आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।  अपरान्ह ४ बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने छन् ।  पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेट किपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् ।  सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन् ।

आइएमई खल्तीले सार्वजनिक गर्यो ‘खल्ती ट्रान्स्फर लिग’ अफर

काठमाडौं । आइएमई खल्ती लिमिटेडले नयाँ अफर ‘खल्ती ट्रान्स्फर लिग’ सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा उत्साह थप्दै कम्पनीले मङ्सिर २ गतेदेखि २९ गतेसम्म चल्ने १ महिनाको अवधिको यस अफरलाई क्रिकेट खेल जस्तै रमाइलो बनाएको कम्पनीले जनाएको छ । यस अफरअन्तर्गत खल्तीका सेवाग्राहीहरूले विभिन्न फन्ड ट्रान्स्फर कारोबार मार्फत ‘रन’ कमाउन सक्नेछन् । खल्तीबाट खल्तीमा ट्रान्स्फर गर्दा १ रन, खल्ती एस्क्रो प्रयोग गर्दा २ रन, खल्तीबाट बैंक खातामा ट्रान्स्फर गर्दा ४ रन, र विदेशबाट पठाइएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन प्राप्त हुने व्यवस्था गरिएको छ । कमाएको रनहरू जम्मा गरेर सहभागीहरूले दैनिक, साप्ताहिक र बम्पर पुरष्कार जित्ने अवसर पाउनेछन् । ६ रनमा दैनिक एनपिएलको टिकट, ५० रनमा हरेक हप्ता सि एम एफ फोन १, र १०० रनमा बम्पर पुरष्कार स्वरूप बजाज पल्सर एन१६० डुअल एबिएस जित्न सकिने व्यवस्था गरिएको छ । कम्पनीले यस अफर मार्फत आफ्ना ग्राहकहरूलाई वित्तीय कारोबारमा सहभागी हुने रमाइलो र आकर्षक अनुभव दिने लक्ष्य राखेको जनाएको छ ।

प्रभु म्यानेजमेण्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ

काठमाडौं । प्रभु म्यानेजमेण्ट प्रालिका पूर्व सेयरधनी तथा हालका सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई प्रहरीले पक्राउ गरेको छ ।  काभ्रेपलान्चोकको पनौती नगरपालिका–८ का स्थायी बासिन्दा रहेका  ५१ वर्षीय महाजुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रभु म्यानेजमेण्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट १० लाख रुपैयाँ ननाघ्ने गरी ९ लाख ९९ हजार ५०० रुपैयाँका दरले बारम्बार शंकास्पद रकम जम्मा भएको पाइएको छ । रेमिट कारोबारको क्रममा कम्पनीले रकम भुक्तानी मात्र गर्नुपर्ने भए पनि सोही खातामा एकै दिनमा पटक–पटक अस्वाभाविक रूपमा रकम जम्मा भएको उल्लेख गरिएको छ । उक्त खातामार्फत रेमिट कारोबारको आवरणमा हुण्डीमार्फत नेपालमा पठाइएको अवैध विप्रेषण रकम प्राप्त गरी हिसाब मिलान गरिएको प्रमाण अनुसन्धानबाट भेटिएको प्रहरीको दाबी छ ।  सोही कार्यमा संलग्न खाता सञ्चालकमध्येका एकका रूपमा महाजुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।