टेलिकमको तार चोरी गर्ने तीन पक्राउ
काठमाडौं । नेपाल प्रहरीले नेपाल टेलिकमको केबुल (तार) चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नेपाल टेलिकम हात्तीगौँडा शाखाबाट नुवाकोटका २३ वर्षीय दिवस प्याकुरेल, भारतका १९ वर्षीय सायवकुमार शाह र १९ वर्षीय साहसीकुमार सहनीलाई सोमबार पक्राउ गरेको हो । वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले नेपाल टेलिकम हात्तीगौँडा शाखाका गेटपाले प्याकुरेलको मिलेमतोमा रु तीन लाख मूल्य बराबरको सामग्री बिक्री वितरण गर्दैगर्दा पक्राउ गरिएको जानकारी दिएका छन् । “चोरी गरेको तार पगालेर तामा बनाउने भएकाले गेटपालेले कवाडी काम गर्ने व्यक्तिको मिलेमतोमा तार काट्न लगाएकोे अनुसन्धानमा खुलेको छ”, उनले भने । प्रहरीले पक्राउ परेकासँग नेपाल टेलिकमको तारको १७ टुक्रा, नेपाल टेलिकमको मसिनो केबुल तार एक बोरा, दुई साइकल, तार काट्न प्रयोग हुने हेक्सोब्लेड एक थान बरामद गरेको छ । पक्राउ परेकालाई सोमबारै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको वृत्त प्रमुख प्रसाईँले बताएका छन् । रासस
२१ औं शताब्दीले पचाउन नसकेको कला: ‘मैनदानी’
काठमाडौं। र्यापर जोजोले बेस्ट र्यापरले अवार्ड पाएसँगै सुरुहुन्छ नाटक ‘मैनदानी ०.३’। असार १३ गते देखी अनामनगरको मण्डला थिएटरमा मन्चन भइरहेको नाटक “मैनदानी 0.८” प्रसिद्ध रुसी साहित्यकार एन्टन चेकवको छोटो कथा ‘द वर्क अफ आर्ट’ बाट प्रभावित भएर लेखिएको हो। १ घण्टा १० मिनेटको संयोग गुरागाईंको निर्देशन र परिकल्पनामा बनेको नाटकको पुरा कथा एउटा मैनदानीमा कोरिएको स्त्रीपुरुषको अन्तरंग दृश्यलाई लिएर त्यसैको वरीपरी केन्द्रित भएर घुमेको छ। कला-कलाकारलाई समाजले हेर्ने दृष्टिकोण र खोक्रो पत्रकारिताको गर्दै हिँडेका पत्रकारलाई लिएर ब्याङ्ग्य हान्दै बुनिएको कथा हो मैनदानी। एउटा गरीब परिवारका केशव आफ्नो बिरामी आमालाई उपचारमा खर्चमा सहयोग गरेका डाक्टरलाई रातो कपडामा बेरेर उपहारमा एउटा मैनदानी दिन्छन्। भर्खरै भर्खरै डाक्टरले आफ्नो छवीलाई राम्रो बनाउन प्रयास गरिरहेको अवस्थामा उपहारमा यौन लीलामा मग्न स्त्रीपुरुषको खोपिएको चित्र देखेर उनी अत्तिन्छन्। उनी आफुलाई समाजको नजरबाट हेर्न थाल्दछन् र आँफै लज्जित महसुस गरेर उपहारमा पाएको मैन्दानी आफ्ना वकिल साथीलाई दिन जान्छन्। वकिल साथीको सुरुमा कहिले उपहार नदिएको साथीले उपहार दिदा छक्क पर्छन् र मख्ख हुँदै उपहार स्विकार गर्छन्। तर जब खुशीले उनी उपहार खोल्छन् उनी अक्कनबक्क हुन्छन् उसले पनि आफुलाई समाजको नजरबाट हेर्छ र र उपहार राख्न अस्विकार गर्छन्। तर डाक्टर साथीको अनेक ढिपीको कारण उनी मैनदानी राख्न वाध्य हुन्छन्। त्यसपछी स्टेजमा वकिललाई भेट्न र्य्पार जोजो आईपुग्छन्। समाजले अस्विकार गर्ने डरले जोजोलाई वकिलले उक्त मैनदानी दिन्छन्। नाटकमा फरक सोच राख्ने एक मात्र पात्र जोजो खुशी हुँदै मैनदानी लिएर आफ्नो फ्लाट जान्छन्। उनी मुर्तीमा कला देख्छन् तर भर्खरै कन्ट्रोभर्सीबाट बाहिरिएका उनी आफुलाई फेरी त्यही विवादमा नपार्न र समाजको तिखो नजरबाट बच्नलाई अन्त्यमा त्यसलाई अस्विकार गर्छन् र अन्त्यमा सबैले अस्विकार गरेको मैनदानी गएर डाक्टरकै हातमा पर्न जान्छ। यौनबारे हाम्रो समाज कहिले पनि खुलस्त हुनसकेको छैन। यस बिषयमा कोही खुलस्त हुन्छ भने उसलाई छाडा व्यक्तीको ट्याग दिईन्छ। मैनदानीले उठाएको छोटो सोचले ग्रस्त समाज र खोक्रो पत्रकारीता समयसामायिक बिषय हो। हामी बसिरहेको समाज नामको २१ औ शताब्दीमा छ तर व्यवहारमा शायद १८ औं शताब्धी भन्दा कम छैन। समाजमा अझै पनि मानिसहरु यौनलाई लिएर निकै नै नकरात्मक देखिन्छन् तर केवल पर्दा बाहिर। पर्दा भित्र समाजलाई जे गरे नि चल्छ तर पर्दा बाहिर समाज हामीलाई यौनको बिषयको मुख नखोल्न आग्रह गर्छ। उनिहरु यौनको बिषयमा कुरा नगर्नेलाई सभ्य व्यक्तीको ट्याग दिन्छन्। यसकारण पनि धेरै व्यक्तीहरु यस बिषयमा मुख खोल्न लाज मान्छन्, उनीहरुको मनमा सधैं एउटै डर हुन्छ – समाज। लाईक र भ्युजको लागि एुउटा क्यामारा लिएर कलाकारको पछाडी दौडिने र साना साना बिषयलाई लिएर ठुलो विवाद खडा गर्ने पत्रकारहरुलाई नाटकले व्याङग हानेको छ। कलाकारको उतार चढाव आफ्नो हातमा भएको भन्ने सोच भएका केही पत्रकार उनको मेहनतलाई भने चानचुने सम्झने गरेका छन्। कथाले समाजमा भएको कला र अश्लिलता बीचको द्वन्द्व नाटकमा उतारेको छ। नाटकले तपाईलाई १ घण्टा १० मिनेट हँसाइ हँसाई एकपटक हाम्रो सोचलाई प्रश्न गर्न बाध्य बनाउँछ। नाटकको सबैभन्दा सबल पक्ष भनेको कलाकारको भावलाई प्रस्टाउन प्रयोग गरिएको लाईट रहेको छ। यस्तै स्टेजमा हरेक पटक स्थान बद्लिएको अवस्थामा प्रयोग भएका सबै सामानहरुलाई रंगाउन प्रयोग गरिएको कालो र सेतो रंगको संयोजन पनि राम्रैसँग भएको छ। यसले समाजमा साकरात्मक र नकरात्मक दुवै सोच भएका मानिसहरु रहेको भन्ने बुझ्न सकिन्छ। साथै नाटकमा रातो कपडामा बेरिएको मैनदानी, रातो कुर्सी, रातो रंगको लाइटले जोजोको क्रान्तिकारी भाव झल्काउँछ। जोजोले मैनदानी फिर्ता गरेसँगै सबै राता रंगहरु पनि हराएर जान्छन्। यो उनको क्रान्ति भाव प्रति समाजले लगाएको बन्देज हो भन्ने बुझ्न सकिन्छ। सिक्का इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको मैनदानीमा आयान खड्का, विकास पन्त,अंकित खड्का, देविशा लामिछाने, इंगी होपो कोँइच सुनुवार, मिलन कार्की, देविन चौधरी, नीकिता आचार्य, जेनी सुनुवार, रिजन परियार, सागर खाती लगायतका कलाकारहरु अभिनय हेर्न सकिन्छ। साउन ५ गतेसम्म मञ्चन हुने नाटक सोमबार बाहेक हरेक साँझ ५:१५ मा सुरु हुनेछ। निर्माता युनिक केसीका अनुसार शनिबार अतिरिक्त शो दिउसो १ बजे पनि रहनेछ।
वैदेशिक रोजगारीः वर्षौं काम गरेर रित्तैहात फिर्छन् नेपाली
काठमाडौँ । तपाईंका आफन्त, साथीभाइ, छरछिमेकी रोजगारीका सिलसिलामा कुनै न कुनै मुलुक पुगेको त देख्नुभएकै होला । विदेशमा काम गर्न गएका उनीहरुले पक्कै पनि राम्रै कमाई गरिरहेका छन् भन्ने लगभग सबैको अनुमान हुन्छ । वैदेशिक रोजागरीमा जाने श्रमिकले आकर्षक कमाई, आरामदायी बसोबास, पर्याप्त सेवासुविधा अनि, यस्तैयस्तै अवसर प्राप्त गर्दछन् आम मानिसको बुझाइ पाइन्छ । चर्को ब्याजको भारी बोकेर ठूलो धनराशी खर्चदैँ विदेशिएका युवाले वर्षौंवर्ष काम गर्दा पनि रित्तो हात फर्कनुपर्ने तीतो यथार्थ भने कमैले सुनेका हुन्छन् । अझै पनि सम्झौताअनुसारका काम र पारिश्रमिक प्राप्त गर्ने अवस्थाबाट वञ्चित हुनु सामान्य नै देखिएको छ । राम्रो कमाउने, घरपरिवारलाई सुखसाथ पाल्ने, सन्तानलाई उचित शिक्षादीक्षा दिने अभिलाषा राखी उडेका सयौँ नेपालीका सपना अझै पनि खाडीलगायत कतिपय गन्तव्य मुलुकमा ‘उडेका उड्यै’ छन् । कति त सपनालाई सधैँका लागि छाडेर बन्द बाकसमा फर्किन विवश छन् । यस्तै दैनिक गर्जो टार्न साउदी अरेबिया भासिएका सर्लाहीको तत्कालीन ब्रह्मपुरी गाविस–६ का ३६ वर्षीय सोमन साह रौनियार ४० महीनापछि झण्डै रित्तै स्वदेश फर्किएका छन् । साउँ–अक्षर नचिन्नुभएका उहाँ एजेण्टले थमाइदिएको श्रम स्वीकृति, करारपत्र र हवाई टिकटका भरमा साउदी उडे । एजेण्टले उनलाई ‘सेल्स म्यान’को काम भन्दै कृषि मजदूरको सम्झौता हातमा थमाइदिएको थियो । रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेबित्तिकै रौनियारलाई सो स्थानबाट करीब ३३५ किलोमिटर टाढा जङ्गलमा लगियो । त्यतिबेलै उहाँलाई मनमा लागेको थियो, “सेल्स म्यानको कामका लागि जङ्गलमा त नलैजानुपर्ने ।” जङ्गलमा लगेपछि उहाँलाई जबर्जस्ती खेतीपातीको काम गर्न लगाइयो तर विना पारिश्रमिक । दुई वर्षको प्रवेशाज्ञा र श्रम स्वीकृति लिएर जानुभएका रौनियारलाई मुबारक फार्मले जबर्जस्ती झण्डै साढे तीन वर्ष काममा लगायो । मासिक साउदी रियाल एक हजार पारिश्रमिक र खाना–बस्न साउदी रियाल २०० दिने सम्झौता भए पनि उहाँले कुनै महिना पनि सम्झौताअनुसारको पारिश्रमिक प्राप्त गरेनन् । “सम्झौतामा उल्लेख भएअनुसार मैले झण्डै साउदी रियाल ५० हजार प्राप्त गर्नुपर्ने थियो”, अलपत्र कामदारको उद्धार तथा पुनस्र्थापनामा क्रियाशील प्रवासी नेपाली समन्वय समितिले आयोजना गरेको कार्यक्रममा रौनियारले भने, “मैले विभिन्न चरणमा गरेर साउदी रियाल २१ हजार २५० मात्र पाएको छु ।” जङ्गलको बीचमा रहेको कृषि फार्ममा आफूलाई जबर्जस्ती काममा लगाइएको उनले बताए । “कहिले खेतमा ट्र्याक्टरले जोत्न लगाउँथ्यो”, उनले भने, “कहिले ऊँट, बाख्रा हेर्न लगाउँथ्यो ।” रौनियारले दुई वर्षको करार अवधि सकिएपछि नेपाल फर्कन्छु भन्दा आफूलाई मालिकले फार्मबाट बाहिर निस्कन नदिएर बन्दी बनाएको बताए । उनले पारिश्रमिक प्राप्त गर्ने आशामा आफू सो कम्पनीबाट भाग्न नसकेको सुनाए । उक्त फार्ममा छ जना नेपाली काम गर्दै आएका थिए । अन्य मुलुकबाट गएको श्रमिकलाई पनि जबर्जस्ती काममा लगाइएको उनको भनाइ छ । छ महीनाअघि रित्तो हात स्वदेश फर्कनुभएका रौनियार खाडीमा बगेको रगत र पसिनाको मूल्य खोज्न म्यानपावरको ढोका ढक्ढक्याउन राजधानीमा पापड पेल्दै छन् । उनी कसमस नेपाल ह्युमन रिसोर्सेस प्रालिबाट २०७२ सालमा साउदी उडेका थिए । यसैगरी मोरङका २९ वर्षीय दिनेश खड्का, धनुषाका ४९ वर्षीय रोशन प्रमानीलगायत युवा खाडीमा बगेका पसिनाको मूल्य खोज्दै कागजको ठेली बोकेर म्यानपावर धाइरहेका छन् । “न त पैसा कमाइयो, न त साथमा पैसा नै छ”, राजधानीस्थित प्रवासी नेपाली समन्वय समितिको आश्रयस्थलमा बस्दै आएका प्रमानीले भने, “सयकडा तीनका दरले ऋण काडेर विदेश गइयो, रित्तै हात फिर्नु परेको छ, अब कसरी घर जाऊँ ।” म्यानपावरले भने एक साताभित्र बाँकी रकम उपलब्ध गराइदिने वचन दिएको छ । रित्तो हात फिर्न विवश नेपालीलाई समितिले पसिनाको मूल्य खोज्न कानूनी सहायता उपलब्ध गराएको छ । उनीहरु अहिले समितिको आश्रयमा बस्दै आएका छन् । पारिश्रमिक नपाउने घटना कतारमा बढी सन् २०१८ मा गन्तव्य मुलुकका विभिन्न कम्पनीमा काम गर्दा पारिश्रमिक नपाएको भन्दै समितिमा २५४ वटा घटना दर्ता भएको थियो । दर्ता भएका २५४ मध्ये १०० घटनालाई आधार बनाएर गरिएको नमूना अध्ययनमा सबैभन्दा बढी कतारमा काम गर्ने २९ नेपाली कामदारले पारिश्रमिकबाट वञ्चित भएको पाइएको छ । त्यस्तै साउदी अरबमा २५, मलेसियामा २१, संयुक्त अरब इमिरेट्स्मा १३, कुवेतमा छ, अल्जेरियामा पाँच र माल्दिभ्समा एक जनाले पारिश्रमिक प्राप्त नगरेको पाइएको समितिले जनाएको छ । अध्ययनका क्रममा ६७ जनाले कम्पनीको लापरवाहीका कारण आफूहरुले पारिश्रमिक नपाएको बताएका थिए । त्यस्तै १५ ले कम्पनीमा काम नभएकाले तथा आठ जनाले फरक कामको विरोध गरेकाले आफूहरुलाई पारिश्रमिकबाट वञ्चित गराइएको बताएका थिए । ‘प्रवासी कामदारका लागि प्रवासी कामदारद्वारा’ सन् २००९ मा स्थापित समितिले हालसम्म एक लाख २० हजारभन्दा बढी आप्रवासी कामदारको उद्धार तथा राहतमा सहजीकरण गरिएको जनाएको छ । स्थापनाकालदेखि नै विपद्मा परेका प्रवासी कामदारको उद्धार तथा पुनस्र्थापनामा क्रियाशील समितिले हालसम्म ५०० भन्दा बढी प्रभावित कामदारलाई आवास सुविधा प्रदान गरेको छ । समितिले प्रवासमा अलपत्र परेका नेपाली कामदारको उद्धार तथा स्वदेश फिर्ती प्रक्रियामा सहजीकरण, सुरक्षित वैदेशिक रोजगारका बारेमा जनचेतामूलक कार्यक्रम सञ्चालन, पैरवी तथा वकालत, शैक्षिक सहयोग तथा कानूनी प्रक्रियाका लागि सिफारिसलगायत गतिविधि गर्दै आएको अध्यक्ष कुलप्रसाद कार्कीले बताए ।