अचम्मको व्यापार गर्छिन् पूजा: गधाको दूधबाट साबुन र फेसप्याक बनायो, मनग्य कमायो

साथीहरु, तपाईंले धेरै प्रकारका बिजनेस आइडियाहरुको बारेमा सुन्नुभएको होला । तर आज जुन तपाईं यस आर्टिकलमा पढ्नुहुन्छ त्यो किसिमको बिजनेसका बारेमा न कहिल्यै सुन्नुभएको होला न त कहिल्यै देख्नुनै भएको होला । हामी जीवनमा गधालाई कुनै महत्व दिँदैनौं र साथै त्यो मानिसलाई गधाको संज्ञा दिने गर्छौं जो कुनैपनि काम नगरिकन यत्तिकै बसिरहन्छ । अर्थात् गधा हाम्रो लागि यूजलेस जनावर हो । तर यो तपाईं र मेरा लागि युजलेस हुन सक्छ, पूजा कौलको लागि भने कदापी होइन । पूजा कौलले गधाको महत्व बुझिन् । उनले जानिन् की गधाको दूध धेरै नै फाइदाजनक हुन्छ । उनले यस क्षेत्रमा जानकारी जुटाइन् र खोलिन् आफ्नै विजनेस र त्यसलाई नाम दिइन् ‘अग्र्यानिको’ । अग्र्यानिकोले गधाको दूधबाट ब्यूटी प्रोडक्ट बनाउँछ र बेच्ने गर्दछ । को हुन् पूजा ? पूजा भारतको महाराष्ट्र राज्य अन्तर्गत्को सोलापुरकी स्थायी वासिन्दा हुन् । पूजाले जब आफ्नो पढाई पूरा गरिन् तब उनका सामू दुई अप्शन थिए । एउटा थियो सरकारी जागिर खाने र अर्को थियो आफ्नै कुनै बिजनेस गर्ने । पूजाले दोस्रो अप्शन रोजिन् र त्यही क्षेत्रमा अनुसन्धान गर्न थालिन् । उनले थाहा पाइन् की मिस्रको रानी धेरै सुन्दर थिइन् र त्यसको कारण थियो गधाको दूध प्रयोग गर्नु । यसैबाट पूजालाई उक्त बिजनेस आइडिया फुर्यो । पूजा यो दावा गर्छिन् की अग्र्यानिकोले शत प्रतिशत शुद्ध चीज मात्र बेचिरहेको छ । गधाको दूधको फाइदा पूजा भन्छिन् की, उनले जब अनुसन्धान गरिन् तब यो थाहा पाइन् की गधाको दूधमा भिटामिन सी, ए, बी र ओमेगा थ्री जस्ता महत्वपूर्ण तत्वहरु हुन्छन् र ती सवै तत्वहरु छालालाई कोमल र सुन्दर बनाउनका लागि धेरै नै आवश्यक मानिन्छ । अनुहारमा देखापर्ने दागहरु हटाउन पनि यसले मद्दत गर्दछ । कसरी हुन्छ काम ? पूजाले ती किसानहरुसँग सम्पर्क गरिन् जो गधा पाल्ने काम गर्थे । गधाको दूध भारतमा प्रतिलिटर ३ हजार रुपैयाँ पर्दथ्यो । तर पुजाले किसानहरुसँग कुरा गरेर २ हजार रुपैयाँ प्रतिलिटरको हिसाबले दूध किन्न सुरु गरिन् र ब्यूटी प्रोडक्ट उत्पादन गर्न थालिन् । पूजा त्यो दूधबाट तयार गरिएको साबुन, फेसप्याक र हनी सोप बेच्छिन् । उनी अनलाइन र अफलाइन दुवै तरिका अजमाउँछिन् र दुवै बाटनै ग्राहक उनिसम्म आइपुग्छन् । पूजाका अनुसार उनको टार्गेट भनेको २५ देखि ५० वर्ष सम्मका महिलाहरु हुन् । ती महिलाहरु जो आफैंलाई सुन्दर बनाउनका लागि धेरै पैसा खर्च गर्छन् तर सही उत्पादन चाहिँ भेटेका हुँदैनन् । पूजाको योजना छ की उनी आगामी वर्ष सम्म लगभग एक सय जना गधा पालक किसानहरुसँग सहकार्य गर्न सकुन् र अन्य धेरै उत्पादनहरु पनि बजारमा ल्याउँदै अग्र्यानिकको क्षेत्रमा केहि ठूलो काम गरुन् । सजिलो भने थिएन पूजा भन्छिन् की उनले गरेको काम सजिलो चाहिँ थिएन । किनकी एउटा महिलाको नाताले यस प्रकारको काम गर्दा समाजले सजिलै पचाउँदैनथ्यो । शुरुशुरुमा विहान जब उनी दूध लिन जान्थिन् तब उनलाई आफैं पनि एकदम असुरक्षित महसुस हुने गरेको थियो । पूजा अगाडि भन्छिन् की यदि उनी पुरुष हुन्थिन् भने उनलाई पक्कै पनि यस प्रकारको डर लाग्दैन थियो होला । तर विस्तारै उनको त्यो डर हराउन थाल्यो र उनी अगाडि बढ्दै जान थालिन् । जब उनी आफ्नो आइडिया कसैलाई बताउँथिन् तब मानिसहरु हाँस्ने गर्थे तर जब उनी यसको फाइदाको बारेमा बताउँथिन् तब जोसुकै पनि उनको कामको तारिफ गर्दथे । पूजाको साथ उनका क्लासमेट ऋषभ यश तोमर पनि छन् । पूजाको भनाइ छ की साना शहरहरुका उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्छ ताकि सकारात्मक सन्देश फैलन सकोस् । आज पूजा धेरै खुशी छिन् र उनको व्यापार राम्रोसँग चल्न थालिसकेको छ । भइरहेको आम्दानीलाई पूजाले फेरी पनि यहि व्यापारमै लगाउने गरेकी छिन् र कम्पनीलाई अझै अगाडि बढाउन कोशिस गरिरहेकी छिन् । (ज्ञानीपण्डितडटकमबाट भावानुवाद गरिएको) तस्विर साभारः फोब्र्सडटकम

माक्सकाे लागत ८ रुपैयाँ, बिक्री ७ रुपैयाँमा, उपभाेक्ताकाे हातमा सित्तैमा

  काठमाडौं । कोरोना संक्रमणको महामारी र लकडाउनसँगै अधिकांश विजनेश म्यानहरुको दैनिकी तनावमा तर फुर्सदमा बितिरहेको छ । तर व्यवसायी दीपक मलहोत्राको दैनिक फरक छ । ‘मलाई एकछिन पनि फूसर्द छैन र सयम बितेको पत्तै हुँदैन’ विकासन्युजसँगको कुराकानीमा पहिलो वाक्य हो उनको । घर–फ्याक्ट्री आवतजावत नियमित छ उनको । पछिल्लो समय उनी माक्स उत्पादन र वितरण कार्यमा व्यस्त छन् । ‘बधाई छ तपाईलाई संकटको बेलामा पनि राम्रो व्यवसाय थाल्नु भयो । नाफा पनि राम्रो भएको होला’ विकासन्युज प्रतिनिधिले उनको तारिफ गरे । तर दीपकले आधा स्वीकार गरे, आधा अस्वीकार । ‘बधाई दिनुभयो । धन्यवाद । तर नाफा लिएर व्यापार गरिरहेको छैन । घाटा खाएर समाज सेवा गरिरहेको छु’ उनले जवाफ दिए । किन र कसरी ? प्रश्न स्वभाविक भयो । ‘हामीले शुरुमा निःशुल्क वितरण गर्ने प्रयोजनको लागि निम्बस ग्रुपबाट प्रति माक्स ७ रुपैयाँमा किनेर वितरण थालेको थियौं । पछि भारतबाट हामीले माक्स बनाउने मेसिन ल्यायौ । शुरूमा त्यसकाे पनि लागत प्रति माक्स ७ रुपैयाँ आयो । हामीले लागत मूल्यमा नै बेच्ने निर्णय गर्यौ’–उनले भने । ‘माक्स मेसिनले बनाउँछ । त्यसको लागत ५ रुपैयाँ २५ पैसा पर्छ । माक्सको इलास्टिकको जोडिको ७५ पैसा पर्छ । इलास्टिक मान्छेले सीउनु पर्छ । प्रतिमाक्स सिलाउने खर्च शुरूमा  १ रुपैयाँ मात्र थियाे । हामीले ७ रुपैयाँ मूल्य तय गर्यौं’ उनले प्रष्ट्याउदै भने–तर पछि कामदारले १ रुपैयाँमा काम मानेनन् । माक्समा इलास्टिक लगाउने मान्छे नै नपाएपछि प्रतिपिस २ रुपैयाँ दिएर काम लगाएको छु । अहिले लागत प्रतिपिस ८ रुपैयाँ परेको छ । तर घाटा नै खाएर भएपनि ७ रुपैयाँमा बेचिरहेको छु ।’ घाटा कहिलेसम्म खाने त ? प्रश्न फेरी उठ्यो । ‘आईएमएस ग्रुपले संस्थागत सामाजिक उत्तरदाहित्व सम्झेर काम गरिरहेकाे छ । यो हाम्रो नियमित विजनेश पनि होइन । जब बजारमा सर्बसाधारणले सहज रुपमा र सरल मुल्यमा माक्स पाउन थाल्छन्, हामी उत्पादन बन्द गछौं’ उनले भने । अहिले माक्स उत्पादन गरिरहेको मेसिन एक गार्मेन्ट व्यवसायीसँगको साझेदारीमा राखिएको उनले बताए । अवस्था सामान्य भएपछि उक्त उद्योगले कपडा उत्पादन थाल्ने उनको भनाई छ । उक्त उद्योग लगाउन र ५ टन कच्चा पदार्थ किन्दा करिब १ करोड रुपैयाँ लगानी भएको उनले बताए । उनकाे कम्पनीले हाल दैनिक ५० हजार पिस माक्स उत्पादन गरिरहेकाे छ । माक्स बनाउन प्रयोग हुने फेब्रिक बाँकी भएपनि त्यसको इलास्टिक (कानमा बाँध्ने डोरी) सकिन लागेकोले उत्पादन नै राेकिने हाे कि भन्ने उनकाे चिन्ता छ उपभोक्तालाई सित्तैमा ८ रुपैयाँ लागत, ७ रुपैयाँमा बिक्री, उपभोक्तालाई सित्तैमा । सुन्दा अपत्यारिलो लाग्छ तर दीपककाे माक्स उत्पादन र बिक्री चक्र यसरी नै चलिरहेकाे देखिन्छ । प्रतिपिस ८ रूपैयाँ लागत भएकाे माक्स आफूले प्रति पिस ७ रुपैयाँ बेचिरहेकाे र उपभाेग गर्नेले सित्तैमा पाईरहेको उनले बताए । ‘हामीले ७ रुपैयाँमा बेचेको माक्स बजारमा बिक्री भईरहेको छैन’ उनले प्रष्ट्याउदै भने –‘सरकारी अस्पताल, स्वास्थ्य सेवा विभाग, प्रहरीलाई गरी करिव १ लाख पिस सित्तैमा वितरण गर्यौ । बाँकी सबै निजी अस्पताल, बैंक, नगरपालिका, गाउँपालिका वा सामाजिक संस्थालाई बेचिरहेका छौं । अस्पताल र बैंकहरुले आफ्ना कर्मचारी निःशुल्क वितरण गरेका छन् । नगरपालिका, गाउँपालिकाले आफ्ना कर्मचारीलाई र स्थानीयलाई निःशुल्क वितरण गर्न लगेका छन् । र, अरू माक्स सामाजिक कार्य गर्ने संस्थाहरुले लगेका छन् ।’ आईएमएसमा माक्स किन्न अडर गर्ने संघ संस्थाको चाप उच्च छ । कारण पनि उनले खुलाए । ‘एउटा संस्थाले हजार पिस माक्स सित्तैमा बाँढ्दा उसको खर्च ७ हजार रुपैयाँ मात्र हो । थोरै खर्च गरेर धेरै जनालाई सहयोग गर्न पाएकोमा संघ संस्थाका प्रतिनिधिले माक्स वितरणालाई प्राथमिकता दिएका छन् ।  ‘हामीसँग किनेर उपभोक्तालाई बेच्छु भन्नेलाई हामी बेच्दैनौ । फ्रिमा बाँड्नेको माग हुँदासम्म मात्र उत्पादन गर्छौं’ उनले भने । अहिले दैनिक १० लाख माक्स उत्पादन गरे पनि बिक्ने उनले बताए । तर आफूहरुले दैनिक ५० हजार पिस मात्र उत्पादत तथा बिक्री वितरण गरिरहेको उनको भनाई छ । कम्पनीको उत्पादन क्षमता दैनिक ७० हजार पिस भए पनि हाल दैनिक ५० हजार पिस मात्र उत्पादन हुने गरेकाे उनले बताए । उत्पादन कार्यमा आइएमएस ग्रुपले लगानी गरेको छ भने वितरणको काममा नेपाल चेम्बर अफ कमर्शले समन्वय गरेको उनले बताए । अनलाईन बिक्रेता सस्तो डिलसँग सामान किनेर सेलपेबाट भुक्तानी गर्नेलाई १० वटासम्म माक्स सित्तैमा दिइने पनि उनले बताए । लकडाउन तपाईलाई लागेको रहेनछ, लेखकले विट मार्दै भने । छैन । उनले दैनिकी पुरै सुनाए । ‘विहान उठेर एक्सरसाइज गर्छु । नुवाइधुवाई गर्छु । हलुका ब्रेकफाष्ट लिन्छु  त्यसपछि दिउँसो के के गर्ने प्लान बनाउँछु ।  खाना खाएर सबैभन्दा पहिला ललितपुरस्थित लुभुमा रहेको फ्याक्ट्रीमा जान्छु । संक्रमणको जोखिम नहोस भनेर अहिले ड्राइभर राखेकाे छैन, आफै ड्राइभ गर्छु । एक टिप सामान लिएर अफिसमा झर्छु । दिनभर अफिसको काम गर्छु । साँझ घर फर्कन्छु ।’  

सहज बनाइँदै लकडाउन, उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने

काठमाडौं । सरकारले लकडाउनलाई सहज बनाउँदै उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने निर्णय गरेको छ । कोरोना रोकथाम सम्बन्धि उच्च स्तरीय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गरेको निर्णयअनुसार अब अत्यावश्यक सेवाका लागि उद्योग सञ्चालन गर्न सकिने छ भने अन्य उद्योगहरुले कामदारलाई स्वास्थ्य सुविधासहित काम गराउन सक्नेछन् । तर उनीहरु ओहोर दोहोर गर्न पाउने छैनन् । कम्पनीभित्रै बस्नुपर्नेछ । अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले ढुवानीको साधनलाई अझ सहज गर्ने र नियमित रुपमा आयात भएका र दैनिक आपूर्ति हुने वस्तुहरुको लेखाजोखा राख्ने बताए । उनले मुलुकभित्र अति आवश्यक उद्योग सञ्चालन गर्ने निर्णय भएको बताए । अन्य उद्योगहरुले पनि भित्र कामदारलाई सुरक्षित राखेर, स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्न सक्ने उनकाे भनाइ छ। तर,आवागमन रोकेर भित्रै राखेर सञ्चालन गर्न दिने भन्ने निर्णय भएकाे उनले बताए । उनले तामाकोशी, मेलम्चीलगायतका ठूला आयोजनामा पनि भित्रै कामदार राखेर काम सुचारु गर्न सकिने  पनि बताए । अब लकडाउन सहज भएर राष्ट्रिय गाैरवका आयाेजनाहरूमा नियमित रूपमा काम गर्न सकिने छ ।