सिटिजन्स बैंकद्वारा डोल्पाको मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले डोल्पा जिल्लाको दुनै अवस्थित मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम बैंकले बुधबार एक कार्यक्रमकाबीच समितिलाई हस्तान्तरण गरेको हो । यस समितिले १२ जना छात्र र ८ जना छात्रा गरी कुल २० जना अपाङ्ग छात्रछात्राहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । उक्त सहयोग रकमबाट विद्यार्थीहरुलाई ओढ्ने तथा ओछयाउने लुगाहरुको खरिद गर्ने कुरा समितिले जनाएको छ । यस किसिमको सहयोगबाट त्यहाँ अध्ययन गर्दे आएका विद्यार्थीहरुको जिवनस्तरमा सुधार आउने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका अपाङ्ग बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा समितिले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । बैंकले ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

शान्ति समाजको भवन निर्माण गर्न एक करोड दान

विराटनगरका समाजसेवी बद्रीप्रसाद पहाडीले मानवअधिकार तथा शान्ति समाजको काठमाडौँमा कार्यालय भवन निर्माण गर्न रु एक करोड दान गरेका छन् । समाजले आज एक विज्ञप्ति जारी गरी भवन निर्माणको प्रारम्भिक प्रक्रिया थालिनेबित्तिकै उक्त रकम समाजको खातामा जम्मा हुने गरी समाजसेवी पहाडीले रकम प्रदान गरेकाे  जनाएको छ ।

गण्डकी विकास बैंकद्वारा बालोदय टोलमा डस्टविन सहयोग

काठमाडौं । गण्डकी विकास बैंकले पोखरा विरौटामा रहेको बालोदय टोल विकास समितिलाई डस्टविन हस्तान्तरण गरेको छ । बालोदय टोल विकास समितिका अध्यक्ष गुरुप्रसाद गुरुङले आफ्नै टोल छेउमा आई सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी टोललाई समृद्ध बनाउन बैंकले खेलेको भूमिका प्रति आभार व्यक्त गरेका थिए । टोल विकास समितिका सल्लाहकार तथा बालोदय बोर्डिङ स्कुलका संस्थापक प्राचार्य दुर्गा पंगेनीले बैंकको भूमिका प्रति आफु सन्तुष्ट रहेको धारणा राखे । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले स्वागत मन्तव्य राखे भने गण्डकी विकास बैंक, विरौटा शाखाका प्रबन्धक शिववहादुर कार्कीले सञ्चालन गरेका थिए ।