वर्ल्डलिंकले सातै प्रदेशका १४ सहरमा ३ अर्ब लगानीमा अन्तराष्ट्रिय स्तरकाे डेटा सेन्टर बनाउने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले देशका सातै प्रदेशमा पर्ने गरी प्रमुख १४ सहरमा डेटा सेन्टर स्थापना गर्ने भएको छ । अहिले संचालनमा रहेका डेटा सेन्टर अधिकतम प्रयोगमा रहेको र विश्वस्तरीय डेटा सेन्टर नभएकोले नयाँ डेटा सेन्टर स्थापना गर्न लागिएको हो । सरकारले लिएको डिजिटल नेपाल सपना साकार पार्नको लागि पनि डेटा सेन्टर आवश्यक परेको कम्पनीका अध्यक्ष दिलिप अग्रवालले बताए । ‘सरकारले डिजिटल नेपाल बनाउने योजना अघि सारेको छ, डेटा सेन्टर विदेशमा राखेर डिजिटल नेपालको सपना पूरा गर्न सकिदैन, सरकारको सपना पूरा गर्नको लागि पनि हामीले यो प्रयास गरेका हौं,’ अध्यक्ष अग्रवालले भने । उनले डेटा सेन्टर बनाउनको लागि विज्ञदेखि प्रविधिसम्म आवश्यक पर्ने भएकोले विदेशी कम्पनीसँग सहकार्य गरेर अघि बढिने उनले जानकारी दिए । डेटा सेन्टरमा अन्य इन्टरनेट सेवा प्रदायक (आइएसपीहरु), टेलिकम सेवा प्रदायक कम्पनीहरु, बैंक वित्तीय संस्थाहरु, नेपाल सरकारका विभिन्न निकाय तथा कार्यालयहरु, गैरसरकारी संस्थालगायतले डेटा सेन्टर प्रयोग गर्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए । कम्पनीका चिफ टेक्निकल अफिसर (सीटीओ) समित जानाले दिएको जानकारी अनुसार कम्पनीले १४ सहरमा डेटा सेन्टर स्थापना गर्नको लागि करिब ३ अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको जानकारी दिए । ‘नेपालमा अहिले भएका डेटा सेन्टर अधिकतम उपयोगमा पुगिसकेका छन्, विश्वस्तरीय डेटा सेन्टर अहिलेसम्म बनेका छैनन्, पछिल्लो समय नेपालका विभिन्न स्थानबाट कन्टेन्ट आउने भएकोले नयाँ डेटा सेन्टर स्थापना जरुरी देखियो,’ सीटीओ जानाले भने । कम्पनीले अबको २ देखि ३ वर्षभित्रमा डेटा सेन्टर निर्माण गरिसक्ने जानकारी दिएको छ । डेटा सेन्टर बनाउनको लागि ३ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । वल्र्डलिंकले काठमाडौं, भरतपुर, लेखनाथ, बुटबल, हेटौडा, दुहबी, भक्तपुर, बिरगन्ज, ढल्केबर, कोहलपुर, अत्तरिया, सुर्खेत, भैरहवा र काठमाडौंमा अर्काे डेटा सेन्टर बनाउन लागेको हो । यसरी डेटा सेन्टर बनाउनेमध्ये काठमाडौंमा बनाउन लागिएको पहिलो डेटा सेन्टर र भरतपुरको लागि जग्गा खरिद गरिसकिएको र भवन निर्माणको डिजाइन तयार भएको कम्पनीले जानकारी दिएको छ ।

बेलायतमा ‘फेसबुक न्युज’ लञ्च, मिडिया हाउसलाई फेसबुकले पैसा दिने

एजेन्सी । फेसबुकले बेलायतमा फेसबुक न्युज लञ्च गरेको छ । अमेरिकापछि फेसबुकले बेलायतमा नयाँ फिचर सुरू गरेको हो । फेसबुक न्युजमा स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय र बिभिन्न सयौं मिडिया हाउसका समाचारहरू पढ्न सकिनेछ । बेलायति मिडिया द गार्डियन, द इकोनोमिस्ट, द इन्डिपेन्डेन्ट, स्काइ न्युज, डेली मेल ग्रुप, फाइनान्सियल टाइम्स  जस्ता प्रतिष्ठित मिडिया हाउससँग फेसबुकले सम्झौता गरेको छ । फेसबुकले एन्ड्रोइड र आइओएस दुबै भर्सनमा यो सेवा उपलब्ध गराएको छ । फेसबुक न्युजमा अन्य मिडियाका समाचार प्रयोग गरेबापत मिडिया कम्पनीहरूलाई फेसबुकले पैसा तिर्नेछ । फेसबुकले अमेरिकापछि अन्तर्राष्ट्रिय बजारमा पहिलो पटक लञ्च गरेको हो । अमेरिकाका केही क्षेत्रमा सन् २०१९ मा फेसबुकले यस्तो सेवा दिएको थियो । त्यसको एक वर्षपछि अमेरिकाभर फेसबुक न्युजको सेवा सञ्चालन गरेको थियो । यो सेवाका कारण पहिलेको भन्दा पाठक, दर्शकको संख्या बढेको अमेरिकी मिडियाको तथ्यांक छ ।

राष्ट्र बैंकले बनायो क्युआर कोड मस्याैदा, राय सुझावको माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्विक रेस्पोन्स (क्युआर) कोड मस्यौदा तयार गरेको छ । राष्ट्र बैंकले क्युआर कोड भुक्तानीलाई थप प्रभावकारी बनाई प्रवद्र्धन तथा नियमन गर्नको लागि क्युआर काेड मस्याैदा तयार गरेकाे हाे । बैंकले नेपाल क्युआर स्टाण्र्डडाइजेसन फ्रेमवर्क एण्ड गाइडलाइनको मस्यौदा तयार गरेको हो । राष्ट्र बैंकले मस्यौदा अध्ययन गरी त्यसमाथि राय सुझाव दिन पनि आग्रह गरेको छ । राष्ट्र बैंकले माघ ३० गते भित्र सुझाव सल्लाह दिन पनि आग्रह गरेको हो ।