नेपाल टेलिकमको साधारण सेयर स्वामित्व ३० प्रतिशत पुर्याइने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशमा ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती’ सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले गुनासो नआउने तवरले प्रभावकारी सेवा प्रवाह हुनुपर्ने बताए । सबैको एकताबद्ध प्रयासबाट दूरसञ्चारको कामलाई गुणस्तरीय बनाउन सकिने उनको भनाइ छ । राजमार्ग क्षेत्रमा दूरसञ्चार सेवाका सम्बन्धमा गुनासो आउने गरेको उल्लेख गर्दै मन्त्री गुरुङले पृथ्वी राजमार्गसहित अन्य राजमार्गमा स्तरीय सेवा दिनेगरी काम गर्नुपर्नेमा जोड दिए । ‘सेटलाइट’का माध्यमबाट ‘फोरजी’ सेवालाई घरघरमा पुर्‍याउनुपर्ने उनले बताए ।, सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले पब्लिक सर्भिस बोर्ड (पिएसबी) मार्फत नेपाल टेलिभिजन र रेडियो नेपाललाई एक ठाउँमा ल्याएको जिकिर गर्दै उनले प्रिन्ट मिडियालाई पनि एक ठाउँमा ल्याउन पिएसपी ल्याउने योजना रहेको बताए । साइबर अपराध बढ्दो अवस्थामा रहेका कारण यसको नियन्त्रणका लागि सरकारले साइबर सेक्युरिटी ऐन ल्याउने तयारी गरेको उनले बताए । नेपाल टेलिकमलाई जनउत्तरदायी बनाउनुका साथै नागरिक निगरानी बढाउन पब्लिक सेयर (आईपीओ) वृद्धि गर्दै २५ प्रतिशतदेखि ३० प्रतिशत बनाउनुपर्छ भन्ने विषय छलफलका क्रममा रहेको मन्त्री गुरुङको भनाइ छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार हाल सर्वसाधारणको सेयर स्वामित्व ८.४७ प्रतिशत रहेको छ भने संस्थापक सेयर स्वामित्व ९१.५३ प्रतिशत रहेको छ ।

नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ इनोभेसन क्याम्पस

काठमाडौं, नेपाल – पौष ११, २०८१ – आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पस (एसआईसी) मार्फत सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तिकरण गर्न जारी राखेको छ। त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा कृतिम बाैद्धिकता (एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ । यसका साथसाथै कार्यक्रमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना विद्यार्थीहरूको पनि स्वागत गरेको छ । सन् २०२२ मा सुरु भएदेखि एसआईसीले युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको लागि आवश्यक सीपहरू प्रदान गरी भविष्यका लागि तयार हुने सामसङको ‘टुगेडर फर टुमरो ! इन्एबलिङ पिपल’को उद्देश्यलाई अघि बढाउन निर्णायक भूमिका खेलेको छ । लगभग पाँच महिनाको दौरानमा सम्पन्न भएको यो एआई पाठ्यक्रम, उन्नत एआई अवधारणाहरू र व्यावहारिक अनुप्रयोगहरूमा केन्द्रित रहेको थियो । प्रमाणपत्र वितरण समारोहमा सामसङ नेपालका प्रमुख इन सु किम, त्रिभुवन विश्वविद्यालयका, पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका क्याम्पस प्रमुख डा. इन्द्रप्रसाद आचार्य, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग के.सी र डिन प्रा डा. सुशील बी बज्राचार्य लगायतको उपस्थिति रहेको थियो । ‘सामसङमा, टुगेडर फर टुमरो, इन्एबलिङ पिपल’ को हाम्रो उद्देश्यले हामीलाई नवप्रवर्तन र शिक्षामार्फत युवाहरूलाई सशक्तिकरण गर्न प्रेरित गर्ने गर्दछ । यी विद्यार्थीहरूको समर्पण देखेर र उनीहरूको उपलब्धिहरू मनाउन पाउँदा हामीलाई गर्व लाग्छ । तिनीहरूले भविष्यमा सिर्जना गर्ने प्रभाव देखेर हामी उत्साहित छौं,’ इन सु किमले भने । कार्यक्रमको पाठ्यक्रमले एआई, आईओटी, बिग डाटा, र कोडिङमा उन्नत प्राविधिक प्रशिक्षण गर्नुको साथै समस्या समाधान र रचनात्मकताजस्ता आवश्यक सफ्ट-स्किलहरूलाई पनि जोड दिन्छ । यस इनिसिएतिभको एक अद्वितीय पक्ष यसको प्र्यक्तिकल एप्लीकेसन खण्ड हो, जहाँ विद्यार्थीहरूले उनीहरूले सिकेका प्रविधिहरू प्रयोग गरेर वास्तविक-विश्व मुद्दाहरूलाई सम्बोधन गर्छन् । आगमन ब्याचको लागि डिजाइन गरिएको कोडिङ र प्रोग्रामिङ पाठ्यक्रमले विद्यार्थीहरूलाई एल्गोरिदम, डेटा संरचना र वास्तविक संसारको प्रोग्रामिङमा आधारभूत र उन्नत ज्ञान प्रदान गर्नेछ । यस पहलको उद्देश्य नेपालमा एक बलियो नवप्रवर्तन इकोसिस्टमको पालनपोषण गर्नु हो । शिक्षा र नवप्रवर्तनप्रति निरन्तर प्रतिबद्धताले सामसङको दिगो, सकारात्मक परिवर्तन सिर्जना गर्ने विश्वासलाई जोड दिन्छ ।

प्रभु महालक्ष्मी लाइफ एनसीएचएलमा आबद्ध, सबै भुक्तानी डिजिटलबाटै हुने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भुक्तानी सम्बन्धी कारोबार नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बाट गर्न सकिने भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सबै भुक्तानी एनसीएचएलको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाटै गर्न सकिने भएको हो । प्रभु महालक्ष्मीको भुक्तानी सम्बन्धी कारोबार गर्ने दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोस प्रसाईं र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । यससँगै प्रभु महालक्ष्मीको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन । प्रभु महालक्ष्मी लाइफले एनसीएचएल आईपीएस र आरपीएस प्रणालीहरुमार्फत् प्रिमियम भुक्तानी संकलन, एजेन्ट कमिशन, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायत सेवा उपलब्ध हुने छन् । साथै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनपीआई प्रयोग गरी आफ्ना बीमाकर्ताहरूलाई ऋण भुक्तानी गर्न थालिसकेको छ । भविष्यमा अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू हुने कम्पनीले जनाएको छ ।