयरले सञ्चालन गरिरहेको ह्याङ्गर व्यवस्थापन दक्षिण एशियाकै उत्कृष्ट ह्याङ्गर भएको दाबी गरिएको छ । सिङ्गापुर एटिआरका बिक्री तथा सेवा प्रमुख बिली वोले बुद्ध एयरको ह्याङ्गर दक्षिण एशियास्तरको रहेको बताउनुुहन्छ ।आफ्नो १० वर्षे सहकार्यमा बुद्ध एयरले हवाई सुरक्षाका साथै अन्तर्राष्ट्रियस्तरको मर्मत सम्भारलाई विशेष प्राथमिकता दिएको उनले बताए । रासस