नगद कारोबार हुनै छाड्यो, डिजिटल भुक्तानीमा छलाङ

काठमाडौं । पछिल्लो समय अनलाइन प्रयोगकर्ताको संख्या बढ्दै गएपछि कारोबार पनि उच्च हुन थालेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ्गमा जोड दिएपछि कारोबार डिजिटलबाटै हुन थालेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको माघसम्म कनेक्ट आइपीएस, मोबाइल बैंकिङ्ग, वालेट, इन्टरनेट बैंकिङ्ग लगायतको कारोबार बढेको छ । गत वर्षको तुलनामा डिजिटल कारोबार ह्वात्तै बढेको हो । राष्ट्र बैंकका अनुसार आरटीजीएस, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड लगायतका डिजिटल औजार प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । साथै, कारोबारको संख्या र कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको राष्ट्र बैंकले जनाएको छ । एक वर्षको अवधिमा कनेक्ट आईपीएसमार्फत् ४२ लाख ९९ हजार ३११ पटक ३ खर्ब २८ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि गत वर्षको सोही अवधिमा ३१ लाख ४० हजार १८० पटक २ खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ३९ प्रतिशतले कनेक्ट आईपीएस मार्फत कारोबार बढेको हो । यस्तै, वालेटमाफर्त हुने कारोबार पनि बढेको छ । माघसम्म १ करोड ६९ लाख ६० हजार ८२८ पटक १७ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १ करोड २९ लाख ५७ हजार ३५३ पटक १४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको तुलनामा १७.७६ प्रतिशतले वालेटको कारोबार बढेको हो । मोबाइल बैंकिङ्ग मार्फत् २ करोड २२ लाख १६ हजार ८० पटक १ खर्ब ७२ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १ करोड ३८ लाख ४४ हजार ७१० पटक ९२ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । गत वर्षको तुलनामा ८६ प्रतिशतले मोबाइल बैंकिङ्ग कारोबार बढेको हो । क्यूआरमा आधारित भुक्तानी ५७ लाख ७८२ हजार २६५ पटक१७ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको माघ मसान्तसम्म १७ लाख ८२ हजार ३६३ पटक ६ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार थियो । गत वर्षको तुलनामा १५८ प्रतिशत क्यूआरमा आधारित भुक्तानी वृद्धि भएको हो । डेबिट कार्ड प्रयोग गरी माघसम्म१ करोड १ लाख ८६ हजार ६६२ पटक ७९ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा डेबिट कार्डमार्फत् ८२ लाख २४ हजार ५७७ पटक ६४ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।गत वर्षको तुलनामा २३ प्रतिशत वृद्धि भएर डेबिट कार्डमार्फत् कारोबार भएको हो । क्रेडिट कार्ड प्रयोग गरी समीक्षा अवधिमा २ लाख १३ हजार ४९७ पटक १ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १ लाख ६६ हजार २२ पटक ९३ करोड रुपैयाँ बराबरको मात्रै क्रेडिट कार्ड मार्फत कारोबार भएको थियो । गत वर्षको तुलनामा क्रेडिट कार्डको कारोबार ४४ प्रतिशत बढेको हो । यस्तै, चालू आर्थिक वर्षको माघसम्म इलेक्ट्रोनिक चेक क्लियरिंग (ईसीसी)मार्फत्९ लाख ७९ हजार २४४ पटक ४ खर्ब ७४ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १० लाख ५ हजार ९४७ पटक ६ खर्ब ४१ अर्ब २० करोड रुपैयाँ बराबरको यस्तो कारोबार भएको थियो । गत वर्षको तुलनामा यस्तो कारोबार २६ प्रतिशत घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । यस्तै, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)को ६२ हजार ५४४ पटक २२ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा ५७ हजार ६४० पटक ३१ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । गत वर्षको तुलनामा कारोबार धेरै भएपनि रकम भने घटेको छ । गत वर्षको तुलनामा आरटीजीएसमार्फत् हुने कारोबार २७ प्रतिशतले कमी आएको हो । चालू आर्थिक वर्षमा डिजिटल कारोबार गर्ने संख्यामा पनि उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । वालेट प्रयोगकर्ताको संख्या माघ मसान्तसम्म ४६.४४ प्रतिशतले बढेर १ करोड ६१ लाख २६ हजार ४३३ वटा पुगेका छन् । गत वर्षको सोही अवधिमा १ करोड १० लाख ११ हजार ९३१ वटा वालेट प्रयोगकर्ता रहेका थिए । यस्तै, समीक्षा अवधिमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या २३ प्रतिशत बढेर १ करोड २३ लाख ५ हजार ५०६ वटा पुगेका छन् । गत वर्षको सोही अवधिमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड १२ हजार ९०७ वटा रहेका थिए । यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या २९ प्रतिशत बढेर २ लाख ७८ हजार ३२३ वटा रहेका छन् । गत वर्षको माघसम्म २ लाख १६ हजार २७३ वटा क्रेडिट कार्ड प्रयोगकर्ता थिए । यस्तै, मोबाइल बैंकिङ्ग ग्राहकको संख्या २२ प्रतिशत बढेर २ करोड ३६ हजार ५२४ जना रहेका छन् । गत वर्षको सोही अवधिमा १ करोड ६४ लाख ७६ हजार ७ सय जना मोबाइल बैंकिङ्गका ग्राहक थिए । यस्तै, माघ मसान्तसम्म इन्टरनेट बैंकिङ्ग ग्राहकहरुको संख्या ११.४६ प्रतिशत बढेर १७ लाख ६४ हजार ८०१ जना रहेका छन् । गत वर्षको सोही अवधिमा १५ लाख ८३ हजार २५३ जना इन्टरमेनट बैंकिङ्गका ग्राहकहरु थिए । शाखारहित बैंकिङ्ग केन्द्रको संख्या भने घटेको छ । गत वर्षको माघसम्म १ हजार ५६८ वटा रहेकोमा घटेर १ हजार ४३७ वटामा झरेको छ । तर, कारोबार रकम भने बढ्को छ । गत वर्ष १ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा यस वर्ष भने १ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । समीक्षा अवधिमा कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या २९ प्रतिशत बढेर १० लाख २२ हजार २७१ जना पुगेका छन् । गत वर्षको सोही अवधिमा ७ लाख ९३ हजार १५१ जना कनेक्ट आईपीएस प्रयोगकर्ता रहेका थिए ।

नेपाल टेलिकमले १४ करोडका पुराना कवाडी ब्याट्री लिलाम गर्दै

काठमाडौं । नेपाल टेलिकमले पुराना काम नलाग्ने कवाडी सामान लिलाममा बिक्री गर्ने भएको छ । टेलिकमको उपत्यकाभित्रका विभिन्न निर्देशनालय तथा कार्यालयहरुमा मौज्जात रहेका झण्डै १४ करोड रुपैयाँ बराबरका ब्याट्रीहरु लिलाम बिक्री गर्ने भएको हो । टेलिकमले डिसमेन्टलेड ब्याट्री कवाडी सामानहरूको न्यूनतम मूल्य १३ करोड ७६ लाख १५ हजार रुपैयाँ तोकेको छ । नेपाल टेलिकमको वयरलेस निर्देशनालय बबरमहल काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र शुल्क १५ हजार रुपैयाँ तोकिएको छ । इच्छुक फर्म वा संस्था तथा कम्पनीले चैत १५ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ ।

१७ सय किलोमिटर अप्टिकल फाइबर जडान, दुई वर्षको काम ५ वर्षमा पनि सकिएन

फाइल फाेटाे काठमाडौं । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार छ सयभन्दा बढी किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले २ वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै सुरु गरेको योजनाअन्तर्गत माघ मसान्तसम्म एक हजार छ सय ७१ किलोमिटर क्षेत्रमा फाइबर विस्तार भएको हो । नेपाल टेलिकमले जिम्मा पाएको कोशी, मधेश र बागमती प्रदेश तथा कर्णाली र सुदूपश्चिम खण्डमा कछुवाको गतिमा फाइबर विस्तारको काम भएको छ । कोशी, मधेश र बागमती गरी टेलिकमले तीन प्रदेशमा दुई हजार ८३ किलोमिटर फाइबर बिछ्याउनुपर्नेमा माघ मसान्तसम्म एक हजार तीन सय ४१ किलोमिटर फाइबर बिछ्याएको छ । दुई वर्षमा सक्नेगरी सम्झौता भएकोमा टेलिकमले पाँच वर्षको अवधिमा ६१ दशमलव ५४ प्रतिशत मात्र जडान गरेको हो । प्राधिकरणले पहिलो खण्डअन्तर्गत नेपाल टेलिकमसँग पूर्वी नेपालदेखि गोरखासम्म फाइबर बिछ्याउन २०७३ साल असोज १२ गते २ वर्षको सम्झौता गरेको थियो । तर टेलिकमले २०७६ जेठ पहिलो सातादेखि अप्टिकल फाइबर बिछ्याउने काम सुरु गरेको हो । यस्तै, टेलिकमले प्याकेज–३ अन्तर्गतको कर्णाली र सुदूपश्चिम खण्डमा एक हजार नौ सय ९२ किलोमिटर क्षेत्रमा फाइबर जडान गर्नुपर्नेमा हालसम्म तीन सय ३० किलोमिटर क्षेत्रमा मात्र जडान कार्य सम्पन्न भएको छ । कर्णाली र सुदूपश्चिममा फाइबर बिछ्याउन प्राधिकरणले स्मार्ट टेलिकमलाई जिम्मेवारी दिए पनि काम सुरु गर्न नसकेको भन्दै प्राधिकरणले पुनः नेपाल टेलिकमलाई जिम्मा दिएको थियो । विसं २०७४ भदौ ३ गते दुई वर्षका लागि स्मार्टलाई जिम्मा दिए पनि प्राधिकरणले २०७६ कात्तिक ३ गते ठेक्का सम्झौता रद्द गरी २०७६ साल पुस १९ गते नेपाल टेलिकमसँग सम्झौता गरेको थियो । एक खण्डको काम सुरु भएन तीन खण्डका विभाजन गरिएको विस्तारअन्तर्गत दुई वटा खण्डमा काम सुरु हुनै सकेको छैन । खण्ड दुईअन्तर्गत रहेको गण्डकी र लुम्बिनीअन्तर्गतका २१ जिल्लामा दुई हजार एक सय ६० किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कामको सुरु नै हुन सकेको छैन । प्राधिकरणले युनाइटेट टेलिकम (युटिएल) लाई विस्तारको जिम्मा दिए पनि सर्वाेच्च अदालतमा मुद्दा हुँदा उक्त क्षेत्रमा विस्तारको काम रोकिएको हो । दुई वर्षभित्र सक्नुपर्ने गरी प्राधिकरणले युटिएलसँग २०७४ वैशाख २५ गते दुई अर्ब एक करोडमा सम्झौता गरेको थियो । तोकिएको अवधिमा काम सुरु नगरेको भन्दै प्राधिकरणले २०७६ बैशाख २६ गते सम्झौता रद्द गरेपछि युटिएलले सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरेको थियो । अदातलते वैशाख २९ गते युटीएलको पक्षमा फाइबर बिछ्याउने ठेक्का रद्द नगर्न अन्तरिम आदेश जारी गरेको थियो । प्राधिकरण उक्त आदेशविरुद्ध भ्याकेटमा गए पनि यसको अन्तिम निर्णय हुन नसक्दा फाइबर बिछ्याउने कार्यको सुरुआत नै हुन सकेको छैन । अप्टिकल फाइबर बिछ्याउन दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषको रु नौ अर्ब ८९ करोड १७ लाखमा बजेट छुट्टाइएको थियो । जसमध्ये माघ मसान्तसम्म रु दुई अर्ब नौ करोड ३८ लाख ६७ हजार खर्च भएको छ । प्राधिकरणले सुरु गरेको उक्त परियोजनाअन्तर्गत मध्यपहाडी लोकमार्गलाई आधार मानेर त्यसको समानान्तर रूपमा जिल्ला सदरमुकाम र हरेक नगरपालिकासम्म फाइबर नेटवर्क विस्तार गर्नुपर्ने हुन्छ । परियोजनाअन्तर्गत मध्यपहाडी लोकमार्गमा ९८ कोर, जिल्ला सदरमुकाम र मध्यपहाडी लोकमार्गलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने सडकमा ४८ कोर र नगरपालिकाहरूसम्म २४ कोरको अप्टिकल फाइबर प्रयोग हुन्छ । रासस