पशुपतिमा थरीथरीका चन्दन, घोट्नेलाई सामान्य खर्च दिने

काठमाडौँ । पशुपतिनाथमा श्रीखण्ड बाहेक अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीको डाँठ घोटेर पनि चन्दन बनाइन्छ । यो चन्दन बिक्री समेत हुने गरेको छ । पशुपतिनाथ मन्दिर परिसरको दक्षिण कृष्ण मन्दिरको भित्री कोठामा यस प्रकारको चन्दन बनाइन्छ । चन्दन घोट्ने हरि बुढाथोकीका अनुसार धुपी, अम्बा, पारिजात, भीमसेनपातीका काठबाट चन्दन बनाइने गरिएको छ । पशुपतिनाथका बिसेट अरुण श्रेष्ठका अनुसार यस्ता चन्दन तयार हुने गरेको भए पनि चन्दन घोट्ने व्यक्ति आधिकारिक नियुक्तिका होइनन् र यो चन्दन पशुपतिनाथलाई अर्पण गर्ने गरिएकै छैन । उनले चन्दन माग गर्नेले यस्ता काठ ल्याउने गरेका छन् भन्ने सुनिएको जानकारी दिए । पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीका काठबाट चन्दन बनाइने गरिए पनि यो चन्दन निजी प्रयोजनका लागि मात्र हुन सक्ने बताए । चन्दन बनाउनेले व्यक्तिको माग अनुसार तयार गर्ने गरेको छ, बिहान आउने भक्तजनले चन्दन मागेमा चिनेजानेका आफन्तलाई सालको पातमा बेरेर दिइने चन्दन यही हो । जानकारका अनुसार दक्षिणाको लालचमा चन्दन घोट्ने यो कार्य चलेको दसकौँ भइसकेको छ । यो अघोषित रूपमा फस्टाउँदै आएको पनि छ । विसेट अरुण श्रेष्ठका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट उपहार प्राप्त भएको श्रीखण्ड पशुपतिनाथमा प्रयोग भइरहेको छ । वासुकीमा, पशुपतिमा र भक्तजनको वितरणका लागि क्रमशः एक, एक र १५ किलो श्रीखण्ड मासिक रूपमा प्रयोग भइरहेको श्रेष्ठ बताउँछन् । यस बाहेक पशुपति गुठी गोश्वाराबाट मासिक एक धार्नी र तत्कालीन कौषी तोषाखाना (हाल अर्थ मन्त्रालय निवृत्तिभरण व्यवस्थापन कार्यालय) मा मौज्दात रही पशुपतिनाथलाई प्राप्त भएको मासिक एक धार्नी श्रीखण्ड नियमित रूपमा प्राप्त भइरहेको छ । ‘‘यही चन्दन पशुपतिनाथलाई अर्पण हुन्छ र भक्तजनका लागि पनि प्रदान गरिन्छ,’’ श्रेष्ठ स्पष्ट पार्छन् । पशुपतिमा चन्दनको व्यवस्था भए पनि अन्य काठको चन्दन कुन आवश्यकताले बनाउन परेको हो भन्ने खुल्न नसकेको स्वयं अधिकारीहरूको भनाइ छ । विसेट श्रेष्ठ थप्छन्, ‘‘अन्य काठबाट बनेको चन्दन बिक्री हुन्छ भन्ने सुनिए पनि आधिकारिक रूपमा कोषका कुनै व्यक्ति र निकायको संलग्नता छैन ।’’ गुठी संस्थान, पशुपति गुठी गोश्वारा कार्यालय प्रमुख लछुना शर्मा काफ्लेले श्रीखण्ड बाहेकको अन्य काठबाट चन्दन बनिरहेको छ भन्ने आफूलाई जानकारी नभएको बताउनुभयो । काफ्लेका अनुसार असली श्रीखण्डबाटै चन्दन तयार भइरहेको छ भन्नेसम्म गोश्वारालाई जानकारी छ । चन्दन घोट्ने हरि बुढाथोकी २०७२ सालको भूकम्पपछि आफूखुसी चन्दन घोट्न मन्दिर परिसर पसेको बताउँछन् । यसअघि अर्कैले चन्दन घोट्थे । पशुपतिनाथका मूल भण्डारी कविन्द्रलाल राजभण्डारीले चन्दन घोट्नेलाई आफूहरूले आफ्नैतर्फबाट सामान्य खर्च दिने गरेको बताए । यस्ता काठका चन्दनले चर्मरोग पनि देखापर्दै आएको आनन्द खेरा फ्रेन्ड एन्ड फेमिली ट्रष्टका डा. पदमराज भारती बताउँछन् । उनले महाशिवरात्रिको शिविरमा चन्दनले छालामा फोका तथा दाद आएका विरामी भेटिएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष भट्टराईले गरे पदबहाली

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष केशव भट्टराईले पदबहाली गरेका छन् । सोमबार चलचित्र विकास बोर्डको कार्यलयमा भव्य स्वागत सहित पदबहाली गरेका हुन् । पदभारको दायित्यलाई आत्मसाथ गर्दै आगामी दिनहरुमा बार्डले चलचित्र विकास सम्बन्धी नयाँ कार्ययोजना सहित चलचित्र क्षेत्रको विकासका लागि भएका केहि कमी कमजोरी सुधारेर अगाडी बढ्ने बताए । अफिस भित्र बसेर बाहिरी कुरालाई निर्याल्ने जानकारी दिँदै बक्स अफिस सु व्यवस्थित एवं निर्माणका लागि सरकारलाई दबाब दिने बताए । उक्त कार्यक्रममा नेपाल चलचित्र निर्माण संघको अध्यक्ष आकाश अधिकारीले नव नियुक्त अध्यक्षलाई बधाई तथा कार्यकालको शुभकामना दिँदै लामो समयदेखि चलचित्र क्षेत्र र बोर्ड दुरी बढिरहेको महसुस गरेकाे बताउँदै अबका दिनमा चलचित्र निर्माण तथा विस्तार सम्बन्धी केहि आशा उत्पन्न भएको बताए । ३०, ३५ वर्ष यहि क्षेत्रमा लागेका अध्यक्ष भट्टराईको नियुक्तीसँगै फिल्मी क्षेत्रमा केही आशा उत्पन्न भएको चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी जानकारी दिए । चलचित्र निर्माताको रुपमा चिनिने भट्टराईले लामो समयदेखि चलचित्र विकास बार्डमा महासचिव, वरिष्ठ तथा उपाध्यक्ष्य समाल्दै आएका थिए ।

विदेशी चलचित्र हेर्दा विदेशिन्छ वार्षिक करोडौँ नेपाली रुपैयाँ

काठमाडौं । नेपालीहरु नेपाली भाषाका चलचित्र मात्र हेर्दैनन् । विदेशी भाषाका चलचित्र हेरेर मनोरञ्जन लिने नेपालीको संख्या पनि उल्लेख्य रहेको छ । विदेशी भाषाका चलचित्र हेरेर नेपालीले मनोरञ्जन लिंदा वार्षिक रुपमा करोडौँ रुपैयाँ विदेशिने गरेको छ । नेपाल चलचित्र विकास बोर्डका अनुसार वार्षिक १ सयको हाराहारीमा विदेशी भाषामा चलचित्र नेपाली सिनेमा घरहरुमा चल्ने गरेका छन् । ती विदेशी भाषाका चलचित्रबाट कम्तिमा ५ लाखदेखि बढीमा २ करोड नेपाली रुपैयाँ विदेशिदै आएको चलचित्र विकास बोर्डका चलचित्र संग्रहालय, पुस्तकालय, प्रेक्षालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईले बताए । प्रत्येक विदेशी चलचित्रलाई आम्दानीको १५ प्रतिशत कर लगाइएकाे छ । यसरी संकलन भएको रकम मध्ये ५ प्रतिशत स्थानीय तहको विकास निर्माणका छुट्याउने गरेको चलचित्र विकास बोर्डले जानकारी दिएको छ । हलिउड र बलिउडका चलचित्र मात्रै सिनेमा घरमा प्रदर्शन नेपाली भाषाका बाहेक हाल नेपालमा हलिउड र बलिउडका चलचित्र मात्र सिनेमा घरहरुमा प्रदर्शन हुँदै आएको छ । यस वर्ष हलिउड ५० वटा र बलिवड ५० चलचित्र नेपाली सिनेमा घरमा प्रदर्शन भएको बोर्डका अधिकृत गुरागाईले बताए । नेपालमा अमेरिकन, चाइनिज, कोरियन, इजरायली, युरोपियन देशका फिल्महरु विभिन्न उत्साहका अवसरमा प्रदर्शन हुँदै आएका छन् । अमेरिकन दूतावासले प्रत्येक महिनाको तेश्रो हप्ताको विहीबार कुमारी हलमा चलचित्र प्रदर्शन गर्ने गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।