नेपाल भ्रमण वर्ष २०२० सचिवालय र एनआरएनएबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर

काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० र गैरआवसीय नेपाली संघ (एनआरएनए) नेतृत्वबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भएकाे छ । भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज बैद्य र संघका अध्यक्ष कुमार पन्तले आइतबार सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।  सम्झौता पत्रमा हरेक गैरआवासीय नेपालीले एकजना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राख्ने समझदारी भएको छ । सहमतिपत्रमा सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्नका लागि सचिवालयले नेपाल सरकारसमक्ष सिफारिस गर्ने समेत उल्लेख गरेको छ । यस्तै संघले नेपाल भ्रमण वर्ष २०२० अवधिभर संघका विश्वभर गरिने औपचारिक सेमिनार, गोष्ठीलगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने सहमति भएको छ । संघले विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई सन् २०२० मा ‘स्पेन्ड होलिडे ईन नेपाल विथ फेमिली एण्ड फ्रेन्डस्’ अर्थात् ‘परिवार र साथीहरुसँग नेपालमा विदा मनाऔं’ अभियान सञ्चालन गर्ने छ ।गैर आवासीय नेपालीका विश्वभर रहेका व्यवसायिक फर्महरु तथा होटल रेष्टुरेन्टहरुमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामग्रीहरु राखी प्रचार प्रसार गर्ने तथा प्रचारका सामग्रीहरु वितरण गर्ने समझदारी पनि भएको छ । साथै विश्वभर छरिएर रहेका सम्पूर्ण सदस्यलगायत नेपाली तथा विदेशी मित्रहरुको सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष २०२० को लोगोसहितको स्टिकर टाँस्ने व्यवस्था मिलाउने समझदारी पनि भएको छ । संघले विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा भ्रमण वर्ष प्रवद्र्धन कक्ष स्थापना गर्न आवश्यक जनशक्तिसमेत उपलब्ध गराउने छ । नेपाल भ्रमण वर्षको प्रचारका लागि संघले विश्वका प्रमुख शहरहरुमा कार तथा साइकल र्याली गर्नेछ । यस्तो प्रचारात्मक कार्यक्रमको लागि संघले नेपाल भ्रमण वर्ष सचिवालयसँग समन्वय गर्नुपर्ने छ ।

नेपाल भ्रमण वर्ष आउन दुई महिना बाँकी, एनआरएनएको भूमिका के ?

काठमाडाैं । नेपाल सरकारले आयोजना गर्ने नेपाल भ्रमण वर्ष २०२० आउन अब दुई महिना मात्र बाँकी छ । यतिखेर पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाहरु र नेपाल सरकार आफै पर्यटन गतिविधिहरु बढाउन तल्लिन छ । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि सरकार विभिन्न देशमा बसोवास गरिरहेका नेपालीहरुसँग पनि समन्वय गरेर पर्यटनसँग सम्बन्धित गतिविधिहरु बढाइरहेकाे छ । विभिन्न देशका प्रतिनिधीहरुलाई निम्ताएर सरकारले यतिखेर भ्रमण वर्षको बारेमा जानकारी पनि गर्दै आएको छ । यतिखेर गैर आवसीय नेपाली संघ (एनआरएनए) पनि चुनावी माहाेलमा छ । संघमा उम्मेदवारी दिएकाहरूले पनि भ्रमण वर्ष सफल पार्न आफुहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै चुनावी मुद्धा बनाएका छन् । विदेशमा आर्जित पुँजी र सीप नेपालमा लगानी गर्ने भन्दै सन् २००३ मा सुरु भएको संघ हाल विश्वका ८३ वटा देशहरुमा छ । संघले नेपालबाट गएका नेपालीहरुलाई विदेशमा सहयोग गर्ने, नेपालका विभिन्न पूर्वाधार विकासमा टेवा पुग्ने खालका क्षेत्रमा लगानी गर्ने लगायतका काम पनि गर्दै आएको छ । सरकारले नेपाल भ्रमण वर्ष आयोजना गर्ने घोषणा गरेसँगै गैरआवासीय नेपालीहरु भ्रमण वर्षलाई सफल पार्न आफुहरुको पनि महत्वपूर्ण भूमिका हुने बताउँछन् । नेपालको पर्यटन प्रवद्र्धनका लागि एनआरएनएले उल्लेख्य काम गर्न सक्ने पर्यटन व्यवसायीहरुले बताएका छन् । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल भ्रमण वर्षमा धेरैभन्दा धेरै विदेशी नेपाल ल्याउन आफु सक्रिय रहने बताए । उनले १० अर्ब रुपैयाँको कोष नेपालमा ल्याएर त्यसको सहि परिचालन गर्ने बताए । कोष स्थापना भइसकेपछि यसलाई सेयर बजारमा लैजाने र घरैबट ५ डलर, १० डलर, १५ डलर जस्तो थोरै लगानी गर्न चाहनेले पनि लगानी गर्नसक्ने वातावरण बनाइने उनले बताए । यस्तै महिला उपाध्यक्षकी उम्मेदवार रविना थापाले ७० लाख नेपालीहरु विदेश रहेको बताउँदै तिनीहरुलाई भ्रमण वर्षको बारेमा जानकारी गराउन सकेपनि उल्लेख्य प्रगति हुने बताए । ‘नेपालीहरुले विदेशमा गएर रेस्टुरेन्टहरु खोल्नु भएको छ’ उनले भनिन्, रेस्टुरेन्टमा आएका विदेशीहरुलाई नेपाली परिकारको स्वादले पनि नेपाल आउन उत्प्रेरित गर्छ ।’ पर्यटकको आगमन बढाउनका लागि सरकारले सम्पूर्ण पक्षहरुको स्थिती सुधार्नु पर्ने उनले बताइन् । ‘प्राकृतिक विविधता भएको ठाउँमा अवश्य नै पर्यटकहरु आउँछन्’ उनले भनिन् सरकारले राम्रो सँग व्यवस्था गरेर पर्यटकलाई बोलाउँदा उनीहरुलाई फेरि पनि आउँ आउँ भन्ने खालको अवस्था बन्नु प¥यो ।’ यस्तै अमेरिका रिजनल कोडनेटरका उम्मेदवार राजन त्रिपाठीले संसारभरी रहेका नेपालीहरुको नेटवर्कलाई परिचालन गरेर नेपालमा पनि केहि गर्न सकिन्छ भन्ने वातावरण सिर्जना गर्ने सक्ने बताए । उनले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफुहरुको पनि महत्वपूर्ण भूमिका हुने बताए । नेपालमा एनआरएनएको लगानी कति ? गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा कति लगानी गरेको छ भन्ने एकिन तथ्याकं नभएपनि उनिहरुले नेपालमा अर्बौं लगानी गरेको दावी गर्छन् । संघले हाल सम्म के कति क्षेत्रमा लगानी गरेको छ, भन्ने खालका आधिकारि तथ्याकं छैन । पन्तले नेपालको स्वास्थ्य, शिक्षा, उद्योग, होटल, जलविद्युत, एयरलाइन्स, व्यापार लगायतका क्षेत्रमा संघले लगानी गरेको बताए । एनआरएनमा आवद्ध व्यवसायीहरुले पछिल्लो समय जलविद्युत र होटलमा लगानी भित्र्याएका छन् ।

प्रदेश ३ का पर्यटकीय स्थलः आम्दानीको मुख्य श्रोत

काठमाडौँ । विश्व सम्पदा सूचिमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपर रहेका वनजङ्गल त्यहा रहेका बाघ गैडा जस्ता दूर्लभ बन्यजन्तुका कारण आउने पर्यटनका लागि विश्वमै ख्याति प्राप्त छ चितवन । यसैले संघीय गणतन्त्र नेपाल वन्दै गर्दाको राजनीतिक सीमानामा प्रदेश नम्वर ३ मा पर्ने चितवन पर्यटकीय दृष्टिले समग्र यो प्रदेशकै अगुवा क्षेत्र पनि हो । “चितवन प्रदेशकै अगुवा पर्यटकीय क्षेत्र हो जसले प्रदेश भरीका पर्यटकीय क्षेत्रहरुको नेतृत्व गर्न सक्षम छ”, क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष सुमन घिमिरेले भने,“ प्रदेश नम्वर ३ पर्यटकिय क्षेत्रहरुको प्रचुर सम्भावना वोकेको क्षेत्र भएकाले पनि यो प्रदेशको आम्दानीको मुख्य श्रोत पनि पर्यटन नै हुनुपर्छ ।” चितवन सहित काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुली रामेछाप, दोलखा, रसुवा नुवाकोट, धादिङ्ग, काभ्रे र सिन्धुपाल्चोक गरि १३ वटा जिल्लाहरु रहेको प्रदेश नम्वर ३ ले २० हजार ३ सय वर्ग किलो मिटर क्षेत्र ओगटेको छ । ५५ लाख २९ हजार ४५२ जनसख्या रहेको यो प्रदेशका पर्यटकिय क्षेत्रहरुलाइ यसरी विश्लेषण गर्न सकिन्छ । वन र वन्यजन्तुमा आधारित पर्यटन प्राकृतिक सुन्दरताले ख्याती प्राप्त नेपालमा पर्यटक आउने मुख्य आधार मध्येको एक यहाँका वन र वन्यजन्तु नै हुन् । यसको अवलोकनकै लागि देश विदेशवाट लाखौँ पर्यटक नेपाल भित्रिरहेका छन् । प्रदेश नम्वर तीनमा नेपालकै पहिलो र ठूलो चितवन राष्ट्रिय निकुञ्ज, राजनीतिक इतिहास वोकेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, हिमाली भेगमा रहेको लाडटाङ्ग राष्ट्रिय निकुञ्ज, गौरीशंकर संरक्षण क्षेत्र लगाएतका वनजङ्गल र यस भित्र रहेका वन्यजन्तु तथा वनस्पतिहरु छन् । यसका अलवा मकवानपुरसँग सिमाना जोडिएको पर्सा वन्यजन्तु आरक्षण क्षेत्र पनि यहि प्रदेशमा पर्छ । २०२९ सालमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेका वाघ, गैडा जस्ता दूर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी यो क्षेत्रका आर्कषण हुन् । ९३२ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्ज स्थापना देखि हाल सम्मको साढे चार दशकको अवधिमा २७ लाख ३८ हजार ८४३ विदेशी पर्यटकले निकुञ्ज अवलोकन गर्दा १ अर्व ९३ करोड ७० लाख ८४ हजार २८६ राजश्व संकलन गरेको निकुञ्जको तथ्याङ्गकले पनि यसप्रतिको पर्यटकको वढ्दो आर्कषण प्रष्ट गर्छ । निकुञ्जमा रहेका ६६० चराचुरी, विसहजारी ताल जस्ता रामसार क्षेत्रमा सुचिकृत तालतलैयाले यसको आकर्षण अझै वढाएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत रामचन्द्र कँडेल भन्छन्, “वन्यजन्तु (हात्ती )माथि चडेर वन्यजन्तु (वाघ, गैडा जस्ता जनावर) हेर्न आउने चितवनको पर्यटकको विशेषता हो ।” यस्तै, प्रदेश नम्वर ३ मा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले १५९ वर्ग किलो मिटर क्षेत्रफल ओगटेको छ ।निकुञ्जका अनुसार २०५८ फागुन ६ गते शिवपुरी राष्ट्रिय निकुञ्जको नाममा स्थापित यो निकुञ्जमा नागार्जुन क्षेत्र थप गरेर २०६५ फागुन १२ गतेवाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका नाममा सञ्चालनमा आएको हो । वाग्मती, विष्णुमती, इन्द्रावती र त्रिशुलीनदीको जलाधार क्षेत्रको संरक्षणका रुमा रहेको यो निकुञ्जमा स्वच्छ र सफाखानेपानी आपूर्तिका साथै रुख विरुवाको माध्यमबाट वायू प्रदुषणलाई शुद्धिकरण गरी काठमाडौँ र वरपरको वस्तीमा वातावरणीय स्वच्छता कायमखगर्नु र शिवपुरी–नागार्जुन क्षेत्रको जैविकविविधता संरक्षणमा टेवा पुगेको विश्वास गर्न सकिन्छ । यस निकुञ्ज उच्च हिमश्रृंखला हरियाली पहाड, मनोरम झरना, ताल तलैया, नदीनाला दुर्लभ वन्यजन्तु चराचुरुङ्ी वनस्पती जैविक विविधता एवम् ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न भएकाले पनि पर्यटकहरुको मन तानिरहेको छ । यस निकुञ्जमा रहेको ध्वासे चितुवा, सामान्य चितुवा, हिमाली कालो भालु, सालक रतुवा जस्ता जनावर र ३११ प्रजातीका चराचुरुङ्गी, १०६ प्रजातीका पुलती यसका विशेष आर्कषण हुन् । यस्तै रसुवामा रहेको लाडटाङ्ग राष्ट्रिय निकुञ्ज र सिन्धुपाल्चोकमा रहेको गौरीशंकर संरक्षण क्षेत्र भित्र रहेका रेडपाण्डा, कस्तुरी मृग हिउ चितुवा धोरल, घोरल आदीले पनि पर्यटन तानि रहेको छ । मकवानपुर सग जोडिएको पर्सा वन्यजन्तु आरक्षणमा रहेका वाघ गैडा जस्ता जनावर पनि यस क्षेत्रकै सम्पत्ति र पहिचान हुन् । धार्मिक तथा साँस्कृतिकमा आधारित पर्यटन काठमाडौँको पशुपति मन्दिर विश्वकै हिन्दूधर्मालम्वीहरुको आस्थाको केन्द्र हो । विशेषत यहाँ भारतिय पर्यटकहरु वढी आउँछन् । पशुपति मन्दिर आएका धार्मिक पर्यटकलाइ मनकामना, देवघाट, वालमीकी आश्रम लगाएतका क्षेत्रमा लैजाने प्याकेज कार्यक्रम हुन जरुरी छ । काठमाण्डौका विभिन्न धार्मिक मठमन्दिर तथा पुरातात्विक क्षेत्र, चितवनको कालिगण्डकी र त्रिशुलीको संगम देवघाट तथा ऋषि वालमीकीले रामायण लेखेको र लवकुश जन्मि शिक्षा दिक्षा लिएको वालमिकी आश्रम, नुवाकोटको दरबार परिसर भित्रको भैरवी मन्दिर, तलेजु मन्दिर, राउतबेशीको दुप्चेश्वर महादेव, देवीघाटस्थित जालपादेवी मन्दिर, कविलासको नाट्येश्वर महादेव मन्दिर यो क्षेत्रकै धार्मिक पर्यटकीय क्षेत्र हुन् । चर्म रोगहरु निको हुने विश्वास गरिएको सिन्धुपाल्चोकको तातोपानी, कालकुट विष सेवन गरेपछि त्यसको मुक्तिका लागि शिव भगवानले ध्यान गरेको विश्वास गरिने रसुवाको गोसाइ कुण्डले पनि पनि आन्तरिक धार्मिक पर्यटकको मन तानी रहेको छ । यस्तै, धादिङ्गको पात्लेमा रहेको चमेरे गुफा यो सगै रहेको शिव पार्वतीको मन्दिर, लामागुरु, भैरवी मन्दिर, टोड्के चुली, वौद्ध मार्गीहरुको पवित्र सडक साङ्ककर्म देछेन लिङ्ग बौद्ध गुम्वा, रोदिघर, उत्खनन्, ऐतिहासिक एवम् पुरातात्विक वस्तुहरुको लघु संग्रालय, थुम्की डाँडा लगायतका स्थलहरु आकर्षकका केन्द्रहरु छन् । पात्ले गाँउको मनोरम दृश्यावलोकन सगै सितल हावा, शान्त प्राकृतिक वातावरणका अतिरिक्त स्थानीय गुरुङ खानाका परिकारले स्वदेशी तथा विदेशीको मन तानिरहेको छ । मकवानपुरको त्रिवेणीधाम, त्रिखण्डी, ऋषेश्वरमन्दिर, भुटनदेवी, वनखण्डीदेवी, चुरियामाई लगायतका मठमिन्दर पनि यहि क्षेत्रमा छ । यो क्षेत्रमा रहेका तामाङ, चेपाङ, थारु, ब्राम्हण, क्षेत्री, मगर, गुरुङ लगायत जातिहरुको भेषभूषा तथा साँस्कृतिक रीतिरिवाज पनि पर्यटकका लागि आर्कषण बनिरहेका छन् । ऐतिहासिक तथा पुरातत्वमा आधारित पर्यटन प्रदेश नम्वर तीन भित्र रहेको एतिहासिक तथा परातात्विक क्षेत्र मध्येमा सवै भन्दा वढी महत्व जोडिएको क्षेत्र हो काठमाण्डौको सुन्दरी जल र यसमा रहेको संग्राहलय । २००७ सालको जनआन्दोलन, प्रजातन्त्र वहाली र यसपछिका विभिन्न राजनैतिक घटनाक्रमहरु सग सुन्दरी जल जोडिएको छ । यहाँ रहेको सग्रहालयमा यिनै वस्तुहरु राखिएका छन् । जुन अहिले नेपालको इतिहास अध्ययन गर्ने देखि चाख लिनेहरुको लागि समेत आर्कषण वनी रहेको छ । वहादुर शाहाले वनाएको विश्वास गरिने चितवनको पुरानो सदरमुकाम उपरदाङ्गगढी, मकवानपुरको हेटौँडामा रहेको सहिद स्मारक, चिसापनी गढी, अशोककालीन चैत्य, लिच्छिवीकालीन शिलालेख पनि ऐतिहासिक पर्यटकिय क्षेत्रमा पर्छ । हेटौँडा उपमहानगरपालिका–११ मा रहेको सहिद स्मारक सहिदको योगदान स्मरण गर्ने र उनीहरुप्रति श्रद्धासुमन ब्यक्त गर्नेहरुका लागि अध्ययन र अनुसन्धान गर्नेहरुको थलो वनेको छ । यहाँ राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र लोकतन्त्रका लागि भएको संघर्षमा वलिदान दिएकाहरुको प्रतिमा कुँदिएका छन् । सहिद स्तम्भ निर्माणबाट सुरु गरिएको हो स्मारकमा १२ सहिदहरुको मुखाकृति कुँदिएको सहिद स्तम्भ छ । स्तम्भमा राष्ट्रियताको लागि अंग्रेजविरुद्धको सङ्घर्षमा मारिएका भीमसेन थापादेखि २००७ सालको प्रजातन्त्र प्राप्तिको राणा शासन विरोधी सङ्घर्षमा हत्या गरिएका दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको मुखाकृति कुँदिएका छन् । यसैगरी किसान संघर्षमा ज्यान गुमाएका भीमदत्त पन्त, पञ्चायती शासनविरुद्धको आन्दोलनमा सहिद भएका क्याप्टेन यज्ञबहादुर थापा, दुगानन्द झा, रत्नकुमार वान्तवा, वीरेन राजबंशी, मुनेश्वरी यादव र प्रभाकर पौडेलको मुखाकृति कुँदिएको छ स्तम्भ पनि यहाँ रहेको छ । जुन आन्तरिक तथा विदेशी पर्यटकको आर्कषण वनी रहेको छ । यस्तै, मकवानपुरकको गढी, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको नुवाकोटे दरवार, धादिङ्गको सित्लेमा रहेको पुरातात्विक वस्तुहरुको लघु संग्रालय, चितवनको सौराहामा रहेको थारु र शक्तिखोरमा रहेको चेपाङ्ग संग्राहलयले पनि यहाँको ऐतिहासिक तथा पुरातात्विक वस्तुहरुको पहिचान दिन्छ । धादिङ्गको सिद्धलेक पनि ऐतिहासिक तथा प्राकृतिक तथा सांस्कृतिक हिसावले अत्यन्त महत्वपूर्ण स्थान हो । धादिङ जिल्लाको नलाङ र सलाङ गाविसको विचमा अवस्थित उक्त स्थानवाट धादिङ जिल्लाको ४९ वटा गाविस र नेपालको १ दर्जन भन्दा वढी जिल्लाहरु देख्न सकिन्छ । प्याराग्लाईडिङको लागि उपयुक्त स्थान मानिने यो क्षेत्र श्रीमहादेवले परापुर्वकालमा पार्वतीलाई छली श्लेश्मान्तक वनमा क्रिडा गर्न जाँदा सिद्धलेकमा थकाइ मार्न बस्दा त्यस ठाँउको दृश्य रमाइलो लागि आफ्नो एक अंश त्यही रहेर सिद्धबाबा नामले प्रख्याती कमाएको किंवदन्ती रहेको छ । संस्कृतिविद् डीआर पोख्रेल भन्छन्, “ऐतिहासिक पुरातात्विक केन्द्रहरु हाम्रा पहिचान र सम्पत्ति हुन् । यिनको संरक्षण गर्न सकेमात्रै पनि पर्यटनको प्रर्वधन गर्न सकिन्छ ।” र्याफ्टिङमा आधारित पर्यटन र्याफ्टिङमा आधारित पर्यटनलाई साहसिक जलयात्राका रुपम पनि लिइन्छ । प्रदेश नम्वर ३ को र्याफ्टिङमा आधारित पर्यटनको चर्चा गर्दा त्रिशुली नदीलाई सवै भन्दा महत्वपूर्ण मान्न सकिन्छ । राजधानी काठमाडौँबाट नजिक रहेका कारण पनि यो जलयात्राका लागि वढी उपयुक्त मानिन्छ । पृथ्वी राजमार्ग सगै रहेका कारण पनि यो नदी र्याफ्टिङ्गका लागि वढी उपयोगी पनि छ । यस नदीमा मुख्यतः धादिङ जिल्लाको बैरेनीदेखि चितवन जिल्लाको नारायणघाट सम्म नै १०६ किलोमिटर दुरीसम्म र्याफ्टिङ गर्न सकिन्छ । यहाँ एक देखि चार दिन सम्मको प्याकेजमा र्याफ्टिङका गतिविधीहरु सञ्चालन भै रहेका छन् । त्रिशुली नदीमा साना र ठुला गरी करिब ६० वटा र्याफ्टिङहरु छन् । यहाँ अधिकतम ४ ग्रेट सम्मका र्यापिडहरु छन् । यस्तै, त्रिशुली र नारायणी नदीमा जलयात्रा सहितको र्याफ्टिङका गतिविधीहरु सञ्चालन गरि मनकामना, देवघाट र वालमीकि आश्रमलाइ जोडेर ‘टूर प्याकेज’ गराउन सकिने हो भने यसले धार्मिक पर्यटनको विकासमा फड्को मार्न समेत सहयोग पुर्याउँछ । मनकामनावाट केवुलकारमा हरर हानिएका पर्यटकलाई त्रिशुलीमा र्याफटिङमा सरर देवघाट ल्याउन सकिन्छ । देवघाटमा एक वा दुई दिन राखेर यस वरपरका धार्मिक क्षेत्रहरुको अवलोकन पछि पुन नारायणीमा जलयात्रा गराएर त्रिवेणी पुर्याउन सकिने सम्भावना तर्फ सम्वन्धित निकायको ध्यान जानु जरुरी छ । नारायणीमा जलयात्राका क्रममा त्यहा देखिने जलचरहरु, चितवन निकुञ्ज भित्रका वाघ गैडा जस्ता जङगली जनावर र चराचुरुङ्गीहरुले कसको पो मन नलोभ्याउला र ? अझै त्रिवेणी पुगेर जङ्गलको यात्रा ‘जङ्गल वार्क’ गर्दै वालमीकि आश्रम पुग्दा नयाँ अनुभव गर्न सकिन्छ । पदमार्गमा आधारित पर्यटन प्रदेश नम्वर तीनका प्रायः जिल्लाहरुमा पदयात्रामा आधारित पर्यटनको धेरथोर विकास भएको देखिन्छ । धादिङमा पदमार्गका लागि रुवी क्षेत्र विस्तार हुदै छ । यो पदमार्गमा धादिङ्गको उत्तरी क्षेत्रका पर्यटकीय सम्भाब्यता बोकेको गणेश हिमाल क्षेत्र सम्म रहेको रुविभ्याली पुग्न सकिन्छ । यसको प्रमुख आकर्षण नै गणेश हिमश्रृंखलाको दृश्यावलोकन हो । यो क्षेत्रको पर्यटन विकासका लागि सरकारी तथा गैर सरकारी सस्थाहरुले विभिन्न सहयोग गरि रहेका भए पनि यो प्रयाप्त हुन सकेको छैन । यो क्षेत्रमा पर्ने विभिन्न गाउँ वस्तिहरुमा रहेका जतिय पहिचान झल्कने संस्कृतिहरुले पर्यटकको मन लोभ्याउँछ नै यसले हिमाल हेरेर मनोरञ्जन लिने पर्यटकलाइ आर्कषण गरि रहेको छ । यो मार्गमा छोटो दुरीका लागि ३ दिन देखि लामो दुरीका लागि २१ दिन सम्मका प्याकेज कार्यक्रमहरु पर्यटकका लागि दिइरहेको छ । यस्तै, धादिङ्गको हुग्दिवाट चितवनको सिराइचुली, उपदाङ्गगढी भएर चितवनको शक्तिखोर झर्ने चेपाङ्ग पैदल यात्राको पनि यहाँ विकास भएको छ । सूर्योदयका लागि आर्कषक चितवनकै भ्यू सिराइ चुली देखि पुरानो सदरमुकाम उपरदाङ्गगढी सम्म यो मार्गमा पर्छ । दुई देखि तिन दिन सम्मको यो पैदल रुटमा पर्ने चेपाङ्ग, गुरुङ्ग, मगर लगाएतका जनजातीहरुको रितिरिवाज तथा संस्कृतिहरु पर्यटकका लागि आर्कषण वन्ने गरेका छन् । वन र वन्यजन्तुमा आधारित सौराहा आउने पर्यटकलाइ सौराहा भन्दा करिव २० किलो मिटर उत्तरमा रहेको शक्तिखोरमा ल्याएर उकालो उकाल्न सक्ने हो भने यो पदमार्गले विकास गर्न सक्ने छ । यसका लागि पहाडी क्षेत्रमा पर्यटका लागि आवश्यक पूर्वाधारको विकास हुन जरुरी छ । रसुवामा रहेको लाङ्गटाङ्ग निकुञ्ज र यस सगै रहेको गणेश हिमाल, गोसाइकुण्ड लगाएतका क्षेत्रलाइ समेटेर यहाँ लाङ्गटाङ्ग पैदल मार्ग वनाइएको छ । यो मार्गमा विशेषत पर्यटकिय क्षेत्रहरु स्याफ्रूवेसी, खामजिङ्ग,सेर्पा गाउँ, रिम्चे हँुदै लाङ्गटाङ्ग क्याङ्गजेन सम्म पुगेको छ । गएको वर्ष आएको भूकम्पले यो मार्ग क्षति पुगेपछि अहिले पूर्ननिर्माणको काम पनि भै रहेको छ । विशेष जिल्ला प्राविधिक कार्यालयले यो क्षेत्रको पर्यटकीय मार्गको विकासका लागि योजना अघि सारेको देखिन्छ । विशेष त गणेश हिमाल र यसको हिमाल सृखला सम्म पुग्नका लागि वनाइएको पैदल मार्गमा पर्ने लाङ्गटाङ्ग खोलामा असहज गहिरो खोचमा पहिरोले समस्या भएपछि यो वर्ष मर्मत सुधार गरिएसँगै यो मार्ग पनि अहिले सञ्चालनमा रहेको हो । निश्कर्ष:  दुई विशाल छिमेकीहरु उत्तरमा चीन र दक्षिणमा भारत सम्मको सिमाना जोडिएको नेपालको प्रदेश नम्वर ३ मा रहेको पर्यटकीय क्षेत्रहरुको सम्भावना र यसको विकासमा जोड दिन जरुरी छ । तर, भूकम्पले क्षति पुगेका कतिपय पर्यटकीय क्षेत्रहरु पूर्ननिर्माण हुन नसक्दा यसले पर्यटनको विकासमा समेत अवरोध पुगेको छ । क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरको भनाईलाई आधार मान्ने हो भने पुनर्निर्माणमा रहेका सडक तथा अन्य पूर्वाधार विकासलाई छिटो भन्दा छिटो काम सकेर पर्यटन क्षेत्रको विकासमा लाग्ने हो भने यसले प्रदेश नम्वर ३ कै विकासमा फड्को मार्नेछ ।