गौतमश्री सहकारीका व्यवस्थापक विष्ट पक्राउ
काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सकारी संस्था लिमिटेडका व्यवस्थापक पक्राउ परेका छन् । पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय व्यवस्थापक रवीन विष्टलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार गौतमश्रीमा ४ हजार ७९१ जनाले रकम बचत गरेका थिए । विष्टलाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा पठाइएको छ ।
राजदूतहरू बिचौलियासँगको डिनरमा होइन, श्रमिकका शिविरमा हुनेछन् : लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले खाडी मुलुकमा जाने नेपाली राजदूतहरूको कार्यशैली परिवर्तन गरिने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अब राजदूतहरू विचौलियासँगको डिनर टेबलमा होइन, श्रमिकका शिविरहरूमा पुग्नुपर्ने बताए । उनले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आजको संसदको जनादेशका वास्तविक रचयिता भन्दै उनीहरूको योगदानको उच्च सम्मान गरे । ‘यो देशमा उहाँहरूले पठाउनु भएको रेमिट्यान्सको मात्रै चर्चा भयो,’ उनले भने, ‘तर उहाँहरूको व्यक्तिगत त्याग झन् बढी सम्मानयोग्य छ ।’
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको कोशी नगरपालिका–८ भान्टाबारीबाट एक, झापाको भद्रपुर नगरपालिका–५ नरसिंह बगानबाट सात, कन्काई नगरपालिका–६ क्याम्पाबाट एक र धनुषाको मिथिला नगरपालिका–१० रातुपुलबाट तीन जनालाई पक्राउ गरिएको छ । त्यसैगरी, धनुषाधाम नगरपालिका–९ धारापानीबाट एक, बाँकेको जानकी गाउँपालिका–५ बाट एक, नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट तीन, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट दुई र लम्कीचुहा नगरपालिका–१ भरुवाबाट एक जनालाई पक्राउ गरिएको छ । त्यसैगरी, काठमाडौंका विभिन्न स्थानबाट चार, बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरबाट दुई र ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको छ । केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् ।