कात्तिक १० देखि हिमालय एयरलाइन्सले चीनमा उडान भर्दै
काठमाडौँ । नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ । चीनका गन्तव्यमा उडान भर्नका लागि लामो समयदेखि प्रयासरत कम्पनीले बेइजिङ, चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरेको हो । चीनसँग सञ्जाल विकास गर्ने लक्ष्यका साथ हिमालयले बेइजिङमा पहिलो उडान शुरुआत गर्ने र क्रमशः अन्य गन्तव्यमा उडान भर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार आगामी कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इनटरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गर्ने छ । विश्वकै आधुनिक सुविधायुक्त यो विमानस्थल हालै मात्र औपचारिकरूपमा सञ्चालनमा आएको हो । उक्त विमानस्थलमा उडानका लागि ‘स्लट’ पाइसकेको कम्पनीले जनाएको छ । बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएका कारण नेपाली वायुसेवा प्रदायक कम्पनीले उक्त विमानस्थलमा स्लट पाउन सकेका थिएनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि छिट्टै बेइजिङ उडान भर्ने तयारी गरेको छ । यद्यपि अहिलेसम्म उसले स्लट पाएको छैन । चिनियाँ प्राविधिक टोलीले निगमको ‘अडिट’ गरेपछि मात्र अनुमति पाउने बताइएको छ । चीनका विभिन्न गन्तव्यमा सिधा उडानबाट नेपाल भम्रण वर्षका सन्र्दभमा बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने कम्पनीले उल्लेख गरेको छ । त्यसैगरी हिमालयले आगामी कात्तिक महिनादेखि नै मलेशियाको राजधानी क्वालालम्पुरमा पुनः उडान गर्ने भएको छ । यो गन्तव्यमा प्रवेशाज्ञा प्रक्रियाको झन्झटले एक वर्ष अघिदेखि उडान रोकिएको थियो । कम्पनीको सेवा सुधार शाखा प्रमुख उज्ज्वला दलीले क्वालालम्पुर राम्रो स्रोत बजार भएकाले आगामी कात्तिक १० देखि सो गन्तव्यमा उडान शुरु गरिने बताइन् । पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले विश्व हवाई बजारमा हिमालय उदाउँदो कम्पनी भएकाले यसको गन्तव्य विस्तारसँगै सेवा स्तरीकरणमा विशेष ध्यान दिइने उल्लेख गरे । उनले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सन्दर्भमा हिमालयले धेरैभन्दा धेरै पर्यटक भित्र्याएर नपालको अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे । हिमालयले चीनलगायत गन्तव्यमा उडान थप गर्ने योजनासँगै जहाजको सङ्ख्या थप्ने प्रक्रियासमेत अघि बढाएको बुझिएको छ । कम्पनीको यही असोज महिनाभित्रै २८ सिट क्षमताको एयरबस ३१९ भाडामा ल्याउने तयारी छ । हिमालयले गत जेठ ३ गते भियतनामको ब्याम्बो एयरलाई भाडामा दिएको जहाज पनि फिर्ता ल्याउन लागेको छ । कम्पनीले छ महिनाका लागि जहाज भाडामा दिएको थियो । गत साउन ६ गतेबाट बङ्गलादेशको ढाकामा पनि उडान शुरु गरेको हिमालयले आगामी वर्षभित्र पाँच वटा जहाजले उडान गर्ने योजना बनाएको छ । अर्को वर्ष पनि नयाँ जहाज भाडामा ल्याउने एयरबससँग सम्झौता भइसकेको छ । एअरलाइन्सले मध्यपूर्वी एशियाका गन्तव्य दोहा, दुबई÷आबुधावी र दमाम (साउदी अरेबिया) मा उडान गरिरहेको छ । सन् २०१४ अगस्टमा स्थापित एयरलाइन्सले आफ्नो पाँच वर्षको अवधिमा तीनवटा न्यारोबडी ए–३२० जहाजमार्फत हाल पाँच गन्तव्य अबुधाबी, दमाम, दोहा, ढाका र क्वालालम्पुर (बीचमा रोकिएको) मा उडान भर्दै आएको छ । आठ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए–३२०–२१४ सिरिजका जहाजले उडान गरिरहेको हिमालयले निकट भविष्यमा ल्हासा जस्ता उच्च स्थानमा उडान भर्नका निम्ति थप दुई थान ए–३१९ सिरिजका जहाज खरीद गर्ने योजना बनाएको छ । एशियाली मुलुकमा सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ हिमालयले हालै युएईको आबुधाबी र बङ्गलादेशको ढाकालाई आफ्नो सञ्जालमा जोडेको छ । हिमालय एयरलाइन्सको चिनियाँ लगानीकर्ता फेरिएको छ । जम्मा ४९ प्रतिशत लगानी भएको तिब्बत एयरलाइन्स हिमालयबाट बाहिरिएको जनाइएको छ । उक्त कम्पनीको ठाउँमा तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड एन्भेष्टमेन्ट कम्पनी भित्रिएको हो । कम्पनीको ५१ प्रतिशत शेयर भने नेपालको यति वल्र्ड कम्पनीको नाममा रहेको छ । हिमालयले नयाँ लगानीकर्ता भित्रिएसँगै रणनीतिक योजनाका साथ कम्पनीको संस्थागत लोगो परिवर्तन गरेको छ । अध्यक्ष झोले हिमालयको नयाँपनले संस्थागत विस्तार र नयाँ उचाइ हासिल गर्ने रणनीतिक बाटोलाई पहिल्याएको र आगामी दिनमा कम्पनीलाई नेपाल मात्र नभई एशियामै नेतृत्व गर्ने एयरलाइन्सको रूपमा स्थापित गराउन निरन्तर प्रयास गरिने उल्लेख गरे । नेपाल र चीनबीच दुई दशकपछि गत साउन १० गते हवाई सेवा सम्झौता पुनरावलोकन सम्झौता भएको थियो । उक्त सम्झौतापछि अब ९८ उडान गर्न सकिनेछ । सातामा ७० उडान हुँदै आएकोमा १८ उडान थपिएको हो । नेपाल र चीनबीच जुलाई ७ सन् १९९८ मा हवाई सम्झौता भएको थियो । चीनको बेइजिङ, ल्हासा, साङ्घाई, कुनमिङ, ग्वान्जाओ, छेन्दु,, सियानलगायत गन्तव्यमा नेपाली जहाजले उडान भर्न पाउनेछन् । चीनसँगको दुई दशक बढी लामो हवाई साझेदारी भएपनि नेपाली जहाजले अझै सहज उडान पाएका छैनन् । चीनबाट अहिले पाँच वटा वायुसेवा प्रदायक कम्पनीले नेपालमा उडान भर्दै आएका छन् । यसअघि निजी क्षेत्रको हिमालयले चीनका गन्तव्यमा केही चार्टर्ड उडान मात्रै गर्दै आएको थियो ।
हिमालय एअरलाइन्सको नयाँ ब्राण्ड सार्वजनिक, दुईवटा ए३१९ जहाज भित्र्याउने
काठमाडौँ । हिमालय एअरलाइन्स्ले हिमालको चुचुरोमा उड्दै गरे चीललाई अंकित गर्दै बनाइएको नयाँ लोगो सार्वजनिक गर्दै आफ्नो ब्रान्ड पहिचान नयाँ बनाएको छ । हिमालयको निर्देशक सिद्धान्तः सुरक्षा, कार्यसम्पादन, ग्राहक सेवा, विजयी भावना र सुसंगत अभ्यास तथा एसियाली क्षेत्रमा सञ्जाल विस्तारका लागि हिमालयले गरिरहेको प्रयासमा आधारित रहेर यो नयाँ ब्रान्ड पहिचान परिवर्तन गरिएको जनाएको छ । रोयल सिंगी होटलमा आइतबार सम्पन्न पत्रकार सम्मेलनमा एअरलाइन्सले आफ्नो नयाँ संस्थागत लोगो सार्वजनिक गरेको हो । रणनीतिक योजना संगै एअरलाइन्सको नयाँ संस्थागत लोगो सार्वजनिक भएको हो । सन् २०१४ मा स्थापना भएदेखि नै हिमालय एयरलाइन्सले व्यवसायको सबै पक्षहरुमा विशिष्ट हुन आफूलाई परिस्कृत गर्दै ल्याएको छ । एउटा जहाज र एउटा गन्तव्य स्थानबाट सुरु गरेको एअरलाइन्स्ले तीन बर्षको अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज कायम गर्न र पाँचवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । आबुधावी, दमाम र दोहालाई नेपालसँग जोड्दै एअरलाइन्स्ले मध्यपूर्वी मुलुकमा आफ्नो बलियो उपस्थिति जनाएको छ । दुई महिना अघि सन् २०१९ जुलाई २०, मा काठमाडौं–ढाका उडान सुरु गरेको यस एअरलाइन्स्ले यो रुटमा सेवा सञ्चालनलाई अझ मजबुत बनाउने संकल्प गरेको छ । हिमालय एअरलाइन्सद्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाको नयाँ लोगो एअरलाइन्स्का प्रेसिडेन्ट झो एन्योङ र भाइस्् प्रेसिडेन्ट विजय श्रेष्ठले सार्वजनिक गरे । एअरलाइन्सले नयाँ लोगो सार्वजनिक गरेसँगै यसको व्याख्या र संस्थाको प्रगतीलाई ब्रान्ड तथा सर्भिस डिपार्टमेन्टकी प्रमुख उज्ज्वला दलीले प्रस्तुत गरेकी थिइन् । आफ्नो नयाँ ब्राण्ड पहिचान सहित हिमालय एअरलाइन्स् निकट भविष्यमा दुईवटा ए३१९ जहाज भित्र्याउने क्रममा रहेको छ । यस्तो छ नयाँ लोगो हिमालय एअरलाइन्स्को नयाँ लोगोले ‘हिमालय’ मा भएको तीनवटा अंगे्रजी अक्षर ‘ए’ को संयोजनले उड्दै गरेको चीललाई चित्रित गर्दछ । चील हिमालय श्रृंखलामा पाइने पंक्षी हो र यसलाई दृढता र साहसको प्रतिक मानिन्छ जसले हिमालय एअरलाइन्स्को धेरै उचाईमा उड्न सक्ने साखलाई संकेत गर्दछ । त्यस्तै, लोगोमा उल्लेख गरिएको हिमालले हिमालय एअरलाइन्स्को नाम र स्थान व्याख्या गर्दछ । त्यसैगरी, लोगोमा प्रयोग भएको निलो, सेतो र सुन्तला रंगहरुको संयोजनले ‘एकीकृत र मेलमिलाप’ को भावलाई प्रतिनिधित्व गर्दछ । निलो रंगले आकाशलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो भद्र, शिष्ट र विश्वसनीयता । सेतो रंगले हिउले भरिएको पहाडलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो पवित्र, शान्ति र पारदर्शिता । त्यसैगरी सुन्तला रंगले जनता र उत्पादकत्वलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो शुभ, सक्रिय र प्रगति । यो संयोजनले हिमालय एअरलाइन्सको संस्थागत मूल्य मान्यतालाई वास्तविक रुपमा प्रतिबिम्बित गर्दछ ।
पर्यटकीयस्थलको पूर्वाधार निर्माणमा सङ्घीय सरकारले छुट्यायो पाँच करोड
म्याग्दी । म्याग्दीका पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारले चालू आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी पदमार्गलगायतका पूर्वाधार निर्माणमा सो बजेट विनियोजन गरेको हो । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले सङ्घ सरकारले बजेट विनियोजन गरेका योजनाको बारेमा जानकारी दिएका छन् । घोडेपानी–मोहरेडाँडा पदमार्ग, पुनहिल पूर्वाधार, रुइसे धवलागिरि आइसफल पदमार्ग, धवलागिरि चक्रिय पदमार्ग, गुर्जा हिमाल पदमार्ग, तातोपानी कुण्ड, ताकमकोत पुनःनिर्माण र गलेश्वरलाई रु ५० लाख विनियोजन भएको छ । बेनी–टोड्के–मालिका पदमार्गलाई रु ५० लाख, अन्नपूर्ण पदमार्गलाई रु ४० लाख, भकिम्ली बेलढुङ्गा पदमार्गलाई रु १० लाख विनियोजन भएको छ । यसैगरी गण्डकी प्रदेशका सांसद विनोद केसीले गत वर्ष शुरु भएका र विगतमा ठेक्का लागेका खानेपानी, सडक आयोजनालाई पूर्णता दिन यसपाली प्राथमिकताका साथ बजेट विनियोजन भएको बताएका छन् । सङ्घीय सांसद थापाले योजना तथा कार्यक्रम छनोटमा भौगोलिक सन्तुलन मिलाएको बताए भने प्रदेश सांसद केसीले प्रदेश र सङ्घका योजना कार्यान्वयनमा स्थानीय तहले बेवास्ता गरेको गुनासो गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले स्थानीय तहका योजना अनुगमनका लागि विवरण मागे पनि उपलब्ध नगराएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाबीच योजना छनोटदेखि कार्यान्वयनमा समन्वय हुनुपर्ने विचार राखेका छन् । रासस