नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त
काठमाडौं । नेपाल टेलिकमले महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरे । सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आवद्धता महत्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाहरुका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आवद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएको टेलिकमले विज्ञप्तीमा उल्लेख गरेको छ । मुलुकको कलाकारिता तथा सञ्चारको क्षेत्रमा विशिष्ठ पहिचान बनाएका ब्रान्ड एम्बेसडरहरुको संलग्नताबाट कम्पनीका ग्राहकवर्गले कम्पनीका विविध सेवा सम्बन्धमा सहज रुपले जानकारी प्राप्त गर्ने र कम्पनीले आफ्ना सेवाहरुको प्रवर्द्धन गरी सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा सहयोग मिल्ने अपेक्षा गरिएको छ । यसैगरी सञ्चारकर्मी पाण्डे र डा. सन्तोष उपाध्यायलाई कम्पनीले यस अघि नै ‘ब्राण्ड प्रमोटर’ नियुक्त गरिसकेको जानकारी दिईयो ।
एआईको डाटा चोरी गरेको आरोपमा गुगलका इन्जिनियर पक्राउ
काठमाडौं । अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को व्यापारसम्बन्धी महत्वपूर्ण डाटा चोरी गरी दुई चिनियाँ कम्पनीका लागि गोप्यरूपमा काम गरिरहेको आरोपमा गुगलका एक पूर्वसफ्टवेयर इन्जिनियरलाई पक्राउ गरेको छ । लियोन डिङ भनेर चिनिने चिनियाँ नागरिक लिनवेई डिङलाई क्यालिफोर्नियामा पक्राउ गरिएको बीबीसीले जनाएको छ । उनले ५ सयभन्दा बढी गोप्य फाइलहरू चोरेको आरोप छ । दोषी प्रमाणित भएमा उनलाई १० वर्ष कैद र प्रति कसुर २ लाख ५० हजार डलर जरिबानाको सजाय हुने बताइएको छ । डिङलाई गुगलले २०१९ मा एआईसम्बन्धी सफ्टवेयर विकास गर्ने जिम्मेवारी दिएर काममा लगाएको थियो । उनले गुगलको नेटवर्कमा भण्डारण गरिएको महत्वपूर्ण जानकारीहरु मे २०२२ देखि एक वर्ष लगाएर आफ्नो व्यक्तिगत गुगल खातामा अपलोड गर्न थालेको पाइएको बीबीसीले जनाएको छ । बीबीसी
नेपाल टेलिकमले ल्यायो सस्तो दरमा डाटा रोमिङ सेवा
काठमाडौं । नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिले भन्दा निकै नै सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराएको छ । यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताहरुले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरुसँग गरिएको सम्झौता अनुसार उक्त महशुल दरमा भारी कटौती भएकोले थप सस्तो दररेटमा सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताहरुले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरुको नेटवर्कमा आवद्ध भई डाटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डाटा सेवा उपलब्ध हुनेछ । अब नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध हुनेछ । त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डाटा रोमिङ सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । परिमार्जित दररेट सस्तो र सुलभ हुने भएकोले रोमिङ सेवा प्रयोगकर्ताहरुका लागि डाटा रोमिङ सेवा उपयोगी हुने र सेवा प्रयोग गर्ने परिपाटीमा वृद्धि हुने अपेक्षा कम्पनीको रहेको छ । टेलिकमका अनुसार डाटा रोमिङ सुविधा प्रयोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ । पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले नेपालमै रहदा आफ्नो मोबाइलबाट *1415*7# डायल गरी वा प्रिपेड ग्राहकहरुले नेपाल टेलिकम एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिने छ ।