क्वारेन्टिन बसेका भन्छन् : हिरासतबाट छुटेको झैं भयो !

जाजरकोट । करिब २१ दिन हिँडेर जाजरकोट सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पसको क्वारेन्टिनमा शुक्रबार बसेका लोकेन्द्र सिंहमा खुशीको सीमा छैन । भारत हुँदै देशका विभिन्न ठाउँबाट कठिनपूर्ण यात्राका बीच शनिबार जाजरकोट पाइला टेकेका सिंहलाई अहिले घर पुगेझै भएको छ । हुन त उनको घर पूर्वी जाजरकोट अर्थात् सदरमुकामबाट २२ कोष टाढा रहेको छ । भारतीय हेपाहा व्यवहारबाट भारी पीडा खेपेको बताउने सिंहले भने, “यस्तै खालको आफ्नै भूमिमा क्वारेन्टिनमा बस्न पाएको भए जति दिन पनि बस्न सकिथ्यो ? उता भारतमा तल्लोस्तरको व्यवहार गर्दा आक्रोश पैदा भए पनि सहेर बस्नुपरेको थियो ।” जब नेपालमा पाइला टेकियो, हाम्रो छाती गर्वले उँचो भएको थियो । भारतमा दुई महिनाअघि ६१ केजी तौल भएको बताउने सिंह अहिले ४१ केजीमा झरेको समेत बताउँछन् । पैसा हालेर पानी किन्न खोज्दासमेत नपाएको उनको गुनासो छ । भेरी ज्ञानोदय क्याम्पसमा उहाँसँगै करिब १ सयबढी सर्वसाधारण क्वारेन्टिनमा बसेका छन् । स्थानीय सरकारसँगको सहकार्यमा अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतको संयोजकत्वको टिमले अहिले क्वारेन्टिन निर्माणदेखि सबै समस्या हल गरिरहेको छ । क्वारेन्टिनमा बसेका अहिले आफ्नै भूमिमा पुगेको भन्दै परिवारसँग फोन सम्पर्क गरी कुनै चिन्ता नलिनसमेत आग्रह गरिरहेका छन् । अर्काको भूमिमा पीडाका साथ बसेको भन्दै बारेकोट गाउँपालिका–८ का रमेश विकले अब बाँच्ने ठाउँमा आएको बताए । उनले खुशीका आँसु झार्दै भने, “कम्तीमा एक दिन नजिकको क्षेत्रमा पुगिएको छ, हामीलाई उद्धार गरेर ल्याउने स्थानीय सरकार र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई धन्यावाद दिन चाहन्छु ।” पहिले भारतीयहरुले नेपालीलाई खासै वास्ता नगरे पनि सीमा विवाद बढेसँगै निकै हेप्ने गरेको विकले बताए । कोरोना त्रासभन्दा भारतीयको हेपाहा प्रवृत्ति सबैभन्दा खतरा भएको नलगाड नगरपालिका–७ का लक्ष्य कामीले बताएका छन् । भारतको क्वारेन्टिन भनेको जेलजस्तै भएको उनको भनाइ छ । जाजरकोटको क्वारेन्टिन भनेको महलमा बसेझैँ भएको भन्दै उनले भने, “समय–समयमा जनप्रतिनिधि, पत्रकार, कर्मचारी र स्वास्थ्यकर्मी आएर के–कस्तो छ भनेर सोध्नुहुन्छ । हामीले पनि भएका समस्या भन्छौं, एकापसमा पीर, मर्का साटासाट भएको छ ।” भेरी ज्ञानोदय क्याम्पसमा कोठाको आकारअनुसारको व्यवस्थापन गरिएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिए । क्वारेन्टिनमा बसेका कसैलाई पनि केही समस्या हुन नदिने उनको भनाइ छ । उनले भने, “हामीले क्वारेन्टिनमा बसेका नागरिकलाई घरपरिवारमा बसेझैँ गरेर व्यवस्थापन गर्न खोजिरहेका छौं। जसका कारण उहाँहरुलाई कुनै पीडा नहोस् र रोगसँग लड्ने क्षमता बढोस् ।” स्वास्थ्य सेवा कार्यालयको मातहतमा रहेको जाजरकोट अस्पतालको २ सय मिटरको दूरीमा क्वारेन्टिन निर्माण गरी बाहिरबाट आएका सर्वसाधारणलाई राखिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । बिरामी हुँदा होस् वा अन्य केही समस्या भएमा छिटोछरितो कामकारवाही गर्न स्वास्थ्य संस्थाको नजिक राखिएको उनको भनाइ छ । प्रत्येक पालिकाबाट एक व्यवस्थापक र एक स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेका नागरिकको व्यवस्थापनका साथै स्वास्थ्य जाँचका लागि परिचालन गरिएको छ । त्रिभुवन मावि खलङ्गामा भेरी नगरपालिकाका र भेरी ज्ञानोदय क्याम्पसमा नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र कुशे गाउँपालिका स्थानीयवासीलाई राखिएको छ । ३ सयभन्दा बढी मानिस आउने आँकलनका साथ यहाँ व्यवस्थापन गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक योग्य बस्नेतले बताए । क्वारेन्टिनको सुरक्षाका लागि नेपाली सेनालाई खटाएको छ । अन्य व्यवस्थापन सूचना सङ्कलन, संरचना निर्माणको काममा सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएको छ । क्वारेन्टिनमा खानेपानी र विद्युत्को समस्या हुँदा चुनौती भएको छ । स्थानीय तह आफैंले किट किनेर आफ्ना नागरिकलाई कोरोना परीक्षण गराउने तयारीसमेत भएको छ । क्वारेन्टिन बस्नेलाई भत्ता पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको क्वारेन्टिनमा बस्नेलाई दैनिक १ सय ७८ दिने निर्णय भएको छ । यसअघि क्वारेन्टिनमा बसेकालाई नगरपालिका आफैले खाने व्यवस्था गरेकामा अब नगद दिने निर्णय गरेको हो । नगरपालिकाका अनुसार भारत तथा अन्य ठाउँबाट आउनेलाई १४ वटै वडाका क्वारेन्टिनमा राखिनेछ । क्वारेन्टिन बसेका व्यक्तिले खानाका लागि हरेक क्वारेन्टिनमा पकाउने भाँडाको व्यवस्था गरिएको छ । आफूले खाने थाल, कचौरा, गिलास र ओढ्ने–ओछ्याउने कपडा सम्बन्धित व्यक्तिले ल्याउनुपर्ने नियम बनाइएको छ । क्वारेन्टिनमा नगरपालिकाले मास्क, स्यानिटाइजर, साबुन, खानेपानीका लागि ड्रम, फिल्टर र शौचालय सफाइका सामग्री प्रदान गरेको छ । दाउराको समस्या हुने वडामा ग्यास र चुलाको व्यवस्था पनि गरिने नगरप्रमुख विशाल शर्माले बताए । भत्ता दिने व्यवस्थासँगै अब बिहान र दिउँसोको नास्ता तथा साँझ–बिहानको खानाको व्यवस्था क्वारेन्टिनमा बस्नेले आफैं गर्नुपर्ने छ । चौरजहारी नगरपालिकाबाट ३ हजार २ सय ४४ जना भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका छन् । उनीहरु घर फर्कन शुरु गरेको र शुक्रबार मात्र ३४ जना भित्रिएको नगरपालिकाले जनाएको छ । उनीहरुलाई सम्बन्धित वडामा पठाइएको छ । रासस

दुई जिल्लाका ३१ एम्बुलेन्समा जिपिएस जडान

काठमाडौं । सेवाग्राहीलाई छिटोछरितो ढङ्गले बेलैमा सेवा प्रदान गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको आयोजना र जिल्ला एम्बुलेन्स सञ्चालन समितिको समन्वयमा काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्समा जिपीएस जडान गरिँदै छ । कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टका संयोजक तथा जिल्ला एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षसमेत रहनुभएका काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको समितिले जिल्लामा सञ्चालित सबै एम्बुलेन्सलाई ‘पार्टेशन’ गरेर कोभिड–१९ फ्रेण्डली बनाउनुका साथै जिपीएस जडान गरेर सेवाग्रहीलाई बेलैमा सेवा प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले सो अभियानलाई तीव्रता दिएको हो । नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्वसेवा प्रमुख भोजराज ओझाले अहिलेसम्ममा काभ्रेपलाञ्चोकका १७ र सिन्धुपाल्चोकका १४ एम्बुलेन्समा जिपीएस प्रविधि जडान गरिसकेको बताए । अहिले जिल्लामा सञ्चालित ३५ मध्ये पाँच एम्बुलेन्स सञ्चालनमा आएको भए पनि एम्बुलेन्स सञ्चालन समितिमा दर्ता नभएको पाइएको छ । त्यसका लागि विधानसहित निवेदन दिन आउन आग्रह गरेको समितिले जनाएको छ । सिन्धुपाल्चोकमा २७ एम्बुलेन्स छन् । प्रविधि जडान गर्ने क्रम बन्दाबन्दीका कारण निरन्तरता दिन नसकेको ओझाको भनाइ छ । “हामीले सबै एम्बुलेन्समा जिपीएस प्रविधि जडान गर्ने अभियानलाई तीव्रता दिँदै आएका छौं, तर बन्दाबन्दीका कारण जडान गर्ने व्यक्ति आवतजावतमा समस्या भएकाले तत्काल सबैमा सम्भव भइरहेको छैन”, ओझाले भने । जिल्ला एम्बुलेन्स सञ्चालन समितिको समन्वयमा काभ्रेपलाञ्चोक जिल्लाभर सञ्चालनमा रहेका ३० एम्बुलेन्समा कोभिड–१९ फ्रेण्डली बनाउनुका साथै ती सबैमा जिपीएस प्रविधि जडान गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाले बताए । अब प्रविधि जडानभएपछि कुन एम्बुलेन्स कहाँ कस्तो अवस्थामा छ भन्ने कुरा पत्ता लगाउन सजिलो भएको जनाएको छ । दुवै संस्थाको समन्वयमा गत वैशाख २४ गतेबाट शुरु भएको अभियानको पहिलो दिनमा नै १३ एम्बुलेन्समा जिपीएस जडान गरको र बाँकीलाई निरन्तरता दिएको थियो । जिपीएसबाट कहाँ कुन ठाउँमा कतिको गतिमा गुड्यो भन्ने कुरा सबै जानकारी लिन सकिने भएकाले कसैले पनि ढाँटेर बस्ने र सेवा दिन हिचकिच्याहट गर्ने प्रवृत्तिको अन्त्य हुने नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्वसेवा प्रमुख ओझाले बताए । उनका अनुसार गुडिरहेको एम्बुलेन्स प्रत्येक १२ सेकेण्डमा कुन ठाउँमा कुन गतिमा गुडिरहेको छ भन्ने कुरा जानकारी लिन सजिलो भएको जनाएका छन् । त्यसरी काम गरिरहेको केन्द्रले आम सर्वसाधारणको लागि १६६०११२२००० टोल फ्री नम्बर सार्वजनिक गरेको छ । जहाँबाट सेवाग्राहीले फोन गरे पनि कुन ठाउँबाट कसलाई सेवा चाहिएको हो, त्यही ठाउँको एम्बुलेन्समार्फत तत्काल सेवा दिन सकिने गरी दुई जनाले चौबीसै घण्टा सेवा दिने काम गरिरहेको ओझाले बताए । ती सबै प्रविधि जडान भएका एम्बुलेन्सको कन्ट्रोल धुलिखेल अस्पतालमा भइरहेको छ । अस्पतालमा डिस्प्ले सेन्टर भनेर दुई एलसिडी राखेर ती सबैको अनुगमन गरिरहेको छ । जिल्लामा भएकामध्ये चार ‘ख’ वर्गका चौविसै घण्टा सेवा दिने र अरु सबै ‘ग’ वर्गका रहेका छन् । त्यसरी प्रविधि जडान गर्ने एम्बुलेन्स काभ्रेपलाञ्चोकलगायत सिन्धुपालचोक जिल्लाको पनि छ । यसैबीच प्रत्येक स्थानीय तहको क्वारेन्टिन तथा सङ्क्रमितको स्वास्थ्य परीक्षण तथा उपचारसम्बन्धी कार्यपालिकाको स्वास्थ्य संयोजकबाट हुने व्यवस्था मिलाउनका साथै स्थानीय तहका गठन भएको ‘प्यासेन्ट ट्रान्स्पोर्ट टीम’ पिटीटी तालिम उपलब्ध गराइसकेकाले उक्त टिमलाई पालिकाले तयारी अवस्थामा राख्नसमेत आग्रह गरेको डा झाले बताए । रासस

चन्द्रागिरिमा आरडिटी पोजेटिभ देखिएपछि क्वारेन्टिनमा

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाका ६५ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएसँगै उनीहरुलाई क्वारेन्टिनमा राखिएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिका विभिन्न व्यक्तिको आरडिटी परीक्षण गर्दा ६५ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए । “विभिन्न जिल्लाबाट बन्दाबन्दीपछि चन्द्रागिरि प्रवेश गरेका व्यक्तिमा आरडिटी परीक्षण गर्दा उनीहरुमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो”, उनले भने । चन्द्रागिरिले ५६ लाई मनमोहन अस्पताल दहचोक, चारलाई नैकाप पार्टी प्यालेस, तीनलाई मङ्गल माध्यामिक विद्यालय, एकलाई चन्द्रागिरि कटेज र एक जनालाई होम क्वारेन्टाइनमा राखेको छ । चन्द्रागिरी क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवं वडा नं ८ का अध्यक्ष सन्तोष खड्काको संयोजकत्वमा रहेको समितिले क्वारेन्टिनभित्रको खाना, स्वास्थ्य, शौचालय, फोहर व्यवस्थापनको काम गर्दै आएको छ । क्वारेन्टिनभित्रको सुरक्षाको जिम्मा भने नेपाल प्रहरी र नेपाली सेनाले लिँदै आएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ । चन्द्रागिरिमा आरडिटीको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुको पिसीआर विधिबाट परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । चन्द्रागिरिले नगरप्रमुख, उपप्रमुख, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत १ सय ६ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ ।  रासस