लकडाउनमा १ सय २५ मुद्दा फैसला

काठमाडाैं । लकडाउनको अवधिमा चितवन जिल्ला अदालतबाट १ सय २५ मुद्दा फैसला भएका छन् । कोरोना सङ्क्रमणको समयमा सरकारले लकडाउन गरेसँगै अदालतमा २ सय ३० वटा मुद्दा दर्ता भएको थियो । ती फैसलाबाट ९१ जनालाई कारागार पठाइएको छ । सोही समयमा फैसलाबाट १ सय २१ जना छुटेका छन् । अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार लकडाउनमा बन्दी प्रत्यक्षीकरणमा १, सरकारवादी फौजदारी १ सय २४, दुनियावादी देवानी ८१, दुनियावादी फौजदारी २१ र निषेधाज्ञा तीन वटा मुद्दा दर्ता भएका थिए । फैसला हुनेमा सरकारवादी फौजदारी ४५, दुनियावादी देवानी ४०, दुनियावादी फौजदारी १०, निषेधाज्ञा एक, मिलापत्र २१ भएको छ । यस्तै आठ वटा मुद्दा फिर्ता भएको गिरीले जानकारी दिए । अदालतका अनुसार लकडाउनमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १ सय ५५ बमोजिम सुविधा पाउने कैदी १८ रहेका छन् । जसमा एक वर्षसम्म कैद तोकिएकालाई दैनिक ३ सय तिरेर कैद भुक्तान गरेका थिए । यसका लागि २६ वटा निवेदन दर्ता भएका थिए । सोही समयमा २६ पक्राउपूर्जी, जरुरी पक्राउपूर्जी समर्थन ६० वटा, म्याद थप २ सय २३ पटक, विवाह दर्ता दुई, अधिकृत वारेसनामा आठ वटा काम भएको उनले जानकारी दिए । लकडाउनमा पनि कार्यालय बन्द नभई काम भएको यस कार्यालयले चैतको ९ गतेदेखि अभियोग दर्ता, थुनछेक, म्याद थप, जरुरी पक्राउ पूर्जी जस्ता काम रोकिएको थिएन । जेठ १९ गतेपछि थुनुवाको मुद्दा सुनुवाइ, कसुर ठहर भई सजाय निर्धारण, बालबालिकाको मुद्दा सुनुवाइ र विवाह दर्तालगायत जेठ ३० गतेदेखि मुद्दाको डिसमिस, तामेलिका लागि सुनुवाइ, मिलापत्रलगायतका कामसमेत गरिएको कार्यालयले जनाएको छ । असार महिनाबाट सम्पूर्ण काम भइरहेका गिरीले बताए ।   रासस

उत्तरी मोजाम्बिकमा ग्यास परियोजनाका कामदारमाथि गोली प्रहार, ८ जनाको मृत्यु

मापुतो । मोजाम्बिकको उत्तरी क्षेत्रस्थित एक निजी ग्यास परियोजनामा कार्यरत मजदूरमाथि बन्धुकधारीले गोली प्रहार गरी हत्या गरिदिएका छन् । कम्पनीका अनुसार बाटो ढुकेर बसेका बन्धुकधारीले गोली चलाउँदा कम्पनीमा कार्यरत आठ मजदूरको ज्यान गएको छ । उत्तरी मोजाम्बिकमा सन् २०१७ देखि जिहादी विद्रोह जारी छ । यस विद्रोहका कारण उक्त क्षेत्रमा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । विद्रोहका कारण तेल उत्खननका कार्यमा पनि असर परेको छ । तर प्राकृतिक ग्यास (एनएलजी) का परियोजनामा कार्यरत मजदूरमाथिको आक्रमण भने तुलनात्मक रुपमा कम हुने गरेको अधिकारीहरुले बताएका छन् । फ्रान्सेली तेल उत्पादक टोटलले नियुक्त गरेको फेनिक्स कन्ट्रक्सन सर्भिसले गत महिना आफ्नो कम्पनीमा कार्यरत मजदूरहरु चढेको सवारी साधनमाथि मोजाम्बिकको सेनाको पोशाकमा आएका पाँच जना बन्धुकधारीले गोली चलाउँदा केही मजदूर घाइते भएका र तीन जना अझै बेपत्ता रहेको बताएको छ । संयुक्तराष्ट्र संघले गत मे महिनामा सार्वजनिक गरेको अनुमान अनुसार विद्रोही समूहको आक्रमणबाट बिस्थापित हुनेको संख्या २ लाख १० हजार पुगिसकेको छ । तर पछिल्लो समयमा निरन्तर जारी आक्रमणका कारण बिस्थापितको संख्या २ लाख ५० हजार नाघेको स्थानीय सहायता निकायहरुले बताएका छन् । मोजाम्बिकको उत्तरी क्षेत्रमा आक्रमणहरु भइरहे पनि टोटलले २३ अर्ब डलरको ग्यास परियोजनालाई निरन्तरता दिने बताएको छ ।   रासस–एएफपी

आणविक केन्द्रमा ठूलै आगलागी भएको इरानको स्वीकारोक्ती

तेहरान । इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ । इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाई हुन सक्ने बताए । मध्य इरानको नतान्जस्थित आणविक प्रशोधन केन्द्रको एक घरमा बिहीबार आगलागी भएको थियो । उक्त घटना निकै भयानक रहे पनि कोही पनि व्यक्ति घाइते भएको वा रेडियोधर्मी विकिरण नचुहिएको प्रवक्ताले बताएका छन् । सुरक्षा अधिकारीहरुले उक्त घटनालाई दुर्घटनाका रुपमा व्याख्या गरेका छन् । तर उक्त घटना हुनुको मुख्य कारण बारे केही बताइएको छैन । इरानी समाचार संस्था इर्नामा प्रकाशित एक अन्तर्वार्तामा इरानी आणविक ऊर्जा संस्थाका प्रवक्ता बेहरोज कमालवन्दीले उक्त दुर्घटनाका कारण कोही व्यक्ति पीडित नभएका तर आर्थिक रुपमा निकै ठूलो क्षति भएको बताए । उनले यस दुर्घटनाका कारण उन्नत सेन्ट्रिफ्युजको विकास र उत्पादनमा केही ढिलाई हुने बताए । नन्ताज इरानको मुख्य आणविक प्रशोधन केन्द्र रहेको स्थान हो । टेलिभिजन फुटेजमा भने आगलागीका कारण सामान्य क्षति भएको देखाएको छ । तर यसअघि सार्वजनिक गरिएका तस्वीरहरुमा भने भवनमा निकै ठूलो क्षति भएको देखिएको छ । तेहरानले गत वर्ष मे महिनामा आणविक ऊर्जा कार्यक्रमसँग जोडिएका केही कार्यक्रम पुनः शुरु गरिने घोषणा गरेको थियो । सन् २०१५ को एक सम्झौता बमोजिम इरानी आणविक कार्यक्रम स्थगित गरिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अस्वीकार गरेर इरानमाथि नाकाबन्दी गरेपछि इरानले आणविक कार्यक्रम पुनः शुरु गर्ने चेतावनी दिएको थियो । इरानले गत वर्ष सेप्टेम्बरमा युरेनियम प्रशोधन पुनः शुरु गरेको थियो । तेहरानले यो कार्यक्रम ऊर्जासँग सम्बन्धित रहेको र यसलाई सैनिक प्रयोजनमा उपयोग नगरिने बताउँदै आएको छ । रासस–एएफपी