बाँसका हस्तकला सामाग्री निर्माण सम्बन्धी तीन महिने तालिम शुरु
काठमाडौँ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौडाको सहयोग तथा हिमालयन मानव अधिकारकर्मी समूह हिमराइट्सको आयोजनामा बाँसको हस्तकला सामाग्री निर्माण सम्बन्धी तीन महिने निःशुल्क तालिम शुरु भएको छ । मकवानपुरको मनहरी वडा नं ३ स्थित लामिटारमा साउन २४ गतेदेखि तालिम शुरु भएको हो । हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबाको सभाध्यक्षता , मनहरी गाउँ पालिकाका उपाध्यक्ष मनिला विष्टको प्रमुख आतिथ्यता तथा मनहरी गाउँ पालिका वडा नं ३ का वडा अध्यक्ष मानबहादुर स्याड.तान र व्यवसायिक सीप विकास केन्द्रका केन्द्र प्रमुख युवराज गुरुङको विशेष उपस्थितीमा तालिम उद्घाटन भएको हो । तालिममा स्थानीय चेपाङ, राई, दलित लगायत अन्य जातिका गरी १५ जनाको सहभागिता रहेको छ ।
बकर इद पर्व मनाइँदै, देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेन नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान (बलि) दिने विधान रहेको बताउँछन् । “बलि दिएको खसीको मासुलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ”, उनले भने । घण्टाघरस्थित नेपाली जामे मस्जिदमा सोमबार बिहान ८ बजे नै नमाज पढ्ने कार्यक्रम छ । यस पर्वका अवसरमा प्रदेश नं २ र ५ सरकारले सार्वजनिक बिदा दिने घोषणा गरिसकेका छन् । हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए । “अल्लाहको आदेश इब्राहिमलाई तेरो नजीकको प्यारो चीज कुर्वान ९बलिदान० दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर् भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन शुरु भएको हो”, पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उनले भने । मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वका आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए । “जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सरेका थिए, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, उनले भने । इद सोमबारदेखि बुधबारसम्म तीन दिन मनाइन्छ । बुधबार सूर्यास्तअघि नै मुस्लिम धर्मावलम्बीले बलि (कुर्वान) दिनुपर्ने धार्मिक विधान छ ।
श्रेष्ठ दम्पतीद्वारा दुई लाखको शैक्षिक अक्षयकोष स्थापना
बागलुङ । बालबालिकाको पढाइमा सघाउने उद्देश्यले यहाँका एक दम्पतीले शैक्षिक अक्षयकोष स्थापना गरेको छ । बागलुङ बजार निवासी व्यवसायी कमलप्रसाद श्रेष्ठ र उहाँकी श्रीमती सिर्जनाले रु दुई लाखको ‘कमल–सिर्जना श्रेष्ठ शैक्षिक कोष–२०७६’ घोषणा गरेका हुन् । अक्षयकोष नेपाल भाषा मंका खलः बागलुङमार्फत सञ्चालन हुनेछ । कोषबाट आउने ब्याजबाट वर्षेनी दश नेवार समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिने भएको छ । मंका खलःबाट आएको कोषको प्रस्तावलाई आफूहरुले स्वीकार गरेको श्रेष्ठ दम्पतीले बताएका छन् । “आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको पठनपाठनमा सघाउने गरी अक्षयकोष खडा गरेका हौँ” कोषका संस्थापक कमलप्रसादले भने । कोषबाट सोमबार १० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । मंका खलःले शिक्षासँगै कला, संस्कृति लगायतका क्षेत्रमा पनि अक्षयकोष स्थापनाका लागि पहल गरिरहेको छ । रासस