नुवाकोटलाई ३ नं प्रदेशको राजधानी बनाउन उपयुक्त, त्रिदेशीय राजमार्गबाट फाइदा लिन सकिने
काठमाडौं । ऐतिहासिक राजधानी नुवाकोटलाई ३ नं प्रदेशको राजधानी बनाउन आफूहरुले पहल गर्ने प्रतिबद्धता नुवाकोटका निर्वाचित जनप्रतिनिधिले व्यक्त गरेका छन् । नेकपा(एमाले) र नेपाली काँग्रेसका उम्मदेवारले आफ्नो चुनावी प्रतिबद्धतामा नै नुवाकोटलाई बनाउने बताएका थिए भने एमाले प्रदेशसभा सदस्य २ (क) केशवराज पाण्डेले आफ्नो चुनावी घोषणापत्रमा त्यसलाई उल्लेख गरेका थिए । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजयपछि यसलाई मुकाम बनाएका थिए भने विसं १८५५ तिर गीर्वाणयुद्धविक्रम शाहका पालामा राजधानी बनाइएको थियो । हालसालै चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक र भक्तपुरका राजनीतिक नेताहरुले ती क्षेत्रलाई ३ नं प्रदेशको राजधानी बनाउने विचार व्यक्त गरेका थिए । नुवाकोट प्रतिनिधिसभा–२ बाट नवनिर्वाचित नारायणप्रसाद खतिवडाले चुनावी प्रतिबद्धतानुरुप नुवाकोटलाई प्रदेश राजधानी बनाउन सबै क्षेत्रबाट आवाज उठाइने बताए । प्रदेशसभा १ (ख) सदस्य बद्री मैनालीले आफ्नै पहलमा जिल्लालाई राजधानी बनाउन प्रस्ताव गरिएको जिकिर गर्दै यसलाई सशक्त ढङ्गले उठाइने अठोट व्यक्त गरेका छन् । नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटा पनि नुवाकोटलाई प्रदेशको राजधानी बनाउन भौगोलिक अवस्था, पानी, बिजुली र यातायातका दृष्टिले उपयुक्त हुने बताउँछन् । जिल्लामा प्रशस्त बेंसी र टारहरु भएको, त्रिशूली, तादी र लिखु जस्ता नदीहरु रहेको, हाल १५० मेगावाट विद्युत उत्पादन भइरहेको र १५० मेगावाट थप बिजुली उत्पादन गराउन ‘पाइपलाइन’मा रहेको, केरुङ मार्ग, पासाङल्हामु मार्ग, बालाजु–त्रिशूली, थानकोट–गल्छी र टोखा–विदुर मार्ग प्रयोगमा आइरहेको, नुवाकोट भएर मध्यपहाडी मार्ग बनिरहेको र टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन भइसकेकाले नुवाकोट सबैतिरबाट पायक पर्ने बताए । “केन्द्रीय राजधानीसँग जोडिएकाले पनि यसको सम्भावना उत्तिकै छ” सापकोटाले भने, “जिल्लाका सबै दल, नागरिक समाज, उद्योग वाणिज्य सङ्घ र बुद्धिजीवी पनि यसकै पक्षमा छन् । ” प्रतिनिधिसभा सदस्य खतिवडाले जिल्लामा औद्योगिक क्षेत्र निर्माण गरिने, कृषि र स्वरोजगार विकास गरिने, चीन र भारतको पर्यटकीयस्थल बनाइने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । वामपन्थी सरकार बनेपछि चीनको सहयोगमा नुवाकोट भएरै चीनबाट पोखरा, लुम्बिनी र काठमाडौं जान सकिने स्थिति आउने भएकाले त्यसबाट फाइदा लिनुपर्ने उनले बताए । “मेरो सोचाइ र योजना त नुवाकोटमा बौद्ध केन्द्र बनाई चीनका बौद्धधर्मालम्बीलाई एक दुई दिन बस्न मिल्ने वातावरण बनाउने रहेको छ”एमाले नुवाकोटका अध्यक्ष पनि रहेका खतिवडाले भने । प्रदेशसभा सदस्य मैनाली नुवाकोटका पीपलटार वा चौघडामा औद्योगिक क्षेत्र बनाउन र दरबार क्षेत्र, फिकुरी, दुप्चेश्वर, वेत्रावतीलाई पर्यटकीयस्थल बनाउन आफ्नो पहल रहने सुनाए । व्यवसायी तथा पत्रकार सापकोटा चीनबाट आउने रेललाई खाली नपठाउन जिल्लामा निर्यातयोग्य वस्तुको उत्पादनमा जोड दिएका छन् । उनले नुवाकोट हावापानी र सम्पदाका दृष्टिले उपयुक्त भएको र तामाङ, नेवार, गुरुङ, मगर, शेर्पा, मुसलमान आदि जातिको बस्ती भएकाले समृद्ध रहेको बताउँदै त्यहाँ जलयात्रा, पदयात्रा र प्याराग्लाइडिङको पनि उत्तिकै सम्भावना भएको जानकारी दिए । “नुवाकोटलाई ३ नं प्रदेशको राजधानी बनाई त्रिदेशीय राजमार्गबाट फाइदा लिने परिस्थिति निर्माण गर्न एमालेसहितको वामपन्थी सरकारलाई हामी झक्झकाउनेछौँ,” नवनिर्वाचित सांसदहरुले भने । रासस
शक्तिशाली सामुन्द्रिक आधीले नेपालमा हिमपातको खतरा बढ्यो, ३ दिनका लागि ‘अलर्ट’ जारी
काठमाडौं । देशका हिमाली भूभागमा हिमपातको सम्भावना देखिएको छ । दक्षिणपूर्वी अरब सागरमा आएको शक्तिशाली सामुन्द्रिक आधी (चक्रवात)को प्रभावले नेपालमा हिमपातको सम्भावना बढेको मौसम विभागले जनाएको छ । विभागले हिमाली भेग रहने मानिसलाई सतर्क रहन ‘अलर्ट’ जारी गरेको छ । उक्त हिमपातले हिमपातको प्रत्यक्ष असर पर्वतारोहिमा पर्न सक्ने भन्दै चक्रवात रहँदासम्म विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विभागको गणितिय मौसम पूर्वानुमानका आधारमा आगामी तीनदिनसम्म हिमपातको अनुमान गरेको छ । मंगलबार विभागका अनुसार पश्चिम क्षेत्रमा सामान्यतया बदलीरहि पश्चिमी हिमाली क्षेत्रको धेरै स्थानमा हल्का देखि मध्यम खालको र मध्य क्षेत्रको हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ । त्यस्तै पुर्बी हिमालि क्षेत्रको थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ। पश्चिमका एक दुई स्थानमा फाट्टफुट्ट वर्षाको संभावना देखिन्छ। बुधबार पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमालि भेगका धेरै स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहनुको साथै पूर्वी हिमालि क्षेत्रको केहि स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ। पश्चिमका केहि क्षेत्रहरुमा हल्का वर्षाको सम्भावना देखिन्छ। विहीबार पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहनुको साथै पूर्वी हिमालि क्षेत्रको एक दुई स्थानमा हल्का हिमपातको संभावना देखिन्छ। पश्चिमका एक दुई स्थानमा फाटफुट वर्षाको संभावना देखिन्छ ।
भोलिदेखि कुवेत-काठमाडौं-कुवेत सिधा उडान, साताको ६ दिन हुने
काठमाडौं । भोलिदेखि कुवेत-काठमाडौं-कुवेत सिधा उडान शुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत-काठमाडौं प्रत्यक्ष उडान शुरु गर्न लागेको हो । उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग मंगलबार कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौं-कुवेत सिधा उडानबाट नेपाल-कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ । रासस