आशा लघुवित्तद्वारा कैलालीको मसुरियामा सीपमूलक तालिम संचालन

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले २०७६,बैशाख १७, १८ र १९ गते सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय मसुरिया कैलालीमा आबद्ध सदस्यहरु मध्ये ५४ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, अचार तथा दालमोठ बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रम उद्घाटन गर्दै शाखा प्रमुख आशिष थारुले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ, अचार तथा दालमोठ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ५७६ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

थियटरमा नाटक हेर्नेको भीड, ‘जोखाना’ले कमायो १६ लाख

काठमाडौं । पछिल्लो समयमा युवावर्गको नाटक प्रति रुचि बढ्दै गएको छ । विभिन्न थिएटरमा युवावर्गको घुईचो दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । अनामनगरको मण्डला थिएटरमा चैत ८ गते देखि प्रदर्शन भएको ‘जोखना’ ले ५ हप्ताको अवधिमा १६ लाख कमाएको निर्देशक किरण चाम्लिङ राई भन्छन् । हाल विद्यालय, कलेज पढ्ने विद्यार्थीहरूले थिएटर नजिकैबाट दिन प्रतिदिन नियाल्दै गरेको निर्देशक राईले बताए । सो नाटक प्रदर्शन सम्पन्न भएसँगै अझै समय थप्नु पर्ने माग आईरहेको निर्देशक बताउँछन् । नाटकबाट आम्दानी नभईरहदाँको समयमा निर्देशक राईको निर्देशनमा रहेको उक्त नाटकले १६ लाख कमाएर पछिल्लो समय आफ्नो स्थान कायम राखेको छ । सिनेमाको प्रदर्शनसँगै नाटक प्रति सर्वसाधारणको चाँसो कम हुँदै गर्दा हाल युवाबर्गको ध्यान नाटक/ थिएटर बन्न पुगेको छ । गत चैत ८ गते देखि मण्डला थिएटरमा ‘जोखना’ ले राम्राे छाप छोड्न सफल भयाे । नाटक गत चैत्र ८ गतेदेखि बैशाख १४ गते सम्म हरेकदिन साँझ ५ः१५ बजेदेखि शुरु हुने गरेको थियो । सोमबार बाहेक हरेक शनिबार दिउँसो १ बजे पनि प्रदर्शन गरेका थिए । १० वर्षे जनआन्दोलनलाई मध्यनजर गर्दै श्रीमान गाँउबाट बेपत्ता भएको समयमा एउटा महिलाले भोग्नु परेको समस्यालाई नाटकमा चित्रण गर्ने काम निर्देशक किरण चाम्लिङ राईले गरेका थिए । वियस् राईको कथा ‘जोखना’ मा आधारित रहेको छ । सबै खर्चलाई कटाएर ‘जोखना’ले खुद नाफा १० लाख कमाएको निर्देशक राईले बताए। पछिल्लो समय नाटक हेर्नेको संख्यामा कमि आउँदै गर्दा जोखना हेर्न आउनेहरुमा घुइँचो रहेको निर्माता टिमले जानकारी दिएको छ । नाटकमा समावेश विषयवस्तु समाजमा अझैपनि स्थिर रहेको परम्परागत विषयलाई भएका ‘जोखना’ कथाकार वियस् राईको ‘हिउँमाझी’ कथाकृति पढिसकेपछि उक्त नाटक निर्माण गरेको राईले बताए । नाटकमा ११ जना पात्रले यस नाटकको विषय वस्तुलाई सहज एवंम सरल ढंगबाट प्रस्तुत गरेका छन् । पात्रमा संगीता थापा, रुपेश लामा, सञ्जिव राई, अनिल सुब्बा, पवित्रा राई, निशा पाख्रिन, रवि राई, सुद्धर्शन क्षेत्री, दिवान रसाइली, मणीराज राई आदी रहेका थिए । भने नाटकको उत्पादन व्यवस्थापन सञ्जिव राईले गरेका हुन् । आफु आर्दशमा टेकेर समाधान खोजिरहने आर्दशवादी समाजको कर्तव्यलाई प्रष्ट पार्दै अग्रमन तिर जानुपर्ने विषयवस्तुलाई नाटकले स्पष्ट रुपमा जानकारी दिएको छ । द्धन्दसँगै घटेका धेरै घटना जुन अझै समाजका कुनामा रहेका छन् भन्ने विषय वस्तुलाई प्रस्तुत गर्न खोजिएको थियो । ‘जोखना’ कथालाई आधारभूमि मान्दै ‘पूर्वी संस्कृति’का लय, बिम्ब र जीवन दर्शन समेतलाई नाटकका माध्यमबाट भन्ने प्रयास गरिएको थियो । पूर्वी सांस्कृति रंगमा सशस्त्र द्धन्द्धको मिसावट रहेको ‘जोखना’ लाई नाटकको रुपमा प्रस्तुत गरेका थिए । प्रदर्शन पछिको प्रतिक्रियाले उपत्यका बाहिर नाटक प्रस्तुत गर्ने माग आईरहेको जानकारी दिँदै निर्देशक राईले आगामी दिनमा यस्तै प्रस्तुती दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।          

काठमाडौँ महानगरमा तत्काल दुई स्थानमा मात्रै आकाशे पुल, कहाँ कहाँ ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा चालु आर्थिक वर्षमानै दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ । महानगरले यसै आर्थिक वर्षको केही समय अघिनै पुल निर्माणको काम शुरु गर्ने भने पनि विभिन्न आन्तरिक व्यवस्थापनको काम गर्न नसक्दा काम हुन सकेको थिएन । विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताइए पनि तत्काल भने दुई स्थानमा निर्माण गर्न लागिएको प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । महानगरले तत्काल चाबहिल र पुरातत्व विभाग अगाडि पुल निर्माण गर्न लागेको डङ्गोलले जानकारी दिए । महानगरले चालु आव २०७५/७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट विनियोजन गरेको थियो । भौतिक पूर्वाधार निर्माण गर्न चालु आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ । नयाँ ती पुल निर्माणका लागि रु १२ करोड बजेट विनियोजन गरिएको छ । महानगरभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क, बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल सञ्चालनमा छन् । सञ्चालनमा रहेका केही पुललाई पुनःनिर्माण गर्नुपर्ने अवस्था छ । वीर अस्पताल अगाडिको पुल अत्यन्त जीर्ण भएकाले तत्काल मर्मतको आवश्यकता रहेको छ । भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने देखिएको छ । पुल निर्माण गर्ने आठ स्थानमा टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशालाचोक रहेका छन् । सवारीसाधनको अत्यधिक चाप हुने तीे क्षेत्रमा त्यस्ता पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या हुँदैआएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ । दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा महानगरले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो । रासस