ईसेवा होटल्समा ३ हजार ५ सयभन्दा बढी होटल, बुकिङ गर्न पैसा नलाग्ने

काठमाडौं । नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले ईसेवामार्फत् नेपालका ५४ भन्दा धेरै जिल्लामा अवस्थित साना, मझौला तथा ठूला होटलहरू बुक गर्न सकिने जनाएको छ । होटलहरूदेखि लिएर ग्रामीण भेगमा अवस्थित होम स्टेसम्म बुक गर्न सकिने इसेवा होटल्समा करिब ३ हजार ५०० भन्दा बढी होटल रहेका छन् । ईसेवा एप वा इसेवा होटल्सको वेभसाइटबाट बिना झन्झट छिनभरमा बुक गर्न सकिने कम्पनीले जनाएको छ । ईसेवा होटल्समा बिना अग्रिम भुक्तानी साथै आवश्यकताअनुसार बुकिङ रद्द गर्न पनि सकिने सुविधा रहेको छ । ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरूलाई पनि समावेशीकरण गर्न तथा आर्थिक रूपमा सशक्त बनाउन ईसेवा होटल्सले युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेससँग विभिन्न सहकार्य गर्दै आइरहेको छ । यस सहकार्यले साना तथा मझौला होटल वा होमस्टेहरूलाई प्राविधिक सहयोगका साथै व्यवसाय सञ्चालनमा पनि थप उत्साह प्रदान गरेको छ । सन् २००९ मा स्थापना भएको कम्पनी ईसेवाले अहिले नेपालका ७७ जिल्लाको ७५३ वटै स्थानीय निकायमा आफ्नो एजेन्ट नेटवर्क पुर्‍याउन सफल रहेको छ ।

अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने

काठमाडौं । नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले एआई फिचर सार्वजनिक गरेको छ । बिल इन्ट्री गर्ने प्रक्रियालाई अझै छिटो र सजिलो बनाउन टिग एआई फिचर सार्वजनक गरिएको हो । व्यवसायहरूका लागि बिल इन्ट्री गर्ने  प्रक्रिया आफैमा लामो हुन्छ । तर अब यो प्रक्रियालाई टिक एआईले निकै सजिलो बनाउने छ । टिगमा राखिएको बिलहरु अब एआईले नै स्वतः सिस्टममा राखिदिने छ । एआईमार्फत टिगले अकाउन्टिङ क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन खोजेको छ । प्रयोगकर्ताहरूलाई सहज, सरल र छिटो सुविधा प्रदान गर्ने उद्देश्यसहित टिग एआई फिचर ल्याएको टिगका सीईओ रमेश केसीले बताए । ‘एआई फिचरले समयको मात्रै बचत गर्दैन् । यसले समग्र प्रक्रियालाई नै सहज बनाउने छ,’ उनले भने, ‘टिग एआईले भविष्यको अकाउन्टिङलाई प्रतिनिधित्व गर्दछ । अकाउन्टिङ क्षेत्रलाई रूपान्तरण गर्न हामी एककदम अगाडि बढेका छौं । यसले अकाउन्टेन्टहरूलाई पनि सशक्तिकरण गर्नेछ ।’ प्रयोगकर्ताहरूले टिगमा बिलहरुको  फोटो अपलोड गरेपछि एआई फिचर प्रयोग गर्न ‘स्क्यान विथ एआई’ बटनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि सिस्टमले बिल  रिड गर्नेछ र आफै स्वत सिस्टममा लेखिदिने छ । अनि एआईले स्वतः राखेको विवरण सही भएको वा नभएको जाँच गरेर थप मिलाउनु पर्ने भए मिलाउन सकिने छ । एआई फिचरको प्रिन्टेड बिलमा ९९ प्रतिशत र हातले लेखेको बिलामा ९५ प्रतिशत एकुरेसी भएको कम्पनीले जनाएको छ । म्यानुअल इन्ट्रीभन्दा टिग एआईबाट बिल इन्ट्री गर्दा ११५ गुणा बढी छिटो हुनेछ । गज्जबको कुरा त, टिग एआईले नेपाली भाषा समेत सपोर्ट गर्छ । कम्पनीका अनुसार टिगको एआई सुविधाले म्यानुअल रूपमा डेटा इन्ट्री गरिरहनुपर्ने समस्या अन्त्य गर्दै प्रयोगकर्ताहरूलाई आफ्नो व्यवसायमा थप समय दिन मद्दत गर्नेछ । प्रयोगकर्तालाई छिटो र सहज सेवा दिने कार्यलाई टिगले सधैं पहिलो प्राथमिकतामा राख्दै आएको छ । त्यसै अनुसार एआई फिचर ल्याइएको हो । यो सुरूवात मात्र भएको र अकाउन्टिङ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन अझै रूपान्तरणकारी एआई फिचर ल्याएर आउने कम्पनीले प्रतिबद्धता जनाएको छ । टिग क्लाउडमा आधारित अकाउन्टिङ सफ्टवेयर हो । देशभर ५ हजार बढी साना तथा मझौला व्यवसायले प्रयोग गरिरहेको टिग आईएसओ 270001 सर्टिफाइड कम्पनी समेत हो ।

जुम्लामा नेपाल टेलिकमको फाइबर इन्टरनेट विस्तार, एक हजारले जडान गरे सेवा

काठमाडौं । जुम्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा दिएको छ । यहाँका ८ स्थानीय तहमा टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तारका लागि काम भइरहेको छ । जिल्लाका धैरै जसो सरकारी कार्यालय र व्यक्तिगत पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख सुवास शाहले जानकारी दिए । चन्दननाथ नगरपालिका भित्र मात्रै एक हजार ग्राहकले फाइबर इन्टरनेट जडान गरेका छन् । कार्यालय प्रमुख शाहले भने, ‘जिल्लामा फाइबर इन्टरनेटको माग बढेको छ । निजी कम्पनीको भन्दा सस्तो र राम्रो छ । यस कारण ग्राहक आकर्षित छन् ।’ इन्टरनेटसँगै टेलिफोन र टेलिभिजनको सुविधा पनि प्रदान गरेको कार्यालय प्रमुख शाहको भनाइ छ । इन्टरनेटको स्पिडअनुसारको शुल्क फरकफरक निर्धारण गरिएको टेलिकमले जनाएको छ । यहाँका आठवटै स्थानीय तहका २० स्थानबाट फोरजी सेवा र सातवटा ठाउँमा टुजी सेवा सहितका टावरबाट सञ्चार सेवा प्रवाह भएको टेलिकमले जनाएको छ । टेलिकमको एनटी फाइबर गत वर्षको जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ भएको थियो । एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।