मेगा बैंकले स्याङ्जाको भीरकोटमा रोप्यो विभिन्न जातका ३०० वटा बिरुवा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले स्याङ्जाको भीरकोटमा वृक्षारोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकको स्याङ्जा भीरकोट शाखाले भीरकोट नगरपालिकाको वडा नम्बर ३ बानेथाकस्थित कालिका प्राथमिक विद्यालय हातामा वृक्षारोपण गरेको हो । भीरकोट नगरपालिकाका मेयर छायाँराम खनाल, उपमेयर सिमा कर्माचार्य, संचारकर्मी, सामाजिक कार्यकर्ता, शिक्षक र विद्यार्थीको सहभागितामा रुद्राक्ष, कपुर, चाँप, पारिजात, अम्रिसो लगायत विभिन्न जातका ३०० वटा बिरुवा रोपिएको थियो । वृक्षारोपणले विद्यालयलाई हराभरा बनाउन मद्दत गर्नेका साथै हरित कम्पाउन्ड बनाउन मद्दत मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवीन्द्र अधिकारीले विश्वास व्यक्त गरेका छन् । यसैगरी, मेगा बैंकले एक कार्यक्रमबीच भीरकोट नगरपालिकाकै रिजु दोबाटास्थित महालक्ष्मी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । असहाय र जेहेन्दार २३ जना विद्यार्थीहरुलाई बैंकले स्कूल पोशाक वितरण गरेको हो । बैंकले विद्यालयको कामलाई सहज होस् भन्ने उद्देश्यले एउटा स्टील दराज पनि सहयोग गरेको छ । कार्यक्रममा भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले यस बैंकले ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच बढाउन खेलेको भूमिकाको प्रशंसाका साथै खुशी व्यक्त गरेका छन् ।
फोनिजद्धारा विभिन्न विधाका ४ जना पत्रकार पुरस्कृत हुँदै, जनही ४० हजारको पुरस्कार
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७५’बाट पुरस्कृत हुने चार पत्रकारको नाम सार्वजनिक गरेको छ । साउन १५ गते बसेको फोनिज सचिवालय बैठकले पुरस्कार छनौट समितिको बैठकको निर्णयलाई अनुमोदन गर्दै पुरस्कृत पत्रकारको नाम सार्वजनिक गरेको हो ।उक्त पुरस्कारबाट यस वर्ष अनलाईन विधामा उजिर मगर, टेलिभिजन विधामा भैरव आङला, छापा विधामा छेटु शेर्पा र रेडियो विधामा बिमला चौधरी पुरस्कृत हुने भएको फोनिजका संगठन सचिव मिलन लिम्बूले बताए । जनही ४० हजार रुपैयाँ राशीको पुरस्कार २०७५ साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘१९औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह-२०७५’ कार्यक्रममा प्रदान गरिने सचिव लिम्बूले जानकारी दिए । पुरस्कृत पत्रकारको संक्षित विवरणः उजिर मगर २०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारीता सुरुवात गरेका उजिर मगरले महिमा साप्ताहिक, कान्तिपुर दैनिक र नागरिक दैनिकमा लामो समय काम गरिसकेका छन् । हाल एभरेष्ट दैनिक डटकममा कार्यरत मगर नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव हुन भने फोनिजका सल्लाहकार समेत हुन् । भैरव आङ्ला २०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारीता शुरु गरेका भैरव आङ्लाले न्यूज टाइम्स साप्ताहिक, मर्निङ पोष्ट दैनिक, खबर पत्रिकार साप्ताहिक, भूगोल साप्ताहिक, धरान टाइम्स दैनिक, सयपत्री दैनिक र सप्ताकोसी एफएममा काम गरिसकेका छन् । सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहेका आङला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुन् । उनले लिम्बू भाषामा रेडियो कार्यक्रम उत्पादन तथा प्रशाणरण गरेर मातृभाषा बिकासमा समेत उनको योगदान पुर्याएका छन् । छेटु शेर्पा २०६३ सालदेखि ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारीता शुरु गरेका छेटु शेपाले गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन र न्यूज २४ टेलिभिजनमा काम गरिसकेका छन् । हाल अन्नपूर्ण दैनिकमा कार्यरत शेर्पा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत हुन् । बिमला चौधरी २०६२ सालदेखि पत्रकारीता शुरु गरेका कमला चौधरीले रेडियो तुलसीपुर, रेडियो बागेश्वरी लगायतमा काम गरिसकेकी छिन् । हाल बाँकेको नेपालञ्ज स्थित रेडियो सदभावमा कार्यरत चौधरीले पत्रकारीता जीवनको सुरुवातदेखि नै थारु भाषा विकासमा योगदान पुर्याउँदै आएकी छिन् ।
थाई एयरवेजद्धारा अायाेजित रक्तदान कार्यक्रममा १२० जनाभन्दा बढीले गरे रक्तदान
काठमाडौं । थाई एयरवेज इन्टरनेश्नल पब्लिक कम्पनी लिमिटेडले साउन १५ गते(मंगलबार)का दिन रक्तदान तथा कार्डियो हेल्थ चेक–अप कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न उक्त कार्यक्रमलाई थाई एयरवेजले २६ वर्ष अघि १९९२ को घटनालाई स्मरण गर्दै यस सिएसआर कार्यक्रमलाई हरेक वर्ष आयोजना गर्दै आएको छ । नेपालमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको थाई एयरवेजले आफ्नो ५०औं वार्षिक उत्सव यस वर्ष मनाउँदै छ । उक्त रक्तदान कार्यक्रममा मिस नेपाल २०१८ को उपाधि विजेताहरुको समेत सहभागिता रहेको थियो । उक्त कार्यक्रममा १२० जनाभन्दा बढी व्यक्तिहरुले रेड क्रस सोसाइटीका लागि रक्तदान गरेका थिए । अधिकतम संख्यामा उपस्थित सहभागीहरुले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण मास्के र टीमको नेतृत्वमा निःशुल्क कार्डिएक चेक–अप, ब्ल्ड सुगर टेस्ट, ईसिजि र ईकोे स्क्रिनिङ्गको लाभ उठाएको छ । ट्राभल एजेन्ट, जनमानस, शुभ–चिन्तकका साथै थाई एयरवेजका परिवारहरुको उक्त रक्तदान तथा कार्डियो हेल्थ चेक–अप कार्यक्रममा सहभागिता रहेको थियो ।