१७ वर्षअघिको कम्प्युटर पसल बन्यो करोडौंको ‘डिजिटल साहुजी’, ७ वर्ष लामो अनुसन्धान

काठमाडौं । एउटा भनाइ छ, ‘विजेताले फरक काम गर्दैन, फरक तरिकाले काम गर्छ।’ यस्तै, पृथक ढंगले काम गर्ने योजना र रणनीतिका साथ नेपाली इ-कमर्स प्लेटफर्ममा जोडिएको छ ‘डिजिटल साहुजी’ । हुन त अहिले पनि नेपाली बजारमा दर्जनौं कम्पनीहरू छन्, जसबाट नेपालीहरूले अनलाइन सपिङ गरिरहेका छन् । तर, ती कम्पनीहरूलाई पनि चुनौती दिँदै आक्रामक ढंगबाट अगाडि बढ्ने योजनाका साथ डिजिटल साहुजीको प्रवेश भएको हो । अहिले सञ्चालित अन्य ई–कमर्स कम्पनीहरूले अन्य डेलिभरी सेवा दिने कम्पनीहरूको सहयोगमा सामान डेलिभरी गर्ने गरेका छन् । जसले गर्दा खरिदकर्ताको सामान कहिले आइपुग्छ यकिन हुँदैन । तर, अब खरिदकर्ताले खरिद गरको सामान डिजिटल साहुजीले नै घरदैलोमा पुर्याउने काम गर्नेछ । ‘डिजिटल साहुजीमा अनलाईन ट्र्याकिङ सिस्टम छ, यदि यस प्लेटफर्मबाट सामग्री खरिद गर्दादेखि घरसम्म आइपुग्दा सबै ट्रयाकिङ ग्राहकहरूले गर्न सक्नु हुन्छ,’ कम्पनीका चिफ फाइनान्स अफिसर सन्तोष पोखरेलले भने, ‘हाल यस माध्यममा सूचना प्रविधि र इलेक्ट्रोनिक सामानहरू उपलब्ध छन् ।’ १७ वर्षअघि बुटवलमा कम्प्युटर ट्रेडिङ र इलोक्ट्रोनिक पसल चलाउँदै गर्दा डिजिटल साहुजीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन न्यौपानेको मनमा एउटा विचारको जन्म भयो । ग्राहक, खुद्रा ब्यापारी, युवा तथा विद्यार्थी र आयातकर्ताका समस्या समाधान गर्न न्यौपानेले ड्रिम प्रोजेक्ट बनाए । सोही प्रोजेक्ट आज डिजिटल साहुजीमा रूपान्तरण भएको छ । ‘एउटै ठाउँमा बसेर मात्रै व्यवसाय विस्तार हुँदैन, अब देश र जनताका लागि केही गर्छु भन्ने फराकिलो सोच बनाएर काठमाडौं, चितवन र कोहलपुरमा तीन वटा शाखा सञ्चालनमा ल्याए,’ पोखरेलले भने, ‘भूकम्प र कोरोना महामारीपछि नेपालको अर्थतन्त्र शिथिल बनेको छ, सटरहरू धमाधम बन्द भइरहेका छन् । युवाहरू विदेश पलायन भइरहेका छन्, व्यापार व्यवसाय चौपट छ, त्यसैले सुतिरहेका ब्यापारी र सुस्ताएको अर्थतन्त्र उकास्न डिजिटल साहुजी ल्याएका हौं ।’ डिजिटल साहुजी प्लेटफर्म सञ्चालनमा ल्याउन ७ वर्षदेखि अनुसन्धान र टेस्ट मार्केट गर्दा सकारात्मक प्रतिक्रिया पाएपछि कम्पनीलाई माथि लैजाने उर्जा बढेको उनको भनाइ छ । उनका अनुसार कम्पनीले एक वर्षको अवधिमा ५ सय जना खुद्रा व्यापारी, २ हजार युवा तथा विद्यार्थी, २ सयभन्दा बढी कर्मचारी र लाखौं ग्राहकहरूको जीवनमा आर्थिक र प्राविधिक रूपमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ । साथै, नेपालभरीका मुख्य सहरमा २ सय जना मार्केटिङ एजेन्टलाई हायर गर्ने तयारी रहेको उनले बताए । ‘देशभरीका ग्राहकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन कम्पनी सञ्चालनमा ल्याएका हौं, राज्यलाई योगदान दिन हजारौंलाई रोजगारी दिन्छौं, सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्ग र दुर्गमका युवालाई प्राविधिक शिक्षाको ज्ञान र लगानी गर्छाैं,’ उनले भने, ‘सरकारलाई कर तिरेर योगदान दिन्छौं, शिक्षा, कृषि र स्वदेशी उत्पादनलाई प्रवद्धर्न गर्ने उद्योगमा प्रभाव पार्ने गरी प्रोजेक्ट डिजाइन गरेका छौं ।’ देशको अर्थतन्त्र चलायनमान गर्न कम्पनी सञ्चालनमा ल्याइएको उनको भनाइ छ । पहिलो वर्षमा कम्पनीले नेपालमा कुल आयात हुने इलेक्ट्रोनिक, सूचना प्रविधि सामाग्रीहरूको २ प्रतिशत कारोबार गर्ने लक्ष्य राखेको छ । साथै, कम्पनीको भ्यालू पहिलो वर्षमै ५० करोड रुपैयाँको बनाउने अठोट रहेको उनले बताए । हाल कम्पनीको लगानी १५ करोड रुपैयाँ रहेको छ । कम्पनीले देशभरीमा २२ वटा शाखा स्थापना गर्नेछ । यसरी बन्नुहोस् डिजिटल साहुजीको डिलर तपाईंले डिजिटल साहुजीको डिलर लिनका लागि सुरुमा गुगलमा डिजिटल साहुजी खोज्नु पर्ने हुन्छ । डिलरका लागि रजिष्ट्रेसन र लग इनको अप्सन देखिन्छ । टाइप वान र टाइप टू भनेर दुई वटा छुट्टाछुट्टै डिलर हुन्छन् । टाइप वान डिलर खुद्रा व्यापारी हुन भने टाइप टू डिलर युवा तथा विद्यार्थी वर्ग हुन् । जो डिजिटल साहुजीसँग आवद्ध भएर आफ्नै स्वतन्त्र रूपमा व्यवसाय गर्न सक्नेछन् । सिस्टममा आर्टिफिसियल इन्टेलिजेन्स, लोकेसन ट्रयाकिङ लगायतका प्रविधि जडित छ । त्यसैले कुनै ग्राहकले सामान अर्डर गर्नु भयो भने नजिकैको डिलरमा अर्डर पठाइन्छ । अर्डर आइसकेपछि डिलरले उक्त सामान छ की छैन भनेर हेर्छ । यदि उक्त डिलरमा सामान भेटिएन भने अर्काे नजिकैको डिलरमा अटोमेटिक स्क्यान गरेर हेर्छ । कुनैपनि शाखामा सामान भेटिएन भने अन्ततः हेड अफिसमा पठाइन्छ । हेड अफिसमा सूचीकरण गरिएका सबै सामान उपलब्ध हुन्छन् । हेड अफिसले शाखाहुँदै टाइप टू डिलरको माध्यमबाट ग्राहकलाई डेलिभरी गरिदिन्छ । ग्राहकले कसरी प्रयोग गर्ने ? डिलर र ग्राहकका लागि छुट्टाछुट्टै लग इनको सुविधा छ । ग्राहकले लग इन गरेर कुनै एउटा प्रडक्टमा क्लिक गर्नु पर्छ । त्यसपछि बाइ नाउ (खरिद गर्नुहोस्) र एड टू कार्ट भनेर अप्सन देखिन्छ । खरिद गर्दा लोकेसन उपत्यका र उपत्यका बाहिर कुन हो छनोट गर्नु पर्छ । कम्पनीले कुपन कोडहरू पनि वितरण गर्ने भएकाले उक्त कुपन कोड छ भने त्यहाँ राख्नु पर्ने हुन्छ । कुपन कोडमा विभिन्न छुटको व्यवस्था हुनेछ । त्यसपछि चेक आउट अप्सन आउँछ । चेक आउट अर्डर प्लेस गर्न हो । चेक आउट गरेपछि सामान पुर्याउनु पर्ने ठाउँ राख्नु पर्ने हुन्छ । फोन पे, इसेवा र खल्तीको माध्यमबाट सामानको भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । अन्य प्लेटफर्मभन्दा के फरक ? ग्राहकले कोबाट सामान अर्डर गरेको छ, त्यो सामान कहाँ पुगेको छ, कहिलेसम्म आइपुग्छ भनेर सबै ट्रयाकिङ सिस्टमबाट हेर्न सकिन्छ । सोही अनुसार सिस्टम बनाइएको छ । जुन अन्य कम्पनीको प्लेटफर्ममा छैन । डिलरहरूले आफूले सामान राखेर बिक्रेतालाई बेच्ने हो । कति अर्डर गरियो ? कति पेण्डिङमा छ ? कति प्याकेजिङ भइसक्यो ? कति फिर्ता भयो ? कति डेलिभरी हुन सकेन ? कति रद्द भएको छ ? भनेर हेर्न सकिन्छ । प्रडक्ट म्यानेजमेन्टका लागि कुन कुन प्रडक्टहलाई रिक्वेस्ट गरियो ? रिक्वेस्ट गरिएको सूची कुन कुन हो ? भनेर सबै स्टाटस हेर्न सकिन्छ । ग्राहकहरूका लागि एउटै मूल्य तोकिएको हुन्छ भने डिलरहरूका लागि होलसेल र रिटेल मूल्य छुट्याएर राखेको हुन्छ । पसल सञ्चालन गरिरहेका टाइप वान डिलर हुन् । टाइप टू डिलर विद्यार्थी र युवा वर्गलाई विजनेशमा सामेल हुन सक्ने व्यवस्था छ । जस्तो कुनै स्नातक अध्ययनरत विद्यार्थी छ भने आफ्नो खर्च उठाउन डिजिटल साहुजीमा आवद्ध भएर कमाउन सक्छ । नेपालभरिका शाखामा खुद्रा व्यापारी (टाइप वान)डिलर हुन्छन् । खुद्रा व्यापारीसँग विद्यार्थीहरू जोडिएर उनीहरूको प्रडक्टलाई मार्केटिङ गरेर बिक्री गर्न पाउने छन् । खुद्रा व्यापारी, युवा तथा विद्यार्थी र ग्राहक गरी तीन वटा तह छुट्याइएको हुन्छ । कम्पनीले मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ । मोबाइल एप डाउनलोड गरेर सामाग्रीहरू खरिद गर्न सक्ने पोखरेलले बताए । सीईओ न्यौपनका अनुसार व्यवस्थित हुन नसकेको व्यापारलाई सही बाटोमा ल्याउने डिजिटल साहुजी ल्याइएको हो । डिजिटल साहुजीले हजारौ युवालाई रोजगारी दिने उनको भनाइ छ । ‘जब हामी हजारौंको लागि काम गर्छाैं, हजारौंले समाजको लागि अनि देशको लागि केही न केही योगदान दिनु हुन्छ, यही हुटहुटीले डिजिटल साहुजी ल्याउका हौं,’ उनले भने ।

एनटीएका अध्यक्ष भण्डारीले लिए शपथ, दूरसञ्चार क्षेत्रको गुणात्मक रुपान्तरणमा ध्यान दिन निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको समग्र दूरसञ्चार र सूचना प्रविधि क्षेत्रको गुणात्मक रुपान्तरणमा ध्यान दिन नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) का नवनियुक्त अध्यक्ष भूपेन्द्र भण्डारीलाई निर्देशन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार अध्यक्ष भण्डारीलाई पद तथा गोपनियताको शपथ गराउँदै मन्त्री शर्माले राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए । अत्यन्त संवेदनशील क्षेत्रको रुपमा रहेको दूरसञ्चार क्षेत्रलाई गुणस्तरीय, सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि योजनाबद्ध पहल आवश्यक रहेको बताए । मुलुकको आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य रहेको र त्यसका लागि दूरसञ्चार आधारभूत डिजिटल पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री शर्माले चाँडोभन्दा चाँडो देशका सबै भूभागमा दूरसञ्चार सेवा पुर्याउने गरी काम गर्न सुझाव दिए । मन्त्री शर्माले सूचना प्रविधि नयाँ क्षेत्र भएको र यसमा प्रयोग हुने उपकरण तथा प्रणालीको खरिद र जडान प्रक्रियामा अन्य क्षेत्रबाट बढी अनियमितताको गुनासो आउने गरेकाले आगामी दिनमा त्यस्तो स्थिति आउन नदिन प्राधिकरणले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । सो अवसरमा नवनियुक्त अध्यक्ष भण्डारीले राष्ट्रहित र नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । दूरसञ्चार क्षेत्रको बदलिँदो आयाम र आफ्नो दुई दशक लामो सूचना प्रविधि क्षेत्रको अनुभवका आधारमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा योगदान दिने उनले बताए । यही फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनले खुला प्रतिस्पर्धाबाट पाँच वर्षका लागि अध्यक्षमा नियुक्त भएका हुन् । निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि अध्यक्ष पदमा खुला प्रतिस्पर्धाका लागि आह्वान गरिएको थियो । प्रतिस्पर्धाका लागि २५ जनाले आवेदन दिएकामा सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित सिफारिस समितिले भण्डारी, शैलेन्द्र गिरी र नवीन जिसीको नाम मन्त्रिपरषद्मा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले पहिलो नम्बर रहेका भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । रासस

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ । सो अफर फागुन ६ देखि लागू भएको र आगामी फागुन १२ सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । सो अफर अनुसार टेलिकमले देशमा लोकतन्त्र प्राप्तिको लागि आहुति दिने शहीदहरुको सम्मानार्थ शहीद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने भएको छ । जस अनुसार साविक बमोजमको फ्री रिसोर्स १ जीबी डाटा, १०० मिनेट अन-नेट भ्वाइस र १०० अन-नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ । यसैगरी एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको इएर्ली वाइ टाइम प्याकेज र कम्बो इयर्ली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ । टेलिकमले कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।