गृह मन्त्रालयले देशभरको मदिरा नियन्त्रण गर्ने, अनुमति नलिएको पसल सिज गरिंदै
काठमाडौँ । गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा विक्री वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो । आइतबार गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बिभिन्न राजनीतिक पार्टी आवद्ध महिला नेतृ र महिला सांसदहरुसँग गृहमन्त्रालयमा उक्त विषयमा छलफल भएको जनाएको छ । छलफलमा गृहमन्त्री बादलले समाज , परिवारमा विखण्डनको प्रमुख कारण मदिरा रहेको भन्दै यसको नियन्त्रण गर्ने तयारी गृह मन्त्रालयले थालेको भन्दै यसमा रचनात्मक सुझाव र सहयोगका लागि महिला नेतृहरुसँग आग्रह गरे । उनले पछिल्लो समय बढीरहेको महिला हिंसाको कारण समेत मदिरानै रहेको भन्दै मदिराबाट राज्यले पाउँदै आएको कर भन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौँ गुणा घातक रहेको टिप्पणी गरे । देशभर रहेको करिब छ हजार ५०० स्थानिय तहका वडाहरुमा विभिन्न राजनीतिक पार्टी आवद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समुह, नागरिक समाज र सुरक्षाकर्मी रहने गरी समिति गठन गरी वडास्तरबाटै जनसहभागितामा मदिरा नियन्त्रणको अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको उनको भनाइ छ । यसको लागि मन्त्रालयले विस्तृत खाका बनाइरहेको भन्दै अभियान केन्द्रको प्रयासले मात्रै सम्भव नरहेको भन्दै वडास्तरबाटै सञ्चालन गरीने गृहमन्त्री थापाले जानकारी गराए । ‘यसका लागि तत्काल मन्त्रालयले ६ महिने अभियान सञ्चालनका लागि आवश्यक गृहकार्य गरीरहेको छ,’ गृहमन्त्रीले भने ‘अभियानसँगै मदिरा नियन्त्रणको भण्डाफोर कार्यक्रम समेत आयोजना गरीने छ ।’ अनुमति र मापदण्ड नपुगेको पसल सिज गृहमन्त्री थापाले अनुमति नलिएको र मापदण्ड नपुगी सञ्चालनमा ल्याइएको मदिरा पसललाई सिज गर्न सुरक्षाकर्मी तत्काल परिचालन गरीने बैठकमा जानकारी दिए । विकास र समृद्धिको बाधक तथा भ्रष्टचारको कारक समेत मदिरा रहेको भन्दै यसलाई व्यवस्थित गराएरै छाड्ने प्रतिवद्धता गृहमन्त्रीको छ । मदिरा नियन्त्रणसँगै लागुऔषध नियन्त्रणलाई पनि अभियानको रुपमा लैजाने तयारी सरकारले गरिरहेको उनको भनाइ छ । कार्यक्रममा पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका अध्यक्ष कृष्णहरी बास्कोटाले मदिरा नियन्त्रणका उपायहरुका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । छलफलमा महिला नेतृहरुले मदिराबाट सबैभन्दा बढी पीडित महिलाहरु भएकोले आफुहरुले गृहमन्त्रीको अभियानमा साथ दिन तयार रहेको बताएका छन् । उनीहरुले पहिलो चरणमा मदिरा नियन्त्रण र दोस्रो चरणमा मदिरा निषेध गर्ने गरी कार्ययोजना ल्याउन गृहमन्त्रीलाई सुझाव दिए । महिला नेतृहरुले मदिरा नियन्त्रणका लागि आवश्यक नियम, निर्देशिका र संयन्त्रको समेत तत्काल विकास गर्नुपर्ने माग गरे । बिगतमा टोल, गाउँ र जिल्लागत रुपमा यस्तो अभियान सञ्चालन गरिए पनि यसपटक केन्द्रस्तरबाटै अभियान सुरु गर्न लागिएकोले सो अभियान सफल हुने छलफलमा सहभागी सबैको एकमत रहेको जनाइएको छ ।
एनआईसी एशिया बैंकले पायो ‘गभर्नर्स कप अन्तर बैंक फुटसल’को उपाधि
काठमाडौं । एनआईसी एशिया बैंकले ‘गभर्नर्स कप अन्तर बैंक फुटसल प्रतियोगिता २०७५’को उपाधि पाएको छ । नेपाल राष्ट्र बैंकको ६३औैं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकद्धारा आयोजित उक्त प्रतियोगितामा एनआईसी एशिया बैंक प्रथम भएकोमा उक्त उपाधि पाएको हो । यस प्रतियोगितामा १६ फुटसल टिमको सहभागिता रहेको थियो । जस मध्ये यस बैंकले उत्कृष्ट प्रर्दशन गरेको थियो । बैंकले विभिन्न खेलकुद प्रतियोगिताहरुमा आफ्नो सशक्त उपस्थिती देखाउँदै आईरहेको कम्पनीले जनाएको छ ।
आफ्नो टोल आफै सफा गर्दै कीर्तिपुरस्थित शान्तिमार्ग (फोटो फिचरसहित)
काठमाडौं । कीर्तिपुर नगरपालिकास्थित ट्याङलाफाँट १/२ मा रहेको शान्तिमार्ग टोलले आफ्नो टोल आफै सफा गरौ भन्ने उद्देश्यका साथ शान्तिमार्ग टोल सफा गरेको छ । पालैपालो महिना/महिनामा उक्त टोल शान्तिमार्ग टोल सुधार समिति र टोलस्थित अजिमाख्य गुठीले सफा गर्दै आइरहेको छ । सोही सेड्युलअनुसार शनिबार टोल सफा गरेको हो । टोल सुधार समितिको अध्यक्ष भरत बस्नेतले आफ्नो टोललाई सफा सुग्घर राख्ने उद्देश्यले टोल महिना/महिनामा गुठीसँगको सहकार्यमा पालै पालो सफा गर्दै आइरहेको बताए । ‘प्राय विदाको दिन पारेर टोलमा रहेका समुदाय स्वस्फूर्त रुपमा जम्मा भएर टोल सफा गर्दै आएका छौं,’ उनले भने ‘हामीले टोललाई सफा राख्नका लागि टोलमा रहेका पसलहरुलाई पनि कुहिने र नकुहीने फोहोरहरु छुट्याएर राख्नका लागि भनिसकेका छौं ।’ टोलको अवस्थाले त्यहाँ रहेको समुदायको प्रतिनिधित्व गर्ने भएकोले पनि टोल सफा, सुग्घर राखे समुदायको इज्जत बढ्ने भएकोले पनि सफाइलाई प्राथमिकता दिएको उनको भनाइ छ । सरसफाइमा सहभागी अर्का सदस्यले टोललाई सफा राख्न स्वस्फूर्त रुपमा सफाई अभियानमा सहभागी भएको बताए । सफाई भइरहदा घरवेटीहरुले अभियानमा सहभागीहरुलाई पानी, जुस लगायत उपलब्ध गराएको देखिन्थे ।