काठमाडौं र ललितपुरमा रगतको अभाव

काठमाडौं । काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहज रुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो । वर्षेनी चाडबाड र चाडबाडपछिको समयमा उपत्यकामा रगतको अभाव देखिने गर्छ । यसलाई सम्बोधन गर्न खासै ध्यान दिएको देखिँदैन । रक्त सञ्चार सेवा केन्द्रले रगतको अभाव भएकाले रक्तदान गर्न रक्तदातालाई आह्वानसमेत गरेको छ । कुन समूहको रगत कति अभाव भएको हो भन्नेबारे केन्द्रले जनाएको छैन । सोसाइटीको सञ्चार विभागद्वारा आज बिहान जारी विज्ञप्तिमा काठमाडौँमा यो हप्तादेखि रगतको अभाव भएकाले रक्तदान गर्न आह्वान गरिएको र सबैको सहयोगले पर्याप्त स्टक भएका कारण दशैँको समयमा रगत अभाव नभए पनि दशैँपछि रक्तदान कार्यक्रम घटेकाले अभाव बढेको जनाइएको छ । दशैँ भर्खरै सकिएको तथा तिहार र छठलगायतका पर्वको समय आइरहेको यस्तो समयमा कलेजसमेत बन्द भएको र रक्तदान कार्यक्रम पनि कम भएकाले अहिले रगतको मागबमोजिम आपूर्तिमा कठिनाइ परेको जनाइएको छ । रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले भने “डेङ्गुलगायत विभिन्न रोगबाट प्रभावित बिरामीका लागि रगतको माग छ, यस्तोमा बिरामीका आफन्तलाई अनुरोध गरेर रक्तदान गर्न भनिरहेका छौँ ।” रक्त सञ्चार केन्द्रका अधिकृत राम श्रेष्ठले अहिले सेवा केन्द्रको कालीमाटी कार्यालयमा दैनिक औषतमा ३०० युनिट रगतको माग भई आएको छ तर आपूर्ति गर्न कठिनाइ भइरहेको छ । केन्द्रका निर्देशक मनिता राजकर्णिकारले सकेसम्म धेरै सङ्घ संस्थासँग रक्तदानका लागि पहल गरिरहेको जानकारी दिएका छन् । पछिल्लो समय केन्द्रको रक्त सेवा फितलो र प्रभावहीन बन्दै गएको छ । भनेका सयममा चाहिएका रगत समूह सेवाग्राही पाउन धौधौ पर्ने गर्दछ । ललितपुरको रक्तसञ्चार केन्द्रमा पनि रगतको अभाव भइरहेको शाखाका सभापति बाबुराजा महर्जनले जानकारी दिएका छन् ।

बलिउडका गायक अमित मिश्रा नेपाल आउँदै, मंसिर ६ गते दरबारमार्गमा हुने कार्यक्रममा प्रस्तुति दिने

काठमाडौँ । भारत बलिउडका (आआएफए) अवार्ड विजेता गायक अमित मिश्रा नेपाल आउने भएका छन् । नेपथ्य इभेन्ट म्यानेजेमेंट प्रा.ली.ले आयोजना गर्न लागेको एक कार्यक्रमका लागी उनी नेपाल आउने तय भएको उक्त कम्पनीका सीईओ आशिष लामिछानेले बताए । अमित मिश्राका साथमै भारतका चर्चित ब्याण्ड बम्बे भैकिन्ग्स कि महिला गायिका गोरिशा नाथ पनि संगै आउनी भएकी छिन् । यस कार्यक्रममा नेपालका चर्चित गायक गायिकाहरुको नि प्रस्तुति रहने छ । यहि नोवेम्बर २२ तारीक(मंसिर ६ गते) शुक्रबारका दिन बेलुकी दरबारमार्गमा रहेको म्याग्नम लाउन्ज बार एण्ड क्लबमा चर्चित गायक अमित मिश्रा र गोरिषा नाथले आफ्ना विभिन्न गीतहरु प्रस्तुत गर्ने छन् । अमित मिश्रा बलिउडमा निकै ख्याती प्राप्त कलाकार हुन् । उनी भारतका चर्चित संगीतकार प्रितमसंग सहकार्य गर्दै देश तथा विदेशमा आफ्नो आवाजको जादु फैलाउँदै आइरहेका छन् । बलिउडका चर्चित नायक सलमान खान, अजय देवगन, टाइगर श्राफ, वरुण धवन, रणबीर कपूर, सुशांत सिंह राजपूत, फरहान अख्तर, आदिका लागि आफ्नो सुमधुर आवाज़ दिएका छन् । यस कार्यक्रमले पर्यटन वर्ष २०२० लाई पनि धेरै टेवा पुर्याउने अनुमान गरिएको छ। गायक अमित मिश्राले नेपालका विभिन्न संस्कृतिक र पर्यटकीय स्थलको भ्रमण गर्ने छन् र साथसाथै उनको डकुमेन्ट्री प्रोजेक्ट मुभीको लागि पनि नेपालका यहि स्थललाई लक्षित गरेर उनले भिडियो सम्प्रेसन गर्ने छन् र जसकाे प्रसारण संसार भरि गरिने छ । सन् २०१६ र २०१७ को आइफा अवार्ड उनले जित्न सफल भए । उनले त्यो बेला ए दिल है मुश्किल को ‘बुल्लेया’ बोलको गीतबाट अवार्ड हात पार्न सफल भएका थिए । त्यसका साथै उनले अरु थुप्रै अवार्डहरु हासिल गरि सकेका छन् । नेपथ्य इभेन्ट म्यानेजमेन्ट प्रा.ली.ले आयोजना गर्न लागेको कार्यक्रम एउटा च्यारिटी इभेन्ट हुने आयोजक पक्षले जानकारी गराए । यस कार्यक्रमबाट उठेको लाभांशको केहि प्रतिशत उनीहरुले च्यारिटी सहयोग अर्थात् वृद्धा आश्रममा केन्द्रित रहेर हस्तान्तरण गर्ने जानकारी जनाए । यस कार्यक्रममा सिने जगत, संचारकर्मी, कलाकारिता क्षेत्र, सामाजिक क्षेत्र र व्यवसायिक क्षेत्रका विशिष्ट पात्रहरुको बाक्लो उपस्थिति रहने छ । यस कार्यक्रममा सहभागी भै वृद्धाहरुको सामाजिक सहयोगार्थ योगदान गर्नको लागि भने इच्छुकले टिकट खरिद गरेर कार्यक्रम मा प्रवेश गर्नुपर्ने छ । टिकट शुल्क सर्वसाधरणको लागि २५०० रूपैयाँ र भिआइपिको लागि ३५०० रूपैयाँ राखिएको छ । निकै सिमित समय रहेकोले आयोजक पक्षले समयमै आफ्नो टिकट किनेर आफ्नो स्थान सुरक्षित राख्न आग्रह गरेका छन् । यो पुरै मनोरन्जनात्मक कार्यक्रम हुने र टिकट खरिद गरिएको पैसा अनुसारको फाइदा पनि ग्राहकहरुले लिन पाउने आयोजक पक्षले बताएका छन् ।

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनामा कर्पोरेट सुपर सिक्सेस ‘सेसन-६’ टुर्नामेन्ट आयोजना हुने

काठमाडौँ । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनामा कर्पोरेट सुपर सिक्सेस ‘सेसन-६’ टुर्नामेन्ट आयोजना हुने भएको छ । कार्यक्रम प्रायोजन सम्बन्धी बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच मंगलबार सम्झौाता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एसएस कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरेका छन् । सम्झौता पछि यो वर्षको कर्पोरेट सुपर सिक्सेस टुर्नामेन्ट को नाम माछापुच्छ्रे कर्पोरेट सिक्सेस ‘सेसन ६’ टुर्नामेन्ट रहने छ । टुर्नामेन्ट बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य भएको र कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्येनजर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको बताए ।