१८ औं तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला २०७६ काठमाडौंसहित अन्य २ शहरमा हुने

काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले साउन र भदौ महिनामा ‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला २०१९’ इन एसोसिएसन विथ सेफ्टी’ आयोजना गर्ने भएको छ । नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १८ वर्षदेखि संचालन हुँदै आएको तीज फेस्टिवलको यो १८ औं संस्करण नेपालका विभिन्न ३ शहरहरुमा आयोजना हुने भएको छ । सन् २००२ देखि काठमाडौंको भृकुटीमण्डपमा मात्र आयोजना हुने गरेको तीज फेस्टिवल–शिर्जनशिल उद्यमी मेला यो वर्षदेखि प्रदेश नम्बर १ को ईटहरी र प्रदेश नम्बर ३ को हेटौंडामा पनि आयोजना हुने भएको छ । काठमाडौंमा यही साउन १६ गतेदेखि २० गतेसम्म आयोजना हुनेछ भने ईटहरीमा साउन ३० देखि ३२ गतेसम्म संचालन हुनेछ । हेटौंडामा भने तीज मेला भाद्र ५ गतेदेखि ७ गतेसम्म आयोजना हुँदै ‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०१९’ इन एसोसिएसन विथ सेफ्टी’को समापन पनि हुनेछ । प्रदर्शनीलाई आकर्षक र मनोरन्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निशुल्क मेहन्दी लगाउने कार्यक्रम, निशुल्क कपाल कटिंग कार्यशाला, बालबालिकाहरुका लागि गेमिंग जोन, लाइभ म्यूजिक एण्ड कल्चर प्रोग्राम लगायतका कार्यक्रम राखिएको छ । प्रर्दशनीमा विभिन्न व्यवसायीक कम्पनी संघ संस्थाहरुसँग सम्पर्क बिस्तार र व्यवसाय वृद्धिको लागि छुट्टै प्लेटफर्म तयार पारिएको छ भने महिला उद्यमशीलताको लागि सेमिनारको कार्यक्रम पनि राखिएको छ ।

विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप फाइनल खेल अब धरानमा

धरान । विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश नं १ लिग फुटबल प्रतियोगिताको अन्तिम चरणको फाइनल खेल धरानमा सारिएको छ । विराटनगरको शहीद रङ्गशालामा वर्षाको कारण पानी जमेर खेल आयोजना हुने अवस्था नभएपछि प्रतियोगिता धरानमा सारिएको प्रदेश लिग आयोजक समितिका अध्यक्ष एवं एन्फाका केन्द्रीय प्रवक्ता किरण राईले जानकारी दिएका छन् । असार २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता धरान १६ स्थित प्रस्तावित प्रादेशिक रङ्गशालामा हुने उनले बताएका हुन् । प्रतियोगिताको अन्तिम चरणका लागि धरान फुटबल क्लब, बौद्धिक विकास समाज धनकुटा, बेलबारी फुटबल क्लब मोरङ, सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका लागि रु एक करोड प्रदेश सरकार र रु ३३ लाख अखिल नेपाल फुटबल सङ्घ एन्फाले उपलब्ध गराएको छ । आयोजक एन्फाले लिग उपाधि विजेताको लागि करिब साढे चार किलो चाँदीको ट्रफी तयार गरेको छ । रासस

राष्ट्रिय क्रिकेट विजेता टोली आज स्वदेश फर्कंदै

  काठमाडौं । एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वेदेश फर्कंदै छ । मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको उपाधि विजेता टोली बुधबार राति साँढे ९ बजे काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्न लागेको हो । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हिजो भएको फाइनल खेलमा नेपालले हङ्कङलाई छ विकेटले हराउँदै उपाधि हासिल गरेको थियो । यस प्रतियोगितामा नेपालले लगातार दोस्रो जीत हात पारेको थियो । यसअघि सन् २०१७ मा मलेसियामा नै भएको फाइनल खेलमा नेपालले हङ्कङलाई नै पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो । जीतसँगै नेपाल यु–१९ एशिया कपमा समेत प्रवेश गरेको छ । श्रीलङ्कामा आगामी भदौ ११ गतेदेखि शुरु हुने एशिया कपमा भारत, पाकिस्तान, आयोजक श्रीलङ्का, बङ्गलादेश, संयुक्त अरब इमिरेट्स (युएई) र कुवेत सहभागी हुनेछन् । रासस