सुदूरको छोरो, व्यवस्थापनमा हिरो
काठमाडौं । एउटा गाउँको बालकको मस्तिष्कमा पढाइभन्दा परको कुरा थिएन । साँझ बिहान घरको काम, दिउँसो विद्यालय र कहिलेकाहीँ छुट्टीमा गोठालो यसैगरी बाल्यकाल बित्यो । पहाडका उकाली र ओराली गर्दै गाउँको स्कुलबाटै एसएलसी दिए । जब उनी एसएलसीमा राम्रो नम्बर ल्याएर पास भए । तब उनको यात्रा सहरतिर डोरियो । सहरमा छिरेपछि मस्तिष्कमा पढाइ मात्र रहेन । अब पढाइसँगै मैले केही पनि गर्नुपर्छ भन्ने कुराहरू खेल्न थाले । यही उद्देश्य र लक्ष्यले गाउँबाट सहर हानिएका उनी अहिले शिक्षा क्षेत्रमा परिचित पात्र बनेका छन्, नेपालका अब्बल शिक्षालयको नेतृत्व गरिरहेका छन् । उनी अर्थात् डा.खगेन्द्र प्रसाद ओझा । लेक्चररकै रूपमा काम गरिरहेका भए हामी उनलाई त्रिभुवन विश्व विद्यालयमा भेट्थ्यौं । जागिर होइन आफैं केही गर्नुपर्छ भन्दै उनले पदबाट राजीनामा दिएर शिक्षण पेशासँगै शिक्षण व्यवसायमा पनि हात हाले । उनी आज उत्कृष्ट शिक्षक मात्र छैनन्, देशकै ठूलो शिक्षण संस्थाको कार्यकारी प्रमुख छन् । खगेन्द्र ओझा प्रो-इडी लिमिटेड (प्रोफेसनल एजुकेटर) को अध्यक्ष छन् । प्रो-इडी लिमिटेडको प्रतिनिधित्व गर्दै ग्लोबल कलेज इन्टरनेशनल, यूनिग्लोबल कलेज, यूनिग्लोबल स्कूल, भ्याली भ्यू स्कूलको अध्यक्ष छन् । ग्लोबल कलेज अफ म्यानेजमेन्टको प्रमुख कार्यकारी अधिकृत छन् । उनी मध्य पश्चिम विश्वविद्यालयलको प्राज्ञीक परिषद सदस्य, काठमाडौं वल्ड स्कूल, भूजुङ हाइड्रोपावरको अध्यक्षको भूमिकामा पनि छन् । ९ हजार विद्यार्थी, करिब ८०० बढी शिक्षक कर्मचारीको नेतृत्व उनले गरिरहेका छन् । डा. ओझाको घर सूदुरपश्चिमको डोटी जिल्लामा हो । उनले डोटीकै दिल्पेश्वर माविबाट एसएलसी पास गरे । १६ वर्षको उमेरमै विवाह गरे । पारिवारिक जिम्मेवारी पनि समाले । तर उनी गाँउ छोडेर उच्च शिक्षाको लागि सहर पसे । एसएलसीपछि उनले कैलालीको धनगढीबाट आइकम पास गरे । प्लसटुमा पास मात्र गरेनन्, उनले जिल्लामै सर्वोत्कृष्ट नम्बर ल्याए । त्यसपछि उनी काठमाडौंमा आएर शंकरदेव कलेजमा स्नातकमा भर्ना भए । स्नातकमा उनी नेपालकै बोर्ड छैटौं भए । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयमा एमबीएमा भर्ना भई अध्ययन र अध्यापन दुबैलाई अगाडि बढाए । वि.सं. २०४९ सालमा एमबीए भर्ना भएका उनले वि.सं. २०५१ को सालमा सर्वोत्कृष्ट नम्बर ल्याउँदै त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडलिस्ट’ उपाधि पनि चुमे । एमबीएमा भर्ना भएसँगै उनले कलेजमा पनि पढाउन सुरु गरे । एकातिर काम अर्कोतिर पढाइ । यसैगरी उनको दैनिकी चलिरहेको थियो । खगेन्द्रले त्यही बेला काठमाडौं त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा आवेदन खुलेको थाहा पाए । उनले त्यहाँ फर्म भरेर परीक्षा दिए । पहिलो पटकमै उनको नाम निस्कियो । त्यसपछि सुरु भयो उनको सरकारी जागिर त्रिभुवन विश्व विद्यालयमा । वि.सं. २०५३ सालमा उनी लेक्चररको रूपमा त्रिभुवन विश्वविद्यालयमा काम गर्न थाले । त्यो बेला मासिक तलब थियो पाँच हजार रुपैयाँ । बाँकी समय ट्यूसन पढाउँथे । एक घण्टा ट्यूसन पढाउँदा ६० रुपैयाँ पाइन्थ्यो । विगत स्मरण गर्दै उनले भने, ‘काठमाडौंमा अहिलेजस्तो महँगी थिएन, दुई हजारमा फ्ल्याट पाइन्थ्यो, मट्टीतेलले स्टोपमा खाना पकाएर खान्थ्यौं, अहिलेको जस्तो ग्यास थिएन ।’ खगेन्द्रले १७ वर्ष त्रिभुवन विश्व विद्यालयमा पढाए । त्यसपछि उनी विद्यावारिधी गर्न छात्रवृत्ति कोटामा पोल्याण्ड गए । उनले उनले सहश्राब्दी विकास लक्ष्य (मिलिनियम डेभलपमेन्ट गोल) विषयमा पीएचडी गरे । विद्यावारिधी गरिसकेपछि उनी नेपाल फर्के । राजधानी काठमाडौं महंगिदै थियो । खगेन्द्र राम्रो अवसरको खोजीमा थिए । वि.सं २०६० सालमा डनबोस्को कलेजमा संयोजकको रुपमा काम गर्ने प्रस्ताव आयो । तलब मासिक ५० हजार हुने भयो, जुन त्रिविले दिने भन्दा गुणात्मक रुपमा बढी थियो । त्यो बेला कलेजको प्रिन्सिपल थिए तारानाथ शर्मा । त्यहाँ उनी संयोजकको रूपमा काम गर्न थाले । त्यहाँ उनले करिब ७ महिना मात्र काम गरे । खगेन्द्रलाई जागिर गर्दैगर्दा अब आफैं केही गर्नुपर्छ भन्ने हुटहुटी भयो उनका दाजु पनि व्यवसाय गरिरहेका थिए । दाजु पनि शिक्षक पेसा छोडेर व्यवसायमा लागेको देख्दा उनलाई पनि त्यतातिर रुचि जाग्यो । ‘व्यवसाय गर्न मन त लाग्यो । तर, पैसा थिएन,’ उनले व्यवसाय सुरु गर्दाका दिनहरू स्मरण गर्दै भने । खगेन्द्र र उनका दुई/तीन जना साथीहरू मिलेर होस्टेल सञ्चालन गर्ने योजना बनाए । योजनाअनुसार उनले साथीहरूसँग मिलेर बानेश्वरमा होस्टेल सञ्चालन गरे । ‘होस्टेल सिज्नल चल्दो रहेछ, कहिले विद्यार्थी हुने, कहिले नहुने, यसमा पनि राम्रो होला जस्तो भएन, फेरि साथीहरूले सल्लाह गर्यौं, त्यसपछि स्कुल नै सञ्चालन गर्ने योजना बन्यो,’ उनले भने, ‘फेरि पनि पैसा थिएन । समस्यामा परेर बिक्रीमा रहेको भ्याली भ्यू स्कुल लिने योजना बन्यो । थोरै लगानीमा स्कूलमा प्रवेश गर्यौं ।’ स्कुल सञ्चालनमा ल्याउँदा खगेन्द्र र उनका साथीले त्यत्तिकै बस्नुपर्यो । किनकि उनीहरूको विज्ञता भनेको कलेज पढाउने थियो । फेरि उनीहरूलाई पढाउने रहर लाग्यो । उनी भन्छन्, ‘स्कुलले पनि नहुँदो रहेछ, किनकी हामीले पनि काम पाउनु थियो, फेरि कलेजको खोजी गर्यौं ।’ कलेज खोज्दै जाँदा ग्लोबल कलेज चलाउन नसकेर बन्द हुने अवस्थामा रहेको खबर सुनियो । पुराना लगानीकर्ता कलेज किन्ने मान्छे खोज्दै थिए । खगेन्द्र लगायतको समूह कलेज किन्ने सोचमा थियो । ‘हामीले कलेज खोजेको कुरा उनीहरुले चाल पाएछन् । यो कलेज चलाइदिनुपर्यो, हामीहरू पनि यही सेयरमा समाहित हुन्छौं भनेर आउनुभयो, त्यसपछि हामीले ग्लोबल कलेज किन्यौं,’ ओझाले भने, ‘त्यसपछि भाडाको घरमा कलेज सञ्चालन गरियो ।’ खगेन्द्र ओझा प्रो-इडी लिमिटेड (प्रोफेसनल एजुकेटर) को अध्यक्ष छन् । प्रो-इडी लिमिटेडको प्रतिनिधित्व गर्दै ग्लोबल कलेज इन्टरनेशनल, यूनिग्लोबल कलेज, यूनिग्लोबल स्कूल, भ्याली भ्यू स्कूलको अध्यक्ष छन् । ग्लोबल कलेज अफ म्यानेजमेन्टको प्रमुख कार्यकारी अधिकृत छन् । उनी मध्य पश्चिम विश्वविद्यालयलको प्राज्ञीक परिषद सदस्य, काठमाडौं वल्ड स्कूल, भूजुङ हाइड्रोपावरको अध्यक्षको भूमिकामा पनि छन् । ९ हजार विद्यार्थी, करिब ८०० बढी शिक्षक कर्मचारीको नेतृत्व उनले गरिरहेका छन् । भ्याली भ्युपछि ग्लोबल कलेज सञ्चालनमा आइसक्दा पनि आर्थिक पाटोमा समस्या नै थियो । आर्थिक समस्या समाधानका लागि उनीरूले एउटा कम्पनी स्थापना गरे । व्यावसायिक यात्राका क्रममा आएका उतार चढावले खगेन्द्रलगायत उनका साथीहरू मिलेर कम्पनी सुरु गरे । कम्पनीको नाम राखे ‘प्रोफेसनल एजुकेटर लिमिटेड । कम्पनी दर्ता गरिसकेपछि त्यसको अध्यक्ष डा पुस्कर बज्राचार्य बने । कम्पनी दर्ता गर्दा एउटा नियम बनाइयो । न्यूनतम ५० हजार रुपैयाँ र बढीमा ५ लाख रुपैयाँ सेयर राख्न मिल्ने । त्योभन्दा तलपनि राख्न नमिल्ने र माथि पनि राख्न नमिल्ने । ‘सबै अग्रजहरूलाई आग्रह गर्यौं, उहाँहरू पनि सहमत हुनुभयो, यसरी हाम्रो कम्पनीलाई बामे सार्यौं,’ उनले भने । त्यो कम्पनीमा ठूल्ठूला व्यवसायी तथा पैसावालाहरू आवद्ध भए । अहिलेका अर्थमन्त्री डा.प्रकाशरण महतसहित र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, हामी स्टीलका बालकृष्ण श्रेष्ठ लगायतका ठूला व्यवसायी पनि सेयर साझेदार बने । सुरुमा १०३ जनाबाट १ करोड २५ लाख रुपैयाँ संकलन भयो । यही मोड नै उनको व्यवसायको उदगम् स्थल बन्यो । उनी भन्छन्, ‘म पहिले पनि पैसावाला थिएन, अहिले पनि मसँग पैसा छैन, मेरो काम भनेको समन्वय गर्ने हो, अहिले पनि यही काममा व्यस्त छु ।’ होस्टेल सञ्चालनदेखि स्कुल र कलेजसम्म पुग्दा सुरुमा आर्थिक रूपमा समस्या नै थियो । भनिन्छ नि- ‘व्यवसाय गर्नेहरूसँग दरिलो मुटु चाहिन्छ ।’ किनकि व्यवसायमा घाटा र नाफा भइरहन्छ । कहिले शिक्षकहरूलाई तलब दिन पैसा पुग्दैन थियो । समस्या पर्दा पैसा भएका अग्रजहरूसँग सहयोग माग्ने गरेको उनी सुनाउँछन् । पैसा नभएर ऋण मागेर तलब खुबाएको उदाहरण उनीसँग प्रशस्त छन् । पछिल्लो समय बैंकबाट ८० प्रतिशत कर्जा लिएको पनि उनले सुनाए । विद्यार्थी खोज्न गाउँ-गाउँमा कुनैपनि काम सहज हुँदैन । कलेज सञ्चालन गरिसकेपछि पनि ढुक्क हुने अवस्था रहेन । कलेज सञ्चालनपछि विद्यार्थी आवश्यक पर्यो । आफैं पढाउने, आफै व्यवस्थापन गर्नु पर्दाको अनुभव अर्कै थियो । ती दिनहरूको अनुभव सुनाउँदै उनी भन्छन्, ‘त्यो बेला काममा निकै खटिनु पर्थ्यो, बिहान ६ बजेदेखि राति ६ बजेसम्म खट्थ्यौं, आफै पढाउँथ्यौं, आफैं विद्यार्थी खोज्न जान्थ्यौं ।’ ‘कामप्रतिको प्यासन, डेडिकेशन र हाडवर्क’ यो गुण असल व्यवस्थापकमा हुनैपर्छ । यति भएन भने ऊ राम्रो व्यवस्थापक हुन सक्दैन, जसरी एउटा मूर्ति कुद्ने मूर्तिप्रति, गीत गाउने गीतप्रति समर्पित हुन्छ त्यस्तै व्यवस्थापन गर्ने व्यक्तिले पनि आफ्नो संस्थाप्रति समर्पित हुनुपर्छ, मिहिनेत नगरी केही हुँदैन ।’ खगेन्द्रले कलेज पढ्ने विद्यार्थी खोज्न धुलिखेल र बनेपा लगायत ठाउँका घर-घर चहारे । कसैको घरमा एसएलसी दिएको केटाकेटी छन् भन्ने सुनेपछि उनीहरूको घरमा जाने, अभिभावकलाई कन्भिन्स गरेर विद्यार्थी ल्याउने कार्यमा खगेन्द्रको टिम भिड्न थाल्यो । मिनभवन र शंकरदेव लगायतका कलेजमा गएर पनि त्यहाँका विद्यार्थीलाई आफ्नो कलेजमा पढ्न आग्रह गर्थे । भ्याली भ्यू स्कुल सञ्चालन गर्दा सुरुमा ८० जना विद्यार्थी थिए भने अहिले १६ सय बढी विद्यार्थी छन् । त्यतिबेला ग्लोबल कलेजमा ९०/१०० जना विद्यार्थी थिए भने अहिले कलेजमा तीन हजार विद्यार्थी प्लसटुमा मात्र छन् । सबै विद्यार्थी गरेर करिव ९ हजार विद्यार्थी छन् । विस्तारै जग्गा किन्दै भवनको संरचना निर्माण गर्दै अहिले कलेज १५ रोपनी जग्गामा छ । ‘म आफैं एकाउन्ट फाइनान्स पढाउने हुनाले व्यावसायिक योजना बनाउन सहयोग भयो, बजेट बनाउने काम आफैं गर्थें, योजना बनाएर बैंकलाई ऋणका लागि प्रस्ताव गरेपछि एक्सेप्ट भइहाल्थ्यो,’ उनी भन्छन्, ‘अहिले मलाई सजिलो छ, कतिपय बैंकमा आफ्नै साथी र विद्यार्थी सीईओ छन्, खुसी लाग्छ ।’ सबै स्थायित्व भइसकेपछि अब कम्पनी आईपीओमा जाने तयारी गरिरहेको छ । सुरुमै पब्लिकमा जाने योजना रहेपनि जान नसकेको बताउँदै खगेन्द्रले अब आईपीओमा जाने तयारी भइरहेको बताए । उनी भन्छन्, ‘कम्पनीको नाम पनि पब्लिक लिमिटेड राखेर सेयर मार्केटमा सुचिकरण गर्ने हो, भोलि पब्लिकमा गएपछि पनि अब कम्पनी बन्द हुँदैन भन्ने अवस्थामा त ल्याउनुपर्यो ।’ उनले अबको तीन वर्षभित्र आईपीओमा जाने योजना सुनाए । प्रोफेसनल एजुकेटर लिमिटेडमा ४ जना पब्लिक सेयरधनी र ७ जना प्रमोटर गरी ११ जनाको सञ्चालक समिति छ । कम्पनीमा पब्लिकमा नगएकाले ४ जना पब्लिकको सिट खाली छ भने बाँकी ७ जना निर्वाचित हुन्छन् । कुनै व्यवसाय राम्रो किसिमले अघि बढाउन सबैभन्दा पहिले त्यहाँको व्यवस्थापन राम्रो हुनुपर्ने खगेन्द्र बताउँछन् । उनी त्यसको लागि कसरी कामदारहरूलाई काम गरायो भने काम गर्छन् ? कस्तो वातारवरण दियो भने मोटिभेट हुन्छन् भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँछन् । ‘एउटा त राम्रो पारिश्रमिक दिनुपर्यो, समयमै दिनुपर्यो, व्यवहार राम्रो हुनुपर्यो, कस्तो वातारण तयार पार्ने भन्ने विषयमा नेतृत्व सजक बन्नुपर्छ, तब मात्रै कम्पनी र नेतृत्व पनि सफल हुन्छ’- उनले भने । उनी विद्यार्थीलाई सिकाउँदा ५० प्रतिशत सिद्धान्त र ५० प्रतिशत सीप कसरी सिक्ने भनेर सिकाउनु पर्ने धारणा राख्छन् । यस्तो गर्ने हो भने व्यक्तिले जागिर गरेपनि वा आफ्नै काम गरेपनि राम्रो गर्न सक्ने उनको भनाइ छ । एउटा विद्यार्थीलाई स्कुलदेखि नै उसको जीवनमा चाहिने आधारभूत कुराहरूको सिकाइ विद्यालयबाटै हुनुपर्ने उनको भनाइ छ । हाम्रो शिक्षा जीवन उपयोगी हुनमा चुकेको उनी बताउँछन् । कसरी बन्ने अब्बल व्यवस्थापक ? हाल ‘प्रोफेसनल एजुकेटर लिमिटेड कम्पनी अन्तर्गत युनिग्लोबल स्कुल, काठमाडौं वर्ल्ड स्कुल, जीसीई ए लेवल कलेज सञ्चालित छन् । यी सबै स्कुल तथा कलेजको व्यवस्थापनको जिम्मा उनै डा. ओझाको काँधमा छ । उनले व्यवस्थापनको जिम्मेवारी पाएपछि यी सबैं संस्था अब्बल बनेका छन् । ‘व्यवसायको हिसावले मेरो मुख्य प्राथमिकता शिक्षा हो, मैले विद्यार्थी र शिक्षकसँग राम्रो व्यवहार गर्नुपर्यो, समस्या के छ ? अनुभव के मा छ, उनीहरू के चाहिरहेका हुन्छन् भन्ने कुरामा नेतृत्वले बुझ्न सक्नुपर्छ, त्यो बुझेर समस्याको समाधान गर्ने व्यक्ति नै अब्बल व्यवस्थापक हो,’ उनले भने । ‘कामप्रतिको प्यासन, डेडिकेशन र हाडवर्क’ यो गुण असल व्यवस्थापकमा हुनैपर्छ । यति भएन भने ऊ राम्रो व्यवस्थापक हुन सक्दैन, जसरी एउटा मूर्ति कुद्ने मूर्तिप्रति, गीत गाउने गीतप्रति समर्पित हुन्छ त्यस्तै व्यवस्थापन गर्ने व्यक्तिले पनि आफ्नो संस्थाप्रति समर्पित हुनुपर्यो, मिहिनेत नगरि केही हुँदैन ।’ (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल कक्षा र कार्यकक्षमा कुशल कुलमान १५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’ शक्तिशाली कम्पनी हाँक्ने महिला : ‘चुनौतीसँग जुध्छु, प्रतिस्पर्धीसँग डराउँदिनँ’ विश्वासिला व्यवस्थापक, सिर्जनशील सल्लाहकार अप्रेशन र प्रशासनमा काबिल रीता, ‘तिलगंगा अझै चलाउँछु’ अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’ पैसा गौण, काम सर्वोपरि अग्रणी चिकित्सक, अब्बल व्यवस्थापक पायोनियर कम्पनीका युवा सीईओ, ‘डिजिटल रुपान्तरण नै आइएमईको लक्ष्य’
पायोनियर कम्पनीका युवा सीईओ, ‘डिजिटल रुपान्तरण नै आइएमईको लक्ष्य’
काठमाडौं । नेपालको पहिलो रेमिट्यान्स कम्पनी हो आइएमई लिमिटेड । र, देश विदेशमा सबैभन्दा ठूलो नेटवर्क भएको, सबैभन्दा धेरै सेवाग्राही भएको, सबैभन्दा धेरै रेमिट्यान्स कारोबार गर्ने र सरकारलाई पनि सबैभन्दा बढी कर बुझाउने रेमिट्यान्स कम्पनीको रुपमा स्थापित भएको छ आइएमई । प्रमुख कार्यकारी अधिकृत (सीईओ) जिम्मेवारीमा यस कम्पनीको नेतृत्व गरिरहेका छन् खिलेन्द्र पौडेलले । उनले यो पद सम्हालेका २ वर्ष पुरा हुनै लाग्यो तर उनी यो कम्पनीमा आवद्ध भएको २ दशक नाघिसक्यो । दुई दशकदेखिको निरन्तरता खिलेन्द्र पौडेल भर्खरै ३९ वर्षका भए । उनी ३५ वर्षको उमेरमा कम्पनीको महाप्रबन्धक भएका थिए । सन् २००४ मा उनी आइएमई प्रवेश गरेका थिए । कम्पनीमा धेरै वर्ष वरिष्ठ प्रबन्धक, ४ वर्ष महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका हुन् । यही क्रममा उनले स्मार्ट च्वाइस टेक्नोलोजी, आइएमई इन्डिया प्रा.लि., सनी सेक्युरिटीज, आइएमई डिजिटल जस्ता कम्पनीहरुमा बोर्ड अफ डाइरेक्टर भएर पनि काम गरिरहेका छन् । त्रिभुवन विश्व विद्यालयबाट फाइनान्समा स्नातकोत्तर गरेका पौडेलले हार्वर्ड केनेडी स्कूल, इन्डियन इस्टिच्यूट अफ म्यानेजमेन्ट अहमदावाद, ब्रिटिस काउन्सिल लगायत अब्बल शैक्षिक संस्थाहरुबाट प्रोफेशनल स्कील डेपलपमेन्ट ट्रेनिङहरु प्राप्त गरेका छन् । अध्ययन, तालिमसँगै उनी देश विदेश घुम्न औधी रुचाउँछन् । ‘नेपालका धेरै ठाउँमा पुगेको छु । २५ भन्दा बढी देशहरुमा कामकै सिलसिलामा बारम्बार पुग्ने र विदेशमै बसेर कामको अनुभव लिने मौका पाएको छु’ उनी भन्छन्- किताबी अध्ययन र समाजको अध्ययनले मान्छेलाई कुनै पनि विषयमा छिटो बुझ्न मद्दत गर्छ, साथै सिर्जनशील पनि बनाउँछ ।’ पायोनियर कम्पनी आइएमई नेपालको रेमिट्यान्स क्षेत्रको पायोनियर कम्पनी हो । शुरुवाती दिनदेखि नै आइएमई देशकै सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने कम्पनी पनि बन्न सफल भएको छ । पछिल्लो तथ्याङ्क हेर्ने हो भने औपचारिक माध्यमबाट नेपाल भित्रिने कूल रेमिट्यान्सको २२/२३ प्रतिशतको बजार हिस्सा आइएमईले ओगटेको छ । त्यतिमात्र हैन रेमिट्यान्स कम्पनीहरू मध्येबाट सरकारलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा पनि आइएमई लगातार सम्मानित हुँदै आएको छ । रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउने आइएमईको लक्ष्य अनुसार नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्दै ७७ जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरेको छ । बैंक तथा वित्तीय संस्थाका शाखाहरु सहित ३५००० बढी एजेण्ट तथा सब-एजेण्टहरुका साथै २२५ भन्दा बढी आइएमई सेन्टरहरु मार्फत सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । दैनिक ७० हजारभन्दा धेरै नेपाली सेवाग्राहीहरुले आइएमईको सेवा लिइरहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल बताउँछन् । अन्तर्राष्ट्रिय साझेदारहरुसँगको सहकार्य मार्फत परम्परागत रेमिटेन्स कोरिडोरहरू लगायत संसारभरका अधिकांश श्रम गन्तव्यहरुबाट आइएमईले सेवा दिइरहेको उनले बताए । नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई सञ्चालनमा आएको २३ वर्ष भएको छ । कम्पनी पुरानो भए पनि प्रविधिको प्रयोगमा अगाडि नै रहेको छ । ‘प्रविधिको बढ्दो प्रयोगलाई हामीले पनि आत्मसात गर्दै अघि बढिरहेका छौं । डिजिटल रेमिटेन्सको प्रवर्द्धनलाई नै हामीले अबको कार्यदिशा बनाएका छौं’ प्रमुख कार्यकारी अधिकृत पौडेल भन्छन्- ‘सोही प्रयास स्वरुप हामीले आइएमई पे मोबाइल वालेटलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरिरहेका छौं । अब सेवाग्राहीले आफु बसेकै स्थानबाट रियल टाइममा रेमिटेन्स पठाउन र प्राप्त गर्न सक्नु हुनेछ । यसबाट रेमिटेन्स पठाउन तथा प्राप्त गर्न मात्र हैन, डिजिटल भुक्तानी सम्बन्धी अन्य कारोबार गर्न पनि सहज हुने हामीले विश्वास लिएका छौं ।’ नेपालको पहिलो रेमिट्यान्स कम्पनी हो आइएमई लिमिटेड । र, देश विदेशमा सबैभन्दा ठूलो नेटवर्क भएको, सबैभन्दा धेरै सेवाग्राही भएको, सबैभन्दा धेरै रेमिट्यान्स कारोबार गर्ने र सरकारलाई पनि सबैभन्दा बढी कर बुझाउने रेमिट्यान्स कम्पनीको रुपमा स्थापित यस कम्पनीको नेतृत्व गरिरहेका छन् ३९ वर्षिय खिलेन्द्र पौडेलले । आइएमईले रेमिट्यान्सको आप्रवाहलाई सहज बनाउन, नागरिकमा वित्तीय पहुँच विस्तार गर्न, आफ्ना सेवाहरूलाई समयसापेक्ष प्रविधिमैत्री बनाँउदै सुरक्षित र सहज सेवा विस्तारमा निरन्तर काम गरिरहेको छ । केही समय यता रेमिट्यान्स क्षेत्रमा पनि नयाँ नयाँ प्रयोगहरु भइरहेका छन् । खासगरि डिजिटल रूपान्तरण र पहुँचमा धेरै विकास भइसकेको छ । यसले केही अवसर र केही चुनौतीहरु सिर्जना गरेको छ । ‘प्रविधिको प्रयोगले हाम्रो जीवनशैलीमा ठूलै परिवर्तन ल्याइरहेको छ । ग्राहकको रोजाई, आवश्यकता तथा बजारको डाइनामिक्स परिवर्तन भइरहेको छ । समग्रमा, रेमिट्यान्स सेवा नयाँ चरणको रूपान्तरणको अवस्थामा छ । त्यसैले अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिट्यान्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउँदै लैजानु आजको आवश्यकता नै हो’ पौडेल आफ्नो भूमिकामा स्पष्ट छन् र भन्छन्- ‘हामीले पनि सोही अनुरुपनै काम गरिरहेका छौं । डिजिटल रूपान्तरण र फिनटेकको विकास र प्रयोगले रेमिट्यान्स सेवालाई कम खर्चिलो, सुरक्षित एवम् रियल टाइम बनाएको छ जसका कारण रकम पठाउन र प्राप्त गर्न निकै नै सहज भएको छ । लागत न्यूनिकरण भइरहेको छ भने प्रतिस्पर्धा र पहुँचमा समेत सुधार भएको देख्न सकिन्छ । प्रविधिको प्रयोगकै कारणले धेरैभन्दा धेरै मानिसहरुमा बैंकिङ प्रणालीको सहज पहुँच पुग्न सकेको हो भन्ने लाग्छ ।’ प्रविधिको प्रयोगमा अवसरहरु सँगसँगै प्रशस्त चुनौतीहरु पनि उनले केलाइरहेका छन् । काविल व्यवस्थापकको महत्वपूर्ण जिम्मेवारी हो चुनौतिहरुको पहिचान गर्नु र सामनाको लागि तयार हुनु । उनी भन्छन्- ‘सुरक्षा तथा डेटा प्राइभेसी, अनाधिकृत पहुँच आदि प्रमुख चुनौती हुन जस्तो लाग्छ । त्यसैगरी नयाँ तथा स्थान अनुसारका फरक फरक नियमहरूको पालना, विनिमय दरको उतारचढाव र वित्तीय समावेशीकरणको सुनिश्चितता आदि पनि चुनौतीपूर्ण रहेका छन् । यद्यपि नियमन र प्रतिस्पर्धी मूल्य निर्धारणलाई प्राथमिकतामा राख्दै सूचना प्रविधिले उपलब्ध गराएका सुविधाहरूलाई प्रभावकारी रूपमा नेभिगेट गर्न सकियो भने रेमिट्यान्स कम्पनीहरूको लागि पर्याप्त अवसरहरु उपलब्ध हुन्छन् भन्ने लाग्छ ।’ पूर्ण सुरक्षित, पूर्व बैधानिक कारोबारमा जोड रेमिट्यान्स कारोबारको शतप्रतिशत सुरक्षा र वैधानिकता हाम्रो पहिलो प्राथमिकता भएको र सोही अनुसार सुरक्षामा आवश्यक सम्पुर्ण उपकरणहरुलाई सिस्टममा इन्टिग्रेट गरिएको उनले बताए । ‘हामी कम्प्लाइन्समा कहिल्यै पनि कम्प्रमाइज गर्दैनौं । केन्द्रीय बैङ्क र नेपाल सरकारको नीति बाहेक कुनै पनि काम गर्दैनौं’ उनी भन्छन्- ‘हामी विश्वमा आएका नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढिरहेका छौं । हाम्रो आफ्नै आईटी टीम छ, आफ्नै सिस्टम छ । त्यस्तै, हामीले इन्टरनेशनल कम्प्लाइन्स सिस्टम चलाउँछौं जुन नेपालका बैङ्कहरुले पनि चलाउँछन् । दुरुस्त तथा अपडेटेड केवाईसी प्रक्रियाहरू, एएमएल नियमनको पूर्ण पालना, प्रतिबन्धहरू स्क्रिनिङ गर्ने, नियमितरुपमा कम्प्लायन्स अडिट, डाटा इन्क्रिप्सन र सुरक्षा प्रोटोकलहरू समावेश गरिएका छन् ।' रेमिट्यान्स कारोबारको शतप्रतिशत सुरक्षा र वैधानिकता हाम्रो पहिलो प्राथमिकता हो । हामी विश्वमा आएका नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढिरहेका छौं । ग्राहकको डाटा सुरक्षामा अत्यन्तै सचेत छौं । र, केन्द्रीय बैङ्क र नेपाल सरकारको नीति बाहेक कुनै पनि काम गर्दैनौं । नियामक निकायले दिने निर्देशनहरूलाई सधैँ उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने, कर्मचारीहरूलाई निरन्तररुपमा तालिम उपलब्ध गराउने, सेवाग्राहीहरूलाई पनि नयाँ नयाँ आउने नियमहरुको बारेमा सुसूचित गराउने तथा चुस्त सेवा, निरन्तर अनुगमन र सुरक्षाप्रतिको प्रतिबद्धताले नै आइएमईलाई देशकै नम्बर वान कम्पनी बन्न र निरन्तर नम्बर वानको ताज जोगाई राख्न सफल भएको उनी बताउँछन् । डिजिटल रुपान्तरण रेमिट्यान्स सेवामा सेवाग्राहीको प्राथमिकतामा उल्लेखनीय परिवर्तन भइरहेको देखिन्छ । डिजिटल च्यानलहरू लोकप्रिय भइरहेका छन् । डिजिटल प्रविधिको विकास, प्रयोग तथा प्रतिस्पर्धाले लागतलाई अझ कम गरिरहेको छ भने प्रतिस्पर्धा र पहुँचमा समेत सुधार भएको देख्न सकिन्छ । पारदर्शी तथा प्रतिस्पर्धी शुल्क निर्धारण हुने भएका कारण सेवाग्राहीहरूलाई कम लागतमै रेमिट्यान्स पठाउने तथा प्राप्त गर्ने अवस्था सृजना भएको छ । ‘डिजिटल रुपान्तरणकै कारण दुरदराजसम्म पनि वित्तीय पहुँच विस्तार भएको छ भने वित्तीय समावेशीकरणमा समेत उल्लेखनीय योगदान पुगेको हामी देख्न सक्छौं’ सीईओ पौडेलले भने । नयाँ रणनीति आइएमईको नेतृत्वले विगतको ट्रयाक रेकर्डलाई ध्यानमा राख्दै, उच्च प्रतिस्पर्धी रेमिट्यान्स बजारमा आइएमईको सफलताका रणनीतिहरू बनाएको छ । उच्च प्रतिस्पर्धी रेमिट्यान्स बजारमा आइएमईको सफलता यसका सेवाग्राहीहरूले प्राप्त गरेको सेवा र त्यसले दिएको सन्तुष्टिमा निर्भर रहँदै आएको छ । वित्तीय क्षेत्रमा उपलब्ध प्रविधिलाई सकेसम्म छिटो ग्रहण गर्ने तथा पहुँच विस्तार गर्न रणनीतिक साझेदारीमा ध्यान दिएको छ । प्रतिस्पर्धी मूल्य निर्धारण, विश्वव्यापी नेटवर्क र समय सापेक्ष हाम्रा सेवाहरूमा गरिने सुधार तथा अपडेटहरूले आइएमईलाई सधैँ विश्वासिलो र भरपर्दो रेमिट्यान्स कम्पनीको रुपमा स्थापित गरेको छ । ‘हामी प्रोफिट मोटिभ मात्र नभएर सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आइरहेका छौं । अभिभावकबिहीन बालबालिकालाई शिक्षा, विभिन्न दैवी तथा प्राकृतिक प्रकोपका बेलामा उपलब्ध गराइने सहयोग लगायतका अन्य सामाजिक कार्यमा भएको संलग्नताले हामीलाई समस्त ग्राहकहरुको सामीप्यतामा ल्याएको छ र अरुभन्दा फरक पहिचान बनाउन मद्दत गरेको छ,’ प्रमुख कार्यकारी अधिकृत पौडेलले भने । छिट्टै सेयर निष्काशन शुरुमा प्राइभेट लिमिटेड स्वरुपमा सञ्चालनमा आएको आइएमई कम्पनी ठूलो हुँदै गर्दा पब्लिक कम्पनीमा रुपान्तरित भयो । आइएमईले छिट्टै सर्वसाधारणका लागि सेयर जारी गर्दै छ । ‘आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेका छौं । अब सेबोनबाट अनुमति प्राप्त गर्ने बित्तिकै सेयर निष्कासन गर्नेछौं,’ उनले भने । प्रविधि र शैलीमा परिवर्तन प्रविधिको विकाससँगै रेमिट्यान्स सेवामा पनि धेरै परिवर्तनहरु देखापरिरहेका छन् । वित्तीय कारोबारको परम्परागत शैली परिवर्तन भएका छन् । डिजिटाइजेसनको प्रभाव समग्र प्रणालीमा नै परेको छ । यसै सन्दर्भमा संसारभरमा विकास भएका अत्याधुनिक प्रविधिलाई एडप्ट गर्दै अनलाइन र मोबाइल प्लेटफर्महरूलाई अझ प्रभावकारी बनाउँदै लगिनेछ । रेमिट्यान्स पठाउने र प्राप्त गर्ने सहज र सुरक्षित तरिका प्रदान गर्ने कार्यमा नेतृत्वदायी भूमिका आइएमईले खेल्नेछ । नियामक मापदण्डहरूको पालना गर्दै छिटो र कम लागतमा क्रस-बोर्डर मनि ट्रान्सफर सेवा प्रदान गर्न प्रतिबद्ध छौं । आगामी दिनमा वित्तीय पहुँच विस्तारमा स्थानीय साझेदारहरूसँग सहकार्य गर्दै, सेवा नपुगेका र दुर्गम क्षेत्रहरूमा हाम्रा सेवाहरू अझ प्रभावकारी ढंगले विस्तार गर्ने लक्ष्य राखेका छौं । पछिल्लो समय युरोप अमेरिकालगायतका धेरै देशहरु नेपालीहरूको श्रम तथा बसोबासको गन्तव्य बनिरहेको छ । यस्ता श्रम स्वीकृति प्राप्त भएका नयाँ गन्तव्य मुलुकहरुमा पनि सहज सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौं । समग्रमा सुरक्षित तथा गुणस्तरीय सेवा, पारदर्शी लागत, रियलटाइम कारोबार तथा रेमिट्यान्स सेवाको डिजिटल रुपान्तरण नै आइएमईको आगामी लक्ष्य तथा कार्यदिशा हुनेछन् । (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल कक्षा र कार्यकक्षमा कुशल कुलमान १५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’ शक्तिशाली कम्पनी हाँक्ने महिला : ‘चुनौतीसँग जुध्छु, प्रतिस्पर्धीसँग डराउँदिनँ’ विश्वासिला व्यवस्थापक, सिर्जनशील सल्लाहकार अप्रेशन र प्रशासनमा काबिल रीता, ‘तिलगंगा अझै चलाउँछु’ अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’ पैसा गौण, काम सर्वोपरि अग्रणी चिकित्सक, अब्बल व्यवस्थापक
अग्रणी चिकित्सक, अब्बल व्यवस्थापक
काठमाडौं । डा. भगवान कोइराला देशकै अग्रणी शल्य चिकित्सक मात्रै होइनन्, एक अब्बल व्यवस्थापक पनि हुन् । १४ हजारभन्दा बढी मुटुको सफल शल्यक्रिया गरेर बिरामीको मन मस्तिष्कमा बसेका डा. कोइरालाले धेरै सार्वजनिक संस्थालाई पनि पुनर्जन्म दिएका छन् । वित्तीय तथा प्रशासनिकरूपमा जीर्ण बनेका धेरै संस्थानलाई सही दिशा निर्देश गरेर उनले आफूलाई एक अब्बल व्यवस्थापकको रूपमा पनि चिनाएका छन् । र, पछिल्लो समय नयाँ संस्था निर्माणमा उनी खरो रुपमा उत्रेका छन् । सही नेतृत्व नपाएर गुमनाम अवस्थामा रहेको शहीद गंगालाल हृदयरोग केन्द्र होस्, आर्थिक, राजनीतिक तथा प्रशासनिकरूपमा एक जीर्ण संस्थाको रूपमा गुज्रिरहेको त्रिवि शिक्षण अस्पताल होस् वा मनमोहन कार्डियोथोरासिक सेन्टर नै किन नहोस्, यी संस्थाको सबल नेतृत्व गरेर उनले एउटा उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेले । फलस्वरूप आमसर्वसाधारणले सहजै स्वास्थ्य सेवा पाउन थाले भने त्यसभित्रको आर्थिक अनियमितता तथा अराजकता पनि अन्त्य गर्न केही हदसम्म उनी सफल बने । वि.सं. २०५८ वैशाख १३ गते डा. कोइराला गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशक बन्दै गर्दा त्यसबेला नेपालमा मुटु रोग उपचारको राम्रो व्यवस्था थिएन । नेपालीहरू मुटुको उपचार गर्न विदेशी महँगा अस्पतालमा जान बाध्य थिए । विदेश जान नसक्नेहरू अकालमै ज्यान गुमाउन विवश थिए । जब गंगालालमा डा.कोइरालाको प्रवेश भयो, त्यसपछि अस्पतालले ‘जादूको छडी’ झैं काँचुली फेर्यो । छाला जुत्ता कारखाना रहेको ठाउँमा मुटु अस्पताल स्थापित गरेर बेग्लै पहिचानका पात्र बने डा. भगवान । ‘सात बेडको एउटा सानो वार्ड, छेउछाउमा छाला जुत्ताको कारखानाका भत्केका घरहरू, जुताहरूको गन्ध उस्तै,’ यो दृश्य डा.भगवान कोइरालाको मानसपटलमा अझै पनि घुमिरहन्छ । उनले सुरुको दिनमा सोही दृश्य देख्दै गंगालाललाई देशकै स्तरीय र नमुना मुटुको उपचार गर्ने अस्पतालको रूपमा विकास गर्ने प्रण गरे । यो विषयलाई गहकिलोरूपमा उनले हालै प्रकाशित गरेको पुस्तक हृदयमा पनि उल्लेख गरेका छन् । ‘पहिलो बैठकमा छलफल गर्दा सबै कर्मचारी काम गर्ने मनसायको हुनुहुन्थ्यो, उहाँहरू नयाँ काम गर्नमा उत्साहित पनि देखिनुहुन्थ्यो, नियुक्त भएको पहिलो बैठकमै मुटुको विशेषज्ञ सेवा कसरी विकास गर्ने ? कसले कुन जिम्मेवारी लिने ? भनेर छलफल गर्यौं, सोही हिसाबले अगाडि बढ्न सबै तयार भए,’ उनले आफू गंगालालमा काम सुरु गर्दाको क्षण स्मरण भनेका छन्, ‘मैले गंगालालमा चुनौती लिएकै हो ।’ उनलाई गंगालालमा काम गर्न भने सहज भएन । कहिले अख्तियारले बोलाउने, कहिले मन्त्रीले आफ्नो काम गरिदिएन भनेर दुःख दिने, कहिले अस्पतालभित्रकै केही कर्मचारीले असहयोग गर्न खोज्ने । यस्ता अनेकन हण्डरहरू उनले सामना गर्नु पर्यो । तर, यी सबै विषयहरूलाई वेवास्ता गर्दै उनी एउटा कुरामा अडिग बने, ‘जसरी पनि गंगालाललाई मुटुको उपचारको विश्वसनीय र नमुना केन्द्र बनाउने ।’ सरकारले प्रभावकारीरूपमा आर्थिक सहयोग गर्न नसके पनि त्यो अस्पतालको स्तरोन्नतिका लागि उनले विभिन्न व्यक्ति तथा संस्थालाई आर्थिक सहयोग गुहारे । सोचेअनुरूप सहयोग पनि आयो । गंगालालले विस्तारै मुहार फेर्न थाल्यो । चार वर्षको कार्यकाल सकिएपछि सरकारले वि.सं. २०६२ सालमा उनलाई नै पुनः कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पियो । कुनै पनि पदमा पुगेको मान्छेको नियत सही छ भने त्यहाँ धेरै काम गर्न सकिँदो रहेछ भन्ने उदाहरणका पात्र डा. कोइराला बने । फलस्वरूप उनले गंगालाल हृदयरोग केन्द्रलाई देशकै महत्वपूर्ण अस्पतालका रूपमा रुपान्तरण गरिदिए । ‘आजको दिनमा सबैले स्वदेशमै र सस्तोमा मुटुको उपचार गर्न पाएका छन्, पैसा नभए पनि मुटुको उपचार नहुने अवस्था छैन, पैसा नहुनेको पनि अस्पतालले उपचार गरिदिन्छ,’ यो देख्दा मैले पनि यो समाजका लागि केही काम गरेछु भन्ने अनुभूति हुन्छ,’ डा. कोइराला भावुक हुँदै भन्छन् । शिक्षण अस्पतालको सफलता शहिद गंगालाल हृदयरोग केन्द्रलाई देशकै गौरव गर्न लायक संस्था बनाएपछि डा. भगवान कोइराला सबैको प्रिय पात्र बन्न पुगे । नेपालमै मुटुको उपचार गर्न पाउँछौं भनेर कल्पना नगरेका नेपालीहरूलाई नेपालमै उपचार गर्न सकिने व्यवस्था गरेपछि डा.कोइरालाको चौतर्फी प्रशंसा हुन थाल्यो । सञ्चार माध्यमको नजरमा डा. कोइराला पर्न थाले । राजनीतिक नेतृत्वले पनि उनको कामको निगरानी गरिरह्यो । सोही कारण तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले उनलाई त्रिवि शिक्षण अस्पतालको नेतृत्व गर्न आग्रह गर्यो । वि.सं. २०६९ मंसिर ३ गते डा.कोइराला शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भए । तर, त्यसभन्दा अगाडि भने उनले मनमोहन कार्डियोथोरासिक सेन्टरमा निमित्त कार्यकारी निर्देशककारूपमा काम गरिसकेका थिए । त्यहाँ उनी सर्जिकल विभागको प्रमुख थिए । एउटा संस्थाको सफल नेतृत्वको लागि चार वटा महत्वपूर्ण विषयमा ज्ञान र अनुभव हुन आवश्यक रहेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘नेतृत्वले इमानदार भएर उच्च उद्देश्य राख्नुपर्यो, दोस्रो, गर्न खोजेको काम कानुनसम्मत हुनुपर्यो, तेस्रो, स्रोतसाधन सही सदुपयोग गर्न सक्नुपर्यो र चौथो, संस्थाको भौतिक संरक्षण गर्न सक्नुपर्यो ।’ जतिखेर शिक्षण अस्पताल आर्थिक अनियमिता, सामाजिक विचलन, राजनीतिक अखडा र ढिलासुस्तीको एक उदाहरणका रूपमा परिचित थियो । कर्मचारीले लामो समयदेखि तलब पाउन सकेका थिएनन् । गंगालाललाई एउटा उचाइमा पुर्याएका कोइरालालाई शिक्षण अस्पताललाई पनि सुधार गर्नुपर्ने चुनौती थियो । तर, गंगालालको जस्तो साथ दिने कर्मचारी उनले शिक्षण अस्पतालमा पाएनन् । उनले कर्मचारीहरूबाटै ठूलो असहयोगको महशुस गरे । ‘म इमर्जेन्सीमा गएर एउटा कुनामा बसें, एक जना चिकित्सकले कुनै एउटा बिरामीलाई अन्यत्र रिफर गर्दै गरेको देखें, करिब एक सय वटा बेड अस्पतालमै खाली भएको मलाई थाहा थियो, मैले ती चिकित्सकलाई तत्काल भने, ‘ए कान्छा, भित्र एक सय वटा बेड खाली छन्, यहाँ आएको बिरामीलाई कहाँ पठाउन लागेको ? खुरूक्क भर्ना गर,’ शिक्षण अस्पतालमा कार्यकारी निर्देशक भएको पहिलो दिनको घटना उल्लेख गर्दै उनले हृदयमा पनि लेखेका छन्, ‘अस्पतालभित्रकै चिकित्सकले कमिसनका लागि निजी अस्पतालमा बिरामी पठाउने गरेको त्यसपछि थाहा पाएँ ।’ अब उनी प्रत्येक दिन अस्पतालमा यसरी नै निगरानी गर्न थाले । विभिन्न राजनीतिक दल निकट कर्मचारीहरूले उनको ठूलो विरोध गरे । त्यहाँ पनि उनको पक्ष विपक्षमा जनमत बन्यो । ठूलो पहल गर्दा गर्दै पनि उनले काम गर्न नसक्ने भए । उनले कार्यकारी निर्देशक भएको तीन महिनामै राजीनामा दिने भए । उनको राजीनामाको चर्चा सञ्चार माध्यममा भयो । राम्रो मान्छेलाई दबाब दिएर सरकारले हटाउन लागेको भेउ सर्वसाधारणले पाएपछि अस्पतालमै आन्दोलन सुरु हुन थाल्यो । सञ्चार माध्यमले पनि सरकारको आलोचना गर्न सुरु गरे । चौतर्फी दबाबले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोइरालालाई राजीनामा फिर्ता लिन र काम सुरु गर्न आग्रह गरे । बरु, सरकारले सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता डा. भट्टराइले गरे । त्यसपछि राजीनामा दिएको १९ दिनपछि उनी काममा फर्किए । उनी कार्यकारी निर्देशक हुनुअघि शिक्षण अस्पतालकै नाममा सरकारले बजेटको व्यवस्था गर्ने अभ्यास थिएन । तर, उनको सक्रियतापछि सरकारले आर्थिक वर्ष २०७०/७१ को बजेटमार्फत् पुँजीगत शीर्षकमा २८ करोडको बजेटको व्यवस्था गर्यो । त्यो सह्रानीय कामले उनीदेखि असन्तुष्ट पक्ष पनि उत्साहित बन्यो । दिन प्रतिदिन शिक्षण अस्पतालको साख बढ्दै गयो । सर्वसाधारणमा अस्पतालप्रतिको विश्वास पनि बढ्दै गयो । लामो समयदेखि तलब नपाएका कर्मचारीले नियमित तलब पाउन थाले । त्यो बिचमा पनि अनेकन समस्या र दबाबहरू आफूले खेप्नु परेको उनी बताउँछन् । मेडिकल कलेजहरूको सम्बन्धनको रस्साकस्सी, डा.गोविन्द केसीको अनवरत अनसन, अनि राजनीतिक दलहरूबीचको कहिल्यै नसकिने भागबण्डाको सिलसिलाले उनी वाक्कदिक्क हुँदै वि.सं. २०७० मंसिरमा पुनः पदबाट राजीनामा दिए । अहिले डा.कोइराला सो पदमा नभए पनि शिक्षण अस्पतालले एउटा उचाइ हासिल गरेको छ । चिकित्सा क्षेत्रमा देशकै केन्द्रबिन्दुका रूपमा शिक्षण अस्पताल चिनिएको छ । ‘कार्यकारी निर्देशकका रूपमा शिक्षण अस्पतालमा मेरो एक वर्षमा उल्लेखनीय काम भए, आर्थिक, प्राविधिक एवम् प्रशासनिक विषय सुधार गर्न सकियो, हिसाबकिताबमा पारदर्शिता र रेकर्ड किपिङमा धेरै सुधार भए,’ उनी भन्छन्, ‘त्यो जग बसाल्दा पनि अहिले अस्पताललाई काम गर्न सजिलो भएको छ ।’ नेपालमा औंलामा गन्न सकिने केही चिकित्सक छन्, जसको ख्याती नेपालभित्र मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि फैलिएको छ । डा. भगवान कोइराला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पनि एउटा रोल मोडलका रूपमा परिचित छन् । उनी आफूभन्दा पनि आफूले नेतृत्व गरेको संस्थाको सफलता चाहन्छन् । ‘संस्था एउटा सिस्टममा चल्नुपर्छ, नेतृत्व अनुशासित हुनुपर्छ, नेतृत्वले गलत नियतले संस्थामा काम गरेन भने सबै काम सन्तुलित हिसाबमा हुन्छ, मैले एउटा जग बसालेको कारण आज शिक्षण अस्पतालको एउटा इमेज छ, कर्मचारीले समयमै तलब पाएनौं भन्ने अवस्था छैन,’ डा. कोइराला भन्छन्, ‘जब नेतृत्वको नियतमा खोट हुन्छ, संस्थाको प्रगति हुँदैन ।’ ‘हामीले जस्तोसुकै परिस्थितिमा पनि मिहिनेत गर्न छोड्नु हुँदैन, मिहिनेतले केही न केही उपलब्धी दिन्छ, जिन्दगीमा समस्या र चुनौतीहरू आउँछन् जान्छन्, समस्यादेखि डराएर भाग्ने होइन, सामना गर्नुपर्छ,’ उनी भन्छन्, ‘जिन्दगीमा जहिले पनि राम्रो कामका लागि सकारात्मक प्रयास गर्नुपर्छ ।’ एक अब्बल व्यवस्थापक धेरैले डा.भगवान कोइरालालाई एक अग्रणी चिकित्सकको रूपमा चिन्छन् । तर, उनी एक अब्बल व्यवस्थापक पनि हुन् । उनले जेजति संस्थाको नेतृत्व गरे, जेजति संस्थालाई अप्रत्यक्ष रूपमा सहयोग गरे, ती संस्थाहरू सफल मात्रै होइन, समाजमा पृथक किसिमको छाप बसाल्न पनि सफल भएका छन् । डा.कोइराला आफूले अंगप्रत्यारोपण केन्द्र र सिभिल अस्पतालमा पनि अप्रत्यक्षरूपमा सल्लाहकारको सहयोग गरेको बताउँछन् । ‘म सधैं सार्वजनिक संस्थामा नै बसें, गरेको प्रतिबद्धता कामबाट देखाउनुपर्छ जस्तो लाग्छ, सार्वजनिक संस्थामा काम गर्नु भनेको ‘मेन्टल गेम’ हो, सत्यतथ्यबाट भाग्नु भएन, सही र तथ्यसत्यका साथ नेतृत्व चल्नु पर्यो,’ उनी भन्छन्,’ तर, यहाँ त्यस्ता व्यक्ति बिरलै भेटिन्छन् ।’ समाजमा भ्रम सिर्जना हुन नदिने गरी सत्यतथ्य सार्वजनिक गर्न सक्नु पर्ने गुण व्यवस्थापकमा हुनुपर्ने उनको भनाइ छ । ‘संस्थाको नेतृत्व गर्ने भनेको कुनै ‘रकेट साइन्स’ होइन, व्यक्ति इमानदार हुनुपर्छ, व्यक्तिगत स्वार्थलाई कम्प्रमाइज गर्ने, परिवारलाई दुःख हुन्छ भनेर पछि हट्ने नेतृत्वले संस्थामा प्रभावकारी काम गर्न सक्दैन,’ उनी भन्छन्, ‘देशको बृहत्तर विकास हेर्न छोडेर व्यक्तिगत र राजनीतिक स्वार्थका लागि काम गर्यो भने त्यो नेतृत्व सफल हुन सक्दैन ।’ एउटा संस्थाको सफल नेतृत्वको लागि चार वटा महत्वपूर्ण विषयमा ज्ञान र अनुभव हुन आवश्यक रहेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘नेतृत्वले इमानदार भएर उच्च उद्देश्य राख्नुपर्यो, दोस्रो, गर्न खोजेको काम कानुनसम्मत हुनुपर्यो, तेस्रो, स्रोतसाधन सही सदुपयोग गर्न सक्नुपर्यो र चौथो, संस्थाको भौतिक संरक्षण गर्न सक्नुपर्यो ।’ नेतृत्वले कुनै स्वार्थका लागि बुझेर वा अन्जानमा पनि कानुन मिच्न नहुने तर्क डा. कोइरालाको छ । उनी भन्छन्, ‘कानुन जान्दिनँ र जानिनँ भनेर माफी पाइँदैन ।’ डा. कोइरालाका अनुसार संस्थाको नेतृत्व गर्नका लागि स्रोतसाधन अन्तर्गत थ्री एम अर्थात् म्यान (जनशक्ति), मेसिन (प्रविधि) र मनी (पैसा)को सही प्रयोग गर्न सकेमा एउटा नेतृत्व सफल हुन्छ । सरकारी अस्पतालहरूमा कर्मचारीहरूले क्षमताभन्दा कम काम गर्दा, स्रोतसाधनको दुरूपयोग गर्दा र बिरामीबाट व्यक्तिगत लाभ लिँदा समस्या सिर्जना भइरहेको उनको बुझाइ छ । त्यस्तै, नेतृत्वको पनि काम नगर्ने प्रवृत्ति, राजनीतिक खिचातानी र जनशक्तिलाई सही रूपमा परिचालन गर्न नसक्दा अधिकांश सार्वजनिक संस्थाहरू जीर्ण बन्दै गएको उनको बुझाइ छ । बन्दैछन् विशिष्टिकृत बाल अस्पताल डा. भगवान कोइरालाले डाक्टरी पेसा अँगालेको तीन दशक भइसक्यो । यो अवधिमा उनले लाखौंका धड्कन छामे, हजारौंका मुटु चिरे र करोडौंको मन मस्तिस्कमा बसे । अझै पनि थाकेका छैनन्, विभिन्न समयमा विभिन्न व्यक्तिहरूबाट आउने दबाबले त्रसित छैनन् । बरु, थप सशक्त भएर समाज सेवामा लाग्ने प्रण गरिरहेका छन् । संस्थाको नेतृत्व गर्नका लागि स्रोतसाधन अन्तर्गत थ्री एम अर्थात् म्यान (जनशक्ति), मेसिन (प्रविधि) र मनी (पैसा)को सही प्रयोग गर्न सकेमा एउटा नेतृत्व सफल हुन्छ । हार्ट सर्जन विशेषज्ञ भएर सरकारी सेवामा प्रवेश गरेको तीन दशकको अवधिमा उनले धेरै वाहीवाही पाए । धेरैको प्रशंसाको पात्र बने । उनको त्यो यात्रा अनवरत छ । उनका हिम्मतका हत्केलाहरू थाकेका छन् । मिहिनेतको महानता रोकिएको छैन । र, संघर्षका सफरहरूको थप अनुभव गर्ने तीव्र आकांक्षा उनमा देखिन्छ । त्यसैले त उनले देशको सातै प्रदेशमा बनाउँदैछन्- बाल अस्पताल । आम सर्वसाधारणको मन मस्तिस्कमा बस्न सफल डा. भगवान कोइरालाकै नेतृत्वमा देशका सात वटै प्रदेशमा बहु-विशिष्टिकृत बाल अस्पताल निर्माण हुँदैछन् । ‘म अमेरिकामै हुँदा बालबालिकाको उपचारका क्षेत्रमा काम गर्ने रूची थियो, लामो समय सर्जरीमै बिताएँ, विकसित देशमा युवा र बालबालिकाको लागि छुट्टै अस्पताल हुन्छ, नेपालमा पनि बालबालिका लागि छुट्टै अस्पताल निर्माण गर्ने योजनाका साथ काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘हेरौं कतिसम्म सफल भइन्छ ।’ काशी प्रदेशमा बाल अस्पताल सञ्चालनमा समेत आइसकेको उनले जानकारी दिए । काठमाडौंको बुढानिलकण्ठमा पनि अस्पताल निर्माणाधीन छ । ‘मेरो सपना भनेको बाल मृत्युदरलाई घटाएरै छोड्ने हो, कोही कसैले पनि पैसाको अभावमा अकालमै ज्यान नगुमाउन् भन्ने हो, सोही योजनाका साथ काम अगाडि बढाएका छौं, सरकारले पनि साथ दिइरहेको छ,’ उनले भने । उनी भन्छन्, ‘यो एउटा अभियान हो, इमानदार भएर काम गर्ने हो, पैसा नै कमाउने भए मेरो आफ्नो कमाइ पनि राम्रै थियो, पैसा कमाउनेभन्दा पनि पब्लिक हेल्थलाई मध्येनजर गरेर यो कदम अगाडि बढाएको हुँ,’ उनी स्टेटमेन्ट दिन्छन्, ‘आइएम मोर ह्याप्पी देन अनह्याप्पी ।’ बन्दुक बेचेर विवाह, विदेश छोडेर स्वदेश वि.सं. २०१७ सालमा पाल्पाको दुर्गम गाउँ दुरूङ्गामा जन्मिएका डा. भगवान कोइरालाले विद्यालय तहको पढाइ गाउँबाटै गरे । कक्षा ८ सम्मको पढाइ गाउँकै दुर्लम डाँडाँ निम्न माध्यामिक विद्यालयबाट पुरा गरेका उनले १० कक्षासम्मको पढाइ भने पाल्पाकै तानसेनमा रहेको पद्म पब्लिक बहुउद्देश्यीय उच्च माद्यामिक विद्यालयबाट पास गरे । एसएलसीमा सेकेण्ड डिभिजन पास भएका उनी थप अध्ययनका लागि काठमाडौं आए । काठमाडौंमा उनले हेल्थ असिस्टेन्ट पढे । र, उनी सो विषयमा आफ्नो ब्याचकै टपर बने । वि.सं. २०३८ सालमा काठमाडौंको साँखुमा ईन्द्रायणी हेल्थ पोस्टमा ईन्चार्जको रूपमा जागिर गरे । त्यही समयमा रूसका लागि छात्रवृत्ति खुल्यो । उनले परीक्षा दिए । नाम निस्कियो । वि.सं. २०३९ मा उनी सोभियत संघतर्फ लागे । वि.सं २०४६ सालमा एमबीबीएस पूरा गरेर उनी स्वदेश फर्किए । नेपाल फर्किएर उनले २०४६ सालमै शिक्षण अस्पतालमा काम सुरु गरे । फेरि बिचमै अध्ययन विदा लिएर उनी बंगलादेश उडे । वि.सं २०५१ मा बंगलादेशबाट एमएस कार्डियो थोरासिक एन्ड भास्कुलर सर्जरीको डिग्री सकेर नेपाल फर्किए । बंगलादेशबाट नेपाल फर्किएकै वर्षको मंसिरमा उनले काठमाडौंको मैतीदेवीकी सान्द्रासँग विवाह गरे । घरपरिवारको सम्पर्कमार्फत् नै आफ्नो विवाह भएको उनी बताउँछन् । ‘विवाहमा अनावश्यक खर्च र आडम्बर प्रदर्शन गर्नु हुँदैन भन्ने मेरो मान्यता हो, सोभियत संघबाट फर्किँदा ल्याएको दुइनाले बन्दुक बेचेर आएको करिब ५० हजार रुपैयाँमै विवाह खर्च चल्यो,’ उनले यो विषयमा हृदयमा पनि लेखेका छन् । वि.सं २०५३ साल फागुन १६ गते उनकै नेतृत्वमा नेपालमै पहिलो पटक ओपन हर्ट सर्जरी भयो । जुन सफल पनि भयो । उनी पुनः मुटुको विशेष अध्ययनका लागि अमेरिका उडे । एक वर्ष अमेरिकामा तालिम तथा अध्ययन सकेपछि उनी उतैबाट क्यानडा लागे । काममा लागेपछि छोरा र श्रीमतीलाई पनि उतै झिकाए । तर, विदेशमा बस्दा नेपालको मोहले तानेको उनको भनाइ छ । अब उनले पुनः नेपाल फर्किने सोच बनाए । ‘सान्द्राले केही वर्ष अमेरिकामा गएर बसौं भनिन्, मैले अहिले गए जाऔं, पछि मलाई पनि जान मन नलाग्दा, छोरालाई पनि नलाग्ला भनेपछि उनले अहिले नै जाऔं भनिन्,’ उनले त्यतिबेलाको कुरा स्मरण गर्दै लेखेका छन्, ‘त्यसपछि हामी नेपाल फर्कियौं ।’ नेपाल फर्केर उनले शिक्षण अस्पतालमै काम सुरु गरे । त्यहाँ काम सुरु गरेको केही समयपछि उनी शहिद गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशक बने । सरकारले आफ्नो अनुभव र क्षमता देखेर नै सो पदमा नियुक्त गरेको बुझाइ डा. कोइरालाको छ । अनुभवले मानिसलाई आत्मविश्वासी र इमानदार पनि बनाउने उनको भनाइ छ । ‘इमानदार भएर काम गर्न सकियो भने असम्भव केही छैन, हामीले नियम कानुन नमानेर र अनुसाशित भएर काम नगरेर पछि परेका हौं,’ उनी भन्छन्, ‘नेतृत्व गर्नेको नियत सफा छ भने काम अवश्य पनि हुन्छ,’ उनी थप्छन्, ‘अब जति काम गर्न सकिन्छ, यही समाजका लागि गर्छु ।’ (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल कक्षा र कार्यकक्षमा कुशल कुलमान १५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’ शक्तिशाली कम्पनी हाँक्ने महिला : ‘चुनौतीसँग जुध्छु, प्रतिस्पर्धीसँग डराउँदिनँ’ विश्वासिला व्यवस्थापक, सिर्जनशील सल्लाहकार अप्रेशन र प्रशासनमा काबिल रीता, ‘तिलगंगा अझै चलाउँछु’ अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’ पैसा गौण, काम सर्वोपरि