बिएसआर मुभिजको पहिलो शाखा बागलुङमा, संचालनमा दुई सिनेमा हल
काठमाडौं । गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । सो मुभिजको उद्घाटन कलाकार नीर शाहले गरेका हुन् । उक्त मुभिज बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा सहितको मल्टिप्लेक्स सञ्चालनमा आएको हो । जसको चार सय २६ सिट क्षमता रहेको छ । यसैगरी, बिहीबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आउने दुईवटा हलहरु मध्ये औडी–१ मा २०० र औडी–२ मा २२६ सिट क्षमता छ । यसरी, थ्रिडी प्रविधिसहित सुरु भएको बीएसआर सिनेमामा चलचित्र हेर्ने दर्शकलाई चलचित्रमा भैरहेका सबै कृयाकलाप वास्तविक जस्तै महसुस गराउने छ । अत्याधुनिक साउण्ड सिष्टममा दर्शकले पर्दामा जुन दिशामा जस्तो वस्तु देखिन्छ सोही दिशाबाट आवाज आएको महसुस गर्न सक्ने र एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपास क्षेत्रका दर्शकलाई नयाँ अनुभव दिने बीएसआर मुभिजका निर्देशक राजु गिरीले बताएका छन् । बीएसआरले अन्तर्राष्ट्रिय जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै दुई वटा अत्याधुनिक सिनेमा हल काठमाडौँको बिजी मलमा विसं २०७३ देखि सञ्चालन गरिरहेको छ ।
वीरगञ्जमा कात्तिक २१–२३ गतेसम्म नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ हुने
काठमाडौं । नेपाल चलचित्र सघंले अब फिल्म सुटिङ हुने स्थानका कलाकारहरुलाई पनि फिल्ममा खेलाउने भएको घोषणा गरेको छ । नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलमा नेपाल चलचित्र सघंका अध्यक्ष आकाश अधिकारीले यस्तो कुरा बताएका हुन् । उनले भने-‘अब फिलिम सुटिङ हुने ठाँउका स्थाननीय कलाकारले पनि फिल्ममा स्थान पाउने छन ।’ नेपाली फिल्म नचल्नुको कारण स्थानीय कलाकार नसमेटिनु पनि भएकाले अब स्थानीय कलाकारहरु समेटिने बताए । महोत्सव कार्तिक २१, २२ र २३ गते प्रदेश नं. २ को वीरगञ्जमा हुने भएको छ । वीरगञ्जको आदर्शनगर रंगशालामा नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ सञ्चालन हुने भएको हो । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाली बजार पनि विश्वका लागि फिल्म सुटिङको राम्रो गन्तव्य हो भनेर चिनाउन सकिने बताइन् । निर्माता ताथ हास्य कलाकार दीपकराज गिरीले नेपालमा विदेशी फिल्म चलाउँदा नेपालीभन्दा १०० रुपैयाँ मंहगो लिनु पर्ने बताए । उनले भने-‘नेपालीभन्दा सस्तोमा वा बराबरी मूल्यमा विदेशी फिल्म नेपाली हलहरुमा लाग्ने भएकाले पनि नेपाली फिल्मजगत माथि उठ्न कठिन भएको बताए । महोत्सवमा नेपाली र भारतीय निर्माता तथा कलाकारको सहभागिता रहने छ । महोत्सव ६० देखि ७० हजार जनाले अबलोकन गर्ने आयोजकको जानकारी दिएको छ । प्रत्येक वर्ष एक-एक वटा प्रदेशमा फिल्म महोत्सव हुने जनाइएको छ ।
काठमाडौं र ललितपुरमा रगतको अभाव
काठमाडौं । काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहज रुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो । वर्षेनी चाडबाड र चाडबाडपछिको समयमा उपत्यकामा रगतको अभाव देखिने गर्छ । यसलाई सम्बोधन गर्न खासै ध्यान दिएको देखिँदैन । रक्त सञ्चार सेवा केन्द्रले रगतको अभाव भएकाले रक्तदान गर्न रक्तदातालाई आह्वानसमेत गरेको छ । कुन समूहको रगत कति अभाव भएको हो भन्नेबारे केन्द्रले जनाएको छैन । सोसाइटीको सञ्चार विभागद्वारा आज बिहान जारी विज्ञप्तिमा काठमाडौँमा यो हप्तादेखि रगतको अभाव भएकाले रक्तदान गर्न आह्वान गरिएको र सबैको सहयोगले पर्याप्त स्टक भएका कारण दशैँको समयमा रगत अभाव नभए पनि दशैँपछि रक्तदान कार्यक्रम घटेकाले अभाव बढेको जनाइएको छ । दशैँ भर्खरै सकिएको तथा तिहार र छठलगायतका पर्वको समय आइरहेको यस्तो समयमा कलेजसमेत बन्द भएको र रक्तदान कार्यक्रम पनि कम भएकाले अहिले रगतको मागबमोजिम आपूर्तिमा कठिनाइ परेको जनाइएको छ । रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले भने “डेङ्गुलगायत विभिन्न रोगबाट प्रभावित बिरामीका लागि रगतको माग छ, यस्तोमा बिरामीका आफन्तलाई अनुरोध गरेर रक्तदान गर्न भनिरहेका छौँ ।” रक्त सञ्चार केन्द्रका अधिकृत राम श्रेष्ठले अहिले सेवा केन्द्रको कालीमाटी कार्यालयमा दैनिक औषतमा ३०० युनिट रगतको माग भई आएको छ तर आपूर्ति गर्न कठिनाइ भइरहेको छ । केन्द्रका निर्देशक मनिता राजकर्णिकारले सकेसम्म धेरै सङ्घ संस्थासँग रक्तदानका लागि पहल गरिरहेको जानकारी दिएका छन् । पछिल्लो समय केन्द्रको रक्त सेवा फितलो र प्रभावहीन बन्दै गएको छ । भनेका सयममा चाहिएका रगत समूह सेवाग्राही पाउन धौधौ पर्ने गर्दछ । ललितपुरको रक्तसञ्चार केन्द्रमा पनि रगतको अभाव भइरहेको शाखाका सभापति बाबुराजा महर्जनले जानकारी दिएका छन् ।