अब बाढी आउनुअघि मोबाइलमा म्यासेज आउने
काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा यस सम्बन्धी भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार जल तथा मौसम विज्ञान विभागले विपद् सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएस मार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई आवश्यक जानकारी उपलब्ध गराउने छ । बाढी वा विषम मौसम जन्य विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनु अगावै सर्टकोड ११५५ मार्फत ती क्षेत्रका मोबाइल फोन वाहकले प्राप्त गर्न सक्ने छन् । यस अनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात/हिमआँधी, तातो हावाको लहर (लु), शितलहर, वायु प्रदूषण, घुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विष्फोटन ढडेलो जस्ता विपद्हरुको पूर्वसूचना उपलब्ध गराइने टेलिकमले जनाएको छ । यसका लागि नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागलाई सेन्ट्रल सर्भरमा प्रयोग गर्नका लागि पहिले देखि नै ६०० सिम उपलब्ध गराइरहेकोमा अब थप १०० सिम समेत गरी ७०० थान सिम उपलब्ध गराएको छ र यसमा प्रतिमहिना ३०० एमबी डाटा समेत निःशुल्क उपलब्ध छ । नेपाल टेलिकमले विगत २०७३ साल देखि नै यस प्रकारको सूचना प्रवाहका लागि आवश्यक सहयोग गरिरहेको र गत २०७९ साउन १६ गते भएको सम्झौतामा थप बुँदाहरु समेत समावेश गरी सम्झौता नवीकरण गरिएको हो । जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरु २०७३ साल देखि अनवरत रुपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पुर्याई विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्याएकोमा नेपाल टेलिकमको भूमिकाको उच्च कदर गर्दै कदर पत्रद्वारा सम्मानित गर्दै आएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले ल्यायो जीएसएम मोबाइल र एफटीटीएचमा प्याकेज
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ । यी अफरहरु भोलि (२०८१ असार १) देखि लागु हुने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत ५९९ रुपैयाँमा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने ( अनलिमिटेड अन–नेट भ्वाइस) तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ–नेट भ्वाइस) सेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध हुनेछ । त्यसैगरी सजिलो ६३६ प्याक अन्तर्गत ६३६ रुपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस, १५० मिनेट अफ–नेट भ्वाइस तथा १०० अन–नेट एसएमएसका साथै ९ जीबी डाटा सेवा उपलब्ध हुनेछ । यसका साथै सजिलो ७९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, ३० जीबी डाटा र १५० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जीबी डाटा र २०० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ । कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डाटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ । सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ । यसका साथै अन्य आकर्षक प्याकेजहरु समेत कायम राखिएको छ । इन्डिया भ्वाइस कल प्याकेज अन्तर्गत ८० रुपैयाँमा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने २७० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुने कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तीमा बताइएको छ । त्यसैगरी एफटीटीएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको छ । प्रिमियम एफटीटीएच प्याकेजहरुमा डाटा मात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरु, भ्वाइस सेवामात्र प्रयोग गर्ने ग्राहकहरुका लागि बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभी प्याकेजहरु र एक्सजीपीओन प्याकेजहरुमा डाटामात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरु समेत सुलभ दरमा उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।
टिकटक लगायत कुनै पनि सामाजिक सञ्जालसँग आपत्ति छैन : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनै पनि सामाजिक सञ्जालहरु नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन् । बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरु उत्पादन र प्रशारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानूनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताइन् । सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको जानकारी दिइन् । नियम कानूनको पालना गर्नेहरुले टिकट चलाउन नहुने बतइन् । सामाजिक सञ्जाल समाजअनुकुल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको बताइन् । सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रीपरिषद्मा पेश गरिएको जानकारी दिँदै अब संसदीय समितिमा गइ व्यापक छलफल हुने विश्वास व्यक्त गरिन् । सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयक संसदमँ दर्ता गर्ने प्रक्रियामा रहेको बताइन् । मन्त्री शर्माले नेपालका कानूनहरु, नेपालको समाजको महत्व आफ्नै भएकाले सबैलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जालहरु आउँछन् भने आपत्ति नरहेको बताइन् । टिकटक नाममा समस्या नभइ कन्टेनमँ समस्या रहेको भन्दै नेपालको नियम कानून र सोसल भ्याल्युलाई मानेर आउँदा र नेपालमा दर्ता भइ स्वनियमन कायम गरे सबै सामाजिक सञ्जाल चलाउन सकिने जानकारी दिइन् । ‘टिकटकको विषय पनि उठाउनुभएको छ । यो विषय के हो भने हामीले टिकटक, क्याबिनटेबाट नै निर्णय गरेर हामीले बन्द गरेका हौँ । हामीले नियम कानून पालना गर्ने र गराउने ठाउँमा छौँ, हामीले प्रयोग गर्नु हुँदैन । अहिलेसम्म कुनैपनि सामाजिक सञ्जाल दर्ता भएको थिएन । दर्ता भएर राम्रोसँग चलाउनु पर्छ । हामीले कानूनी दायरामा ल्याउने प्रयत्न गरेका हौँ’, उनले भनिन् । मन्त्री शर्माले राजनीतिक रुपमा प्राप्त उपलब्धि र सामाजिक चेतनाको बीचमा अन्तरबिरोध भएको बताइन् । राजनीतिक व्यवस्थाअनुरुपको सामाजिक चेतना कसरी निर्माण गर्ने ? भन्ने विषयमा राज्यको नेतृत्वदायी भुमिका हुन जरुरी रहेको जानकारी दिइन् ।