चीनमा आएको भिषण बाढीमा परी ठूलो जनधनको क्षति
बेइजिङ । चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १ सय ४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ । यो बाढीका कारण ३ करोड ८० लाख व्यक्ति प्रभावित भएका बताइएको छ । चीनका विभिन्न ठाउँमा हालैको अविरल वर्षापछि बाढी आएको हो ।चीनका २७ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको बताइएको छ । यहाँ पछिल्ला केही दिनमा आएको यस बाढीबाट २२ लाख भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ । चीनको याङ्चेसहितका कैयौं नदीमा पानीको सतह बढेपछि बाढी आएको बताइएको छ । बाढीका कारण यहाँका ठूलो संख्याका नागरिक गएको कम्तीमा एक हप्तादेखि नराम्ररी प्रभावित भएका बताइएको छ । बाढीका यहाँका २८ हजार भन्दा बढी घर बगाएको या क्षति पुर्याएको छ । यसबाट यहाँको ११ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको बताइएको छ ।बाढीको त्रास बढ्दै गएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले सबै नागरिकलाई आवश्यक मात्रामा सतर्कता अपनाउन आग्रह गरे । रासस/एएनआई
मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ
कलैया । प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन् । प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारी व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकमसमेत लिइसकेको रेर्कड फेला परेपछि सोही रेर्कडको आधारमा पत्रकार साहलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । पक्राउ परेका साहलाई अदालतबाट १० दिनको म्याद लिई अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रवक्ता मिश्रले भने।
चमेलिया नदीमा बगेका बालक भारतमा मृत फेला
काठमाडाैं । चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका–६ चौसेराका नौ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । डिलाशैनी–६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगेका ती बालक बेलुका ७ बजे महाकाली नदीपारि भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका हुन् । बाख्रा चराउन चमेलिया किनार गएका रुपेश नदीमा बगेर आएको बोतल समात्न खोज्दा बगेको गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मनोजसिंह साउदले जानकारी दिए । बालकको शव परीक्षण भारतमै गरिने र आज झुलाघाट नाका खोलेर नेपाल ल्याइने प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ । “भारतीय स्थानीय प्रशासन र प्रहरीसँग समन्वय भएको छ”, उनले भने, “बालकका दुई जना आफन्तलाई पारि पठाउन भनेको र सोमबार शव ल्याउन नाका खोल्ने सहमति भएको छ ।” रासस