बेलबारी नगरद्धारा ३२ विद्यालयमा ई-हाजिरी सेवा र बिरामीलाई २५ हजार सहयोग
काठमाडौं । बेलबारी नगरपालिका उर्लाबारी मोरङले नगरपालिका भित्रका ३२ वटा विद्यालयमा ई-हाजिरी प्रक्रिया सुरु हुने भएको छ । नगरपालिकाको समन्वयमा ई हाजिरी मेसिन खरिद प्रक्रिया अघि बढेको हो । ३२ विद्यालयका लागि ३२ वटै ई हाजिरी मेसिन खरिद प्रक्रिया अधि बढेको नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । ई-हाजिरी सेवाबाट विद्यालयमा काम गर्ने सम्पुर्ण कर्मचारीको हाजिर हुनेछ । तर विद्यार्थीको हकमा भने यो लागू हुने छैन । ‘नगरपालिकाले विकासका कार्यक्रमलाई अगाडी बढाइरहेको छ, नगरपालिकामा रहेका ११ वटै वडामा इन्टरनेट सेवा पुगिसको छ, अब अन्य विकासका पुर्वाधार विकास गर्न आर्थिक स्रोतको व्यवस्थापन गरिरहेका छौं’, सुवेदीले विकासन्यूजसँग भने । नगरपालिकाले विभिन्न पाँच रोगका बिरामीलाई जिवनयापन सहज बनाउँनका लागि २५ हजार रुपैंयाका प्रतिव्यक्तिदरले रकम प्रदान गर्ने भएको छ । नगरले अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउन लागेको हो । अहिले पाँच रोगबाट पीडित व्यक्तिहरुको तथ्यांक संकलन भैरहेको नगरले जनाएको छ । ११ जना पीडितको विवरण आइसकेको र आउनेक्रम जारी रहेको छ । रकम लिनको लागि बिरामीले उपचार गराएको अस्पताल वा चिकित्सकले प्रमाणित गरेको कागजातको नगपालिकामा पेश गर्नु पर्ने छ । बिरामीलाई प्रदान गर्ने रकम नगरपालिकाको कोषबाटै उपलब्ध गराउने मेयर सुवेदीले जानकारी दिए । नगरपालिकाले विशेषगरी सडक, स्वास्थ्य र शिक्षालाई जोड दिएको उपमेयर ढाकादेवी पराजुलीले बताइन् । नगरमा सपिङ कम्पेक्स, बसपार्क निर्माण लागि आवश्यक कोष नहुँदा विभिन्न दाताहरुसँग सहयोग लिने विषयमा छलफल भैरहेको उपमेयर पराजुलीले बताइन । नगरपालिकाले स्पस्ट कानूनी कार्यआदेश नपाउँदा सुकुम्बासी समस्या र नदिनालाको व्यवस्थापनमा कठिनाई रहेको मेयर श्रेष्ठले बताए । नगरको ११ वडामा करिब ७३ हजार जनसंख्या बसोबास गर्दै आएका छन् । नगरको सबै वडाहरुमा खानेपानी को सुविधामा भने पुगेको छैन ।
मुआब्जाको कुरा मिलेपछि कावेली करिडोर प्रसारण लाइनको सर्वे गर्न स्थानीय सहमत
काठमाडौं । इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्कास्थीत कावेली करिडोर प्रसारण १३२ केभी प्रसारण लाइन आयोजनाको सर्वे गर्न स्थानीयबासी सहमत भएका छन् । नेपाल विद्युत प्राधिकरण, आयोजना, देउमाई नगरपालिका र स्थानीय बासिन्दाबीच भएको छलफलमा तत्काल सर्वेको काम सुरु गर्ने सहमति जुटेको हो । आयोजनाबाट प्रभावित व्यक्तिको यकिन गरी मुआब्जा तथा क्षतिपूर्ति निर्धारण गर्ने र त्यसपछि प्रसारण लाइन निर्माणको काम सुचारु गर्ने निर्णय भएको छ । प्रसारण लाइनको बाटो (राइट अफ वे)मा पर्ने जग्गाको सत् प्रतिशत क्षतिपूर्ति दिनु पर्ने, रुट परिवर्तन गर्नु लगायतका माग राखी स्थानीयले प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए । स्थानीयको अवरोधका कारण सिद्धिथुम्कामा ११ वटा टावर निर्माण हुन सकेको छैन । स्थानीयको अवरोधले काम गर्न नसक्दा पाँचथर र ताप्लेजुङमा निजी क्षेत्रले निर्माण गरिरहेका झण्डै एक सय मेगावाटका आयोजनाहरुको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेको छैन । प्रसारण लाइन निर्माणमा अवरोध भएपछि समस्या समाधान गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको टोली आयोजनास्थलमा पुगेका थिए ।
१ करोड लागतमा कृत्रिम घाँसेमैदान निर्माण शुरु
नवलपरासी । बर्दघाट सुस्ता पश्चिम जिल्लाको भूमहीमा फुटबल खेलका लागि कृत्रिम घाँसेमैदान निर्माण शुरु भएको छ । जिल्ला फुटबल संघको पहलमा सुनवल नगरपालिका–१२, भूमहीस्थित रामनगर एकेडेमीको जग्गामा निर्माण हुने सो मैदान रु एक करोडको लागतमा सम्पन्न हुने अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रीय सदस्य प्रकाश पंगेनीले जानकारी दिए ।-रासस