पश्चिमी वायुको प्रभावले पुनः वर्षा, केही दिन मौसम पूर्णरूपमा सफा नहुने
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले बताइन् । अहिले पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र वर्षा भइरहेको मौसमविद् बासीले बताइन् । आज देशभरि नै हल्कादेखि मध्यम खालको वर्षा हुने बताइएको छ । प्रिमनसुनको समयमा मध्याह्नपछि मेघगर्जन, हल्का वर्षा, हावाहुरी चल्ने र चट्याङ पर्ने सामान्य गतिविधि हो । तर अहिले विभिन्न प्रणाली मिसिएर मौसम प्रभावी भइरहेको मौसमविद्को भनाइ छ । यस प्रणालीको प्रभावले अझै केही दिन मौसम पूर्णरूपमा सफा हुने अवस्था नरहेको बताइएको छ । भोलि देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । बिहीबार देशका पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । रासस
टिच फर नेपाललाई नेपाल बङ्गलादेश बैँकले गर्यो १० लाख सहयोग
काठमाडौँ । नेपाल बङ्गलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत टिच फर नेपाल काठमाडौँलाई १० लाखकोे रकम हस्तान्तरण गरेको छ । सोमबार बैंकका प्रतिनिधि, कनिष्ठ नायव महाप्रबन्धक सलोनिका सिंह र टिच फर नेपाल काठमाडौँको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिशिर खनालद्वारा सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको भयो । सो रकम संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न विश्व विद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई २ वर्षको लागि स्वयम्सेवी शिक्षकको रुपमा अंग्रेजी, गणित र बिज्ञान बिषयहरु सार्वजनिक विद्यालयमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नेछ ।
बाराका हावाहुरी प्रभावितलाई सनराइज बैंकको सहयोग
काठमाडौँ । सनराइज बैंकले १७ चैत्रमा आएको विनाशकारी हुरीका कारण बारामा प्रभावित हर्दिया र पर्शुराम गाउँका २०० पीडित परिवारहरुलाई सहयोग गरेको छ । दैनिक प्रयोजनको लागि आवश्यक समाग्रीहरु जस्तै भाँडाकुडा, टर्चलाइट, साबुन, तेल, टूथ पेष्ट, टूथ ब्रस आदि राहत सामग्री सहयोग स्वरुप प्रदान गरेको हो । हावहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति पुर्याएको छ ।