महिला आयोगमा आउने मुद्दाको निणर्य नभएसँगै दर्ता हुने उजुरी घट्दो

काठमाडौं । लामो समयसम्म पदाधिकारीविहीन हुँदा राष्ट्रिय महिला आयोगमा आउने उजुरीमा निणर्य हुनसकेको छैन । आयोग २०७४ असोज २९ गतेदेखि नै पदाधिकारीविहीन हुँदा महिला हिंसा वा अन्य उजुरीबारे निणर्य गर्न कठिन भएको हो । उजुरीमा कुनै निणर्य नभएपछि आजकाल आयोगमा उजुरी कम आउन थालेको छ । चालू आर्थिक वर्षको साउनमा १२१, भदौमा ९९, असोजमा ५१ र कात्तिकमा ५८ घरेलु हिंसामा उजुरी परेका छन् । त्यसैगरी साउनमा १९, भदौमा १५ र कात्तिकमा सात मात्रै उजुरी परेका छन् । असोज महिनामा भने कत्ति पनि उजुरी परेको छैन । पदाधीकारी नहुँदा उजुरीमा निर्णय हुनसकेको छैन । “पदाधिकारी नहुँदा काममा अप्ठ्यारो पर्नु स्वाभाविक हो, केन्द्रीय कार्यालयमा आफ्नो कार्यालय छैन, प्रदेश कार्यालय गठन भएको छैन, धेरै काम आयोगको बोर्डले नै गर्नुपर्ने भएकाले छिट्टै पदपूर्ति हुने अपेक्षा राखेका छौँ”, आयोगका सचिव दीपेन्द्र काफ्लेले भने । आयोगले प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कार्य समूह गठन गरी सोही विषयमा केन्द्रित रही सुदूरपश्चिम प्रदेश, प्रदेश नं २ र गण्डकी प्रदेशमा सार्वजनिक सुनुवाइलगायतका कार्यक्रम भने सञ्चालन गर्दै आएको छ । पुराना उजुरीमा निर्णय नहुँदा उजुरीको चाङ बढ्दो छ । रासस

क्याभास एट थिएटर मलमा सामूहिक चित्र प्रदर्शनी, माघ ४ गतेसम्म जारी

काठमाडौं । कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालीन कलाका युवा कलाकारहरुको सिर्जना प्रदर्शनीमा राखिएको हो । नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चनसँगै कीर्तिपुर रंगमञ्चमा इचिङ र पेन्टिङगरी दुई विधाका ३० चित्रहरु प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा रहेका चित्रहरुले समकालीन नेपाली समाजप्रतिको चिन्ता र चासो अभिव्यक्त गरिएका छन् । युवा कलाकारहरुले आफ्नो सिर्जनामा चेनतशील मानव सभ्यताका विकृति, कुसंस्कार, उत्पीडनलाई प्रतिरुप स्वरुप उतारेका छन् । त्यस्तै मानवीयता, लैंगिकता, भूमण्डलीकरण प्रकृति, आशा र संघर्षलाई रंगका माध्यमबाट अभिव्यक्त भएका चित्र सिर्जनाहरुमा प्रदर्शनीमा रहेका छन् । प्रदर्शनीमा भिजिट नेपाल २०२० को लोगोका सिर्जनाकारदेखि विभिन्न विश्वविद्यालयबाट दिक्षित सक्रिय १३ कलाकारहरुको सिर्जना राखिएको छ । कलाकारहरु उद्धवराज रिमाल, टिकादत्त दाहाल, दीपमाला महर्जन, नारायणप्रसाद बोहजु, भिषण राजभण्डारी, मनिषा मानन्धर, रुकुमणी श्रेष्ठ, विद्यमान तामाङ, सन्तोष सिग्देल, सुजिता महर्जन, सुमन महर्जन, सुवास तामाङ, सोनी राईको सामूहिक प्रदर्शनीलाई ‘क्यानभास एट थिएटर’ नाम दिइएको हो । सहभागी कलाकारहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार तथा प्रदर्शनीहरुमा सहभागिता जनाइसकेका छन् । कलाका माध्यमहरु आफै पृथक र एक अर्काका परिपूरक रहेको औंल्याउँदै प्रिन्ट मेकीङ कलाकार सुजिता महर्जनले थिएटरमा कला प्रदर्शनीको संयोजन गरेकी हुन् । प्रदर्शनीको उद्घाटनमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुरमा युवा कलाकारहरुको स्वागत गरेका थिए । साथै कीर्तिपुरलाई कलानगरीको रुपमा विकास गर्न आफू तयार रहेको मेयर महर्जनले प्रतिबद्धता जाहेर गरे । प्रदर्शनीको उद्घाटनमा थिएटर मलका कलाकारहरुको ‘हामी बोल्छौं’ शीर्षकको बिम्बात्मक प्रस्तुति पनि दिएका थिए । जसमा रंगकर्मीहरु मनिष व्याञ्जु, स्नेहा रसाइली, कञ्चन संग्रौला, रोसन केसी, अनिल थपलिया, कुमार थापा, सरोज राई, शंकर भण्डारीको अभिनय तथा शक्ति पाख्रिनले निर्देशन गरेका थिए । थिएटर, कलाका विविध माध्यमहरुको संगम रहेको बताउ“दै थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले कला–संस्कृतिको अभियानमा समन्वय र सहकार्यको अत्यावश्यकतामाथि बहसको आशा गरेको उल्लेख गरे । प्रदर्शनी आगामी माघ ४ गतेसम्म जारी रहनेछ । साथै नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’ पनि माघ ४ सम्म मञ्चन हुनेछ ।

तनहुँको घिरिङमा बस दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, दर्जनाैं घाइते

दमाैली । तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा आज बिहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार थापाको घटनास्थलमै र गुरुङको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।