उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व सम्पन्न
जनकपुरधाम । आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो । धनी, गरीब, कथित तल्ला र माथिल्ला जातिहरू एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ । आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिकता विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ । छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुहरूले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ । छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुहरूको भीड पनि दर्शनीय रहेको थियो । रासस
अधिक वजन भएका व्यक्तिको फोक्सोमा बोसो, दम हुने सम्भावना बढी
अष्ट्रेलिया। अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले ५२ जनामा फोक्सोको नमुना परीक्षण गरेकाे धेरैकाे फोक्सोमा बोसो भेटाएका छन्। उनीहरुकाे आफ्नो अध्ययनले किन धेरै वजन भएका मानिसहरुलाई दम हुने सम्भावना बढी हुन्छ भन्ने कुराकाे पुष्टी भएकाे बताए। फोक्सो विज्ञहरु यस समस्यालाई तौल घटाएर बद्ल्नु सकिन्छ कि भन्ने विषयलाई अध्ययन गर्न अझ रोचक हुने बताउँछन्। युरोपियन रेसपिरेटरी जनरलमा प्रकाशित एक अध्ययनमा वैज्ञानिकहरुले अनुसन्धानको लागि दान गरिएको फोक्सोको पोष्टमार्टम नमुनाहरुको अध्ययन गरेका थिए। उक्त ५२ फोक्सोको नमुनाहरुमा १५ जनालाई दम थिएन, २१ जनालाई दम थियो तर उनीहरुको अन्य कारणले मृत्यु भएकाे थियो भने बाँकी १६ जनाको मृत्युको कारण भने दम रहेको थियो। वैज्ञानिकहरुले रंगको प्रयोग गरेर उक्त नमुना फोक्सोको १४ सय स्वास नलीकाे माईक्रोसकोपको माध्यमबाट विस्तृत अध्ययन गरेका थिए। अनुसन्धानकर्ताहरुले उक्त अध्ययनमा स्वास नलीमा बोसो युक्त तन्तु भेटाएका थिए र शरीरको वजन बढी भएको व्यक्तिमा यो बढी पाइएको थियो। उनीहरु भन्छन्, ‘बोसो बढ्नाले स्वास नलीकाे सामान्य संरचना परिवर्तन हुने र फोक्सो सुनिन्छ जसले मोटो व्यक्तिहरुमा दम हुनुको कारण पुष्टि गर्दछ।’ युरोपियन रेस्पीरेटरी सोसाईटीका अध्यक्ष प्रोफेसर थिरि टुरुस्टरको अनुसार शरीरको तौल र श्वासप्रश्वास सम्बन्धी रोग बिचको सम्बन्धको यो महत्वपूर्ण खोज हो किनभने यसले कसरी अत्याधिक तौल वा मोटोपनले दमका रोगीलाई अझै बढी असर गरिरहेको छ भन्ने देखाउँछ।फोक्सोमा देखिएको बोसोलाई भने वजन घटाएर घटाउन सकिन्छ वा सकिदैन भन्नको लागि थप अनुसन्धानको आवश्यक रहेको उनी बताउँछन्। ब्रिटिश थोरेसिक सोसाईटीका अध्यक्ष डा. एलिजावेथ सापेको भन्छिन्, ुशरीरको तौलले फोक्सोमा वायुमार्गको संरचनालाई असर गर्छ भनेर यो पहिलो पटक पत्ता लगाईएको हो। विश्वभर मोटोपना एक समस्याको रुपमा रहेको विषयलाई ध्यानमा राख्दै, यस अध्ययनले एक स्वास्थ्य समस्याको रूपमा रहेको दमको उपचारमा सुधार गर्ने नयाँ तरिकाहरू पहिचान गर्न सहयोग पुर्याउन सक्छ’ उनी भन्छिन्। ( बिबिसीबाट नेपालीमा उल्था गरिएको )
तराईवासीको महान पर्व छठ शुरु, आज नहाय खाय विधि गरिँदै
जनकपुरधाम । आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ । व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा रहेको छ । छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्नेबित्तिकै व्रतीले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाने गरिँदैन । यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी ९धानको एक प्रकार, कालो रङको गर्भमै पाक्ने पवित्र अन्न० को व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ । गम्हरीलाई साठी पनि भनिन्छ । छठपर्वमा साठी प्रकारको वस्तु चाहिने भनिन्छ, तिनमा गम्हरीलाई कुटेर त्यसको केही कमी रहन गएमा गम्हरीको प्रयोगले त्यसको पूर्ति भइहाल्ने लोकविश्वास रहेको छ । चामललाई पर्वका अवसरमा बनाइने नैवेद्यका लागि उपयोग गरिन्छ । आरोग्य लाभ मुख्य उद्देश्य भएको छठपर्व उत्सवको रूपमा मात्र नभई कठिन व्रत र उपवास गरिने तपस्याको रूपमा देखिन्छ । चोखोपना, संयम र पूर्ण ब्रह्मचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास रहेको पाइन्छ । छठपर्वको पूजन एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुने निश्चित मानिएको छ । छठपर्व विशुद्धरूपमा प्रकति र पुरूषको पूजा हो । सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ । झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैँठौँ अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा रहेको छ । देवी भागवतमा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ । यसै कारण यो पर्व साझा समानताको पर्वका रूपमा लोककरण भएको पाइन्छ ।