पाथीभराको भेटी एक महिनामा १ करोड ६ लाख रुपैयाँ

फुङ्लिङ । पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड ६ लाख २८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ ।  वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा ५८ लाख ५७ हजार ५०० रुपैयाँ र फागुनमा ३१ लाख १० हजार रुपैयाँ सङ्कलन भएको थियो ।    

विद्युत नियमन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं । सरकारले विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन् । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य रहेका छन् । समितिले विद्युत नियमन आयोगको अध्यक्षसहित चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गर्ने तयारी गरेको छ । यसका लागि १५ दिनको समय सीमा राखेर सार्वजनिक सूचना जारी गरिने मन्त्रालयले जनाएको छ ।  यसअघि आयोगका अध्यक्ष र चार सदस्य सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बमोजिम स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो । विद्युत् नियमन आयोग ऐनअनुसार समितिले प्राप्त आवेदनहरूको मूल्यांकन गरी दरखास्त दिने अन्तिम मिति समाप्त भएको २१ दिनभित्र उपयुक्त उम्मेदवारहरूको नाम मन्त्रालयमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।  

टेलिकमद्वारा ५८ देशमा अन्तर्राष्ट्रिय कलको पल्स अवधि ६० सेकेन्ड कायम

काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कल सेवामा लाग्ने रिटेल पल्स डिउरेसन परिमार्जन गरेको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अब विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरूमा इन्टरनेसनल एक्सेस कोड ००, १४२४, १४२५ तथा १४४५ प्रयोग गरी कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुने भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणको २०८२ फागुन १ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिबमोजिम ५८ देशमा उक्त व्यवस्था लागू गरिएको कम्पनीले जनाएको छ । नयाँ पल्स दर २०८३ जेठ १ गतेदेखि लागू हुनेछ । नेपाल टेलिकमका अनुसार अङ्गुइला, अल्जेरिया, अमेरिकन समोआ, अजरबैजान, बहामास, बेनिन, ब्राजिल, ब्रुनाई, चीन, कोमोरस, कुक आइल्यान्ड, डिएगो गार्सिया, इस्ट टिमोर, इथियोपिया, फिजी, फ्रेन्च पोलिनेसिया, गुआम, गिनी, गिनी–बिसाउ, हैटी, भारत, इन्डोनेसिया, आइभोरी कोस्ट, किरिबाटी, लेसोथो, लाइबेरिया, मकाउ, माल्दिभ्स, माली, मेक्सिको, माइक्रोनेसिया, मोजाम्बिक र म्यानमारमा कल गर्दा ६० सेकेन्डको पल्स दर लागू हुनेछ । त्यसैगरी नाउरु, न्यु क्यालेडोनिया, न्युजिल्यान्ड, नाइजेरिया, निउ, पलाउ, पनामा, पपुआ न्युगिनी, समोआ, साउदी अरेबिया, सिंगापुर, सोलोमन आइल्यान्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया, श्रीलंका, सुडान, सुरिनाम, थाइल्यान्ड, टोगो, टोकेलाउ, टोङ्गा, टर्की, टुभालु, भानुआतु र भियतनाममा समेत उक्त व्यवस्था लागू हुने जनाइएको छ । नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरूमा कल गर्न विभिन्न एक्सेस कोडको व्यवस्था गरेको जनाएको छ । कम्पनीका अनुसार कल गर्नुअघि एक्सेस कोड, त्यसपछि कन्ट्री कोड र सेवा प्रदायकको नम्बर डायल गर्नुपर्नेछ ।