सरल भुक्तानीका लागी ‘कर्पोरेट पे’
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका व्यवसायीक ग्राहकलाई लक्षित गर्दै ‘कर्पोरेट पे’ को सूरुवात भएको छ । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) ले यो प्रणालीको सूरुवात गरेको हो । अब चेक बोकेर बैंकको शाखा धाउनु पर्ने छैन । ‘कर्पोरेट पे’ मार्फत रकम विद्युतीय भुक्तानी गर्न सकिनेछ । यस प्रणालीको औपचारिक सूरुवात नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे । चेक बोकेर बैंकको शाखा धाउनु पर्ने बाध्यता हटेको छ । एनसीएचएलका अध्यक्ष नरेश शाक्यले भने । व्यवसायीक ग्राहकलाई ‘कर्पोरेट पे’ मा आबद्ध गरेपछि बैंक तथा वित्तीय संस्थाले विभिन्न विद्युतीय कारोबार गर्न सक्नेछन् । यस प्रणालीको प्रयोगले बैंकको सञ्चालन खर्च घट्ने र डिजिटल कारोबार बढ्ने विश्वास गरिएको छ । ‘कर्पोरेट पे’ प्रयोग गर्दा थप शुल्क लाग्ने छैन । यसमा आवद्ध भएका बैंक तथा वित्तीय संस्थाका व्यवसायीक ग्राहकले फण्ड ट्रान्सफर, कर्मचारीको तलब, कर तथा राजस्व भुक्तानी लगायत ठूलो रकम भुक्तानी गर्न ‘कर्पोरेट पे’ भरपर्दो माध्यम बन्दैछ । एनसीएचएलका सिइओ निलेसमान सिंह प्रधानका अनुसार यस प्रणालीमार्फत १ करोड रुपैंयाँदेखी २० करोड रुपैंयाँसम्मको कारोबर गर्न सकिने छ ।
माउन्टेक सोलुसनले आइतबार वेबिनार गर्दै : यसरी सहभागी बन्नुहोस्
काठमाडौं । क्लाउड कम्प्युटिङका विषयमा वेबिनार हुने भएको छ । माउन्टेक सोलुसनले आइतबार वेबिनारको आयोजना गर्न लागेको हो । यो वेबिनार आइतबार साँझ साढे ६ देखी साढे ८ बजेसम्म सञ्चालन हुनेछ । सूचना तथा प्रविधि क्षेत्रका विद्यार्थीहरु, वैंकमा सूचना तथा प्रविधि क्षेत्रमा काम गर्ने कर्मचारी तथा क्लाउड कम्प्युटिङमा रुचि हुने जोसुकैले यस वेबनारमा सहभागी हुन सक्नेछन् । कार्यक्रममा वरिष्ठ सफ्टवेयर इन्जिनियर दिलिप योगी स्रोत व्यक्तिका रुपमा रहनेछन् । उनले वरिष्ठ वरिष्ठ सफ्टवेयर इन्जिनियरका रुपमा मास्टरकार्ड, एटी एण्ड टीमा काम गरिसकेका छन् । स्रोत व्यक्ति योगीले एडब्लुएसको क्लाउड कम्प्युटिङ र यसको महत्वका विषयमा सेसन सञ्चालन गर्नेछन् । यस वेबनारबाट साइबर खतराहरुका बारेमा पनि जानकारी मिल्नेछ । वेबिनारमा सहभागी हुन यो लिंक मा गएर पनि रजिस्टर गर्न सकिनेछ ।
साइबर सुरक्षालाई सजिलो बनाउँदै साइनिकल टेक्नोलोजी, एथिकल ह्याकरहरूलाई कमाउने अवसर
मानौं, तपाईंको वेवसाइटबाट डाटा लिक भयो, अब के गर्ने ? तपाईंको वेवसाइटबाट डाटा लिक भएर प्रयोगकर्ताको गोपनियता बाहिरियो, त्यस्तो बेला के गर्ने ? सरकारी तथा निजी कम्पनीहरूले बेलाबेला यस्तै समस्याबाट हैरानी भोग्नु परेका घटना छन् । यस्तै खालका साइबर खतराहरूबाट बचाउन र सुरक्षा प्रदान गर्न सञ्चालनमा आएको छ, साइनिकल टेक्नोलोजी । जसको स्थापना गरेका छन्, नेपाली युवा नरेश लाम्गादेले । ह्याकरहरूलाई पनि खुसीको खबर छ । तर, त्यो सुनाउनु अघि साइनिकल टेक्नोलोजीको प्रसंग जोडौं । साइनिकल टेक्नोलोजी साइबर सुरक्षा प्रदान गर्ने एक स्टार्ट अप कम्पनी हो । कुनै कम्पनीको वेवसाइटमा समस्या आउँदा, वा कम्पनीको प्रोडक्टबाट डाटा लिक हुँदा साइनिकल टेक्नोलोजीले त्यसको हल गर्नेछ । यो सुविधा लिन निश्चित शुल्क तिरेर साइनिकल टेक्नोलोजीमा कम्पनीहरू आवद्ध हुन सक्नेछन् । मासिक रुपमा शुल्क तिर्नुका साथै बगको अलग रकम तिर्नु पर्नेछ । यतिमात्रै होइन, नेपालमै पहिलो पटक यस कम्पनीले बग बाउन्टी प्लेटफर्म बगभि (BugV) शुरु गरेको छ । यो यस्तो प्लेटफर्म हो, जहाँ संसारभरका ह्याकरहरु संगठित हुन सक्नेछन् । यसमा ह्याकरहरू नि:शुल्क रुपमा रजिस्टर हुन सक्नेछन् । अब शुरू गरौं ह्याकरहरुको कुरा । ह्याकर भन्ने वित्तिकै नकारात्मक रुपमा लिईन्छ । तर, एथिकल ह्याकरको महत्व बेग्लै छ । साइबर खतराहरुबाट जोगाउन एथिकल ह्याकरले ठूलो भूमिका खेल्ने गर्छन् । संसारका एथिकल ह्याकरले कुनै प्रोडक्टको कमजोरी पत्ता लगाएर ठूलो रकम कमाउँन सक्छन् । नेपालमै पनि यस्ता एथिकल ह्याकरको संख्या थपिदै गएको छ । सूचना तथा प्रविधिमा चासो राख्ने त्यस्ता एथिकल ह्याकरका लागी साइनिकल टेक्नोलोजीले एउटा प्लेटफर्म खडा गरेको छ । र, बग बाउन्टी प्लेटफर्म बगभि त्यसैको उदाहरण हो । यसमा रजिस्टर भएका एथिकल ह्याकरले कुनै पनि कम्पनी र तिनका प्रोडक्टहरुको कमजोरी पत्ता लगाएर त्यसबापत रिवार्ड प्राप्त गर्न सक्नेछन् । यो प्लेटफर्मले एथिकल ह्याकर र कम्पनीबिच जोड्ने काम गर्नेछ । मानौं कुनै कम्पनीको वेवसाइट, वा कुनै प्रोडक्टमा समस्या आयो । कहाँ रिपोर्ट गर्ने ? कसलाई भन्ने ? सल्लाह दिन खोज्दा पनि सम्बन्धित मानिस भेट्टाउन गार्हो छ । रिपोर्ट गरिहाले पनि राम्रो प्रतिक्रिया नपाईने अर्को समस्या छ । तर, यो प्लेटफर्ममा आवद्ध कम्पनीले त्यस्तो झन्झट भोग्नु पर्ने छैन । एथिकल ह्याकर र सेवाग्राहीलाई यसले थप सजिलो बनाईदिनेछ । पहिलो कुरा त साइबर सुरक्षाका बारेमा मानिस कमै जानकार छन् । त्यसमाथि यो सेवाको प्रयोग बढी नै खर्चिलो छ । सबैसँग ठूलो बजेट हुँदैन । बग बाउन्टी प्लेटफर्म बगभिबाट सेवा लिदा सिस्टमको होईन बगको मात्र पैसा तिरे पुग्छ । साइनिकल टेक्नोलोजीलाई सीइओका रुपमा हाँकिरहेका छन्, २५ वर्षिय युवा नरेश लाम्गादेले । उनी प्रधानमन्त्री कार्यालयका साइबर सुरक्षा विश्लेषक समेत हुन् । साइनिकल टेक्नोलोजीलाई उनी अन्तराष्ट्रिय स्तरमा फैलाउन चाहन्छन् । ‘संसारभरका एथिकल ह्याकरलाई जोड्ने हाम्रो प्रयास हो ।’ नरेशले विकासन्युजसँग भने, ‘प्रोडक्ट म्याचुअर्ड भएपछि विदेश लैजाने विचार छ ।’ यसरी शुरु भयो साइनिकल टेक्नोलोजी फुटबलमा निकै रुचि राख्थे बिर्तामोड झापाका नरेश लाम्गादे । उनी क्रिश्ट्यिानो रोनाल्डोका फ्यान । १० कक्षा पढ्दै गर्दा उनको खुट्टामा समस्या आयो । त्यसपछि उनको लत कम्प्युटरसँग बस्यो । घरमा कम्प्युटरमै गेम खेलेर उनको दिन बित्थ्यो । साइबर क्याफे धाएर इन्टरनेट सर्फ गर्दै नयाँ–नयाँ कुरा सिक्न, एक्सप्लोर गर्न उत्तिकै हौसिन्थे । एक दिन एउटा सिडी फेला पारे जसमा इथिकल ह्याकिङका बारेमा भिडिओ थियो । त्यो भिडिओले त ह्याकिङप्रति उनको रुचि झन् बढायो । रातभर नसुती नसुती उनको यसबारे सिक्न थाले । पछि कलेजमा त सबैले ह्याकर भनेर चिन्न थालिसकेका थिए । इसेवाको लुप होल पत्ता लगाएबापत जागिर नै पाएका उनले एनसेलको कमजोरी पत्ता लगाएर ल्यापटप हात पारे । नरेशले गुगल लगायत अन्तराष्ट्रिय प्रोडक्टहरुको कमजोरी पत्ता लगाए बापत राम्रै पैसा हात पारे । कति पैसा कमाए ? यसको जवाफ उनी ठ्याक्कै दिन चाहदैनन् । साइबर सुरक्षाबारे अन्य आइटी कम्पनीहरु नभएपछि उनले यसमा सम्भाबना देखे । कलेजको पढाई सकेपछि सन् २०१७ मा उनले साइनिकल टेक्नोलोजी खोले । ५ लाख रुपैंयाँ भन्दा कम बजेट र ५ जना कर्मचारीबाट सञ्चालन गरिएको यस कम्पनीमा अहिले १६ जना स्टाफ पुगिसकेका छन् । पुरानो बानेश्वरको सानो कोठामा जन्मिएको साइनिकल अहिले मैतिदेवीस्थित शारदा भवनको भव्य महलमा सरेको छ । नेपाल टेलिकममा इन्टर्न, इ–सेवा र कान्तिपुर मिडियामा साइबर सेक्युरिटी सेक्सनमा काम गरिसकेका नरेशको सञ्जाल फैलिदै छ । सरकारी संयन्त्रका अधिकारी र निजी कम्पनीका कर्मचारीलाई भेटेर उनले साइबर सुरक्षाका बारेमा पर्याप्त छलफल गरिसकेका छन् । ‘सबैले यो विषयलाई गम्भिरतापुर्वक लिनु भएको छ ।’ उनले सुनाए ‘बिस्तारै हाम्रो कम्पनीले हाम्रो सेवा लिन थालिसकेका छन् । साइबर खतरालाई सजिलोसँग समाधान गर्न उनको टिम सक्रिय छ । यस क्षेत्रमा क्रान्ति नै गर्ने उनको सपना छ । यतिबेला साइनिकल टेक्नोलोजीले गुगलको लागि समेत काम गर्दै आएको छ । गुगलले यस कम्पनीलाई प्रोजेक्ट दिन्छ । र, त्यसबापत निश्चित रकम दिन्छ । अझै अन्तराष्ट्रिय प्रोजेक्टहरु द्रुत गतीमा अघि बढाउने लक्ष्य रहेको छ । साइबर सुरक्षाका क्षेत्रमा विभिन्न इभेन्ट, सेमिनार, मोटिभेसन कार्यक्रम गर्दै आएको छ । ह्याकिङ विषयमा प्रतिष्पर्धा गराएर पुरस्कार दिएर हौस्याउदै पनि आएको छ । ‘५ वर्षपछि आफूलाई कुन स्थानमा पाउनु हुन्छ ?’ नरेशलाई सोधियो । ‘कम्पनीले ठूलो रुप लिन्छ होला । दु:ख गरेपछि त सफल त हुनै पर्यो नि ।’ उस्तै मुस्कान दिदै नरेश जवाफ फर्काए ।