सगरमाथामा मृत्युको व्यापार ! एक करोड रुपैयाँसम्म असुल

काठमाडौं । सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर (करिब २८ लाख) लिने आरोहण कम्पनीले आरोहीको मृत्यु हुँदा भने करिब एक करोड रुपैयाँसम्म असुल गर्न थालेका छन् । आरोहीको मृत्युपछि आधार शिविरसम्म शव ल्याउँदा हुने ठूलो आम्दानीले आरोहणप्रति नकारात्मक धारणा बढ्ने आशंका यस क्षेत्रका व्यवसायीले गर्न थालेका छन् । आरोहणमा गुणस्तरीय सेवा दिने र दुर्घटना कम गराउन सुरक्षाका उपाय अवलम्बन गर्नसमेत यसमा संलग्न कम्पनीहरू चुक्न थालेका छन् । पदयात्रा क्षेत्रमा ‘फेक रेस्क्यु’ले पारेको नकारात्मक असरभन्दा ठूलो प्रभाव अब आरोहणमा हुने मृत्यु र घटनास्थलबाट शव ल्याउने क्रियाकलापबाट पर्ने देखिएको छ । यसपटक एकै कम्पनीले लगेका सातजना आरोहीको मृत्यु र तिनको उद्धारमा माग गरिएको ठूलो रकमले पनि यो व्यवसाय अब ‘सगरमाथामा मृत्युको व्यापार’का रूपमा चित्रित हुने अवस्था आएको यस क्षेत्रका जानकारहरू बताउँछन् । ‘पर्वतारोहणका नाममा स्वर्गारोहण त गराइँदै छैन,’ एक आरोहण व्यवसायीले भने, ‘यसमा छानबिन हुनुपर्छ । होइन भने हिजो फेक रेस्क्युका नाममा पर्यटन उद्योगले खेपेको बदनामीजस्तै अब आरोहण क्षेत्रले भोग्नुपर्ने हुन सक्छ । अझ आफ्नो कम्पनीले लगेको आरोही भएकाले मृत्युपछि पनि आफैंले उद्धार गर्न पाउनुपर्ने भन्दै माग गरेको देखिएको समेत भुक्तभोगीहरू बताउँछन् । ‘यसरी भएका सबै मृत्यु भवितव्य होइनन्,’ नाम उल्लेख गर्न नचाहने आरोहण व्यवसायीले भने, ‘सस्तो दरमा सेवा दिँदा यस्तो भएको हो । हामीले कस्तो सेवा दिएका छौं भन्नेमा यो निर्भर गर्छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

यती एयरलाइन्सको कार्यकारी अध्यक्षमा लाक्पा, प्रबन्ध निर्देशकको जिम्मेवारी चन्दालाई

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलायन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छिन् ।एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनपछि रिक्त पदमा उनकी धर्मपत्नी चन्दालाई नयाँ जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ । आङछिरिङ शेर्पाको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । पर्यटन र उड्डयन क्षेत्रमा रहेको शेर्पाको अर्बको व्यवसाय कसले सम्हाल्ने भन्ने विभिन्न धारणा बाहिर आएको थियो । चन्दा यसअघि यति एडभेञ्चरकी प्रमुख थिइन् । कम्पनीले हालै चन्दा शेर्पालाई नयाँ जिम्मेवारी दिएको यति एयरलायन्सका वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए । एयरलायन्सको कार्यकारी अध्यक्षमा लाक्पा सोनाम शेर्पालाई जिम्मेवारी दिइएको छ । उनी स्व आङछिरिङका दाइ हुन् । कम्पनीको उपप्रबन्ध निर्देशमा नोर्बुछिरिङ शेर्पा, यती समूहको कार्यकारी निर्देशकमा विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृतमा उमेशचन्द्र राई र आर्थिक निर्देशकमा अनोज रिमाललाई नियुक्त गरिएको छ । यतीसँग हाल एटिआर ७२–५०० चार र जेटस्ट्रिम–४१ सिरिजका पाँच थान जहाज छन् । यतिकै भगिनी संस्था तारा एअरका दुई वटा डोर्नियर डिओ२२८ र चार वटा डिएचसी छ ट्विनअटर विमानबाट नेपालका विभिन्न दुर्गम स्थानमा सेवा प्रदान गर्दै आएको छ । अबका केही दिनमा यतिको पाँचौँ एटिआर विमान भित्र्याउने तयारी गरिएको यतीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वटा वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।

ठमेलमा चुनावी चटारो, सुधारका आधा दर्जन एजेण्डासहित प्रधान मैदानमा

काठमाडौं । ठमेल पर्यटन विकास परिषदमा चुनावीच चटारो सुरु भएको छ । यहि जेठ २५ गते हुने साधारण सभाले आगामी २ बर्षे कार्यकालका लागि नेतृत्व चयन गर्नेछ । ठमेलको सुधारका आधा दर्जन एजेण्डा बोकेर व्यवसायी अर्जुनलाल प्रधान चुनावी मैदानमा उत्रिएका छन् । ३० बर्षदेखि ठमेलमा व्यवसाय सञ्चालन गरिरहेका प्रधानको समुहमा गोपाल गुरुङ, महेश महर्जन, पाल्साङ गुरुङ, सहदेव धमला, बद्रि तिमिल्सना, पुण्यमान लगेजु लगायतका व्यवसायीहरुले पदाधिकारीको निर्वाचन लड्दैछन् । प्रधानले ठमेलमा व्यापाक सुधारका अवधारणा अघि सारेर निर्वाचनमा होमिएको बताए । ‘ठमेलको विरासत जोगाउने र यसलाई थप व्यवस्थित गर्ने निर्विकल्प पर्यटन गन्तव्य बनाउने योजनासहित हामी निर्वाचनमा होमिएका छौं’, अध्यक्षका प्रत्यासी प्रधानले भने । उनीहरुले ठमेलमा पार्किङ, सुरक्षा, अव्यवस्थित तार/पोल, होर्डिङ बोर्ड, ढल निकास, सडक तथा सरसफाई, सांस्कृतिक सम्पदाहरुको संरक्षण लगायतका एजेण्डा अघि सारेका छन् । त्यस्तै, माग्ने, सारङगी, फुटपाथमा समान बेच्ने, तेश्रो लिङगी लगायतका समस्या समाधान पनि आफ्नो एजेण्डामा रहेको प्रधान समुहबाट पदाधिकारीका उम्मेदवार महेशमान महर्जनले बताए । महर्जनलाई ठमेलमा स्थापित व्यवसायीका अलवा समाजसेवीका रुपमा समेत चिनिन्छ । उनीहरुले ठमेल र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई जोड्ने डेडिकेटिड सडक तय गर्ने योजना पनि अघि सारेका छन् । ठमेललाई व्यवस्थित, आकर्षक र सुरक्षित पर्यटन गन्तव्यका रुपमा स्थापीत गराउने संकल्पसहित मतदाता भेटघाटमा लागेको पनि प्रधानले बताए । नयाँ नेतृत्व चयनका लागि ठेमल क्षेत्रका ७९३ व्यवसायी मतदाता रहेका छन् । आफ्नो समुहमा समाजसेवी पृष्ठभूमिका स्थापित व्यवसायीहरु रहेको प्रधानले दावी गरे ।