३ अर्ब पुँजीको सरकारी निर्माण कम्पनीः ठेक्का पट्टामा आफैं भाग लिने, जनतालाई आईपीओ
काठमाडौं । सरकारले आफ्नै निर्माण कम्पनी खोलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अगुवाईमा ३ अर्ब पुँजीको ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ स्थापना गरेको हो । कम्पनीमा भौतिक मन्त्रालयसहित अर्थ मन्त्रालय, उर्जा मन्त्रालय र शहरी विकास मन्त्रालयको लगानी रहनेछ । कानुन मन्त्रालयबाट पनि सञ्चालक समितिमा प्रतिनिधित्व रहनेछ । ‘विकास निर्माणमा सरकारी सहभागीता बढाउनका लागि नेपाल पूर्वाधार निर्माण कम्पनी खोलेका छौं, एक हप्ताभित्र नतिजा आउँछ’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले भने । पूर्वाधार निर्माण कम्पनीमा सर्वसाधारणले समेत सेयर लगानी गर्न पाउनेछन् । ‘सरकारको लगानीसँगै सर्वसाधारणले समेत सेयर लगानी गर्न सक्नेछन्, केहि समयपछि आईपीओ जारी गर्ने व्यवस्था अघि सारिएको छ’, भौतिक मन्त्रालय श्रोतले भन्यो । ठेक्का पट्टामा हात हाल्ने सरकारले पूर्वाधार निर्माण कम्पनी मार्फत ठेक्का पट्टामा हात हाल्न लागेको हो । कम्पनीले देशभित्रका ठुला विकासे परियोजनाहरुमा प्रतिष्पर्धा गर्नेछ । ‘निर्माण व्यवसायी कम्पनीसँगै सरकारी कम्पनीले पनि ठेक्का प्रतिष्पर्धामा सहभागीता जनाउनेछन्’, भौतिक मन्त्रालय श्रोतले भन्यो । त्यसका अलवा सरकारी निर्माण कम्पनीले ठुला निर्माण उपकरणहरु खरिद गरेर भाडामा लगाउनेछ । ‘ठुला निर्माण उपकरण खरिद गर्न निजी कम्पनीले किन्न सक्दैनन्, सरकारी कम्पनीले किनेर भाडामा लगाउँछ’, भौतिक मन्त्रालय श्रोतले भन्यो । कम्पनीमा सरकारले प्रतिष्पर्धाबाट एक जना कार्यकारी निर्देशन नियुक्त गर्नेछ । कम्पनीको कर्मचारी संरचनाबारे भने अहिले नै एकिन नभैसकेको पनि श्रोतले बतयो । बुढीगण्डकी, फास्ट ट्रयाक, हुलाकी राजमार्ग, सुरुङ मार्ग लगायतका ठुला परियोजनाहरुमा सरकारी कम्पनीले पनि प्रतिष्पर्धा गर्नेछ । ‘सरकारी कम्पनीले बजारमा गुणस्तर कायम गर्ने, समयमै काम सम्पन्ने गर्ने र सुशासन कायम गर्न समेत भूमिका खेल्नेछ’, अर्थ मन्त्रालयका एक अधिकारीले भने । उनले विकास निर्माणमा पप्पुहरुको रजाई अन्त्य गर्न पनि सरकारी निर्माण कम्पनी ल्याएको पनि अर्थ मन्त्रालयका अधिकारीले भने । सरकारले समाजवादको जग बसाल्न र बजार हस्तक्षेपको कम्युनिष्ट सिद्धान्त अनुसार पूर्वाधार निर्माण कम्पनी ल्याएको सरकारी दावी छ ।
कलंकी-महाराजगञ्ज सडकः तीनतिर हरियाली, चोकचोकमा स्काईब्रिज, स्वयम्भुमा सुरुङ
काठमाडौं । कलंकी-महाराजगञ्ज चक्रपथ सडक खण्ड तीनतिर हरियाली हुने गरी विस्तार हुने भएको छ । चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणी रिमालका अनुसार कलंकी–कोटेश्वर खण्डमा देखिएका त्रुटिहरुलाई सच्याएर हाल कलंकी–महाराजगञ्ज सडकको डीपीआर निर्माण अन्तिम चरणमा पुगेको छ । ‘छेउमा दुई तिर र सडकको बीचमा हरियाली हुने गरि सडकको डिजाइन अन्तिम चरणमा पुगेको छ, कलंकी–कोटेश्वर खण्डका त्रुटि यसमा हटाइनेछ’, आयोजना प्रमुख रिमालले विकासन्युजसँग भने । चीन सरकारको सहयोगमा विस्तार भैरहेको चक्रथपको यो खण्ड पनि ८ लेनको हुनेछ । सडकका दुबै किनारमा वृक्षारोपण गरि हरियाली बनाईनेछ भने बीच भागमा पनि मेडन राखेर विरुवा रोपिनेछ । त्यसका अलवा यस खण्डमा पर्याप्त मात्रामा आकाशे पुल, सोलार लाइट, ट्राफिक लाइट, फुटपाथ लगायतको व्यवस्था पनि गरिनेछ । ‘सबै चोकहरुमा आकाशे पुलको निर्माण हुनेछ, पैदल यात्रीको हित पनि हेरिनेछ’, रिमालले भने । उनका अनुसार सितापाइला, स्वयम्भु, बनस्थली, बालाजु, माछापोखरी, नयाँ बसपार्क, गोंगम्बु, सामाखुसी, र बसुन्धारामा आकाशे पुलको निर्माण गरिनेछ । स्वयम्भुमा सुरुङ की फ्लाईओभर विश्व सम्पदा सूचिमा रहेको स्वयम्भु क्षेत्रमा भने सुरुङ वा फ्लाईओभर निर्माण गर्नेबारे छलफल भैरहेको छ । ‘स्वयम्भुमा तीन वटा ठुला मुर्तिहरु सडकको क्षेत्राधिकर भित्र पर्छन्, विश्व सम्पदा सूचिमा रहेकाले भत्काउने भन्दा पनि सुरुङ वा फ्लाईओभर जोगाउनेबारे सोच्दैछौं’, रिमालले भने । आयोजनाले सडकको क्षेत्राधिकार भित्र पर्ने भौतिक संरचना हटाउन निर्देेशन दिईसकेको छ । ढल, खानेपानी, विद्युतका पोल, निजी टहरा लगायतका संरचना हटाएपछि सन २०२० को आरम्भमा ठेक्का लगाउने तयारी छ । कलंकी–कोटेश्वर खण्डको काम सम्पन्न भएलगत्तै चीनले कलंकी देखि महाराजगञ्जसम्मको ८.२ किलोमिटर चक्रपथ विस्तारको काम अघि बढाउँन लागेको हो । चीन सरकारको शतप्रतिशत अनुदानमा निर्माण हुने चक्रपथको काम ३ वर्षभित्र सक्ने लक्ष्य छ । कलंकी–चक्रपथ खण्डको निर्माणका लागि ६ अर्ब लाग्ने अनुमान गरिएको छ । चक्रपथका घर भत्काइने महाराजगञ्ज चोकका एक दर्जन घर भने भत्काइनेछ । सडकको क्षेत्राधिकार भित्र परेका त्यस्ता घरहरु भत्काउनै पर्ने अवस्था आएको आयोजना प्रमुख रिमालले बताए । ‘महाराजगञ्ज चोकमा सडकको क्षेत्रभित्र निर्माण गरिएका एक दर्जन घर भने भत्काउनुपर्ने अवस्था छ’, रिमालले भने ।
शेर्पा हाेटल बन्द गरेपछि मात्र कराेडौं फाइदा भयो, बैंकको सेयरमा सधैं बोनस आउँछ- प्रकाश श्रेष्ठ
प्रकाश श्रेष्ठ, अध्यक्ष-बैंक अफ काठमाण्डू लिमिटेड वित्तीय अवस्था राम्रो भएको, संस्थापक सेयरधनीको क्रसहोल्डिङ पनि नभएको, मर्जमा जान वाह्य दवाव पनि नपरेको बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच मर्ज निकै राम्रो मानिएको थियो । तर, मर्जपछि यो बैंकको विकास र विस्तार सुस्त छ । फेरि अर्थ मन्त्रालय र राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान चर्को दवाव दिइरहेका छन् । यस अवस्थामा यो बैंकले के गर्ला ? प्रस्तुत छः पर्यटन व्यवसायी, होटल एशोशिएशन अफ नेपालका पूर्व अध्यक्ष तथा बैंक अफ काठमाण्डूको अध्यक्ष प्रकाश श्रेष्ठसँग गरिएको विकास वहस । व्यवसायिक यात्रा कस्तो छ ? पर्यटन व्यवसायमा मैले लामो समय बिताए । भलै सोचे जस्तो सफलता हासिल गर्न सकिएको छैन । मैले मात्र होइन, नेपालले नै पर्यटन क्षेत्रमा राम्रो प्रगति गर्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको मचान वाईल्ड लाइफ रिसोर्ट बन्द भएपछि अहिले नवलपरासीमा मचान कन्ट्रि भिला चलाइरहेको छौं । मुग्लिन–नारायणगढ खण्डको सडक निर्माण अवधि लामो हुँदा र त्यस अवधिमा यात्रा निकै कठिन भएपछि चितवन र आसपास क्षेत्रको पर्यटन व्यवसाय धरापमा परेको छ । त्यसैले नवलपरासीको होटल पनि सोचे जस्तो राम्रो हुन सकेको छैन । त्यस्तै, बैंक अफ काठमाण्डूको अध्यक्ष छु । बैकिङ मेरो कोर विजनेश होइन तर पनि बैंकका सेयरधनीहरुको सुझाव र सहयोगमा हामी अगाडि बढिरहेका छौं । कस्तो हुँदै छ बैंक अफ काठमाण्डूको विजनेश ? सबैलाई थाहा छ कि नेपालमा उद्योग व्यवसाय फस्टाउन सकेको छैन । नेपालका उद्योगहरूले चीन र भारतसँग प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता छ । उद्योग व्यवसाय विस्तार राम्रो भएको अवस्थामा मात्र बैंकहरूले राम्रो गर्न सक्छन् । त्यस्तै बैंकहरूबीचको विजनेश पनि निकै प्रतिस्पर्धात्मक छ । त्यति हुँदा हुँदै पनि बैंक अफ काठमाण्डूले राम्रो गरिरहेको छ । आजको दिनमा बैंक चलाउन कति गाह्रो छ ? पहिलाको तुलनामा अहिले स्थिति अनुकूल बनेको छ । आम नागरिकमा बैकिङ बानीको विकास हुँदै गएको छ । बैंकिङ कारोबार पनि सजिलो बन्दै गएको छ । कार्ड पेमेन्ट, डिजिटल पेमेन्टले बैकिङ कारोबार सहज भएको छ । बैकिङ क्षेत्रको ग्रोथ पनि राम्रो देखिन्छ । मैले पहिला पनि भने जब अरु व्यवसाय फस्टाउँछ तब बैंक पनिसँगै अगाडि जान्छ । उद्योग, जलविद्युत, पर्यटन, व्यापार, अन्य सेवाको क्षेत्र राम्रोसँग चल्यो भने बैंक पनि राम्रो हुन्छ । ८/१० वर्ष पहिले बैंक अफ काठमाण्डू नेपालका राम्रा ५/७ वटा बैंकभित्र पर्दथ्यो । बैंक अफ काठमाण्डू र एभरेष्ट बैंक उस्तै हैसियतमा थिए । इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंकले बैंक अफ काठमाण्डूलाई प्रतिस्पर्धी ठानेका थिए । दुई स्वस्थ्य अवस्थामा रहेका लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू मर्ज भएपछि यो बैंकले फड्को मार्ने अपेक्षा गरिएको थियो । तर, अहिले यो बैंक निकै पछाडि परेको देखिन्छ, किन ? तपाईले जे भन्नुभयो अरु धेरैबाट मैले यो कुरा सुन्छु । यस बैंकप्रति सकारात्मक रुपमा सोच्नेहरुले हामीलाई घच्घच्याई रहनुभएको छ । निश्चित रुपमा मैले पनि महसुश गरेको छु कि रेसमा हामी पछाडि परेका छौं । इतिहासका बारेमा म धेरै बोल्न चाहान्न । लुम्बिनी र बैंक अफ काठमाण्डू मर्जपछि म अध्यक्ष भएँ । त्यसपछि बैंक बलियो बन्दै गएको छ । बैंकले दिने सेवा राम्रो भएको छ । बैंकको वित्तीय अवस्था पनि बलियो छ । सेयरधनीले पनि राम्रो प्रतिफल पाएका छन् । गत आर्थिक वर्षमा हामीले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिएका थियौ । यो वर्ष पनि कम्तिमा १६÷१७ प्रतिशत लाभांश दिन सकिन्छ जस्तो लाग्छ । शाखा विस्तारमा, विजनेश विस्तारमा हामी केही सुस्त छौं तर बैंक बिग्रेको छैन । झन् राम्रो र बलियो बन्दै गएको छ । केही वाणिज्य बैंकको वासलात २५० अर्ब नजिक पुगेको छ । तर बैंक अफ काठमाण्डूको वासलातको आकार १ सय अर्बभन्दा पनि कम छ । धेरै पछाडि परियो भन्ने लाग्दैन ? हो, विजनेश एक्सपान्सनमा हामी एग्रेसिभ भएनौ । त्यसको रिस्क फ्याक्टरहरू पनि हामीले विश्लेषण गरेका छौं । हामीले धेरै जोखिम लिएनौ, हामी सुरक्षित यात्रालाई जोड दियौं । अब हामी एग्रेसिभ हुन्छौं । बैंक अफ काडमाण्डूको सुस्त ग्रोथको कारण बजार प्रतिकूल हुनु हो कि बैंक भित्रको आन्तरिक समस्या हुन् ? आन्तरिक समस्या केही पनि छैन । व्यवस्थापन र बोर्डबीच अत्यन्तै राम्रो सम्बन्ध छ । हामी शाखा विस्तार गर्न, ब्राण्डिङ गर्न, विजनेश विस्तार गर्न एग्रेसिभ देखिएनौ । अहिले पनि बोर्ड र व्यवस्थापनबीचको सम्बन्धमा बारेमा समाचारहरु आइरहेका छन् । सीईओ शोभनदेव पन्तको राजीनामा तपाईको खल्तीमा छ समेत भनिन्छ नि ? मलाई पनि धेरैले यस्तो प्रश्न सोधिरहेका छन् । तर, त्यस्तो केही समस्या छैन । शोभनदेवजीको चाहना कुनै बेला छोड्ने पनि थियो होला । तर अहिले उहाँले छोड्ने वा हामीले अर्को सीईओ ल्याउने विषयमा कुनै कुरा भएको छैन । त्यो सबै गलत हल्ला हो । बैंकलाई कसरी राम्रो बनाउने भन्ने विषयमा छलफल वहस हुन्छ । राजीनामा गरेको भन्ने हल्ला कहाँ बाट आयो ? म आफै छक्क परेको छु । बाणिज्य बैंकबीच आपसमा मर्जपछि एनआईसी एशिया, ग्लोबल आईएमई, प्रभुमा सिनर्जी इफेक्ट देखियो तर बैंक अफ काठमाण्डूमा देखिएन, किन ? दुई बैंकबीच मर्ज भएपछि कल्चर मर्ज हुन समय लाग्दो रहेछ । पहिलो १÷२ वर्ष त कल्चर मिक्स गर्न नै लाग्यो । जब हामी कल्चर, वर्किङ स्टाईल मर्ज गर्यौं र सहज अवस्थामा आईपुग्यौ तब बजारमा प्रतिकूल अवस्था पनि देखियो । तरलताको अभाव पनि देखियो । निक्षेप वृद्धि कठिन भयो । त्यसले पनि हाम्रो ग्रोथ अलि कमदरमा भयो । अर्थमन्त्री, गभर्नरले फेरी पनि मर्ज हुनुपर्छ भन्नुभएको छ । बैंक अफ काठमाण्डू के गर्छ ? पहिला पनि सरकारले बैंकहरूको संख्या घटाउन चाह्यो । अहिलेको अर्थमन्त्री गभर्नर हुनुहुन्थ्यो । उहाँले त्यतिबेला पनि बैंकहरूबीच मर्जरमा जोड दिनुभएको थियो । हामीले सरकारको नीतिमा सहयोग गर्दै मर्ज गर्यौं । मलाई के लाग्छ भने बैंकहरूको संख्या घटाउनु नै राम्रो हुन्छ । बैंक अफ काठमाण्डू फेरि पनि मर्जमा जान सक्छ । यो मेरो बैंक हो भनेर हामी समातेर बस्दैनौ । हामी राम्रो बैंकसँग मर्ज गरेर जानसक्छौं । अबको मर्ज के का लागि ? अझ राम्रो गर्नको लागि । अझ बलियो बैंक बन्नुपर्छ । हामी लुम्बिनी बैंक हुँदा हाम्रो क्षमता जति थियो अहिले धेरै बढेको छ । अब मर्ज भयौ भने हामी झन् बलियो हुनेछौं । मर्ज विना नै नविल, एसवीआई, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड लगायत बैंकहरु पनि बलिया भएका छन् । मर्ज नै अनिवार्य हो र ? तपाईले नाम लिएका बैंकहरू, इन्भेष्टमेन्ट, हिमालयन लगायत बैंकहरू पहिला देखि नै ठूला र बलिया थिए । नयाँ र कमजोर बैंकहरू बलियो बन्नको लागि मर्ज एउटा उपयुक्त विधि हो । आजको दिनमा बैंक अफ काठमाण्डूको सेयरमा गरिएको लगानी कति सुरक्षित छ ? कति फाइदाजनक छ ? मलाई लाग्छ सुरक्षित छ र फाइदा पनि छ । आज होटलमा नै गरिएको लगानीले पनि कति नाफा दिन्छ र ? कम से कम बैंकमा गरिएको लगानी सुरक्षित छ । हुनसक्छ सेयर मूल्य नबढ्ला तर लाभांश आइरहेको हुन्छ नि । यतिबेला होटलमा लगानी निकै बढेको देखिन्छ । तपाईसँग होटल र बैकिङ दुबै क्षेत्रको अनुभव छ । कुन क्षेत्रमा गरिएको लगानी लाभदायक हुन्छ ? म एउटा उदाहरण दिन्छु, दरवार मार्गको शेर्पा होटल बन्द भयो । सञ्चालनमा रह्दा त्यो होटल कहिल्यै पनि नाफामा गएन । तर रियलस्टेटको मूल्य निकै बढ्यो र बेच्दा करोडौ फाइदा भयो । अरु देशमा जस्तो नेपालले पर्यटन क्षेत्रमा फड्को मारेन । नेपालको होटलमा म्यारिएट् आयो, शेराटन आउँदैछ । निजी क्षेत्रको लगानी जति भएको छ सरकारी तहबाट पूर्वाधार विकासमा त्यति लगानी भएन । पोखरा विमानस्थल बनेपछि, लुम्बिनी एयरपोर्ट बनेपछि हुनसक्छ, होटलहरुले पनि राम्रो नाफा गर्न सक्छन् । मेलम्चीमा फसेको पैसा आउँछ कि आउँदैन ? यस विषयमा धेरै पोजेटिभ डेभलपमेन्ट भएको छ । अदालतको अन्तिम फैसला बैंकका पक्षमा आउँछ भन्नेमा हामी विश्वस्त छौं ।