झापा प्रशासनले भन्यो - निर्वाचन प्रचारप्रसारमा उम्मेदवारलाई गाली नगर्नूं

काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचन प्रचारप्रसारको क्रममा एक अर्काप्रति लाञ्छना लगाउने, गाली गलौज गर्ने, दल तथा उम्मेदवारको झण्डा र व्यानरहरू जलाउने कार्य नगर्न अनुरोध गरेको छ ।  कोही कसैप्रति घृणा वा द्वेष फैलाउने, हुलहुज्जत गर्ने, व्यक्तिका निजी घर तथा सार्वजनिक स्थल लगायतका ठाँउमा निर्वाचन आचारसंहिता विपरित उम्मेदवारको पार्टीका झण्डा तथा व्यानर लगायतका सामग्रीहरु राख्ने जस्ता गतिविधि नगर्न पनि प्रशासनले अनुरोध गरेको छ । सोमबार मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समितिको बैठक बसी त्यस्ता गतिविधिहरू नगर्न र नगराउन अनुरोध गर्ने निर्णय भएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रकाश प्रसाईले बताए । अवाञ्छित गतिविधि गरेमा प्रचलित कानून बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।  निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गरी निर्वाचन सम्बन्धी गतिविधिहरू गर्नुपर्ने उनले बताए ।

राष्ट्रिय महिला फुटबलकी कप्तान सावित्रा भण्डारीले उपचारका लागि मागिन् आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले आर्थिक सहयोग मागेकी छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले घुँडाको एसीएलमा पहिले शल्यक्रिया गरिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको र त्यसको उपचारका लागि आर्थिक सहयोग आवश्यक भएको जानकारी दिइन् । ‘पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो भए अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केही समय बितिसक्ने थियो । तर अझै म उपचारको लागि भौतारिइरहेकी छु,’ उनले भनिन् । उनले सामाजिक सञ्जालमा युएस डलर ८० हजार डलरको आवश्यक रहेको खुलाएकी छन् । आजको नेपाली मूल्य बराबर १ करोड १६ लाख ४६ हजार रुपैयाँ आवश्यक परेको बताएकी छन् । एन्फाले सहयोग गर्ने वाचा गरे पनि अहिलेसम्म कुनै सहयोग प्राप्त नभएको उनको भनाइ छ । चोट लागेपछि तीन सातापछि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको थियो, तर एन्फाले सहयोग गर्ने भने पनि त्यसमा ध्यान नदिएको उनी बताउँछिन् । ‘मैले पटक–पटक प्रयास गरेँ, सम्पर्क गर्न खोज्दा पनि सम्पर्क भएन । अघिल्लो साता एन्फाका अध्यक्षले नै मेरो उपचारमा प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद पाँच लाखसम्म सहयोग गर्ने र बाँकी प्रक्रिया आफैं गर्न भन्नुभयो । एकातिर मैले पहिले सुरु गरेको प्रक्रिया रोकियो, अर्कोतिर झन्डै दुई महिनापछि शल्यक्रियाको मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ,’ उनले थपिन् । उनले खेलिरहेको क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको जानकारी दिइन् । ‘चोट गम्भीर छ र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको भएकोले म पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा राख्छु । क्लबले बिमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिनेछ । तर उक्त रकम शल्यक्रिया र सात–आठ महिनाको रिह्याबका लागि अपुग हुने भएकाले समर्थकबाट सहयोग माग्न आएको हुँ,’ उनले लेखिन् । उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने उनले खुलाएकी छन् । सरकारले सहयोग मागे पनि सरकारी प्रक्रिया अपेक्षाअनुसार अघि बढेको छैन । सावित्राले आफ्नो खेलकुद करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको बताइन् । ‘हरेक पटक साहसका साथ पार गरेको र यसपटक पनि पुनः माथि उठ्न तपाईंको सहयोग आवश्यक छ । यो मेरो करियरको सबैभन्दा कठिन लडाइँ हो। मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पछि हटेपछि मेरा साथमा आम समर्थकहरू छन् । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु,’ उनले भनिन् ।  

टिकटकर तुल्सीलाई प्रहरीले भन्यो : सामाजिक सञ्जालमा भ्रम नछर्नू

काठमाडौं । ठगी तथा आपराधिक विश्वासधात र सम्पत्ति सुद्धिकरणको अनुसन्धानमा तानिएकी तुल्सी अधिकारीलाई  सामाजिक सञ्‍जालमा भ्रम नर्छन प्रहरीले अनुरोध गरेको छ । सामाजिक सञ्जालमा उनले अनुसन्धानलाई प्रभावित पार्ने फोटो, भिडियो तथा सूचना सम्प्रेषण गर्ने जस्ता कार्य गरेकाले ललितपुर प्रहरी परिसरले अनुरोध गरेको हो । कुमार चिमोरियाले तुल्सीविरुद्ध २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए । यसको अनुसन्धान गर्दा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा पनि जोडिएकी हुन् । २० कात्तिक २०८२ मा सम्पत्ति शुद्धीकरण विभागबाट सुझाव समेत लिएर उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । दुई मुद्दामा अनुसन्धान भइरहेको विषयमा अनुसन्धाननलाई नै प्रभावित पार्ने फोटो, भिडियो तथा सूचना सम्प्रेष्ण जस्ता कार्य पुनः अनुसन्धानको विषय बन्ने तर्फ समेत उनलाई प्रहरीले सजग गराएको छ । तुल्सी टिकटकमा बढी चर्चित छिन् ।