विज्ञानलाई असफल गराउने संस्कृतको ज्ञान ओझेलमा
काठमाडाैं । संस्कृत वाङ्मयमा विज्ञानलाई असफल बनाउने ज्ञान भए पनि यस भाषाको ज्ञान लिनेमा सत्को अभाव र अभ्यासको कमीले ओझेलमा परेकोप्रति सम्बन्धित क्षेत्रका विज्ञले ध्यानाकर्षण गराएका छन् । जयतु संस्कृतम् संस्थाले सोमबार जुम प्रविधिबाट आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा जगमान गुरुङले ‘नेपालको सांस्कृतिक वैभव र समन्वयमा संस्कृत’ विषयमा विचार प्रस्तुत गर्दै नेपाल एवं भारतमा मन्त्र उच्चारण गरेर अग्नि निकाल्न सक्ने कोही अग्निहोत्री छन् त ? भनी प्रश्न गरे । जगन्निवास त्रिपाठीले अन्न र वस्त्र त्यागी साधना गरेर अग्नि निकालेपछि ब्राह्मणको दर्जा प्राप्त गरेको प्रसङ्ग उनले सुनाए । शास्त्रीय अभ्यास गर्न नसक्ने तर ठूलो जातको हुँ भनी भ्रम पालेर बस्न नहुनेमा पनि गुरुङले जोड दिए । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा माधवप्रसाद पोखरेलले ‘नेपालका भाषाहरुको संरक्षणमा संस्कृतको योगदान’ विषयमा विचार राख्दै नेपालमा भारतमा भन्दा महत्वपूर्ण तीर्थस्थल भए पनि खोज अनुसन्धान एवं प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए । बाह्र ज्योतिर्लिङ्गलगायत सबै तीर्थ भारतमै छन् भनी भारतका तर्फबाट एकोहोरो प्रचार हुँदा नेपाल संस्कृत विश्वविद्यालयजस्ता संस्थाले यसको अध्ययन अनुसन्धान गराउन नसकेको उनको भनाइ थियो । राष्ट्रिय अभिलेखालयलगायत धेरै पुस्तकालयमा रहेका संस्कृतका हजारौं पुस्तक कसैले पनि अध्ययन नगर्दा धुलो लागेर बसेकोतर्फ पोखरेलले सरोकार भएका निकायको ध्यानाकर्षण गराए । अमेरिकाको स्यान्डियागो विश्वविद्यालयमा संस्कृत प्राध्यापन गराइरहेका छन् प्रा स्थानेश्वर तिमल्सिनाले ‘संस्कृतको अन्तर्राष्ट्रिय परिवेश’ विषयमा विचार प्रस्तुत गर्नुहुँदै अमेरिकालगायत पश्चिमी देशमा तन्त्र विषय पढ्न आठ हजारभन्दा धेरै विद्यार्थीले आफूसँग समय माग गरेको सुनाए । वाल्मीकि विद्यापीठमा तन्त्र पढाउँदा दुई जना विद्यार्थी पाउन मुस्किल भएको प्रसङ्ग कार्यक्रममा जानकारी गराए । अनलाइनबाट संस्कृत शिक्षा दिने तयारी नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा माधव अधिकारीले ‘संस्कृतको विकास र नेपाल संस्कृत विश्वविद्यालय’ विषयक प्रस्तुति गर्नुहुँदै प्रदेश नं ५ सरकारसँगको सहकार्यमा नाथ सम्प्रदाय, मूर्त अमूर्त सम्पदा एवं संस्कार र संस्कृतिका विषयमा अनुसन्धान भइरहेको बताए । बन्दाबन्दीका कारण विश्वविद्यालयमा तीन महिनादेखि पठनपाठन ठप्प रहेको उल्लेख गर्नुहुँदै उनले अनलाइन कक्षाका लागि विश्वविद्यालयका प्राध्यापक र कर्मचारीलाई तालिम दिने तयारी भइरहेको समेत जानकारी गराए । प्रदेश नं १ का पूर्वप्रमुख गोविन्दबहादुर तुम्बाहाङ लिम्बूले संस्कृत भाषाकै कारण आधुनिक भाषा विज्ञानको उत्पत्ति भएको उल्लेख गर्नुहुँदै वक्ता नभएकैले संस्कृत सिक्न अप्ठ्यारो हुने गरेको बताए । संस्कृतका प्राध्यापक र विद्यार्थीले बोल्ने अभ्यास गरेर संस्कृतलाई जीवन्त बनाउन सक्ने उनको भनाइ थियो । पूर्व शिक्षासचिव जनार्दन नेपालले वेदलगायत ग्रन्थ पढ्न सबैलाई खुला भए पनि त्यसको प्रचारप्रसार हुन नसक्दा समाजमा जात विशेषले मात्र पढ्न पाउने भनी भ्रम सिर्जना भएको बताए । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेलले संस्कृत भाषामात्र नभई ज्ञान र विज्ञान पनि भएकाले त्यसैअनुरुपको व्यवहार भने राज्यका तर्फबाट हुन नसकेको अनुभव सुनाए । त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका पूर्वप्रमुख डा. वीणा पौडेलले जनजीवनको अभिन्न अङ्ग एवं धनी भाषा संस्कृतलाई नयाँ पुस्तासँग जोड्न नसक्दा यसको महत्व ओझेलमा परेको बताए । तल्लो तहदेखि अनिवार्यरुपमा पाठ्यक्रममा राखे मात्र संस्कृतलाई नयाँ पुस्तासँग जोड्न सकिने उनको भनाइ थियो । विसं २००४ मा भएको जयतु संस्कृतम् आन्दोलनको नेतृत्वकर्तामध्येका एक अच्युतराज रेग्मीले संस्कृत विश्विद्यालयमा नौ महिनादेखि उपकुलपति, शिक्षाध्यक्षलगायत पदाधिकारी नहुँदा प्राज्ञिक काममा प्रभाव परेकाले तत्काल पदाधिकारी नियुक्त गर्न सरकारसँग माग गरे । जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा बद्री पोखरेलले नेपालमै उत्पत्ति भएको संस्कृत वाङ्मयमा भएको ज्ञानलाई छाडेर नेपाली घरमा बलिरहेको बत्ती छोडी धुपौरो बोकेर छिमेकीका घरमा आगो खोज्न गएजस्तो अवस्था हाल देशमा भइरहेको बताए । जर्मनीबाट जुम प्रविधिको अन्तरक्रियामा भाग लिएकाे रामहरि तिमल्सिनाले नेपालमा संस्कृत र नेपाली भाषा योजना नबनाई अध्ययन अध्यापन भइरहेकाले उपलब्धि कम भएको बताए । अमेरिकाको न्यूयोर्क शहरबाट भाग लिनुभएका पीपलमणि सिग्देलले त्यहाँको नगरपालिका बैठकअघि संस्कृत भाषाबाट वैदिक मन्त्रोच्चारणपछि मात्र शुरु हुने गरेको सुनाए । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतसँगै आधुनिक विषय पनि पढ्न पाउनुपर्ने माग गरी राणा शासकका विरुद्धमा गरेको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् हो । चौहत्तरौं जयतु संस्कृतम् दिवसका अवसरमा सोमबार विभिन्न कार्यक्रम आयोजना गरियो । रासस
नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन
काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थिए । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार १७ किलोमा चारदेखि चार दशमलव पाँच मिटर फराकिलो ४० मिटर लामो क्षेत्र धसिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । त्यसैगरी २६ किलोमा छ दशमलव पाँच मिटर फराकिलो सडक ७० मिटरसम्म भासिएको छ । यस क्षेत्रमा सडक १२ मिटर फराकिलो रहेको छ । दुवै क्षेत्रमा दुईवर्ष अघि असारमा सडक भासिएको हो । सडक साँघुरो हुँदा सहज दुईतर्फी सञ्चालनमा कठिनाइ भएको छ । ती दुवै क्षेत्रमा विसं २०६० मा सडकमुनिबाट एङ्कर पर्खाल दिएर निर्माण गरिएको थियो । त्यसैमा समस्या आएको जनाइएको छ । ती क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर पर्खालले काम गर्न छाडेको हो । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मर्मतका लागि दुईपटक बोलपत्र आह्वान गर्दा समेत कोही पनि नआएको बताए । प्राविधिकरूपमा दक्ष भएको ठेकेदार कम्पनीले मात्र काम गर्न सक्ने भएकाले जो कोहीले आँट नगरेको बुझिएको छ । ठेक्का नपरेपछि यस वर्षको वर्षात्मा पनि यत्तिकै सडक सञ्चालन गर्नुपर्ने भएको छ । धसिएको क्षेत्र बढेमा वर्षात्को समयमा समस्या आउन सक्ने जनाइएको छ । सूचना अधिकारी खनालले भित्तोपट्टिको भागमा सम्याएर ग्राबेल राख्ने काम गरिएको जानकारी दिए । यसबाट दोहोरो सवारी साधन आवागमन गर्न सक्ने छ । दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो । वर्षात्मा पहिरो खस्न रोक्नका लागि भने अहिले पनि काम भइरहेको छ । चार किलोबाहेकका क्षेत्रमा काम सम्पन्न भएको खनालले बताएका हुन् । यस सडक राजधानी भित्रिने र बाहिरिने प्रमुख मार्ग हो । यहाँबाट दैनिक १० हजार सवारी साधन आवागमन गर्दछन् । रासस
पशुपतिनाथकाे सरसफाइ र खानेपानीसम्बन्धी परियोजनामा सम्झौता
काठमाडाैं । पशुपतिनाथको मुख्य मन्दिर परिसरमा सरसफाइ र खानेपानीसम्बन्धी परियोजना सञ्चालन गर्न सम्झौता भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखा प्रमुख रेशम कँडेल, काठमाडौं महानगरका तर्फबाट पूर्वाधार विकास विभागका प्रमुख राम थापा र भारतीय दूतावासका तर्फबाट डेभलपमेन्ट को–अपरेशन काउन्सिलर डा प्रफुल्लचन्द्र शर्माले हस्ताक्षर गरे । भारत सरकारको सहयोगमा सञ्चालन हुने साना विकास परियोजनाअन्तर्गत भारतीय दूतावासको ३ करोड ७२ लाख ३१ हजार १ सय ६२ र काठमाडौं महानगरको १ करोड ४५ लाख ७९ हजार १ सय ४४ लागत सहभागिता रहने परियोजनाको लागत ५ करोड १८ लाख १० हजार ३ सय ६ रूपैयाँ रहेको छ । सम्झौताबमोजिम परियोजनाको सञ्चालन पशुपति क्षेत्र विकास कोष, परियोजना कार्यान्वयन काठमाडौं महानगरपालिका र अनुगमन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछन् । शहरी समृद्धिका लागि पूर्वाधार निर्माण, वातावरणीय सुधार, सामाजिक तथा आर्थिक पुनरुत्थानका काममा महानगरले आफ्नै स्रोतमा पनि धेरै काम गरिरहेको छ । परियोजना सञ्चालनका विषयमा प्रतिक्रिया दिँदै कामपाका सहसचिव राजेश्वर ज्ञवालीले धेरै जनताले लाभ पाउने परियोजनामा साझेदारिताको प्रस्ताव लिएर आउने साझेदारलाई कामपाले प्रोत्साहन गर्ने बताए । सम्झौतापछि परियोजनाका बारेमा मन्त्रालयको विकास सहायता समन्वय शाखा प्रमुखले कँडेलले भने, “पशुपतिनाथ दर्शन गर्न जाने श्रद्धालुलाई मन्दिर परिसरको वातावरणीय अवस्थाले नकारात्मक समस्या नपरोस् र सुविधामा समस्या नहोस् भनेर सुधारात्मक परियोजना सञ्चालन गर्न थालिएको हो ।” साना–साना परियोजनाबाट नेपाल र भारतका जनता–जनतास्तरमा सुमधुर सम्बन्ध रहोस् भन्ने उद्देश्यले सहकार्य गरिएको काउन्सिलर शर्माले बताए । परियोजनामा खानेपानी वितरण प्रणाली सुधार, ढल निर्माण, सरसफाइ तथा फोहरमैला व्यवस्थापनको काम हुनेछ । परियोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रासस