फिफा विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा
काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३१ खेलाडीको घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट खेल आगामी भदौ १९ गतेदेखि शुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्नेछ । नेपालले भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय भएता पनि दशरथ रङ्गशालाको पुनःनिर्माण कार्य नसकिदा कुवेतमा नै गएर खेल्ने पक्का भएको छ । नेपालले कुवेतसँग होम एण्ड अवे दुवै खेल कुवेतमा नै खेल्नेछ । छनोट हुने प्रारम्भिक टोलीको गोलरक्षकमा किरणकुमार लिम्बु, एलन न्यौपाने, विकेश कुथु, विशाल श्रेष्ठ छन् । डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रन्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी र बिमल पाण्डे छन् । त्यसैगरी, मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेव गुरुङ, हेमन गुरुङ, सुभाष गुरुङ छन् । स्ट्राइकरमा विमल घर्तीमगर, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट र भरत खवास छन् । रासस
अशक्त आनन्दको परिश्रमः ‘न हात न खुट्टा, कोर्छन् आकर्षक बुट्टा’
काठमाडौँ । प्लिज लुक माई आर्ट, प्लिज हेल्प मी, गिभ मी द डोनेशन एण्ड आई सेल दिस पिक्चर । काठमाडौको रत्नपार्क पुग्दा यी आवाज तपाईँले पनि पटक पटक सुन्नु भएको छ । रत्नपार्कको फुटपाथमा यी आवाजहरु पटक पटक गुञ्जिरहन्छ । यही आवाज परिवार केही मानिसका जमातले घेरिएको हुन्छन् एकजना युवक । छेउमै बैशाखी, बैशाखीको नजिकै बिभिन्न रङ्गका कलमहरु, त्यसैको दायाँपट्टी उनले कोरेका विभिन्न आकृतिका चित्रहरुको संगालो, बायाँपट्टी सहयोग गुहार मागिरहेको स्पिकर, र त्यसैको सामुन्ने पैसा राख्ने बास्केट । तिनै सामानहरुको बीचैमा बसेर चित्र कोर्न ब्यस्त देखिन्थे हातखुट्टाविहीन एक युवक । दुवै हात र एक खुट्टाविहीन ती युवा आनन्द पासवान हुन् । हातखुट्टाविहीन आनन्दको चित्र कोर्ने कला देखेर तपाईँ हामी जो कोहीपनि छक्क पर्छौँ । काठमाडौंमा माग्नेहरुको संख्या उल्लेख्य छ । हातखुट्टा हुँदा हुँदै पनि पैसा माग्दै भाँडो थाप्नेहरु सयौं छन् राजधानीमा । तर, अन्य माग्नेहरु र आनन्द पासवानलाई हेर्ने नजर बेग्लै देखिन्छ । २१ वर्षीय आनन्द पासवानको घर भारतको बिहार हो । तर, उनको परिवार विगत ४०-५० वर्षदेखि नेपालमा बस्दै आएको छ । जन्मजातै अपाङ्गता भएका आनन्दको कलाले भने अचम्म कै छ । न हात छन्, न खुट्टा छन् । तर चित्र र विभिन्न आकारका बुट्टाहरु भने सुन्दर सुन्दर । उनका ती चित्रहरु सुन्दर मात्र होईन मनमोहक र आकर्षक पनि छन् । नामका आनन्द कामले भने कहिल्यै आनन्द हुन सकेनन्् । किनकी उनी आफैमा अपाङ्ग, त्यसैमाथि घरको सम्पूर्ण जिम्मेवारी उनीमाथि नै छ । ६ वर्षदेखि सडकमा ६ वर्षको उमेरमा कत्तिले त आमाको दूध पनि छोडेका हुँदैनन् । घरबाट बाहिर निस्कदैनन्, भर्खर विद्यालय जान शुरु गर्छन् । तर, आनन्द पासवानको हकमा भने त्यो अवस्था लागु हुन सकेन । त्यतिखेर उनको दैनिकी सडकको धुलोमाटो र गिट्टी वालुवासँग रम्थ्यो । दिनभरीसडकमा हिँड्ने बटुवाहरुबाट मागेर दैनिकी गुजार्थे । हुन् त उनका बुवा पनि थिए घरपरिवार चलाउने । तर, उनका बुवा धेरै रक्सी खाएका कारण त्यति काम गर्न नसकेको उनी बताउँछन् । यसरी नै उनको दैनिकी बित्न थाल्यो । उनलाई साथैदेखि चित्र कोर्ने रुचि थियो, तर त्यो सामाथ्र्य भने उनमा थिएन । किनकी चित्र कोर्नका लागि केही सामाग्रीहरुको आवश्यकता पथ्र्यो । ती सामाग्री खरिद गर्न सक्ने पनि उनको हैसियत थिएन । उनी आर्थिक अभावमा पिल्सिएका थिए । एकातिर उनको चित्र कोर्ने इच्छाले उनलाई उत्प्रेरित र उत्साहित गथ्र्यो भने अर्कातर्फ आर्थिक अभावले निरुत्साहित बनाउँथ्यो । एकदिन उनले जसोतसो मागेको पैसाबाट केही चित्र कोर्ने सामानहरु खरिद गरेर शुरु गरे चित्र र बुट्टाहरु कोर्ने काम । शारीरिक रुपमा अपाङ्ग, त्यस्तो व्यक्तिले आकर्षक चित्रहरु कोरेको देखेर मानिसहरु उनीप्रति आकर्षित हुँदै गए । कोहीले उनका चित्र खरिद गरेर त कोहीले केही पैसा उनलाई दिएर जान्थे । यसरी नै उनको दैनिकी बित्दै गयो । अहिले उनी २१ वर्षको हुँदा सम्म पनि त्यही ठाउँमा छन् । त्यही काम गरिरहेका छनु् । शिक्षाको नाममा उनलाई विद्यालय कस्तो हुन्छ थाहा छैन । तर घरमै स्व–अध्ययन गरेर उनले केही अंग्रेजी भाषा र शब्दहरु जानेका छन् । उनी भन्छन्, जाँडरक्सी पिएकै कारण मृगौला फेल भएर ६÷७ वर्ष अगाडि उनका बुवाको मृत्यु भयो, ‘बुवाको मृत्यु भएसँगै घरको सबै जिम्मेवारी थपिएको बताउँछन् । हुन् त आनन्दका २ दाजु र १ दिदी पनि छन् । तर दाजुहरु के गर्छन्, कहाँ छन् उनलाई अत्तोपत्तो छैन । अहिले उनीसँग उनकी आमा, श्रीमती र एक पाँच महिनाकी छोरीपनिछन् । अहिले आनन्द दिनभर सडकमै बसेर चित्र बनाउँछन् । दैनिक पाँच सयदेखि पन्ध्र सयसम्म आम्दानी आनन्द पासवान दैनिक २० देखि २५ वटा चित्रहरु कोर्छन । उनी चित्रका साथसाथै केही सुनौला बुट्टाहरु पनि कोर्छन् । दैनिक चित्रहरु कोरेर पाँच सयदेखि पन्ध्र सयसम्म आम्दानी गर्ने गरेको उनी बताउँछन् । चित्रहरु बिक्री भयो भने कमाई हुन्छ, नत्र मान्छेहरुले त्यहि बास्केटमा राखेको पैसा लिएर साँझ घर जान्छु, उनले भने,–‘घर मेरो भरमा चलेको छ ।’ आनन्द शारीरिक रुपमा अशक्त अपाङ्ग/अशक्त भएपनि आफ्नो सबै काम आफँै गर्न सक्छन् । उनी आफुलाई चित्रहरु कोर्दा चाहिने सक्पूर्ण सामानहरु झोलामा हालेर बैशाखी टेक्दै ल्याउने लैजाने गर्छन । हातखुट्टा भएरपनि देशमा काम छैन भनेर बेकामे बन्नेहरुका लागि आनन्द गतिला उदाहरण बनेका छन् । उनी भन्छन्,‘मेरो न हात छन् न खुट्टा छन्, तर म मेरो परिवारलाई सन्तुष्ट बनाउने प्रयास गरिरहेको छ । संघर्ष गरेर काम गर्यो भने अवश्य सफलता हात लाग्छ । उनी भन्छन्–‘मैले विद्यालय नगएरै स्व–अध्ययन गरेर अहिले यतिको काम गर्न सक्ने भएको छु ।’ कुनै सीप सिकेर त्यसैमा लागि रह्यो भने सफलता हासिल गर्न सकिने उनी बताउँछन् ।
रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने, डिपिआरमा प्रदेश सरकारकाे एक कराेड
ओखलढुंगा । रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने भएको छ । प्रदेश नं १ सरकारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ मा पर्ने रुम्जाटार क्षेत्रमा ‘स्मार्ट सिटी’ बनाउने भएको हो । प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङले आफूले निर्वाचनमा गरेको वाचाअनुसार रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यसाथ काम भइरहेको जानकारी दिए । सांसद गुरुङले भने, “प्रदेश सरकारको प्रमुख योजनामा यो परिसकेको छ, रातो किताबमा परेर बजेटसमेत छुट्याइसकेकाले सम्भव भए मेरो कार्यकालभित्रै नभए पनि केही वर्षभित्र सम्पन्न गराउने गरी काम शुरु भइसकेको छ ।” अब तत्काल विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन थालिनेछ । विज्ञहरुद्वारा सम्भाव्यता अध्ययनसहितका काम सकिएको छ । डिपिआर बनाउन प्रदेश सरकारले एक करोड रकम विनियोजन गरेको छ । यसै वर्ष सो सम्बन्धी आधारभूत आयोजना शुरु हुनेछ । बजार व्यवस्थापन, ढल तथा सडक सुधार लगायतका काम गर्न प्रदेश सरकारले क्रमागत योजनामा राखेर बजेट विनियोजन गरेको प्रदेशको रातो किताबमा उल्लेख छ । रुम्जाटार पूर्वी पहाडको समथर भूभाग भएको ठाउँ हो । गुरुङ समुदायको बाहुल्यता रहेको यहाँ भेँडाको ऊनबाट बनाइने राडीपाखीका लागि चर्चित मानिन्छ । पछिल्लो समय लाहुर जाने, जागिर खाने र सुविधा सम्पन्न शहरमा बसोबास गर्नेहरु बढेकोले यो अवधारणाले सबैलाई लोभ्याएको पूर्वगाविस अध्यक्ष सीताराम गुरुङले बताए । यसले गर्दा सुविधाको खोजीमा हिँडेकाहरु गाउँ फर्किने सम्भावना रहेको उनको भनाइ छ । गुरुङले भने, “साँच्चिकै स्मार्ट सिटीको अवधारणअनुसारको काम भए र सेवासुविधा त्यहाँ भए स्वर्गजस्तो हावापानी पाइने ठाउँमा जो पनि फर्कन्छ ।” सम्भाव्यता अध्ययनका लागि आएको विज्ञसहितको सरकारी टोलीसँग स्थानीयवासीले उक्त कार्यका लागि सक्दो सहयोग गर्ने बताइसकेका छन् । रुम्जाटार ‘स्मार्ट सिटी’का विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईलेसमेतले सम्बोधन गरिसकेका छन् । केही समयअघि सिद्धिचरण नगरमा बनाइएको स्रष्टापार्क उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले रुम्जाटारमा बनाइने ‘स्मार्ट सिटी’ ले मुलुकको परिचय बदल्ने बताएका थिए । “ प्रदेश सरकारले रुम्जाटारमा बनाउने लागेको स्मार्ट सिटी यो जिल्लाको मात्रै होइन देशकै घुम्न लायक शहर बन्नेछ”, राष्ट्रपति भण्डारीले भनिन्, “रुम्जाटार र यहाँ बन्ने आधुनिक शहर देखाएर मुलुकले देश–विदेशका पर्यटक ल्याउन सक्छ ।” जनचाहना र दिगो विकासलाई ख्याल गरेर ‘स्मार्ट सिटी’ बनाउने अभियानमा जुट्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले रुम्जाटारमा ‘स्मार्ट सिटी’ बनाउन लागेर प्रदेश सरकारले सम्भावनाको खोजी गरेको बताए । ओखलढुङ्गा महोत्सवको उद्घाटन गर्दै पोखरेलले भनेका थिए, “मुलुकका तीन वटै तहका सरकार नयाँ काम गरेर समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा छन् । नवीनतम् कामहरु भइरहेका छन् ।” यस्तैगरी, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले रुम्जाटार ‘स्मार्ट सिटी’ निर्माणको योजना प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । त्यसका लागि आवश्यक बजेट क्रमागत रुपमा विनियोजन गर्ने लक्ष्य राखिएको मुख्यमन्त्री राईको भनाइ छ । “रुम्जाटार सम्भावना भएर पनि ओझेलमा परेको ठाँउ रहेछ, सांसद अम्बिरबाबु गुरुङले सम्भाव्यता झल्काउने भएपछि प्रदेश सरकारले यसलाई नमूना आधुनिक शहर बनाउने काम थालिसकेको छ”, राईले भने, “थालेको काम पूरा गर्ने दायित्व हाम्रो हुनेछ । सकेसम्म छिटो र राम्रो काम गरेर नमूना प्रदर्शन गर्न चाहन्छौँ ।” प्रदेश सरकारले प्रदेशका सम्भावित ठाउँहरुमा एकीकृत नमूना बस्ती र ‘स्मार्ट सिटी’ निर्माणको अवधारणा ल्याएको उनको भनाइ छ । यसरी, रुम्जाटारमा प्रदेश सरकारको सहयोग र स्थानीयवासीको पहलमा प्रदेश नं १ कै नमूना गुम्बा निर्माण भइसकेको छ । लामो समय ठप्प रहेको रुम्जाटार विमानस्थलमा गत महिनादेखि नियमित उडान भइरहेको छ । उक्त ‘स्मार्ट सिटी’मा भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार अत्याधुनिक हुनेछ । यसलाई पूर्ण व्यवस्थित शहरका रुपमा परिभाषित गरिनेछ । रासस