थप ६ करोडभन्दा बढी मानिस गरिबीको चपेटा: विश्व बैंक
काठमाडौं । विश्व बैंकले कोरोना भाइरस फैलिएसँगै विश्वभरी थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताएको छ । विश्व बैंकका अध्यक्ष डेविड मालपासले महामारीका कारण अर्थव्यवस्थामा असर परी थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताए । विश्व बैंकले महामारीको कारण उत्पन्न हुने आर्थिक संकट कम गर्न एक सयवटा विकासशील देशका लागि १ सय ६० अर्ब डलरको सहायता दिने घोषणा पनि गरेको हो । यो सहायता कार्यक्रम १५ महिनासम्म चल्ने जनाइएको छ । यी एक सय देशमा विश्वको ७० प्रतिशत र धेरैजसो अफ्रिकी देश रहेको पनि विश्व बैंकले जनाएको छ । सहयोगले विकासशील देशहरूले गरिब र जोखिममा रहका वर्गको रक्षा, स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न, निजी क्षेत्रको अवस्था कायम राख्न र आर्थिक सुधारमा सहयोग पु¥याउने बैंकले जनाएको छ । विश्वमा नै कोरोना भाइरसको त्राससँगै गरिएको लकडाउनले अधिकांश व्यापार, व्यवसायहरु बन्द भएका छन् । व्यवसाय बन्द भएसँगै उत्पादन घट्नु तथा मानिसहरुको रोजगारी गुम्दा गरिवीको संख्या बढ्ने गइरहेको छ । कोरोनको संक्रमण अहिले बिश्वका २ सय १३ देशमा फैलिसकेको छ ।
इलाममा छोरीले गरि बुबाको हत्या
काठमाडौं । इलाममा गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् । शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने गरेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिए । उनका अनुसार रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झगडा भएको थियो । फुलबहादुरको टाउकोमा चोट देखिएको छ । टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने बताइएको छ । “गहिरो चोट नदेखिएका कारण धारिलो हतियार प्रयोग नभएको हो कि जस्तो छ, अनुसन्धान भइरहेको छ”, प्रहरी निरीक्षक शाहले भने । कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएको र हिजो दिउँसो पनि झगडा भएपछि गाउँमा सुत्न गएको बताइएको छ । घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छोरी सुष्मा बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ । रासस
वडावासीको पेट भर्दै वडाध्यक्ष लामा, दैनिक एक हजारलाई खाना
काठमाडौं । पोखरा महानगरपालिका–१३ को वडा कार्यालय अगाडि बिहान ९ बजे नै मानिस जम्मा हुने गर्छन् । सामाजिक दूरी कायम गरेर वडाले लगाएको घेराभित्र उभिनेहरुको हातमा एउटा झोला पनि हुन्छ । उनीहरु सेवा लिन आएका भने होइनन् । बन्दाबन्दीका कारण हातमुख जोड्न समस्यामा परेकाहरु वडाले वितरण गरेको खाना खानका लागि त्यहाँसम्म आइपुगेका हुन् । पोखराको १३ नं वडाले बन्दाबन्दीका कारण बिहान बेलुकाको छाक टार्न समस्यामा परेकालाई लक्षित गरेर खाना वितरण गर्न थालेपछि विपन्न परिवारले वडामा गएर भोको पेट भर्ने गरेका छन् । सोही वडामा बस्दै आएका ३० वर्षीय मन विकले वडाले खाना वितरण गरेपछि भोको बस्नु नपरेको बताए । “ज्यामी काम गर्थें, बन्दाबन्दी भयो, अहिले भोको पेट भरिएको छ अब त काम गर्न पाए पनि हुने”, विकले भने । खानाको लाइमा बस्नुभएकी पार्वती परियारले पनि चार जनाको परिवारलाई बिहान–बेलुका वडाबाटै खाना लैजाने गरेको बताउनुभयो । सोही ठाउँका खबहादुर विक पनि भोको पेट वडाध्यक्षले भरिदिएपछि खुशी हुन्छ । खाना पाए पनि सबैको एउटा चाहना छ, “बन्दाबन्दी सकियोस् काम गर्न पाइयोस्, भोको पेटको राग आफ्नै पसिनाले मेट्न पाइयोस् ।” खानाका लागि लाइनमा पालो पर्खिरहनुभएकी सुन्तली विकले भने, “मलाई त काम गर्न कहिले पाइएला भनेर अत्यास लागेको छ, अहिले भोको पेट अध्यक्षले भर्नुभएको छ, तर सधैँ त हुन्न होला नि ? कहिले पानी पर्छ, कहिले हावा चल्छ, खाना लिन आउन पनि समस्या नै हुन्छ तर बाध्यताले आउनैपर्छ ।” उनले आफू र श्रीमान् मात्रै रहेकाले दुई जनालाई खाना लैजान गरेको बताए । वडा नं १३ वडाका विपन्न परिवारलाई दुई चरणमा राहत वितरण गरे पनि ग्यासलगायत अन्य समस्याले खाना पकाउन असहज भएको गुनासो आएपछि वैशाख २३ गतेदेखि विपन्न परिवारका सदस्यलाई बिहान बेलुका नै खान खुवाउन शुरु गरेको वडाध्यक्ष दर्शन लामाले बताए। “हामीले पहिलो चरणमा एक हजार ४ सय २३ र दोस्रो चरणमा केही तिनै व्यक्तिसहित अन्य गरी एक हजार ६ सय ९५ जनालाई राहत बाँड्यौं तर कतिपयले खान पकाउन ग्यास भएन अरु समस्या भयो भनेर भन्न थाल्नु । उनीहरुलाई लक्षित गरेर वैशाख २३ गतेबाट खाना खुवाउन शुरु गरेका हौं।” वडाध्यक्ष लामाका अनुसार खाना खुवाउने अभियानमा वडाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका सदस्य, आमा समूहलगायत दैनिक २० जना खटिएका छन् । भगवती क्याटरिङले खाना पकाउने कुक र भाँडाकुँडा सहयोग गरेको छ । विभिन्न सामाजिक भावना भएका व्यक्तिले खाद्य सामग्री उपलब्ध गराएका छन् । “शुरुका दिनमा दैनिक २०० देखि २५० सम्म खाना खाने हुनुहुन्थ्यो, पछिल्लो समय ४ सयदेखि ५ सय जनालाई खाना खुवाइरहेका छौं”, वडाध्यक्ष लामाले भने । उनले प्रवेशद्वारमा थर्मलगनबाट ज्वरो परीक्षण गर्दै सामाजिक दूरी कायम गरेर मात्र भित्र खानाका लागि प्रवेश दिने गरेको बताए । ‘सुरक्षाको सम्पूर्ण प्रक्रिया अपनाएका छौं, फेरि पनि चाप दिनदिनै बढिरहेको छ, जसले जति परिवार छन् त्यति नै खाना आफूले लिएर आएको भाँडामा राखेर लैजानुहुन्छ । अब अर्को तरिकाबाट व्यवस्थापन गर्न सकिन्छ कि भनेर सोचिरहेका छौं ।’ रासस