करिब डेढ करोड लागतमा तेइस वर्षपछि खानेपानी आयोजना सम्पन्न

पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिकामा सञ्चालित एउटा खानेपानी योजना २३ वर्षपछि सम्पन्न भएको छ । उक्त योजना रु एक करोड ४३ लाखको लागतमा सम्पन्न भएको हो । त्यसमध्ये उपभोक्ताले जनश्रमदान र नगद गरी रु ५० लाखभन्दा बढी खर्च गरेका छन् । बिहादी गाउँपालिका–२ बर्राचौर र वडा नं ३ रानीपानीका बासिन्दालाई खानेपानी सुविधा दिने उद्देश्यले निर्माण गरिएको लिसे गैह्रा खानेपानी तथा सरसफाइ योजना २३ वर्षपछि सम्पन्न भएको हो । खानेपानीको मुूलको विवादका कारण विसं २०५३ मा निर्माण शुरु भएको योजना ७० प्रतिशत पूरा भएपछि बीचमै अलपत्र परेको थियो । पछिल्लो समयमा मूलको विवाद समाधान गरेपछि पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसरफाइ परियोजना (दोस्रो चरण) र उपभोक्ताको श्रमदानबाट निर्माण गरिएको हो । निर्माण सम्पन्न योजनाको प्रतिनिधिसभाका सदस्य पदम गिरीले उद्घाटन गरेका हुन् । उनले पर्वत जिल्लाका सबै घरधुरीमा खानेपानीका एक घर एक धारा पुर्याउने लक्ष्य आफ्नो कार्यकालभित्रै पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजना सम्पन्न भएपछि दुई वडाका १९३ घरमा घरघरै धारा निर्माण गरिएको छ भने बिद्यालय, सार्वजनिक संस्था, मन्दिरमा सामुदायिक धारासमेत बनेका छन् । विसं २०४२÷०४३ मा नै खानेपानी योजनाको सर्वेक्षण भए पनि निर्माण हुननसकेको तर विसं २०५३ मा निर्माण शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष श्यामलाल गिरीले बताए । “मुख्य पाइपलाइन, ट्याङ्की निर्माण भएपछि मूलको विषयमा विवाद हुँदा ७० प्रतिशत काम पूरा भए पनि त्यसै छाडिएको थियो ।” उनले भने, “सबै क्षेत्रको अथक प्रयासबाट तीन दशकअघिदेखिको सपना बल्ल पूरा गर्न सकेका छौँ ।” खानेपानीको समस्या रहेको बर्राचौरको एउटा भूगोलका बासिन्दाले शुद्ध खानेपानी घरघरमै धाराबाट पाउन सफल भएको र अब बाँकी क्षेत्रमा पनि छिट्टै खानेपानीको सुविधा पुर्याउने लक्ष्य राखिएको बर्राचौर वडा नं २ का अध्यक्ष ओमबहादुर कुँवर बताउँछन् । रासस

तिहारमा राजधानीवासीका लागि २५ लाख माला आवश्यक, भारतबाट ३ लाख माला आयात हुने

काठमाडौँ । यस वर्षको तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ । राजधानीमा बसोबास गर्ने नेपालीका लागि वर्षैपिच्छे भारतबाट माला आयात हुने गरेको तथ्याङ्क छ । नेपालमा लगातार गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३ वर्ष पुगेको छ । आयातमा भने कमी आएको छैन । विसं २०५३ देखि फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै आएको हो । राजधानीवासीका लागि भाइटीकाको दिन झण्डै २५ लाख मालाको आवश्यक पर्ने फ्लोरिकल्चर एशोसिएसन नेपाल ९फ्यान० का महासचिव विश्वमणि पोखरेलले जानकारी दिए । फ्यानका अध्यक्ष कुमार कसजुले गत वर्ष झन्डै रु २० करोडको विभिन्न जातका फूल आयात भएको बताए । फूलको माग दैनिक बढिरहेको भए पनि उत्पादनमा भने खासै वृद्धि हुनसकेको पाइँदैन । चार वर्ष पहिले नेपालले भारतबाट रु चार करोड मूल्य बराबरका विभिन्न फूल आयात गरेको तथ्याङ्क पाइन्छ । तथ्याङ्कलाई केलाउँदा नेपालमा वर्षको पाँच करोडका दरले फूलको आयात बढ्दै गएको देखिन्छ । नेपाली फूलको माग तिव्बत, मलेशिया, अमेरिका, थाइल्याण्डमा भए पनि उत्पादनभने बढाउन सकिएको छैन । फूल खेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगेको छ । सन् २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७५/७६ सम्म पुग्दा ४३ जिल्लामा विस्तार भएको छ । पहिलोपटक विसं २०७२ मा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपाल व्यावसायिक पुष्पखेती सर्वेक्षण २०७२/७३ ले ३६ जिल्लामा ५६१ व्यवसायीले पुुष्पखेती सञ्चालन गरेको उल्लेख छ । त्यसको चार वर्षमा जम्मा २३९ व्यवसायी वृद्धि भई हाल ८०० पुगेका फ्यानले जनाएको छ । चार वर्ष पहिले १४३ हेक्टरमा खेती भएको पुष्पखेती हाल १४९ हेक्टरमा विस्तार भएको छ । ३८ हजारले रोजगार पाएकामा चार वर्षपछि ४३ हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । भौगोलिक विविधता र अनुकूल वातावरणका कारण नेपालमा थरिथरिका आकर्षक पूmलखेती गर्न सकिन्छ र पनि अर्काको देशबाट आयात भइरहेकाले पुष्पखेतीतर्फ भने खासै आकर्षण देखिँदैन । यहाँ तिव्बत, मलेशिया, अमेरिका, थाइल्याण्डलगायतका मुलुकबाट नेपाली जातका फूलको माग भएको बताइन्छ । नेपालमा भूमिमाथिको द्वैध स्वामित्वको अन्त भएको छैन । सीमित व्यक्तिका हातमा प्रचुर जमीन छ । पर्याप्त जमीन भएकाले जमीन बाझै राख्ने चलन छँदैछ । सरकार भने भूमि बाझो राख्नेलाई कानूनका दायरमा ल्याउन सकेको छैन । त्यसैले गर्दा फूलमा समेतको परनिर्भरता बढेको छ । हाल १० लाख हेक्टर जमीन बाझो रहेको छ । कृषिको आधुनिकीकरण, व्यावसायिकरण त छँदैछ तर विविधिकरणको ज्वलन्त उदाहरण पुष्प व्यवसाय पनि एक हो । प्रचुर तथा अथाह सम्भावना बोकेको पुष्प व्यवसायका लागि सरकारले ‘पुष्प प्रवद्र्धन नीति २०६९’ जारी गरी पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको पनि सात वर्ष पुगेको भए पनि पुष्पखेतीतर्फ भने सोचेजति आकर्षण नहुनुले फूलको आयात रोकिएको छैन । सर्वेक्षणमा उत्पादन परिमाणको आधारमा प्रमुख पाँच मौसमी फूलमा सयपत्री, पिटुनिया, डाहलिया, जिनिया, प्यान्जी, बहुवर्षे फूलमा गुलाफ, बगानबेली, गोदावरी, एजेलिया, कर्निसन, आलाङ्कारिक फूलतर्फ धुपी, हेज, पम, अशोका, एरिका, कटफ्लावरतर्फ कार्नेशन, जर्वैरा, गुलाफ, ग्याहुलस, क्यालेनडुला र लुज फ्लावरतर्फ सयपत्री, लाहुरे, गोदावरी, एकान्त (सानो सयपत्री) र तारा (कोरेप्सिस) जातको पुष्पखेती हुँदै आएको उल्लेख छ । रासस

नेपाल र भारतका सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त गस्ती

काठमाडौं ।  कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिबारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्ती कार्य शुरु गरेका छन् । तिहारलगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त पार्नका लागि संयुक्त गस्तीको कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताएका छन् । सीमा क्षेत्रमा हुने अवैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रणसँगै सीमा स्तम्भको सुरक्षाका लागि संयुक्त गस्तीको कार्य भइरहेको छ उनले भने, “चाडपर्वका बेला हुने अवैध सामानको तस्करी रोक्न र सीमा क्षेत्रमा आवतजावतको कार्यलाई सहज बनाउनु गस्तीको उद्देश्य रहेको छ ।” नेपाल भारतका सुरक्षाकर्मीले संयुक्त रुपमा गस्ती गर्दा एकापसमा सम्बन्ध बलियो हुने र सीमा क्षेत्रमा देखा पर्ने चुनौतीको सामना गर्न सहज हुने उनले बताए । गस्तीमा सशस्त्र प्रहरी बल बर्डर आउट पोष्टका ११ जवान, इप्रका बेलौरीका ११ जवान भारतको तर्फबाट एसएसबीका कमलापुरी कम्पनीका प्रहरी निरीक्षक भेरजी सोधाको कमाण्डमा रहेका छ जना र एसएसबीका शारदापुरी कम्पनीका प्रहरी नायब निरीक्षक सन्दीपकुमारसहित चार जनाको टोलीले संयुक्त गस्तीको कार्यमा सहभागिता जनाएको छ । रासस