यातायात व्यवसायी भन्छन्ः जहाज भरि यात्रु हुँदा कोरोना नसर्ने बसमा सर्ने भन्ने हुन्छ ?

काठमाडौं । सरकारले हवाई सेवा कम्पनीहरुलाई सीट क्षमता अनुसारको यात्रु राख्न पाइने निर्णय गरेसँगै यातायात व्यवसायीहरुले विरोध जनाएका छन् । सरकारले एयरलाइन्सलाई भौतिक दूरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडाउन पाउने निर्णय गरेपछि यातायात व्यवसायी आक्रोशित भएका हुन् । उनीहरुले जहाजभरी यात्रु राख्दा जोखिम नहुने तर गाडीमा यात्रु राख्दा कोरोनाको जोखिक बढी हुने हो र भन्ने खालका प्रश्न समेत गर्न थालेका छन् । उनीहरुले सरकारले जहाजमा सीट क्षमता अनुसारकै यात्रु राख्ने भएपछि बसमा पनि सीट क्षमता अनुसारकै यात्रु राख्न पाउनु पर्ने आवाज उठाइरहेका छन् । उनीहरुले सबै सिटमा यात्रु राखेर यातायात संचालन गर्ने समेत चेतावनी दिएका छन् भने सरकारले विभेद गरेको पनि आरोप लगाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालले जहाजमा पूरा सिटमा मान्छे राख्न दिने तर गाडीमा राख्न नदिने सरकारको निर्णय विभेदकारी भएको बताए । ‘गाडीमा आधा मात्र यात्रु राख्न पाउने, जहाजमा जति राख्दा पनि हुने यो सरकारको कस्तो नीति हो, जहाजमा कोरोना नसर्ने भनने हुन्छ र ?,’ उनले प्रश्न गरे। उनका पहुँचकै आधारमा हवाई सेवा कम्पनीहरुले सबै सिटमा यात्रु राख्ने अनुमति पाएको आरोप उनले लगाए । जहाज र गाडीलाई समान व्यवहार नगरे यातायात व्यवसायी पुरानै भाडामा स्वास्थ्य मापदण्ड मानेर पूरा सिटमा यात्रु राख्ने उनले बताए । यस्तै महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर यात्रुलाई बढी भाडा तिर्नबाट रोक्ने हिसावले यस्तो भनेको बताए । उनले आधिकारिक निर्णय भोलि हुने बताए । सरकारले असोज १ गतेदेखि देशभर लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यही अनुसार सवारी साधन सञ्चालन भइरहेका छन् । सरकारले सार्वजनिक सवारी साधनमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने र स ोवापत भाडा भने ५० प्रतिशत बढी लिन पाउने व्यवस्था गरिएको छ । हवाई सेवा भने भोलि अर्थात सोमबारदेखि सञ्चालन हुँदैछन् । जहाजले भने सीट क्षमताको आधारमा उचित स्वास्थ्य मापदण्ड पालना गरी यात्रु राख्न पाउने छन् ।

हवाई सेवा कम्पनीहरुले शतप्रतिशत यात्रु राखेर सेवा दिन सक्ने

अब हवाई सेवा कम्पनीहरुले सिछ क्षमता अनुसार यात्रुहरु राखेर सेवा दिन सक्ने भएका छन् । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेकाे बैठकले सीटको क्षमता अनुसार नै यात्रु राखेर सेवा दिन पाइने निर्णय गरेको हो । यस अघि सरकारले वायु पसेवा कम्पनीहरुलाई ५० प्रतिशत यात्रु राखेर मात्रै सेवा दिन भनेको थियो । तर, आज बसेको बैठकले शतप्रतिशत यात्रु राखेर नै सेवा दिन सक्ने निर्णय गरेको हो । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राखेर असोज ५ गतेबाट उडान गर्न अनुमति दिने निर्णय गरेको थयो। तर निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले ५० प्रतिशत मात्रै यात्रुत्रु राखेर उडान गर्न नसक्ने बताउँदै आएका थिए ।

दामनमा बन्यो नेपालकै अग्लो फलामे भर्याङ

काठमाडाैं । पर्यटकीय आकर्षणको केन्द्र मानिने मकवानपुरस्थित थाहा नगरपालिकाको दामनमा १५७ खुड्किलाको ७० मिटर लामो फलामे भर्याङ निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख रूपैयाँ आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरणमा फलामे भर्याङसहित पार्क निर्माण गरिएको हो । थाहा नगरपालिका-४ का वडाध्यक्ष दिपकसिंह लामाले प्राकृतिक टाकुरासम्म पुग्न निर्मित भर्याङ नेपालकै अग्लो फलामे भर्याङ भएको दाबी गरे । भर्यारङबाट माथि समुद्री सतहबाट करिब दुई हजार ४०० मिटरको उचाइमा रहेको अग्लो स्थानलाई प्राकृतिक टावरको रुप दिइएको छ । अग्लो टाकुरालाई वरपरबाट ढुङ्गा र सिमेन्टको गारोले घेरेर प्राकृतिक टावरको रुप दिइएको निर्माण समितिका अध्यक्ष कान्छा लामाले बताए । दामनमा ७० मिटर लामो भर्याङसहित प्राकृतिक टावर बनेपछि थाहा नगरपालिकामा अब अर्को दृश्यावलोकन स्तम्भ थपिएको र यो स्तम्भ नेपालकै पर्यटकीय केन्द्र बन्न सक्ने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको भनाइ छ । हाल निर्माण भएको दृश्यावलोकन केन्द्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आधा दर्जन उच्च हिमश्रृङ्खला दृश्यावलोकन गर्न सकिन्छ । रासस