सीताराम दूधको ७ वटा उत्पादन बजारमा, भाटभटेनीमा नायिका दिपाश्रीले गरिन् उद्घाटन
काठमाडौँ । सीताराम दूधले बिहीबारबाट आफ्नो उत्पादन बिस्तार गरेको छ । यसअघि दूध उत्पादन तथा बिक्री गर्दै आएको सीतारामका अब ७ वटा उत्पादन बजारमा ल्याइएको छ । सुगर फ्रिदही, पनिर लगायतका सम्पूर्ण उत्पादन अब भाटभटेनी सुपर स्टोर नक्साल र महाराजगञ्जमा पाइने भएको छ । भाटभटेनीमा एक कार्यक्रम गरेर सिताराम घिउका ब्राण्ड एम्बेसेडर नायिका दीपाश्री निरौलाले सीताराम दुधका उत्पादनको उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रममा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले स्वदेशी उत्पादन आफूहरुले राख्न पाउँदा उत्साही भएको बताए । सीताराम दूधका अध्यक्ष सुमित केडियाले अब अन्य उत्पादन पनि गर्दै जाने बताए । आइसक्रिम लगायतका उत्पादनमा पनि जाने लक्ष्य रहेको समेत बताए । केडिया अर्गनाइजेशनको भातृ संस्था सिताराम गोकुल मिल्कस् नेपालको निजी क्षेत्रका सबैभन्दा ठूलो दूध तथा दुग्धजन्य पदार्थ उत्पादन कम्पनी हो ।
हावाहुरी पीडितलाई स्वावलम्बन लघुवित्तको ४ लाख ६० हजार नगद सहयोग
काठमाडौँ । स्वावलम्बन लघुवत्ति वित्तीय संस्था लि.ले बारा जिल्ला स्थित फेटा गाउँपालिकाको पुरैनिया र भर्वलिया तथा प्रसौनी गाउँपालिकाको खुटुवा जब्दी गाउँमा आएको विनासकारी हावाहुरी पीडित घरपरिवारलाई रु.४ लाख ६० हजार नगद सहयोग गरेको छ । संस्थाले हावाहुरीका पिडितलाई पहिचान गरी थप राहत तथा सहयोग गर्ने बताएको छ । वित्तीय संस्थाले हावाहुरीबाट घर भत्किएर हाल सार्वजनिक स्थानमा बस्दै आएका, घरमा रहेको खाद्यान्न तथा लत्ता, कपडा साथै पशुपंक्षीको समेत नोक्सान भएको प्रारम्भिक तथ्यांकको आधारमा शाखा कार्यालय कलैया, बारा मार्फत उक्त रकम उपलब्ध गराएको हो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा आउने प्राकृतिक प्रकोपबाट पिडित घरपरिवारलाई पटक पटक राहत तथा विभिन्न सहयोग कार्यक्रम निरन्तर रुपमा गर्दै आएको प्रबन्धक राजेन्द्र धितालले बताए ।
उपत्यकामा चार नयाँ शहर, डिपिआर यसै बर्ष
काठमाडौं । सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाको चार वटा नयाँ शहरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) काम यसै बर्ष सम्पन्न गर्ने भएको छ । व्यवस्थित र आधुनिक शहर विस्तारकालागि सरकारले उपत्यका काठमाडौंको चार कुनामा नयाँ शहर निर्माणको काम अगाडि बढाएको हो । चार वटा नयाँ शहरको डिपिआर धमाधम निर्माण भइरहेको उपत्यका विकास प्राधिकरणक कामु नायव विकास आयुक्त दिलिप भण्डारीले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा समचार छ ।