शुक्रबार शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्ने, यी राशीका व्यक्तिले हेर्दा शुभ हुने
काठमाडौं । असार शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा अन्त्य हुने उनले बताए । कूल तीन घण्टा ५७ मिनेट ग्रहण रहनेछ । चन्द्रग्रहणले स्पर्श हुनुभन्दा नौ घण्टाअघि देखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको छ । ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ । ग्रहण लागेका बेला सुत्न, दिसा, पिसाब, मैथुन गर्न नहुने धर्मसिन्धु, निर्णयसिन्धुलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । यसैगरी, तेल लगाउन, खानपिन गर्न, कसैलाई बन्धनमा राख्न र मार्न पनि नहुने व्यवस्था छ । धर्मसिन्धु, निर्णयसिन्धुलगायत ग्रन्थमा भनिएको छ– निद्रायां जायते व्याधि मूत्रे दारिद्रयमाप्नुयात् । पुरीषे कृमियोनिश्च मैथुने ग्रामसूकरः ।। अभ्यञ्जने भवेत् कुष्ठी भोजने स्यादधोगति । वन्धनं च भवेत् सर्पः वधे च नरकं व्रजेत् ।। अर्थात् “सुते रोगी, दिसा गरे कीरा योनीमा जन्म, पिसाब गरे दरिद्रता, मैथुन गरेर गाउँको सुँगुर भई जन्मनुपर्ने, तेल लगाए कुष्ठरोगी, भोजन गरे अधोगति, कसैलाई बन्धनमा राखे सर्प योनीमा जन्म, मारे नरकमा पर्ने शास्त्रीय भनाइ छ”, उनले भने । पूर्णिमा तिथिका दिन सूर्य, चन्द्रमा र पृथ्वी एउटा सरल रेखामा पर्दा सूर्य र चन्द्रमा १८० डिग्रीमा हुन्छ । त्यसबेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्छ । त्यस्तो अवस्थामा पृथ्वीको छायाँले चन्द्रमा ढाकिन्छ । पृथ्वी ठूलो भएकाले छायाँले चन्द्रमा पूरै ढाकिने भएकाले प्रायः खग्रास चन्द्रग्रहण लाग्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबारको चन्द्रग्रहणमा विभिन्न राशि भएका मानिसलाई फरक फरक फल दिने समितिले स्वीकृत गरेका पञ्चाङ्गमा उल्लेख गरिएको छ । मेष राशि भएकालाई सुख, वृषलाई माननाश, मिथुनलाई कष्ट, कर्कट स्त्री पीडा, सिंह सुख, कन्या चिन्ता, तुला व्यथा, वृश्चिक स्त्री प्राप्ति, धनु क्षति, मकर घात, कुम्भ व्यय र मीन राशि भएका मानिसलाई लाभ मिल्नेछ । यस आधारमा शुक्रबार रातिको चन्द्रग्रहण मेष, सिंह, वृश्चिक र मीन राशि भएकाले हेर्नु हुने समितिका सदस्यसचिव ढुंगेलले बताए । अन्य आठ राशि भएकाले हेर्न नहुने समितिको ठहर छ । चन्द्रग्रहणका अवसरमा देशका विभिन्न स्थानमा हुने मौसमको पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको छ । शुक्रबार बेलुकीदेखि शनिबार बिहानसम्म सार्वजनिक अनुमान गरिएको मौसमको विवरणअनुसार दीपायलमा पूर्ण बदली भई हल्का वर्षा हुने सम्भावना छ । यसैगरी, वीरेन्द्रनगरमा पनि सामान्य एवम् पूर्ण बदली भई मध्यम वर्षा हुने सम्भावना छ । काठमाडौंमा पनि बदली भई हल्का वर्षा हुने अनुमान विभागले गरेको छ । धरानमा पनि बदली भई मध्यम वर्षा एवम् भारी वर्षा हुने सम्भावना छ । पोखरामा भने बदली भई हल्का वर्षा हुने सम्भावना रहेको विभागकी मौसमविद् विभूति पोखरेलले बताए । मौसम सफा भएका स्थानमा खग्रास चन्द्रग्रहण देख्न सकिने जनाइएको छ । शुक्रबार राति करीब एक घण्टा ४३ मिनेटसम्म लाग्ने खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ग्रहणको समयमा देखिने गाढा रातो रंगको चन्द्रमाको दृश्य खगोल तथा अन्तरिक्ष विज्ञानमा रुचि राख्नु हुने सबैका लागि एक सुनौलो तथा अभूतपूर्व अनुभव हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन् । खग्रास चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर अथवा खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्नेछन् । वैज्ञानिक मतअनुसार चन्द्रग्रहण हेर्दा हानि नहुने उनले बताए । राति १२ बजेर ९ मिनेटमा शुरु हुने ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा १ बजेर १५ मिनेट जाँदा पूरै ढाक्नेछ । अवलोकनकर्ताले १ बजेर १५ मिनेटदेखि एक घण्टा ४३ मिनेटसम्म अर्थात् दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देख्नेछन् । यस अवधिलाई खग्रास भनिन्छ । त्यसपछि ग्रहण क्रमशः कम हुँदै राति ४ बजेर ४ मिनेटमा सकिनेछ । टेलिस्कोपबाट हेर्न चाहने व्यक्तिले शुक्रबार राति साढे ११ देखि साढे चार बजेसम्म विशेष व्यवस्था गरिएको सोसाइटीले जनाएको छ । रासस
लायन्स क्लवद्धारा नुवाकोटको क्यान्सर बिरामी घलेलाई आर्थिक सहयोग
काठमाडौं । लायन्स क्लव अफ काठमाडौें ग्लोबल टाउनले नुवाकोटका ब्लड क्यान्सर बिरामी बालक सुनिल घलेलाई आर्थिक सहयोग गरेको छ । क्लबले १२ वर्षीय बिरामी घलेको थप उपचारको लागि ५२ हजार ७१० रुपैयाँ बराबरको चेक बालकको अभिभावकलाई हस्तान्तरण गरेको हो । पंचलिङ्गे मा.वि. काउलेमा कक्षा सातमा अध्ययनरत घलेको विगत दुई महिनादेखि कान्ति बाल अस्पतालमा उपचार भैरहेको छ । अशिक्षित परिवारिक वातावरण र नाजुक आर्थिक अवस्थाको कारण घलेको उपचारमा कठिनाइ उत्पन्न भैरहेको अवस्थामा सहयोगी संघसंस्थाहरुको सकृयतामा देश विदेशबाट रकम संकलन गरि बालकको अभिभावकलाई उपलब्ध गराउने कार्यले थप उपचार सहज भएको कुरा बालकका अभिभावकले बताएका छन् । लायन्स क्लव अफ काठमाडौं ग्लोबल टाउनका अध्यक्ष अनुज कुमार श्रेष्ठले गत हप्ता आफ्नो फेसबुक पेजमा बालकको उपचारको निम्ति सहयोग गर्न अपिल गरेका थिए । श्रेष्ठका अनुसार स्वदेशमा आजसम्म संकलन भएको रकम हस्तान्तरण गरिएको र विदेशमा संकलन भएको रकम प्राप्त भए पश्चात् तुरुन्तै हस्तान्तरण गरिने बताएका छन् । नियमित उपचार हुन सके ब्लड क्यान्सर रोग ठिक हुने भएकोले आर्थिक सहयोगको निम्ति बालकका अभिभावक सबै सहयोगीहरुसंग अपिल गरिरहेका छन् । बालकको थप उपचारको निम्ति सहयोग गर्न चाहनेहरुले हिमालयन बेकको खाता नं. ०४६ ०७३३५४१००१३ रोजिना डोल्मा घलेको नाममा रकम जम्मा गर्न अनुरोध गरिएको छ ।
मेसी रानाल्डो फिफा वर्ष खेलाडीको उत्कृष्ट १० मा, २६ अर्बका नेइमार अटाएनन्
काठमडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले मंगलबार राति सन् २०१७–१८ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको १० खेलाडीमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्सका केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र राफायल भाराने टपटेन सूचीमा परेका छन् । यसैगरी बेल्जियमका इडेन हाजार्ड, केभिन डी बरुएन, इंग्ल्यान्डका ह्यारी केन, क्रोएसियाका लुका मोड्रिच र इजिप्टका मोहमद सलाह सूचीमा परेका छन् । १० जनामा संसारकै महँगो खेलाडी ब्राजिलका नेयमार जुनियर भने पर्न सकेका छैनन् । उनीलाई पिएसजीले बार्सिलोनाबाट २२२ मिलियन युरो करिब २६ अर्ब नेपालीमा किनेको थियो । फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्दै आएको छ । फिफा वर्ष प्रशिक्षकमा विश्व बिजेता फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प युभेन्ट्सका मासिमिलियानो एलेग्री, रुसका स्टेनस्लाभ चेर्चेसोभ, क्रोएसियाका लाट्को डालिस, म्यानचेस्टर सिटीका पेप ग्वार्डिवाला, लिभरपुलका जोर्गेन क्लोप, बेल्जियमका रोबर्टो मार्टिनेज, एथलेटिक मड्रिडका डिएगो सिमोन, इंग्ल्यान्डका ग्यारेथ साउथगेट, बार्सिलोनाका एर्नेष्टो भाल्भर्डे र रियल मड्रिडका जिनेदान जिदान मनोनयनमा परेको फिफाले जनाएको छ । फिफाले विश्वभरका राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्ने गर्दछ ।