मध्यपहाडी राजमार्गले दैनिकी सहज, बाटोको पहुँचले स्थानियलाई रहत
काठमाडौं २८ मंसिर । दैलेख साततलाका रमेश थापाको तरकारी खेती निकै फस्टाएको छ । १ वर्षदेखि उनी पूर्ण रूपमा तरकारी खेतीमा लागेका छन् । आफ्नै गाउँछेउबाट मध्यपहाडी राजमार्ग खोलिएपछि तरकारी बेच्न उनले टाढा जानु नपर्ने भएको छ । यसले पनि उनलाई तरीकारी खेतीमा लाग्न हौस्याएको छ । ‘टाढा जान पर्दैन, गाउँमै गाडी आइपुग्छ,’ उनले भने, ‘अरु खेती गर्दा वर्ष दिन खानै पुग्दैन थियो, तरकारी खेती गर्न थालेपछि नगद कमाई हुन थालेको छ ।’ उनी अब पूरै खेतमा तरकारी लगाउने सोचाईमा छन् । उनको घर नजिकको सहर राकम कर्णाली हो । राजमार्ग खुलेपछि अब यहाँसम्म पुग्न सजिलो भएको छ । सजिलो बाटो भएपछि आफ्ना उत्पादन बेच्न पनि गाह्रो छैन । मध्यपहाडी राजमार्गमा पर्ने १० नयाँ सहरमध्ये राकम कर्णाली एक हो । ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणासँगै नयाँ सहरमा व्यापार र अन्य प्रयोजनका लागि बसाई सर्ने क्रम सुरु भएको छ । प्रत्येक दिन राजमार्ग छेउछाउमा पसल थापेर सानातिना व्यवसाय गर्नेको संख्या बढो छ । चिया, तरकारी पसलेले राजमार्ग छेउछाउका मानिसको जीवनस्तर उकासिन थालेको छ । पाँचथरको चियोभन्ज्याङ (नेपाल,भारत सीमा)देखि बैतडीको झुलाघाट (महाकाली नदी) जोड्ने सडक निर्माणसँगै गाउँमा विकास पूर्वाधार आइपुग्ने आशा स्थानीयको छ । पहाडै पहाड हुँदै पूर्वं,पश्चिम जोड्ने मध्यपहाडी मार्ग पूर्वको अन्तिम विन्दु पाँचथर च्याङथापुको भारतीय सीमावर्ती चिवा भन्याङसम्म जोडिएको छ । च्याङथापुदेखि पश्चिम झुलाघाट जोड्ने १ हजार ७ सय ५६ किलोमिटरको क्षेत्रमा ट्रयाक जोडिसकेकाले यातायात सञ्चालनमा आएका छन् । त्यसमध्ये नुवाकोटको पाटी भज्याङदेखि बैतडीको झुलाघाटसम्मको १ हजार ९७ किमि पश्चिम खण्डमा पर्छ, भने ६ सय ५९ किलोमिटर पूर्वी खण्डमा पर्छ । मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका प्रमुख सुर्य भाटले यस खण्डको बैतडी, बाग्लुङ र रुकुम खण्डको करिब ३७ किमि सडक कालोपत्रे भइसकेको बताए । कान्तिपुर दैनिकबाट ।
क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी मोटरसाईकल उपहार
काठमाडौं, २७, मंसिर । भीजी अटोमोबाइल्सले क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी मोटरसाइकल उपहार प्रदान गरी सम्मान गरेको छ । असोज ८ देखि १७ गतेसम्म किर्तिपुर क्रिकेट मैदानमा सञ्चालित इपिएल टी ट्वान्टी क्रिकेट प्रतियोगिताका म्यान अफ द सिरिज विजेता कामीलाई सुजुकी जिक्सर मोटरसाईकल प्रदान गरी सम्मान गरिएको हो । अटोमोबाइल्सका बजार प्रबन्धक समित सिंहले त्रिपुरेश्वरस्थित भीजी सुजुकी अटोमोबाइल्स शोरुममा आयोजिक कार्यक्रममा कामीलाई मोटरसाईकल प्रदान गरेका थिए ।
लघुवित्तले बनायो महिलालाई करोडपति
बनेपा, २६ मंसिर । चरम आर्थिक सङ्कटबाट जीवनयापन गरेका महिलाको जीवनमा एकाएक परिवर्तन भएको छ । ५०० रुपैयाँका लागि कसैले नपत्याएकी बनेपा–६ की अनुष्का श्रेष्ठ अहिले करोडपति बनेकी छिन् । छिमेक लघुवित्त विकास बैंकको शनिबार बनेपामा भएको १२औँ एकाइ भेलामा आफ्नो सफलताको कारण सुनाउँदै उनले भनिन् – “आज मसँग एक करोड रुपैयाँभन्दा बढीको सम्पत्ति छ ।” परिवारमा समेत कुनै सहयोग नपाएर माइती पक्षका भाइ र बुबाको हस्ताक्षरमा ऋण लिएर व्यवसाय सुरु गरेकी श्रेष्ठले भनिन् – “पहिले मेरो श्रीमानले पनि वास्ता गर्नुभएन तर अहिले सबै कुरामा सहयोग गर्नुभएको छ ।” अहिले पसल पनि चलाएको छु र १८ आना जग्गा पनि किनेको छु – श्रेष्ठले भनिन् । उनले सो विकास बैंकबाट सुरुमा १५ हजार रुपैयाँ, त्यसपछि २० हजार रुपैयाँ र क्रमशः लाखौँ कर्जा लिएर व्यवसाय सुरु गरेपछि उनको जीवनमा सो परिवर्तन आएको हो । उनीजस्तै एक किलो गहुँको पिढोले छाक टारेकी धुलिखेल नगरपालिका–६ की सुमित्रा बानियाँ अहिले लखपति भएकी छन् । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने चरम दुःख पाएकी उनले भने – “कैयौँ रात त भोकै पनि बसियो ।” बानियाँले ऋण लिएको रकम सदुपयोग गर्न सुझाव दिँदै जीवनमा ठूलो आर्थिक परिवर्तन भएको सुनाइन्। पनौतीकी लक्ष्मी सापकोटाले यो लघुवित्तले दुःख पीडा भुलाउने काम गरेको उल्लेख गर्दै अहिले मसँग गाडी पनि छ जग्गा पनि किनेको बताइन् । छिमेक लघुवित्त विकास बैकले स्थापनाकालदेखि नै महिलाको आर्थिक जीवनसँग जोडेर कार्यक्रम सञ्चालन गरिरहेको छिमेक लघुवित्त विकास बैंकका अध्यक्ष भुवनेश्वरी पन्तले बताइन् । बैंकका कार्यकारी निर्देशक रामचन्द्र जोशीले लघुवित्त विकास बैंकले २० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने जानकारी दिँदै ब्याज घटाउने विषयमा छलफल भइरहेको बताए । बैंकका नायब महाप्रन्बधक शोभा मिश्रले बैंकका कारण महिलाको आर्थिक सशक्तीकरणसँगै नेतृत्व विकास पनि भएको बताइन् । छिमेक लघुवित्त विकास बैंक बनेपाका प्रबन्धक रामकृष्ण पाण्डेले महिलालाई लक्षित गरेर कृषि, पशुपालनलगायतका क्षेत्रमा लगानी भएको बताए । सो अवसरमा उत्कृष्ट काम गरेबापत पहिलोलाई चार हजार रुपैयाँ, दोस्रोलाई तीन हजार रुपैयाँ, तेस्रोलाई दुई हजार रुपैयाँ, चौथोदेखि छैठौँलाई एक हजार रुपैयाँ, सातौँदेखि दशौँलाई ५०० रुपैयाँका दरले पुरष्कृत गरिएको थियो भने १० समूहका विपन्न सदस्यका छोराछोरीलाई पढाउनका लागि दुई हजार ४०० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । रासस