लकडाउनमा यसरी स्वस्थ राख्नुस् आफ्नो शरीर– डब्ल्यूएचओ

काठमाडौं । लकडाउनका बेला घरमै बस्दा पनि शारीरिक सक्रियता भने कायम राख्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । लामो समय बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्नेभन्दै घरभित्रै गर्न सकिने शारीरिक कसरत गर्न सङ्गठनले आग्रह गरेको हो । अहिले घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल, कम्प्युटर जस्ता बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेकोभन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने, घर वरिपरि वा सिँढीमा तलमाथि गर्ने, बगैँचा वा वरिपरि घुम्नर स्वास्थ्यमा सुधार हुने बताएको छ । तालिका बनाएर घरमै व्यायामहरु गर्न समेत विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ । लकडाउनको समयमा घरमा भएका परिवारको साथ सक्रिय हुन र साथीहरुसँग सञ्चारका माध्ययमबाट सम्पर्कमा रहिरहन आग्रह पनि विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । यसो गरेमा शारीरिक र मानसिक दुवै स्वास्थ्य ठिक रहने बताएको छ । यो समयमा रचनात्मक काम गर्ने, नयाँ कुरा सिक्ने, कामको लक्ष्य बनाउने, घरमा बसेको बेला के गरियो भनेर समीक्षा गर्ने गर्दा मानिस दिक्क हुनबाट बच्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । लकडाउनका बेला शरीरलाई सक्रिय राख्न विश्व स्वास्थ्य सङ्गठनले दिएका सुझावहरु यस्ता छन् । –साना बच्चाहरुसगैं घर र घरको वरिपरि खेलहरु खेल्ने । –बच्चाहरुमा श्वास बढ्ने गरी वरिपरि दौडने, उफ्रने, चिप्लने जस्ता खेलहरु खेल्ने । –अनलाइनबाट शारीरिक शिक्षा लिएर उपयुक्त व्यायमहरु गर्ने । –घरमा नै उफ्रेर डोरी नाघ्ने जस्ता खेल खेल्ने । –तौल उठाउने जस्ता मांसपेशीमा बल पुग्ने खालका गतिविधिहरु गर्ने । –धेरै शारीरिक गतिविधि हुनको लागि घरको कामहरू गर्ने । –सिट अप, प्रेस अप जस्ता व्यायमहरु गर्ने । –परिवारका सदस्यहरु सहभागि भएर प्रतियोगिताकै रुपमा खेलहरु खेल्ने । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा

लकडाउनले अलपत्र परेकाहरुलाई निशूल्क खाना

काठमाडौं । लकडाउनमा अलपत्र परेकाहरुलाई अन्नपूर्ण भोजनालायले निशूल्कमा खान खुवाउन सुरु गरेको छ । मकवानपुरको चौकिटोलमा रहेको अन्नपूर्ण भोजनालयले निशुल्क खाना खुवाउ सुरु गरेको हो । विश्वभरि फैलिरहेको कोरोना भाइरसको संक्रमण भेटिएलगतै सरकारले देशलाई लकडाउन गरेपछि अलपत्र परेर समस्यामा परेका यात्रुहरुको लागि व्यवस्था गरिएको होटलकि संचालक लक्ष्मी श्रेष्ठले जानकारी दिइन् । ‘कमाइ मात्रै ठुलो हैन, विपदको घडीमा सहयोगको भावानाले अलपत्रमा परेका यात्रुहरुको बिजोग हेर्न नसकेर निशूल्क खाना सुरु गरेको हु,’ श्रेष्ठले भनिन् । आफ्नो होटलमा कार्यरत र आफुहरु बसेर खाइरहदा बाहिर यात्रुहरुअलपत्र परेर भोकै भएको देखेर आफुले निशूल्क खाना खुवाउन सुरु गरेको श्रेष्ठले बताइन् ।

सङ्क्रमणबाट जोगिए पनि अन्योलमा छन् इटालीमा रहेका नेपाली

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा त्यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म भाइरसको सङ्क्रमण नदेखिए पनि इटलीको राष्ट्रिय सङ्कटकालअन्तर्गत घरमै बसिरहँदा उनीहरुमा एक प्रकारको छटपटी छ । युरोपेली मुलुक इटलीमा कोभिड–१९ को सङ्क्रणका कारण हालसम्म ११ हजार ५ सय ९१ को दुःखद निधन भइसकेको छ भने उपचाररतमध्ये झण्डै ४ सय गम्भीर अवस्थामा छन् । चीनबाट फैलिएको सो भाइरसका कारण हालसम्म विश्वमा ३७ हजारभन्दा बढीको मृत्यु हुँदा इटालीपछि स्पेनमा सबैभन्दा बढी सात हजारभन्दा बढीको मृत्यु भएको छ । वल्र्ड ओमिटर्स डट इन्फोका अनुसार इटालीमा कूल एक लाख एक हजार ७ सय २९ लाई सङ्क्रमण देखिएकामा इटालीमा सङ्क्रमितमध्ये १४ हजार ६ सय २० जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ जनवरी २९ मा पहिलो सङ्क्रमित भेटिएका थिए । बाहिर आएको भन्दा अझ बढी तथ्याङ्कमा सङ्क्रमित हुन सक्ने पनि जनाइएको छ । इटालीमा शुरुमा १७ वर्षका एक नागरिकको निधन भएको थियो भने करीब छ हजारको सङ्ख्यामा स्वास्थ्यकर्मीकै मृत्यु भइसकेकाले त्यहाँ जनताले ठूलो सङ्कट व्यहोरिरहेका छन् । इटालीको उत्तरी भागमा रहेको लोभागियामा सबैभन्दा बढी असर परेको छ, त्यहाँ पनि नेपाली रहेका छन् । इटालीको अनुभवमा नियमित व्यायाम र दैनिक काम गर्ने पनि सङ्क्रमित र मृत्यु भएका छन् । पहिला अन्य रोग लागेकालाई अन्य मुलुकमा झैँ बढी असरमा पारेको छ । इटाली सरकारले जरुरी काममा बाहेक त्यहाँको एक पालिकाबाट अर्को पालिकामा मानिसलाई जान रोक लगाइएको छ । ‘लकडाउन’ उलङ्घन गर्नेलाई ४ सयदेखि तीन हजार युरोसम्म कारवाही तोकेको छ । त्यहाँ गत ४ मार्चदेखि राष्ट्रिय सङ्कट घोषणा गरिएको थियो । पछिल्ला दिनमा इटालीलाई सघाउन रुस र चीनबाट स्वास्थ्य टोली आएका छन् । स्थिति भयावह भए पनि इटालीको सरकारले भाइरसको महामारीसँग जुध्नबाट हात उठाएको भन्ने सत्य होइन । प्रधानमन्त्री ग्युसेप्पे कोन्तेले त्यहाँका संसद्मा बोल्दै सरकारले महामारी रोक्न चालेका कदम र भावी नीतिबारे अवगत गराउँदै आएका छन् । इटालीमा रोमसहित मिलान, पेनिस, आवोस्ता, तोरिनो, पिसा आदि शहरमा नेपाली रहेका छन् । इटालीको राजधानी रोमस्थित एक स्टार होटलमा कार्यरत रामहरि खकुरेलले सबैतिर भइरसको समस्या हुँदा त्यहाँका होटेल व्यवसाय कहिले सञ्चालन हुने कुनै सुनिश्चितता नहुँदा नेपालीमा मानसिक तनाब पैदा भएको बताउछन् । नुवाकोट घर भएका खकुरेलले भने, “यहाँको अवस्था नाजुक छ । पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि पूर्णत : घटेको मान्न सकिँदैन । इटलीको सम्पूर्ण भागमा भाइरस पुगेको छ । सबै भागमा सङ्कटकाल लगाएको छ । हामी नेपाली एकापसमा सम्पर्क र समन्वयमै रहेका छौँ ।” गैरआवासीय नेपाली सङ्घ (एनआएनए) का इटाली शाखाका पूर्वसचिव खकुरेलले इटालीका जनतालाई सरह आफूहरुलाई पनि आवश्यक पर्दा स्वास्थ्य परीक्षण र उपचार गर्न सरकारले प्रतिबद्धता जनाएको जनाउँदै सरकारले त्यहाँका नागरिक कसैको पनि रोजीरोटी नगुमोस् भनेर आर्थिक सहायताको घोषणा गरेको तथा व्यवसाय र रोजगार बन्द हुने कम्पनी र व्यक्तिलाई सहायता दिने जानकारी दिए । उनका अनुसार एनआएरएन शाखाले दुई हजार दुई सय युरोको आपत्कालीन कोष बनाएर आर्थिक समस्यामा परेका नेपालीलाई सहयोग गर्ने निर्णय गरेको छ तर हालसम्म नेपाली आर्थिक सङ्कटमै भने परेका छैनन् । मिलान शहरमा कार्यरत नेपाली आशा लामाले हालसम्म कुनै नेपालीलाई सङ्क्रमण नभए पनि आफूहरु त्रसित अवस्थामा रहेको जनाए । नेपाली समुदायलाई कुनै समस्या परेको खण्डमा इटालीस्थित नेपाली दूतावासले पनि आवश्यक समन्वय गर्दै आएको छ । रासस