एनएसीले मंसिरदेखि ग्वोञ्जाओ उडान गर्ने, पुसको दोस्रो सातादेखि जापानको नारिता उडान हुँदै
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको ग्वोञ्जाओ उडान सुनिश्चित भएको हो । “निगमको जहाज ग्वोञ्जाओ उड्ने लगभग निश्चित भएको छ, सम्भवतः मङ्सिर महीनादेखि उडान शुरु हुनेछ”, मन्त्रालयका एक अधिकारीले भने । निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको सर्त थियो । त्यसका लागि एक प्राविधिक टोली कात्तिक महिनाभित्रै आउने भनिएको थियो । तर चीनमा भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भई आवश्यक कागजात आदान–प्रदान गरी उडान सञ्चालन गर्ने समझदारी बनेको थियो । सोही बमोजिम निगमले आन्तरिकरूपमा कागजात चिनियाँ सिभिल एभिएशनलाई पठाएको र सोही आधारमा ग्वोञ्जाओ उडानका लागि ‘स्लट’ पाउने बताइएको छ । यसैबीच निगमले चीनको राजधानी बेइजिङ र साङ्घाई उडानका लागि चिनियाँ नियामक निकायसँग पहल थालेको छ । निगमका प्रवक्ता गणेशबहादुर चन्दले बेइजिङ र साङ्घाई उडानका लागि पहल भइरहेको जानकारी दिए । उनका अनुसार उक्त दुई गन्तव्यमा उडान सञ्चालन गर्ने प्रयोजनका लागि चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर निगमको सेफ्टी अडिट गर्नेछ । तत्पश्चात् निगमले उडान अनुमति पाउने विश्वास लिइएको छ । नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले यही कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा सिधा उडान शुरु गरिसकेको छ । हिमालयले चीनका अन्य थप पाँच गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ । पुसको दोस्रो सातादेखि जापानको नारिता उडान हुने निगमले आगामी जनवरी महीना अर्थात पुसको दोस्रो सातादेखि जापानको राजधानी टोकियो नजीकको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको तयारी गरेको छ । उक्त गन्तव्यमा उडान सञ्चालनका लागि निगमले आन्तरिक तयारी पूरा गरेको जनाइएको छ । निगमले जापान सिभिल एभिएशनले मागेको आवश्यक कागजात बुझाइसकेको छ, तत्पश्चात् उडान अनुमति पाउनेछ । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । यो गन्तव्यमा निगमले वाइड बडी ए३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गरिसकेको छ । नारितामा साताको तीन दिन उडान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको निगमले उल्लेख गरेको छ । गत भदौ १२ देखि जापानकै ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान शुरु गरेको थियो तर यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि निगमले पनि नारिता उडानका लागि पहल गर्दै आएको थियो । निगमले ओसाका गन्तव्यमा सातामा दुई दिन उडान भर्दै आएको छ । रासस
पोखरामा सञ्चालीत अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकीय आकर्षण बढ्दै
काठमाडौं । पर्यटकीय नगर पोखरामा सञ्चालीत अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको दिन प्रतिदिन आकर्षण बढ्दै गएको छ । एउटै छानमुनि हिमाल र हिमालीका गतिविधिबारे जानकारी लिन सकिने पोखरा– १७ रातोपैह्रामा सञ्चालित सङ्ग्रहालय यतिखेर विशेषगरी विद्यार्थीसँगै आन्तरिक एवं बाह्य पर्यटकको अध्ययन अवलोकनको स्थल बनेको छ । नेपाल पर्वतारोहण सङ्घद्वारा खरीद गरेको १०० रोपनी जग्गामा निर्माण गरी एक दशकअघिदेखि सञ्चालनमा आएको सङ्ग्रहालयमा हालसम्म २२ लाख १२ हजार १५ जनाले टिकट काटेर अवलोकन गरेको सङ्ग्रहालयका निर्देशक शङ्कर गौतमले जानकारी दिए । उनका अनुसार सङ्ग्रहालय खुला गरिएयता हालसम्म विद्यार्थी नौ लाख ३४ हजार, ६६७, सर्वसाधारण नेपाली सात लाख, २० हजार २३६, सार्कस्तरीय पर्यटक एक लाख ७८ हजार ३७, अन्य विदेशी राष्ट्रका दुई लाख ५५ हजार ५१६ जनाले टिकट काटेर अवलोकन गरेका छन् । वर्षमा ३ सय ६५ दिनै खुला रहने सङ्ग्रहालयले यस अवधिमा टिकट बिक्रीबाट मात्र कूल २० करोड ५९ लाख ४७ हजार ३२८ आम्दानी गरेको बताउँदै उनले बगैँचा र निःशुल्क रुपमा अवलोकन गर्नेको सङ्ख्यासमेत उल्लेखनीय रहेको बताए । सङ्ग्रहालयमा विश्वका आठ हजारभन्दा बढी उचाइ भएका १४ वटा, सात हजार ५ सयदेखि ७ हजार ९ सय ९९ उचाइसम्मका ४० वटा, ६ हजारदेखि ६ हजार ९ सय ९९ सम्मका ६ सय ३ सहित कूल एक हजार ९१३ वटा हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका बारेमा विस्तृत जानकारी लिन सकिने उनको भनाइ छ । साढे छ रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनभित्र विभिन्न चार वटा कक्षअन्तर्गत १२ वटा उपकक्षमा विश्वका आठ हजारभन्दा अग्गा १४ वटा हिमाल र तीनमा आजसम्म भए गरेका गतिविधि प्रदर्शन गरिएको छ । यसमा आठ हजार भन्दाबढी उचाइका आठ वटा हिमचुचुरा नेपालमा पर्दछन् । हिमालको काँठमा बसोबास गर्ने स्थानीय बासिन्दाको सामाजिक, सांस्कृतिक, धार्मिक एवं आर्थिक क्रियाकलाप झल्काउने सामग्री सङ्कलन गरी सङ्ग्रहालयको पर्वतीय मानव कक्षमा प्रदर्शन गरिएको निर्देशक गौतमले बताए । विश्वका पर्वत शृङ्खलाको उत्पत्ति, भौगर्भिक महत्व, सो स्थानमा पाइने वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शनी, जानकारीमूलक सामग्रीको अभिलेख पर्वतीय कक्षमा सङ्ग्रह गरिएको छ । सो कक्षमा विश्वका पर्वत शृङ्खलामा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी गरिएको नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार हरिध्वज तुलाचनले जानकारी दिए । सङ्ग्रहालयमा विभिन्न उपकरण सङ्कलनसहितको विविध सामग्रीको अभिलेख भण्डारणलाई निरन्तरता दिँदै आएको बताउँदै उनले विश्वका हिमाल र हिमाली क्षेत्रको गतिविधिका बारेमा अनुसन्धान गर्ने अध्येता, अन्वेषकका लागि एउटै छानामुनि एकैथलोमा बसी अध्ययन अनुसन्धानको उत्तम थलोको रूपमा विकसित गर्ने बृहत् नेपसले लिएको छ । बिहान ८ देखि साँझ ५ बजेसम्म खुला रहने सङ्ग्रहालयमा यतिखेर विद्यार्थी ५० रुपैयाँ, नेपाली सय रुपैयाँ, सार्कस्तरीय २ सय ५० रुपैयाँ र बाह्य पर्यटकका लागि पाँच सय रुपैयाँ र बगैँचामा घुमफिरका लागि ३० रुपैयाँ टिकट दर कायम गरिएको छ । कूल १० करोड रुपैयाँको लागतमा निर्माण गरी सञ्चालनमा आएको सङ्ग्रहालय निर्माणका लागि नेपाल सरकारबाट ३० लाख रुपैयाँ, जापान एक करोड ४५ लाख ७८ हजार १११ , कोरिया ६ लाख ६९ हजार ३००, चीन तीन लाख ३६ हजार ७५०, भारत तीन लाख २० हाजर, स्पेन ३७ लाख सहयोग प्राप्त भएको छ भने स्वदेशी र विदेशी मुलुकका विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट लगभग चार करोड र बाँकी नेपाल पर्वतारोहण सङ्घले व्यहोरेको थियो । सङ्ग्रहालय भवनको अगाडिको भागमा निर्माण गरिएको मनासलु हिमालको मोडल र याकको मूर्ति अहिले सो स्थानमा पुग्ने जुनसुकै उमेरका अवलोकनकर्ताका लागि पनि थप आकर्षण बनेको छ । परिसरमा रहेको ३१ मिटर अग्लो नमूना हिमाल, माउन्टेन क्लाइम्बिङ बाल, पोखरा तथा चट्टानी बगैँचा, नेपाली घरको आकर्षण नमूनालगायतले जो कोहीलाई लोभ्याउने गरेको नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखाका पूर्वअध्यक्ष जीवन सापकोटाले जानकारी दिए । मुलुकको पर्यटकीय राजधानीका रुपमा अगाडि बढेको पोखरामा आउने पर्यटकको बसाइँ लम्ब्याउन यस प्रकारका पूर्वाधार विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउँदै उनले प्रदेश सरकारले सञ्चालन गरेको नयाँ गन्तव्य र (होमस्टे) घरबास प्रवद्र्धनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। रासस
पर्यटककाे सङ्ख्यासँगै बढ्यो राजश्व, करिब छ कराेड संकलन
भक्तपुर । पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा भक्तपुरमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै राजश्व पनि बढेको छ । पर्यटक बढेसँगै भक्तपुर नगरपालिकाले सङ्कलन गर्ने पर्यटन शुल्कसमेत बढेको हाे । पर्यटकको सङ्ख्या बढेसँगै भक्तपुर नगरपालिकाले पर्यटन शुल्कबाट सङ्कलन गर्ने राजश्वसमेत वृद्धि भएकाे छ । यसरी वृद्धि भएसँगै आव २०७६/७७ को तीन महिनामा रु पाँच करोड ८५ लाख राजश्व सङ्कलन गरेको हाे । चालू आवको साउन, भदौ र असोज महिनामा गत वर्षभन्दा यस वर्ष ६०० पर्यटक बढेको छ । आव २०७५/७६ को साउन, भदौ र असोजको तीन महिनामा ५६ हजार ५१२ पर्यटक आगमन भएकामा चालू आव २०७६/७७ को साउन, भदौ र असोजमा यो सङ्ख्या बढेर ५७ हजार ३२९ पुगेको छ । भक्तपुर नगरपालिका पर्यटक सूचना केन्द्र भक्तपुरका प्रमुख गौतम लासिवाका अनुसार यस वर्ष साउनमा १८ हजार ३९७, भदौमा १४ हजार २३२ र असोजमा २४ हजार ७०० पर्यटकले भक्तपुरको अवलोकन गरेका छन् । गत आवको साउनमा भन्दा यस वर्षको साउनमा दुई हजार ३१८ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ भने भदौ र असोजमा भक्तपुर आउने पर्यटकको सङ्ख्या घटेको छ । भदौमा गत वर्षभन्दा एक हजार ४७६ पर्यटक घटेका छन् । भक्तपुरमा सार्क र चीनबाट २७ हजार ४४६ पर्यटकले भ्रमण गरेका छन् भने अन्य मुलुकबाट २९ हजार ८८८ ले भक्तपुरको भ्रमण गरेका छन् । साउन महिनामा सार्क र चीनबाट १० हजार २५६ र अन्य मुलुकबाट आठ हजार १४१ ले भ्रमण गरेका छन् । भदौमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) सदस्य मुलुक र चीनबाट छ हजार ८६३ र अन्य मुलुकबाट सात हजार ३६९ ले असोजमा सार्क र चीनबाट १० हजार ३२७ र अन्य मुलुकबाट १४ हजार ३७३ जनाले भक्तपुरको अवलोकन गरेका छन् । नगरपालिकाले सार्क र चीनका पर्यटकलाई प्रवेश शुल्क ५०० र अन्य मुलुकका पर्यटकलाई रु एक हजार ५०० प्रवेश शुल्क लिँदै आएको छ । यस आवको साउन, भदौ र असोजमा पर्यटकबाट रु पाँच करोड ८५ लाख ४७ हजार ५०० राजश्व सङ्कलन भएको पर्यटक सूचना केन्द्र भक्तपुरका प्रमुख लासिवाले जानकारी दिएका छन् । रासस