आरएमडीसीले आशा किरण केन्द्रलाई दियाे एक लाख रूपैयाँ
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले वीरगंजस्थित श्री आशा किरण केन्द्रलाई अक्षरेपी एक लाख सहयोग प्रदान गरेको छ । उक्त रकम बराबरको चेक संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले आशा किरण केन्द्रका अध्यक्ष सुनिल कुमार गुप्तालाई हस्तान्तरण गरेका हुन् । सुस्त मनस्थिति, अटिजम, मस्तिष्क पक्षघात, डाउन सिन्ड्रोम, बौद्धिक अशक्तता भएका बालबालिकाहरुलाई हेरचाह गर्ने संस्था श्री आशा किरण केन्द्रलाई संस्थाले साे बराबरकाे रकम दिएर सहयाेग गरेकाे छ । आरएमडीसी लघुवित्त वित्तीय संस्था नेपालका लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाहरुलाई थोक कर्जा प्रदान गर्नुको साथै संस्थागत क्षमता विकासको लागि प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । यस संस्थाले साझेदार संस्थाहरु मार्फत पिछडिएका वर्गका महिलाहरुलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष भूमिका निर्वाह गर्दै आईरहेकोे छ । हस्तान्तरण कार्यक्रममा आरएमडीसीका वरिष्ठ प्रबन्धकद्वय अन्नपूर्ण श्रेष्ठ, रुप बहादुर खड्का, प्रवन्धकद्वय अनिल कृष्ण जोशी, ज्ञानु माया भण्डारीको उपस्थिति रहेको थियो ।
आफन्तबाटै असुरक्षित छन् बालिका, विश्वास कसलाई गर्ने ?
रुपन्देही । गत पुसको १५ गते रुपन्देहीको देवदहमा बाबुले छोरीलाई बलात्कार गरे । श्रीमती दिदीको घर गएको मौका छोपी रातिको समयमा ३७ वर्षीय बाबुले १४ वर्षीया नाबालिकामाथि बलात्कार गरेका हुन् । पीडकलाई प्रहरीले पक्राउ गरी जबर्जस्तीकरणीको मुद्दा चलाएको छ । गत पुस ६ गते तिलोत्तमा नगरपालिकामा छिमेकी एक युवकले सात वर्षीय नाबालकमाथि बलात्कार गरे । घरमा कोही नभएको मौका छोपेर बालिकाका छिमेकी १८ वर्षीय बिमल क्षेत्रीले बालिकालाई फकाईफुल्याई शौचालयमा लगेर जबर्जस्ती करणी गरे । बालिकाको योनीबाट रगत बगेपछि परिवारले थाहा पाएर इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी गरे । उनलाई पनि अहिले जबर्जस्ती करणीको मुद्दा चलाइएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । तिलोत्तमामै गत मङ्सिर २३ गते बाबुले आठ वर्षीय छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भयो । बलात्कार गर्ने बाबु अहिले जिल्ला प्रहरी कार्यालयमा अपराधको सजाय भोगिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नवीन चुँदालीले जानकारी दिए । गत पुस १९ गते बुटवलको वडा नं ११ मा १४ वर्षीया बालिका बलात्कृत भइन् । स्थानीय २१ वर्षीय विवेक थापाले तीनाउ नदी किनारमा लगेर बालिकालाई बलात्कार गरे । थापाविरुद्ध परिवारले उजुरी दिएपछि उनलाई पनि प्रहरीले मुद्दा चलाएको छ । दश वर्षमुनिका बालबालिकालाई बलात्कार भए १० देखि १५ वर्षसम्मको कैद सजाय हुने कानूनी व्यवस्था छ । पछिल्लो समय बलात्कारका घटना बढेका प्रहरी तथ्याङ्कले देखाउँछ । तीमध्ये अधिकांश घटनाहरु आफन्तबाटै हुने गरेका छन् । दुईदेखि ७० वर्षसम्मका वृद्धमाथि बलात्कारका घटना भएका कारण समाजमा किशोरी र महिला असुरक्षित छन् भन्ने देखाउँछ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ३५ बलात्कारका मुद्दा दर्ता भएका छन् जसमध्ये १८ वर्षमुनिका बालिकामाथि बलात्कारका कारण १६ मुद्दा दर्ता छन् । गत आव ०७५/७६ मा ७० वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । तीमध्ये १९ मुद्दा १८ वर्षमुनिका बालिकामाथि बलात्कारका कारण दर्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । ‘अपराधमा परिवार नातेदारका व्यक्ति नै संलग्न हुनु गम्भीर विषय हो, यस्तो आपराधिक मनोवृत्तिलाई निरुत्सहित गर्न परिवार र समुदाय सचेत हुनुपर्छ’, प्रवक्ता खत्रीले भने । बलात्कारका घटनाले गर्दा बालिका र किशोरी विद्यालयमा समेत असुरक्षित महसुस गर्छन् । बलात्कारका घटनाले अभिभावक र विद्यार्थीमा नकारात्मक छाप परेको छ । ‘केही कारणले विद्यालयमा ढिलाइ भयो भने अभिभावकहरु आत्तिएर विद्यालयमै आइपुग्नुहुन्छ’, लुम्बिनी सांस्कृतिक नगरपालिकाको अमारी प्राथमिक विद्यालयका शिक्षक लक्ष्मी मिश्रा भन्छिन् । बलात्कारका घटनाका कारण विश्वासको कमी हुँदा विद्यालय र समाजमा आपसी मित्रता, भाइचारको सम्बन्ध हराउँदै गएको उनको भनाइ छ । अधिवक्ता इन्दिरा आचार्यले घटनाका प्रकृति हेर्दा समाजमा छोरीहरु असुरक्षित छन् भन्ने देखिएको बताएकी छन् । ‘आर्थिक रूपमा कमजोर मानिसमाथि यस्ता घटना बढी भएका छन्”, आचार्य भन्छिन्, ‘आपराधिक मनोवृत्तिका मानिस समाजमा भएकाले अभिभावक बढी सचेत हुनुपर्छ ।’ समाजमा हुने कतिपय घटना बाहिर आउँदैनन् । अर्थिक रूपमा सक्षमहरूले घटना भित्रभित्रै लुकाउने र मिल्ने गरेको पाइन्छ । ‘हाम्रो क्षेत्रमा पनि हिंसा र बलात्कारका घटना भएको सुनिन्छ तर सामाजिक प्रतिष्ठाका कारण भित्रभित्रै मिलाउँदा प्रहरीको पुग्न पाउँदैन’, आचार्यले भनिन् । कतिपय पीडक सम्पन्न वर्गबाट पनि हुने गरेको र त्यस्ता व्यक्तिबाट भएका घटना आर्थिक प्रलोभन र राजनीतिक पहुँचका कारण बाहिर आउन नसकेको उहाँको भनाइ छ । बुबा, दाजु र छिमेकीबाट समेत छोरीहरु असुरक्षित भएपछि विश्वास कसलाई गर्ने ? आचार्य प्रश्न गर्छिन् ।
गायिका वसन्ता प्रकृतिको ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’ गीत सार्वजनिक
काठमाडौं । गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’ गीत सार्वजनिक भएको छ । राजनराज सिवाकोटीले वसन्तालाई स्वरमा साथ दिएको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’को भिडियो सार्वजनिक भएको हो । वसन्ताको दोस्रो एल्बम ‘साधना’मा रहेको गीत हो यो । उनको पहिलो एल्बम ‘मनमा’ गीत रहेको थियो । डा. राजुबाबु श्रेष्ठको शब्द, राजनको कम्पोज, आमोश तामाङको एरेञ्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन तथा कोरियोग्राफ गरेका छन् । गीतको भिडियोमा अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । गीतलाई प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।हेर्नुहाेस भिडियाे