एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ । योसँगै इनरुवामा ११ डेङ्गु सङ्क्रमित बिरामी फेला परेको उक्त नगरपालिकाले पुष्टि गरेको छ । डेङ्गु सङ्क्रिमतको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको इनरुवा अस्पताल आकस्मिक कक्षले जनाएको छ । नमूना परीक्षणका क्रममा २० जनाभन्दा बढीमा डेङ्गुको सङ्क्रमण फेला परिसकेको आकस्मिक कक्षमा कार्यरत वरिष्ठ अहेब गुणानन्द झाले बताए । ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको भएकाले उक्त रोगको सङ्क्रमितको सङ्ख्या बढ्नसक्ने स्वास्थ्यकर्मीको अनुमान छ । यसरी, नगर क्षेत्रभित्र एकसाथ डेङ्गुका बिरामी फेला परेपछि नगरपालिकाको आपत्कालीन बैठकले शिक्षा शाखा प्रमुख डिल्ली निरौलाको संयोजकत्वमा डेङ्गु नियन्त्रण तथा प्रचारप्रसार समितिसमेत गठन गरेकोे छ । संयोजक निरौलाका अनुसार इनरुवा– ४ मा सात, वडा नं ५ मा चार र वडा नं ३ मा एक जनामा उक्त सङ्क्रमण देखिएकोे हो । जिवाणुका कारण सङ्क्रमण फैलने भएकाले बैठकको निर्णयअनुसार नियन्त्रणका उपाय अवलम्बन गर्नाका साथै जनचेतना फैलाउन समितिले तत्कालै काम थालिने उनले जानकारी दिएका छन् । इनरुवा अस्पतालमा स्वास्थ्यकर्मी चौबिसै घण्टा रहने गरी ‘हेल्प डेस्क’ राख्ने तयारीसमेत थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडामा विषादी छिट्ने कामसमेत शुरु गरिसकेको छ । वडातहसम्म जनचेतना फैलाउनका लागि अभियान थालिसकिएको नगरप्रमुख राजन मेहताले बताए । विद्यार्थी, शिक्षक हुँदै अभिभावकसहित स्थानीय सङ्घसंस्थालाई डेङ्गु नियन्त्रण र सचेतना अभियानमा सक्रिय सहभागिताका लागि आह्वानसमेत गरिएको उनको भनाइ थियो । रासस

पोखरामा दक्षिण एशियाली खेलका लागि ह्याण्डबल प्रशिक्षणको शुभारम्भ

चिप्लेढुंगा । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरी बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन् । उक्त प्रशिक्षणमा परिषद्का सदस्य गुरुङले खेलाडीलाई शुभकामना दिँदै राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । गुरुङले तोकिएकै समयमा नेपालमा साग हुने बताएका हुन् । उनले खेलाडी र प्रशिक्षकलाई भत्तालगायतका सुविधा थप गर्न परिषद्ले गृहकार्य थालेको समेत जानकारी दिए । कार्यक्रममा नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङले खेलाडीलाई आफ्नो अनुशासनमा रही पदक जितेर राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलाडीलाई आग्रह गरेका छन् । सागअन्तर्गत बन्द प्रशिक्षणका लागि २८ महिला र २८ पुरुष गरी ५६ खेलाडी पहिलो चरणको छनोटमा परेका छन् । सागको महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा २०७६ मङ्सिर १५ देखि २४ सम्म हुनेछ । रासस

एनसीसी बैंकद्वारा रौतहटका बाढीपीडितलाई राहत वितरण

काठमाडौँ । रौतहट जिल्लाको यमुनामाई गाउँ पालिका स्थित एनसीसी बैंकको शाखा कार्यालयद्वारा बाढी पीडित परिवारलाई राहत वितरण गरिएको छ । यमुनामाई-४ का बाढी पीडितलाई विहीबार बैंकले राहत वितरण गरेको हो । स्थानीय ३० परिवारलाई १५ दिनसम्म पुग्ने दाल, चामल, नून, आलु लगायतका सामाग्री बितरण गरेको शाखा प्रबन्धक उज्वल रिजालले जानकारी दिए । असार महिनाको अन्तिम साता वर्षासँगै आएको बाढीबाट पीडित भएका परिवारलाई खाद्यान्य सहयोग गरेकोमा वडा नम्बर ४ का अध्यक्ष चेतन राय यादवले खुशी व्यक्त गरे ।