मन्त्री गुरुङको चेतावनी : सोसल मिडिया अब नियन्त्रणमा ल्याउनुपर्छ

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको अराजक प्रयोगलाई नियन्त्रणमा लिनु आजको अपरिहार्यता भएको स्पष्ट रूपमा बताएका छन् । नेपाल प्रेस युनियनद्वारा आयोजित ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले धर्म, राजनीति र राज्यशक्तिमाथि अनलाइन अफवाह र अराजक प्रहारले प्रेस नै बदनाम बनिरहेको उल्लेख गरे । उनले भने, 'राजतन्त्र राम्रो कि गणतन्त्र भन्नेमा युवा भड्किरहेका छन्, यसलाई सन्तुलित गर्ने जिम्मा प्रेसको हो। जहाँ प्रेस स्वतन्त्रता बलियो, त्यहाँ मात्र गणतन्त्र बलियो हुन्छ ।' मन्त्री गुरुङले जलवायु परिवर्तनको विषयमा पनि मिडिया र प्रेसले सचेतना फैलाउने, बहस चलाउने र समाधानमुखी दृष्टिकोण अघि सार्नुपर्नेमा जोड दिए । 'विकास भनेको व्यक्तिको सनक मात्र होइन,' उनले भने, 'अबको १० वर्षपछि त्यसले कस्तो असर पार्छ भन्नेबारे वातावरणीय सोच बिना विकासको अवधारणा अधुरो हुन्छ ।' उनले हिमाली क्षेत्र लोमान्थाङमा जलवायु परिवर्तनले पारेको असरबारे ‘मिडिया समिट’बाट आउने सुझावहरू सरकारले गम्भीरतापूर्वक लिनुपर्ने पनि बताए ।

लुम्बिनी विकास बैंकमा स्मार्ट पे र क्युआर भुक्तानी सेवा सुरु हुने

काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा तथा स्मार्ट क्युआर मार्फत क्युआर भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात लुम्बिनी विकास बैंकका ग्राहक, एजेन्ट तथा  प्रयोगकर्ताहरूले आफ्नो बैंक खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने छन्, साथै लुम्बिनी विकास बैंकमा खाता हुने सम्पूर्ण व्यवसायी तथा व्यापारीहरूले स्मार्ट क्युआर मार्फत विभिन्न मोबाइल बैंकिङ्ग तथा मोबाइल वालेटबाट रकम भुक्तानी लिन पाउनेछन् ।    लुम्बिनी विकास बैंकको कार्यालयमा आयोजित कार्यक्रमकाबीच स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र लुम्बिनी विकास बैंकका तर्फबाट उप-प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीबीच स्मार्ट क्यूआर र स्मार्ट पेको  सेवा सन्चालन सम्झौतामा हस्ताक्षर भएको छ । 

टिकटकले (टिनएजर)किशोर–किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्‍यो ‘फ्यामिली पेयरिङ’ फिचर

काठमाडौं । टिकटकले नेपालमा कलिला प्रयोगकर्ताहरूका लागि जिम्मेवार र सुरक्षित अनलाइन अनुभव प्रवर्द्धन गर्न परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले आफ्नो नयाँ 'फ्यामिली पेयरिङ' फिचर सुरु गरेको छ ।  यस फिचरमार्फत अभिभावकहरूले आफ्ना टिनएजर (किशोर-किशोरी) को टिकटक एकाउन्टलाई आफ्नो एकाउन्टसँग जोड्न सक्नेछन्, जसले गर्दा उनीहरूलाई सेफ्टी सम्बन्धी धेरै विकल्पहरूमा पहुँच मिल्ने कम्पनीले जनाएको छ । यसबाट परिवारका सदस्यहरूबीच जिम्मेवार र सुरक्षित इन्टरनेट प्रयोगको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । फ्यामिली पेयरिङ फिचर सुरु गर्नको लागि टिकटकको 'सेटिङ्स एण्ड प्राइभेसी' मेनुमा गएर क्यूआर कोड स्क्यान गरेर अकाउन्टहरू आपसमा जोड्न सकिन्छ ।  एकचोटि अकाउन्ट जोडिएपछि अभिभावकहरूले आफ्ना छोराछोरीको फोन नछोइकनै आफ्नै मोबाइलबाट सिधै सुरक्षासम्बन्धी सेटिङहरू परिवर्तन गर्न सक्नेछन् । फ्यामिली पेयरिङमा १५ भन्दा बढी सुरक्षा, गोपनीयता र डिजिटल वेल–बिइंगसँग सम्बन्धित कस्टमाइजेबल फिचरहरू छन् जसलाई अभिभावकले आफ्ना छोराछोरीको टिकटक अनुभव अनुसार मिलाउन सक्नेछन् ।  जस्तै, यसमा दैनिक स्क्रीन टाइम सीमित गर्ने, मेसेजिङ र कमेन्ट रोक्ने, उमेरअनुसारको कन्टेन्ट देखिने बनाउने, एकाउन्ट खोज्न मिल्ने या नमिल्ने बनाउने, सर्च सेटिङ कन्ट्रोल गर्नेजस्ता फिचरहरू रहेका छन् । 'टिकटकका लागि हाम्रो कम्युनिटीको सुरक्षा प्रमुख प्राथमिकतामा पर्दछ, विशेष गरी जब (टिन) युजरहरूको कुरा आउँछ। नेपाली परिवारहरूलाई जिम्मेवार डिजिटल व्यवहारलाई प्रोत्साहन गर्ने उपयोगी टुलहरू प्रदान गर्ने प्रयासकै एक हिस्साको रूपमा फ्यामिली पेयरिङ फिचरको सुरुवात गरिएको हो,’ टिकटकका लागि दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले भने ।  यो फिचरलाई देशभर पुर्‍याउन टिकटकले नेपालको चर्चित सेलिब्रिटीहरू र डिजिटल इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्दै जनचेतनामूलक अभियान पनि सञ्चालन गर्दैछ ।  यो अभियान मुलधारका मिडिया, आउटडोर बिलबोर्डहरू तथा सामाजिक सञ्जालमार्फत प्रचार गरिनेछ ।  टिकटकले विश्वभरका प्रयोगकर्ताहरूलाई सुरक्षित र पारदर्शी अनुभव दिन नीतिहरू र फिचरहरू ल्याउँदै आएको छ । नेपालमा ‘फ्यामिली पेयरिङ’को सुरुवात पनि सोही दीर्घकालीन रणनीतिको हिस्सा हो ।