जनता बैंकद्वारा जनभोजनका लागि प्रेमसागर फाउण्डेसनलाई २ लाख सहयोग
काठमाडौं । जनता बैंकले प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजन (फुड फर पिपुल) लाई २ लाख सहयोग हस्तान्तरण गरेको छ । उक्त जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर र धादिङमा एक कार्यक्रमका बीच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई हस्तान्तरण गरेको हो । प्रेमसागर फाउण्डेसनद्धारा संचालित जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्ध आमाबुबाहरुलाई दैनिक बिहानको खान खुवाउदै आएको छ । साथै, धादिङ र मकवानपुरका केही विद्यालयका करिब १५०० बालबालिकालाई दिवा खाजाको कार्यक्रम समेत संचालन गरेको छ । दैनिक करिव रु. ५० हजार रकम बराबरको बिहानी खाना र दिवा खाजाको कार्यक्रम संचालन गर्दै आइरहेको फाउण्डेसनलाई जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वबाट ४ दिन बराबरको खाना तथा खाजा सहयोग बापत उक्त रकम सहयोग गरेको हो । यसरी, धादिङ र मकवानपुरको सिमानामा पर्ने तसर्पु र आसपासमा रहेका विपन्न बस्तीलाई लक्षित गरी करिब १० वर्ष अगाडि देखि प्रेम सागर फाउण्डेसनले विद्यालय जाने बालबालिकालाई पोषणयुक्त खाना तथा खाजाको व्यवस्था गर्दै आइरहेको छ । उक्त कार्यक्रमको प्रभावले यस क्षेत्रका शत प्रतिशत विद्यार्थी विद्यालय भर्ना भएका र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको फाउण्डेसनले जनाएको छ ।
शुक्रबार गौरा पर्वको अवसरमा सार्वजनिक बिदा
अमरगढी । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त गरेको छ । गौरा पर्वका अवसरमा यही भदौ ६ गतेका दिन सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा गरिएको छ । रासस
कर बुझाउन फिल्म हलहरुलाई काठमाडौँ महानगरको १५ दिने उर्दी
काठमाडाैं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चलचित्र घरले बुझाउनु पर्ने मनोरञ्जन कर बापतको बक्यौता भुक्तानीका लागि १५ दिने सूचना प्रकाशन गरेको छ । चलचित्र घरलाई बारम्बार जानकारी दिँदै आएता पनि आर्थिक वर्ष २०७५/७६ मा मनोरञ्जन करबापत दर्शकबाट संकलन गरेको कर हालसम्म पनि स्थानीय सरकारलाई नबुझाएको र १५ दिन भित्रमा बिक्री गरेको टिकटको विवरणसहित बक्यौता कर तिर्न काठमाडौं महानगरले सूचना प्रकाशित गरेको छ । कर भुक्तानी नगरेमा कानुन अनुसार कारबाही गरिने महानगरपालिकाले सूचनामा उल्लेख गरेको छ । हाल नेपाल भरि १८५ चलचित्र घर रहेको भने प्रदेश काठमाडौं उपत्यका मात्र करिब ६० वटाभन्दा बढी हल रहेको नेपाल चलचित्र विकास बोर्डले जानकारी दिएको छ । उपत्यका भित्र रहेका अधिकांश चलचित्र घरहरु काठमाडौं महानगरमा रहेको बोर्डले जनाएको छ । प्रदेश ३ को आर्थिक ऐन २०७६ ले व्यवस्था गरेबमोजिम चलचित्र प्रदर्शन गर्दा प्रतिटिक बिक्रीमा आउनु मनोरञ्जन करबापत ५ प्रतिशत रकम बुझाउन महिना समाप्त भएको २५ दिनभित्र बुझाइसक्न पर्ने महानगरपालिको निर्देशन गरेकाे थियाे । महानगरपालिकाले प्रदेश ३ को आर्थिक ऐन २०७६ ले व्यवस्था गरेबमोजिम चलचित्र प्रदर्शन गर्दा प्रतिटिकट बिक्रीमा मनोरन्जन करबापत लिइएको ५ प्रतिशत हुन आउने रकम बुझाउनु पर्नेछ ।